Ruslan
Tata /sipradi
Nic Asia

आलेख

सिरियाको अलेप्पोमा भयावह युद्ध : पश्चिमी हस्तक्षेपको दुष्परिणाम

तारा मककोर्माक

सिरियाको अलेप्पो शहरको पूर्वी भागमा सरकारी सेना र विद्रोहीबीचको लडाईं अन्त्य हुने क्रममा छ । सरकारी सेनालाई इरानी लडाकुहरू, हेजबोल्लाह र कुर्दिशहरूको समर्थन छ र उनीहरूले विद्रोही जिहादीको कब्जामा रहेका पूर्वी अलेप्पोका भूभागहरू आफ्नो नियन्त्रणमा लिन थालेका छन् । हजारौं नागरिकहरू लडाईंबाट भागेर सरकारी वा कुर्दिशको नियन्त्रणमा रहेको इलाकातर्फ जान थालेका छन् । करीब दुई लाख पचार हजार मानिसहरू युद्धमा फँसेका छन् ।

aleppo-crisis

सिरियामा मृत्यु र विध्वंसको आँकडा भयावह छ । अनुमानतः चार लाख मानिस मरिसकेका छन्, सिरियाबाट लाखौं मानिस अन्तै जान बाध्य भएका छन् ।

सिरियाली राष्ट्रपति बशर अल असद पूर्वी अलेप्पोमाथि पुनः नियन्त्रण पाउन आतुर छन् । सरकारविरोधी केही समूह सरकारसँग सम्झौता गरेर मुसलमानी समूहको कब्जामा रहेका अन्य इलाकामा जान चाहन्छन् । यसो गर्दा सिरिया विभाजित हुन्छ जसमा सरकारले प्रमुख शहर र अन्य महत्वपूर्ण इलाकामा कब्जा जमाउँछ ।

रुसको समर्थन प्राप्त सिरियाली सेनाले नागरिकहरूलाई सुरक्षित ठाउँतर्फ जानका लागि केही समय बम आक्रमण रोकेको भएपनि थोरै मानिस मात्र अन्त गए । मुसलमानी समूहले उनीलाई अन्त जान रोकेको सिरियाली सरकारको भनाई छ । संयुक्त राष्ट्रसंघले अल नुस्रा लडाकुहरूलाई पूर्वी अलेप्पोबाट अन्तै जान भनेपनि उनीहरू रणनीतिक रूपमा महत्वपूर्ण यस शहरलाई छोड्न चाहँदैनन् ।

यसबीचमा पश्चिमी मुलुकहरूले सिरियाको युद्ध चर्किनुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको बताउँदै आएका छन् । तर यो कुतर्क हो । रुसले सिरियामा हस्तक्षेप गर्न थालेको अघिल्लो वर्षको सेप्टेम्बर महिनादेखि मात्र हो । तर सिरियाली युद्ध शुरू भएको सन् २०११ देखि हो । सन् २०१५ मा मुसलमानी अतिवादी समूहले सरकार ढाल्नसक्ने देखिएपछि बल्ल रुसले सरकारको अनुरोधमा हस्तक्षेप गरेको हो । यसो गर्नुका पछाडि उसले सिरियाली सरकारलाई बलियो बनाउने र इराकको जस्तो स्थिति नआओस् भन्ने चाहना राखेको थियो ।

पुटिन सिरियाली युद्धमा प्रवेश गर्नुअघि सिरिया कसरी यस्तो बिजोकको स्थितिमा पुग्यो ? यसबारेमा समाचार प्रायः बनाइँदैन । खासमा सिरियाली युद्ध यत्तिका वर्षसम्म लम्बिनुमा पश्चिमी देशहरूको हात छ । अमेरिका, बेलायत, टर्की, साउदी अरेयिबा, कतार र युएईले सिरियामा राष्ट्रपति असदविरुद्ध लड्नका लागि जिहादी समूहलाई सहायता गरिरहेका छन् । अरब क्रान्तिको शुरूआतदेखि नै पश्चिमको हस्तक्षेपका कारण यो भयावह युद्ध चर्कंदो छ ।

असद सरकारले सरकारविरोधी प्रदर्शनलाई क्रूरतापूर्वक दमन गरेपछि गृहयुद्ध चर्किन थालेको हो । यहीबीचमा पश्चिमी शक्तिले असदलाई जसरी भएपनि सत्ताच्युत गर्न खोजे । लामो समयदेखि शासन चलाइरहेका व्यक्तिलाई अनायास देशको सुरक्षा व्यवस्था मिलाउन पाउँदैनस् भनियो । यसो गर्दा विद्रोही शक्तिहरूको मनोबल बढ्यो र द्वन्द्व चर्कियो । त्यसपछि पश्चिमी सरकारहरूले असदको वैधतालाई खारेज गर्दै उनीविरुद्ध लड्ने समूह छान्न थाले । युद्ध चर्किरह्यो ।

सिरियासँग कुनै साइनो नभएका व्यक्तिको समूहलाई अमेरिका र उसका सहयोगीले उचाल्दै लोकतान्त्रिक सिरिया बनाउन लागेको प्रचार गरे । यसरी खडा गरिएको सिरियाली राष्ट्रिय परिषद् अहिले अस्तित्वमा छै्रन किनकि सिरियाली जनतासँग यसको कुनै सम्पर्क नै थिएन । फ्री सिरियन आर्मी भन्ने अर्को समूहका बारेमा पश्चिमी मिडियामा चर्चा हुने गर्छ तर यसको ठोस अस्तित्व छैन । सरकारी सेनाबाट भागेका र जिहादीहरूको मिसमास मात्र हो यो ।

अमेरिकी र युरोपेली सहयोग विपक्षी समूहलाई मात्र नभएर असदविरुद्ध लड्नका लागि उनीहरूले अन्य सशस्त्र समूहलाई पैसा पेल्ने समेत गरेका छन् । यस्ता समूह नै कथित विद्रोहीहरू हुन् । खासमा यस्ता विद्रोहीहरू अतिवादी मुसलमानहरूको समूह हो । यिनीहरूमध्ये केहीलाई अमेरिकी गुप्तचर संस्था सीआईएले पैसा दिन्छ । नूर अल दीन अल जेन्की भन्ने समूह त बालबच्चाको टाउको गिँड्नका लागि कुख्यात छ । जभात अल नुस्रा भन्ने अर्को समूह छ । यस्ता अतिवादी समूह आफू आफूमै लडिरहन्छन् तर उनीहरूको साझा लक्ष्य भनेको सिरियामा अतिवादी मुसलमानी शासन लाद्नु हो । बालबच्चाको हत्या गर्ने र सिरियामा आइएस आतंकवादीको जस्तो शासन चलाउने समूहलाई अमेरिकी र बेलायती जनताबाट उठाइएको कर प्रयोग गरेर हतियार किन्ने गरिएको छ ।

सन् २०१२ देखि बेलायती र अमेरिकी गुप्तचर संस्थाले लिबियाबाट हतियार ल्याएर अनेकौं सिररियाली समूहलाई दिने गरेको छ । अतिवादी समूहलाई हतियार नदिएको, उदार समूहलाई मात्र दिएको भनी सीआईएले दाबी गरेको भएपनि सबैखाले समूहले हतियारमा पहुँच पाएका छन् ।

टर्की, साउदी अरेबिया र कतार जस्ता देशले त खुल्लमखुल्ला आइएस जस्तो आतंकवादी समूहलाई पैसा र हतियार दिइरहेका छन् । अमेरिकी र बेलायतीहरूलाई यो कुरा राम्ररी थाहा छ ।

इराक, लिबिया र सिरियामा पश्चिमी नीतिनिर्माताहरूले हस्तक्षेपको माध्यमले युद्ध चर्काइरहेका छन् । अन्य देशको द्वन्द्वमा हस्तक्षेप गर्नु राम्रो कुरा हो भन्दै बारम्बार उनीहरू होमिन्छन् । इराकमा हस्तक्षेप गरेर लाखौं मान्छे मारेर पनि उनीहरू रक्तपिपासा शान्त भएन । उनीहरूले लिबियामा अनि अहिले सिरियामा त्यही काम गरिरहेका छन् । पश्चिमका सम्भ्रान्तहरू आफ्ना कार्यले ल्याउने विनाशकारी परिणामका बारेमा मतलबै गर्दैनन् । लिबियामा हस्तक्षेप गर्नु भूल भएको भनी बेलायती हाउस अफ कमन्सले दिएको प्रतिवेदनको मसी सुक्न नपाउँदै बेलायती सांसदहरू सिरियामा थप हस्तक्षेप गर्नुपर्ने माग गर्छन् । यो पूरै पागलपन हो ।

परिस्थिति जतिसुकै खराब भएपनि पश्चिमी हस्तक्षेपले त्यसलाई झन् चर्काइदिन्छ । पश्चिमले हस्तक्षेप नगरेको भए सिरियाली युद्ध यत्ति सारो डरलाग्दो हुने थिएन र पुटिनले सन् २०१५ मा आएर हस्तक्षेप गर्नु पर्दैनथियो । जीवन बचाउनु छ भने हस्तक्षेप बन्द गरिनुपर्छ ।

बेलायतको लिसेस्टर विश्वविद्यालयमा अन्तर्राष्ट्रिय राजनीति अध्यापन गर्ने तारा मककोर्माकले स्पाइक्ड अनलाइनमा प्रकाशित गरेको लेख  'इस्ट अलेप्पो : अ कटास्ट्रोफी अफ द वेस्ट्स मेकिङ'को भावानुवाद

अनुवादक : विन्देश दहाल

सोमवार, मंसिर २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing