Nic Asia
cocacola

आलेख

पश्चिमी देशमा पपुलिजम किन उर्लियो ?

पश्चिमी देशहरूमा द्वितीय विश्वयुद्धपछिको एकखाले राजनीतिक व्यवस्था लामो समयसम्म चलेपनि अहिले आएर त्यसको मिति गुज्रेको जस्तो देखिन थालेको छ । आफूलाई अद्यावधिक र वैध राख्ने बौद्धिक र सांस्कृतिक स्रोतलाई यस व्यवस्थाले गुमाउँदै गइरहेको छ । अब आएर त झन् पश्चिमी देशका मतदाताहरूले आफ्ना मूलधारे राजनीतिक दलहरूलाई बहिष्कार गरेकोमा परम्परागत राजनीतिको वैधतामाथि ठूलो प्रश्न उठेको छ ।

Pro-Brexit Demonstrators Call For Government To Trigger Article 50

विश्वयुद्धपछिको राजनीतिक व्यवस्थाको विध्वंस राजनीतिक विचारधारा र दलहरूमा प्रतिबिम्बित भएको छ । सन् १९८० देखि वामपन्थ र दक्षिणपन्थको बीचमा फरक बिस्तारै हराउँदै गएको छ । राजनीतिक अन्तर्क्रियाका संरचनाहरूलाई प्रस्ट पार्नेभन्दा पनि अस्पष्ट बनाउने काम यी वाम र दक्षिण भन्ने शब्दले गर्न थालेका छन् । परम्परागत दक्षिणपन्थी दलहरू, जस्तै इटालीको क्रिस्चियन डेमोक्रेसी, बेलायतको कन्जर्भेटिभ दल अनि अमेरिकाको रिपब्लिकन पार्टी कि त छिन्नभिन्न भइसकेका छन् कि त आफ्नो पुरानो स्वरूपको छायाँ मात्र भएका छन् । त्यसैगरी परम्परागत वामपन्थी दलहरू कि त पतन भइसकेका छन् (फ्रेन्च कम्युनिस्ट पार्टी) कि त मध्यमार्गी भएका छन् (बेलायतको लेबर पार्टी) ।

विश्वयुद्धपछिको राजनीतिक व्यवस्थाको अन्त्यले राजनीतिक विचारधारा र सिद्धान्तको स्थानमा विज्ञहरूको नेतृत्वमा टेक्नोक्रेटिक (विज्ञप्रधान) शासनको उदय भएको छ । विज्ञप्रधान शासन व्यवस्थाले राजनीतिक भिजनभन्दा पनि विज्ञता र प्रक्रियाका आधारमा आफूलाई वैध ठह-याउने प्रयास गर्छ । तर युरोपेली युनियनबाहेक विशुद्ध विज्ञप्रधान शासन विरलै अस्तित्वमा छ । विज्ञप्रधान शासनले जनतालाई उत्साहित र अभिप्रेरित गर्न सक्दैन । त्यसैले विज्ञप्रधान व्यवस्थाले विश्वसनीयताका लागि आफूभन्दा बाहिर रहेका नीति र आदर्शमा भर पर्छ । त्यसैले प्राचीन दक्षिणपन्थको परम्परामा चलेको विज्ञप्रधान शासन व्यवस्थाले आफ्नो सामाजिक आर्थिक कार्यक्रमलाई वैध ठह-याउन बजारमुखी अर्थतन्त्र अपनाउँछ भने सांस्कृतिक वामपन्थमा चलेको विज्ञप्रधान व्यवस्थाले पहिचानको राजनीतिलाई आत्मसात गर्छ । यसको असर प्रस्ट नै छ : खुल्ला बजार नीतिको सांस्कृतिक पहिचानको राजनीतिसँग घाँटी जोडिएको छ ।

विज्ञप्रधान शासन व्यवस्थाको छातामुनि बजार अर्थतन्त्र र पहिचानको राजनीतिको यो संश्लेषण नै अहिले पश्चिमका राजनीतिक वर्गको आदर्श हो । विज्ञप्रधान व्यवस्थाको वैधता दुईवटा महत्वपूर्ण तत्वमा निर्भर रहन्छ : सार्वजनिक जीवनको गैरराजनीतीकरण र नागरिकको निष्क्रियता । राजनीतिक वर्गको व्यवस्थापकीय दृष्टिकोणबाट हेर्दा यो व्यवस्थाको राम्रो पक्ष भनेको यसले सर्वसाधारणको दबाबबाट राजनीतिक संस्थापनलाई बचाएर वैधताको संकटको असरलाई सीमित तुल्याउँछ । तर यो राम्रो पक्ष नै यसको नराम्रो पक्ष हो किनकि यसले राजनीतिक संस्थापनलाई मतदाताबाट अलग्याउँछ । यसैकारणले गर्दा राजनीतिक सम्भ्रान्तहरूले सर्वसाधारणलाई प्रेरणा दिनु त परको कुरा प्रभावित गर्न पनि सक्दैनन् ।

विज्ञप्रधान व्यवस्थाले विशिष्ट किसिमको राजनीतिकर्मी जन्माउँछ जसले आफ्नो करीयर कुलीनहरूबीचको प्रतिस्पर्धाको नियमलाई सिकेर, प्रभावकारी सञ्जाल निर्माण गरेर अनि व्यक्तिगत सम्बन्ध बनाएर अघि बढाउँछ । अर्काका विरुद्ध कुरा लगाउन यस्तो मानिस पोख्त हुन्छ । यस्तोखाले राजनीतिककर्मीले जनताको मनमुटु जित्ने कुरामा विश्वास गर्दैन, राजनीतिक संघर्ष वा जनताको नेतृत्व त परैको कुरा भयो । यस्ता राजनीतिकर्मी विज्ञप्रधान, कुलीनतन्त्रीय संस्कृतिका उत्पादन हुन् र उनीहरू मिडियामा, थिंक ट्यांकका रूपमा काम गर्छन् अनि यस्तैखाले सांस्कृतिक संस्थानमा रहेका आफ्ना दौंतरीसँग हिमचिम गर्छन् । तर यी सबका बाबजुद राजनीतिक कुलीनहरूको संस्थागत र कानूनी शक्तिका बाबजुद सर्वसाधारणको कल्पनामा राज गर्न उनीहरू असफल भएका छन् ।

यही कुरा युरोपेली युनियनबाट बेलायती बहिर्गमन (ब्रेक्जिट), अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको विजय र युरोपमा भएका निर्वाचन र जनमत संग्रहबाट देखिएको छ । मतदाताको ठूलो संख्याले विज्ञहरूको नीतिलाई अस्वीकार गरेको मात्र नभई उनीहरूको मूल्यलाई पनि नमानेको देखियो । यो बहिष्कारलाई गलत बुझिएको छ । विज्ञप्रधान संस्थापनलाई बहिष्कार गर्ने हरेक आन्दोलनलाई लोकरञ्जनवाद भनी एक रोगका रूपमा चित्रण गर्ने गरिएको छ । त्यसैले स्पेनको वामपन्थी पोडेमोसदेखि लिएर हंगेरीको दक्षिणपन्थी जब्बिक आन्दोलनलाई लोकरञ्जनवादी भनी चित्रित गर्ने गरिएको छ ।

लोकरञ्जनवादको यस्तो गतिछाडा परिभाषा आफैंले आफैंलाई धोका दिने काम हो । आफ्नो वैधताको अभावजन्य तनावलाई हटाउन सम्भ्रान्तहरूलाई यस्तो कुतर्कले सहयोग गर्छ । आफू सर्वसाधारणबाट टाढा बस्ने अनि लोकरञ्जनवाद सर्वसाधारणको समस्या हो भन्ने कुतर्क सम्भ्रान्तहरू गर्छन् । अलोकप्रिय सम्भ्रान्तविरुद्धका आन्दोलनलाई लोकरञ्जनवाद भनिदिएर नैतिक रूपमा नीचो देखाउने कुप्रयास हो यो । त्यसैले लोकरञ्जनवादलाई मतिहीन भीडको रोगका रूपमा पुनर्परिभाषित गरिएको छ र यस्ता मान्छे निरंकुशता, जातिवादी र अलोकतान्त्रिक सोच राख्छन् भन्ने गरिएको छ । हिलारी क्लिन्टनले घृणास्पद भनी चित्रित गर्ने यस्ता व्यक्ति र उनका उच्चवर्गीय समर्थकहरूबीचको यो फरकले सम्भ्रान्तहरूको अलोकप्रियतालाई नैतिक उच्चताको सूचकका रूपमा चित्रण गरेको छ ।

यस्ताखाले लोकरञ्जनविरोधी विचारधाराहरू प्रायः लोकतन्त्रविरोधी देखिन्छन् । ग्रिसेली दार्शनिक प्लेटोदेखि नै राजनीतिक सम्भ्रान्तहरू जनताको विचारप्रति सशंकित र प्रायः शत्रुवत् देखिन्छन् । प्रायः उनीहरूले जनतालाई समस्याका रूपमा हेर्छन् । अमेरिकी टिप्पणीकार वाल्टर लिपम्यानले सन् १९२२ मा पब्लिक ओपिनियन नामक अध्ययनमा यो विचारधाराको क्लासिक भनाई राखेका थिए । उनले ‘पूरै निरक्षर मतादाताहरू’ हामीले सोचेभन्दा धेरै ठूलो संख्यामा रहेको चेतावनी दिँदै यस्ता मान्छे बालबुद्धि भएका वा असभ्य बर्बर अनि उनीहरूलाई जसले जसो भन्यो उसै पत्याउने गरेको रूपमा चित्रण गरे । यस्ता व्यक्ति नै अहिलेका ‘कम सूचनाप्राप्त मतदाताहरू’ हुन् जो ब्रेक्जिट लगायत पोस्ट ट्रुथ राजनीतितर्फ आकर्षित छन् ।

लोकरञ्जनवादी भनिएका भिन्नभिन्न आन्दोलनको साझा पक्ष भनेको सम्भ्रान्तहरूको संस्कृति र मूल्यलाई बहिष्कार गर्नु नै हो । उनीहरूको विविध विचार र राजनीतिक अभ्यास भएपनि विज्ञप्रधान व्यवस्थाप्रतिको वैरभाव उनीहरूको साझा धारणा हो । ब्रेक्जिटका लागि मत दिने व्यक्तिहरू अनेकथरी भएपनि उनीहरू युरोपेली युनियनको कुलीनतन्त्रलाई बहिष्कार गर्न साझा रूपमा प्रेरित भएका थिए ।

विज्ञप्रधान व्यवस्थाविरोधी लोकरञ्जनवादी आन्दोलनको परिणति यसका प्रतिस्पर्धी सांस्कृतिक र राजनीतिक प्रभावहरूका सशक्तताले निर्धारण गर्नेछ । तर अल्पकालीन रूपमा भने लोकरञ्जनवादी भावनाले जनताको राजनीतिमा सहभागिता र लोकतान्त्रिक बहसको संस्कृतिलाई पुनः जागृत गर्नका लागि मार्गप्रशस्त गर्छ ।

अहिले हामीलाई लोकतन्त्र र सामाजिक एक्यबद्धताका मूल्यहरूलाई प्रवर्द्धन गर्ने सकारात्मक राजनीतिक विकल्पको खाँचो छ । हुन त जनताको सार्वभौमसत्ता, सहमतिको राजनीतिक र स्वतन्त्रतालाई कायम राख्ने प्रतिबद्धतासहितको आदर्श रामराज्यजस्तो सुनिएला तर यसका लागि संघर्ष कायम राख्नु जरूरी छ । मुट्ठीभरका कुलीन विज्ञहरूको हातमा राजनीतिको साँचो रहन दिनु लोकतन्त्रकै लागि खतरा हो ।

बेलायती समाजशास्त्री फ्र्यांक फुरेडीको स्पाइक्ड अनलाइनमा प्रकाशित निबन्ध ‘पपुलिजम : अ डिफेन्स’को भावानुवाद 

अनुवादक : विन्देश दहाल

आइतवार, मंसिर १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti