Nic Asia
Tata /sipradi
Sarbottam Cement

आलेख

जसले जेसुकै भनून्, प्रचण्ड सफल नेता हुन्

रामकुमार श्रेष्ठ


२०१३ को जुन १९ तारिखमा नेपाली समुदायको तर्फबाट अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डलाई उनकै कार्यकक्षमा भेटेर बाहिर निस्कँदा उनकै मन्त्रीमण्डलका प्रभावशाली मन्त्री क्रिस बावन भने गिलार्डकै कार्यकक्षबाहिर नेपाली समुदायलाई पर्खेर बसिरहेका थिए । गिलार्डका लागि सरकारप्रमुखबाट बाहि–याउने खेल उनकै लेबर पार्टीभित्रै चलिरहेको थियो र अब उनको कार्यकाललाई करीब एक हप्तामा अन्त्य गराउने खेल चलिरहेको थियो ।

गिलार्डको कार्यकक्षमा मन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोल्यान्ड साथैमा थिए । तर प्रभावशाली मन्त्री बावन भने बाहिर बसिरहे । उनी गिलार्डलाई हटाएर केभिन रूडलाई ल्याउने खेमामा भएका कारण बाहिरै बसेका थिए । लेबरका सक्रिय कार्यकर्ताले एक हप्तापछि गिलार्डको ठाउँ केभिनले लिने र यसले सेप्टेम्बरमा हुने संसदीय चुनावमा लेबर पार्टीलाई स्पष्ट बहुमत दिलाउने जिकिर गरेपछि मैले तीनपटक दोहो–याएर सोधें, तपाईं साँच्चै नै त्यो सरकारले लेबरलाई स्पष्ट बहुमत दिलाउने कुरामा निश्चिन्त हुनुहुन्छ ?

उनको लगातार सकारात्मक जवाफपछि म उनको राजनीतिक दरिद्रताप्रति मनमनै मुस्कुराएँ । मुखैमा आइसकेको चुनावको बेला पार्टीभित्र हुने त्यत्ति ठूलो विग्रहले पार्टीलाई बलियो बनाउने सोचले मूर्त रूप लिन सकेन र २७ जुनमा प्रधानमन्त्री भएका केभिन तीन महिना पनि नपुग्दै १८ सेप्टेम्बरमा आँसु खसाल्दै प्रधानमन्त्रीबाट पनि हटे र राजनीतिबाट पनि संन्यास लिए ।

अब नेपालको प्रसंग झिकौं । अनेकौं अन्योल, जटिलता र व्यवधानका बाबजुद वर्तमान सरकारले छिटफुट घटनाबाहेक ७३ प्रतिशत मत खस्ने गरी स्थानीय निकायको पहिलो चरणको चुनाव सम्पन्न गराएको छ । नेपाली जनतालाई २० वर्षपछि स्थानीय तहको निर्वाचनको लागि मताधिकार प्रयोग गर्ने अवसर सरकारले दिलायो ।

दुई दशकपछि स्थानीय तहको वैशाख ३१ आइतवार भएको निर्वाचनमा थला परेका बिरामीदेखि क्रियापुत्रीसम्मले मतदान गरेका छन् । नुवाकोटमा एक सय १५ वर्षीया र गोरखास्थित शहीद लखन गाउँपालिकामा १०४ वर्षीया वृद्धाले समेत आफ्नो मताधिकार प्रयोग गरे । यसले नेपालको इतिहासमा ठूलो महत्त्व राख्दछ र पहिलोचोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको यो दिन एक ऐतिहासिक दिनको रूपमा स्थापित हुनेछ ।

वर्तमान सरकारले चुनाव नगराउने खेल खेलिरहेको आरोप लागेको बेला देशमा चुनाव जसरी पनि गराउनुपर्छ भन्ने कुरामा सबैभन्दा बढी चिन्ता वर्तमान प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ लाई थियो र उनका लागि आफ्नो पार्टी कुन स्थानमा आउँछ भन्ने कुरा गौण र चुनाव कसरी सम्पन्न गर्ने भन्ने कुरा प्रधान थियो ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक व्यवस्था प्रचण्डको पार्टीको मुद्दा हो र त्यो मुद्दा चुनाव नभइकन संस्थागत नहुने भएकाले चुनाव परिणामले उनको पार्टीलाई दिने साइजभन्दा चुनाव कसरी सम्पन्न गर्ने भन्ने प्रश्न उनका लागि प्रधान कुरा हो । सम्पन्न चुनावले नेपालको प्रगतिको रथको पांग्रा केही अघि बढेको पनि संकेत गर्छ ।

पहिलो चरणको स्थानीय निर्वाचन परिणाम कस्तो आउने भन्ने आधार एक किसिमले तयार भइसकेको थियो । एमालेभित्र पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाल एक किसिमले निरीह जस्तै देखिए । तर चुनाव परिणाम पार्टीको पक्षमा पार्नका लागि एक किसिमले यो आवश्यक थियो र भयो पनि ।

नेपाली कांग्रेसभित्र पहिलो त गिरिजा प्रसाद कोइरालाको राजनीतिक उचाइँसँग तुलना गर्न नमिल्ने शेरबहादुर देउवा पार्टी अध्यक्ष हुनु, दोस्रो प्रहरी महानिरीक्षक नियुक्ति र महाअभियोग प्रकारणपश्चात् नेपाली कांग्रेसभित्र भने आसन्न चुनावलाई बिर्सेर महाधिवेशन नै आएजस्तो गरी नेता र कार्यकर्ताले हरकत देखाउनु चुनाव परिणामलाई प्रभाव पार्ने प्रमुख कारणका रूपमा देखिए ।

शिक्षित र अशिक्षित कार्यकर्ताहरूले चर्काचर्का कुरा गरेर बेमौसमको बाजा बजाउँदै व्यक्तिगत प्रजातान्त्रिक अधिकारको उपभोग त गरे, तर समग्र पार्टीका लागि भने फाइदा पु–याए वा घाटा भन्ने कुराको लेखाजोखा गर्न सकेनन् । यता पार्टीका हस्तीद्वय मोहन वैद्य र डा बाबुराम भट्टराईविना अनेकौं जटिलता र व्यवधानका बाबजुद चुनाव जसरी पनि गराउनैपर्ने बाध्यताका साथ चुनावमा जानुपर्ने विवशताको शिकार थियो माओवादी केन्द्र ।

यसैबीच देखापरेको महाअभियोग प्रकारणको फाइदा एक ढिक्काको रूपमा देखिएको एमालेले बढी लियो । यी कारणहरूले गर्दा नेपाली कांग्रेसको चुनाव परिणाम खस्कने, एमालेको मजबूत हुने वातावरण तयार हुन गयो भने माओवादीले यथास्थानमा रहनसक्ने सम्भावना प्रबल देखियो ।

जे होस्, छिटफुट घटनाहरूलाई अतिरञ्जित नगराइने हो भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । सुशील कोइरालाको कार्यकालमा तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हात मिलाउँदै दुईजनालाई मात्रै बधाई दिए संसद् भवनमा । ती थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराई ।



लेखक श्रेष्ठ
उठान गरिएका राष्ट्रिय मुद्दाहरूलाई संस्थागत गर्ने जिम्मेवारी सार्थक बनाइएको यस क्षणमा बधाई पाउने स्थानमा अब बाँकी छन् केवल ‘प्रचण्ड’ । उनले चिची पनि पापा पनि भन्नतिर लागेनन् र त्यता लागेका भए यो सम्भव पनि थिएन । राष्ट्रिय मुद्दाहरू जस्तो विषयलाई पनि केटाकेटीहरूले गुच्चा खेलेजस्तो गरी खेल्नसक्ने खतरनाक पेशेवार खेलाडीहरूबाट जोगिँदै देशलाई यहाँसम्म ल्याउन सफलता प्राप्त गरेकोमा उनमा अन्तर्निहित विभिन्न कमजोरीका बाबजुद उनलाई ‘सफल नेता’ भन्नु अतिशयोक्ति नहोला कि त ?

लेखक सिभिल इन्जिनियर हुनुहुन्छ र हाल भिक्टोरिया, अस्ट्रेलियामा बसोवास गर्नुहुन्छ ।

मंगलवार, जेठ २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell