sarbottam and nepal life

आलेख

अंकमा योग्यता नाप्ने ‘मुसादौड’ शिक्षा प्रणालीले कस्तो भविष्य निर्माण गर्दैछ ?

अभिजित पाठक

हामी फेरि एकचोटि परीक्षाको निरंकुशतामा फर्केका छौं ।

एसएलसीको परीक्षालाई सन् २०११ मा वैकल्पिक बनाइएको भएपनि माध्यमिक शिक्षा केन्द्रीय बोर्ड (सिबिएसई)को निर्देशिकाले सन् २०१८ देखि विद्यार्थीलाई परीक्षा लिनका लागि अनिवार्य गराएको छ ।

एकप्रकारले हेर्दा यो आश्चर्यजनक कुरा होइन किनकि हाम्रो शिक्षा प्रणाली परीक्षाकेन्द्री छ । रवीन्द्रनाथ टेगोर र जिद्दु कृष्णमूर्ति जस्ता दार्शनिकले सिर्जनात्मक, तनावरहित र बालकेन्द्री सिकाइको अवधारणा ल्याएको भएपनि शिक्षाप्रणाली जहिल्यै परीक्षाकेन्द्री रह्यो ।

हाम्रो शिक्षा प्रणालीको प्राथमिक लक्ष्य भनेको बालबालिकाको भित्री सम्भावनालाई जगाउने नभई यो त भविष्यको जनशक्तिको छनोट गर्ने क्रूर प्रक्रिया हो । अझ स्रोतको अभाव अनि सामाजिक डार्विनवादको नवउदारवादी नीतिले निर्देशित गरेको समाजमा एउटा मापदण्डको आधारमा व्यक्तिहरूबीचको प्रतिस्पर्धा वा वरीयता निर्धारण गर्ने काम हुने गरेको छ र यसैलाई अभिभावक र शिक्षकहरूको ठूलो तप्काले स्वीकार्ने गरेका छन् ।

त्यसैले त परीक्षा भनेको व्यक्तिलाई प्रतिस्पर्धात्मक बनाउने अनि कठोर मेहनत र सफलताका मूल्यमान्यतालाई अंगाल्ने प्रक्रिया हो भनी बुझिन्छ । परीक्षाहरूलाई ‘कार्यात्मक’ रूपमा लिइन्छ किनकि तिनले व्यक्तिको छनोट गर्छन् अनि परीक्षालाई यसरी सामान्यीकरण गर्दा व्यक्तिहरूमाथि निरन्तर निरीक्षण गर्न सजिलो हुन्छ तथा यसबाट व्यक्तिको शरीर र मस्तिष्कलाई वशमा राख्न सकिन्छ ।  फ्रान्सेली दार्शनिक मिसेल फुकुले अनुशासनात्मक समाजको बारेमा गरेको तर्क यहाँ पनि लागू हुन्छ ।

टेलिभिजनका रियालिटी शोदेखि लिएर रोग खुट्याउने क्लिनिकसम्म जताततै परीक्षाहरू हुने भएपछि परीक्षाविनाका विद्यालयको कल्पना पनि गर्न सकिन्न । यस्ता परीक्षा फुकुका ‘शक्ति उत्सव’ अवधारणा सँग मेल खान्छन् ।

तर हामीले तीनवटा सत्यका महत्वका बारेमा गम्भीर हुनुपर्ने बेला आइसकेको छ । पहिलो, परीक्षाको सर्वव्यापी संस्कृतिमा अर्थपूर्ण सिकाइ सम्भव छैन । विद्यालयको कर्मकाण्डसँग जानकार जोकसैलाई पनि थाहा छ, सिकाइको समग्र अनुभव जम्मा एउटा कुरामा केन्द्रित छ — कसरी परीक्षामा राम्रो अंक ल्याउने । यस दृष्टिकोणले विद्यार्थीलाई सिकाइका आनन्दहरू लिनबाट रोक्छ, उनीहरूलाई ठिंगु–याउँछ र कुनै पनि विषयमा गहिरो गरी प्रवेश गर्न उनीहरूका लागि लगभग असम्भव नै हुन्छ ।

त्यसैले त कालोधन जस्तै एक समानान्तर शिक्षा प्रणाली हावी हुन्छ — ट्युसन पढाउने केन्द्रहरू, कोचिङ सेन्टर र सबैखाले गाइडबूक बालकको सिकाइ अनुभवको अभिन्न अंग बन्न पुग्छ ।

हालका केही वर्षमा विज्ञान र मानविकीका महान् व्यक्तित्वहरूले सिकाइमा चासो जगाउनका लागि कथा, चित्र र कार्टून सहितको नवीन तथा संवादात्मक शैली अपनाएर पुस्तक लेखेका भएपनि यस्ता पुस्तकको भावनालाई परीक्षाका तर्कले मारिदिन्छन् ।

यसको साटो वस्तुगत, तथ्यपरक र छोटा उत्तरप्रतिको गहिरो लगावले सिर्जनात्मक अभिव्यक्ति र समालोचनात्मक विचारलाई नकार्छ । विद्यार्थीहरूले जति बढी यस्ताखाले परीक्षा दिन्छन्, त्यति बढी उनीहरू कल्पनाहीन र विचारशून्य हुन पुग्छन् ।

दोस्रो, यसले शिक्षण पेशाको भावनालाई मारिदिन्छ । शिक्षकले प्रेरणादायी भूमिका निर्वाह गर्ने तथा विद्यार्थीका लागि संसार चिहाउने झ्याल बन्ने काम गर्दैन । बरू केन्द्रीकृत परीक्षा संरचनाका कारण शिक्षकहरूले स्वायत्तता अनि गान्धीले भनेजस्तो सत्यको प्रयोग गर्नका लागि सिर्जनात्मकता गुमाउँछन् ।

यसको साटो शिक्षक पनि कर्मचारीतन्त्रको नियन्त्रणमा रहेको सिकाइ यन्त्रको एक हिस्साका रूपमा सीमित हुन पुग्छ । यो यन्त्रको एकमात्र काम बालकलाई परीक्षाका लागि तयार पार्नु हो । ब्रान्डमा मात्र ध्यान दिने विद्यालय व्यवस्थापन तथा अतिप्रतिस्पर्धात्मक र महत्वाकांक्षी अभिभावकप्रति मात्र यो जवाफदेही रहन्छ । यसबाट हामीले सिर्जनात्मक शिक्षक गुमाएसँगै पतनको बाटो खन्छौं ।

तेस्रो, हप्तैपिच्छेका परीक्षादेखि लिएर बोर्ड परीक्षासम्म परीक्षाहरूको सिलसिला यति दमनकारी छ कि मूल्यांकनको थप सूक्ष्म तथा जीवन्त अभ्यासको कल्पना गर्न पनि अत्यन्त मुश्किल पर्छ । बालबालिका चुनौती चाहन्छन् र उनीहरूको ज्ञानमूलक, बुद्धिमूलक, शारीरिक, कलात्मक तथा भावनात्मक पक्षलाई सक्रिय गर्नका लागि प्रेरित गर्ने काम नै वास्तविक शिक्षण हो । अहिलेको शिक्षणले त बालबालिकामा डर पैदा गर्छ ।

सामूहिक र सहयोगी कामले विनम्रता र पारस्परिक सिकाइको भावना पैदा गर्छ । छलफल मार्फत पुस्तकलाई संसारसँग जोड्ने, फिल्ड भिजिटमा लाने, समुदायमा घुलमिल गराउने अनि हातले काम गराउने लगायतका क्रियाकलापले बालकभित्र रहेको आन्तरिक सम्भावनालाई जगाउन सक्छ । बुद्धिमत्ताका विभिन्न रूप हुँदाहुँदै हामी किन परीक्षाको एकांगी संरचनालाई समातेर बस्ने ? यसले त विद्यार्थीको अद्वितीय कलालाई पूरै बेवास्ता गर्छ । शिक्षालाई त उत्सव बनाउनुपर्छ जसले प्रत्येक बालकमा दीप जलाओस् । एक ठूलो तप्कालाई नामेट गर्नका लागि निर्मम परीक्षा लिने काम सही शिक्षा होइन ।

समाजका रूपमा हामीसँग फरक किसिमको शिक्षाको अभ्यास गर्ने हिम्मत शायद छैन । मुक्तिका विचारहरूलाई अतिआदर्शवादी भन्दै निरंकुश समाजले रद्दीको टोकरीमा मिल्काउँछ । अनि जहिलेपनि परीक्षा, झन् झन् परीक्षा मात्र हुन्छन् । मुसादौडका उत्पादकहरूले न्यूनतम अंकको सीमा बढाइरहँदा धेरैभन्दा धेरै विद्यार्थीले आफू अनुत्तीर्ण भएको अनुभूति गरिरहन्छन् ।

आजकल त डिस्टिंक्सन नल्याउने विद्यार्थीलाई फेल सरह मानिन्छ । यसरी अनुत्तीर्णको परिभाषा बदलिएपछि बालबालिका र युवायुवतीले कलंकयुक्त पहिचान बोक्छन् र आफ्नो मूल्य हराउँछन् ।

अनि हामी चाहिँ यो अर्थहीन नाटक हेरिरहन्छौं । टेलिभिजन च्यानलहरूले टपरहरूको अन्तर्वार्ता लिन्छन् र उनीहरूलाई तत्कालै सेलिब्रिटी बनाउँछन् अनि विद्यालयहरूले फेल भएका विद्यार्थीका लागि परामर्शदाता र मनोविज्ञानवेत्ता नियुक्त गर्छन् । हामी यही बाटो हिँड्नका लागि अभिशप्त छौं कि हामीले शिक्षाको सुगन्धलाई फेरि पाउन सक्छौं ?

(अभिजित पाठक जवाहरलाल नेहरु विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक हुन् । द वायर डट् इनमा प्रकाशित यो लेख नेपालको सन्दर्भमा पनि सान्दर्भिक देखिएकाले प्रकाशन गरेका हौं । तस्वीरः मेरीन्यूजबाट)

अनुवादक : विन्देश दहाल

बिहिवार, पौष १४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell