sarbottam and nepal life

आलेख

काभ्रेकी लक्ष्मी परियारको हत्या, यी अनुत्तरित प्रश्नको जवाफ कसले दिने ?

विन्दु परियार

अफिसको कामले उपत्यकाबाहिर थिएँ, फिल्डको काम र नेटको एक्सेस राम्रो नभएकोले सामाजिक सञ्जाल राम्रोसँग हेरेकी थिइनँ ।

गएको मंसिर २६ गते आइतवार प्रदीप परियार दाइले एउटा न्युजको लिंक दिएर, यो हेर अनि केही गर्नुप–यो, आवाज उठाउनुपर्‍यो भन्नुभयो । लिंक खोलेर हेरें, त्यसमा लक्ष्मी परियारको छोराको बिलौना थियो जुन सबैले पढिसक्नुभएको छ ।

म त्यतिखेर चितवनमा थिएँ, हतारहतार एड्वानकै अध्यक्ष पम्फा परियारलाई यस्तो घटना भएछ । दलित अधिकारकर्मी र संघसंस्थाले के गर्दैछ बुझ्नू, यस्तो अमानवीय कार्यको विरोध हुनैपर्छ तपार्इं पनि भ्याएसम्म जानू । त्यसपछि म चितवनमै रहेर पनि यस्तो अमानवीय कार्यको विरुद्ध आवाज त उठाउनैपर्छ भनेर सामाजिक सञ्जालमा लेख्न थालें ।

फिल्डमा ३० गतेसम्म काम रहेकोले यहाँ विभिन्न संघसंस्थाले निकालेको र्‍याली र विरोध कार्यक्रममा भाग लिन पाइनँ । तर पुस १ गते दलित नागरिक मञ्च र दलित भ्रातृसंस्थाहरूको संयुक्त विरोध र्‍याली छ भन्ने खबर पाएपछि ३० गते हतारहतार काम सकेर काठमाडौं फर्किएँ । एकहप्ते फिल्डको काम अनि बसको यात्रा अलि थकाइ लागेकोले रूममै बसिरहेको थिएँ । महिला मञ्चको सृजना पुनको फोन आयो ।

विभिन्न संस्था, वकिल सब मिलेर लक्ष्मी परियारको मुद्दाको फ्याक्ट फाइन्डिंगका लागि काभ्रे जाँदैछु, तपाईंहरूको संस्थाबाट पनि जानुपर्‍यो भन्नुभयो । मैले हुन्छ त भनें, तर को जाने ? संस्थाको अध्यक्षसँग सल्लाह गरें । तपाईं नै जानुपर्छ भन्ने कुरा आएपछि १ गते बिहान करीब ६ बजेतिर हामी पाँचजना घटनास्थल काभ्रेको सानो बान्थलीतिर लाग्यौं ।

दोलालघाटबाट करीब साढे तीन घण्टाको कच्ची बाटो छिचोल्दै हामी करीब १२ बजेतिर हामी मृतक लक्ष्मी परियारलाई अमानवीय व्यवहार गर्ने हीरा लामाले पढाउने स्कूल तथा मुख्य घटना भएको स्थल पुगियो ।

घटनास्थल पुगेर पहिला स्कूलपछाडिको घरको दाइसँग केही कुरा गर्न चाह्यौं तर उहाँले खासै कुरा गर्न चाहनुभएन । त्यसपछि हामी स्कूलतर्फ लाग्यौं । स्कूलमा परीक्षा चलिरहेको हुँदा सुनसान थियो । तर स्कूलको आडको एउटा सानो पसल रहेछ । त्यहाँ तीनचार युवाहरू उभिएको देखेपछि उहाँहरूसँग केही कुरा बुझांै भनेर त्यहाँ पुग्यौं । कुरा गर्न खोज्यौं । उहाँहरूले ठीकै छ, कुरा गराैं न, के कुरा गर्न चाहनुभएको भन्दा हामीले २० गतेको घटना र त्यसपछि लक्ष्मीको मृत्युको बारेमा भनेपछि पहिले कुरा गर्‍याैं ।

त्यही स्कूलको हेडमास्टरसँग उहाँ नाताले हीराको काका पर्नुहुँदो रहेछ ! उहाँले घटना भएको समय स्कूल समयपछि नै रहेकोले घटनाबारे केही थाहा नभएको तर सुन्न चाहिँ सुनेको अनि भोलिपल्ट हीराले प्रहरी चौकीलाई लंक्ष्मीविरुद्ध गालीगलौजको मुद्दा गरेको बताउनुभयो । उहाँ प्रत्यक्षदर्शी हैन भन्ने थाहा भएपछि अर्को व्यक्ति छेडुप तामाङसँग कुरा गर्‍याैं । तामाङको भनाइ जस्ताको तस्तैः

मंसिर २० गते दिउँसो करीब ४ः३० तिर म घरमा बसिरहेको थिएँ । गाउँकै एकजना बच्चाले त्यहीबेला कपाल काटिदेऊ भनेपछि म कपाल काट्दै थिएँ । त्यहीबेला हीराको आमा र मृतक लक्ष्मी एकअर्काको कपाल लुछ्दै स्कुल मैदानमा आइपुगे । तर मैले त्यतातिर ध्यान नै दिइनँ । म कपाल काट्दै गर्दा उनीहरूले कुटेको पनि सुनें । हीराको आमाले ‘नाम्लो ल्याऊ त, यसलाई त आज बाँधेर दिसा ख्वाइदिनुपर्छ’ भनेको सुनें ।

अनि हीराको आमा मानव मल खोज्न जाँदा थोरै मात्रै भेटें यति भने पनि खान दिनुपर्छ भन्नुभएको पनि सुनेको थिएँ, तर देखेको होइन । त्यसपछि लक्ष्मीलाई पोलबाट फुकाइएपछि लक्ष्मी घरतर्फ कराउँदै लागेको सुनें ! अनि हीराले छेडुपकै घरमा रहेको दाउराको चाङबाट चिर्पट लगेर हानेको थाहा पाएँ । त्यो पनि देखेको होइन, सुनेको मात्रै ।

अचम्मको कुरा त यो घर र घटनास्थल १० मिटरभन्दा पनि कम दूरीमा छ । यति नजिक हुँदा पनि एउटी महिलालाई कुट्दा पनि कसरी हेर्दै नहेरी सुनिरहन सक्छ मान्छे ? अनि त्यति धेरै कुटिरहँदा र दिसा खुवाइरहँदा कसरी मौन रहिरहन सक्छ त्यहाँको समाज ? यदि त्यहाँ लक्ष्मी परियार नभएर लक्ष्मी लामा, तामाङ, क्षेत्री, थापा, उपाध्याय हुन्थ्यो भने पनि यसरी नै हेरिरहन्थ्यो त्यो समाज ? मेरो पहिलो प्रश्न ।

घटना भइसकेपश्चात् फेरि लक्ष्मी परियार कराउँदै मलाई कुट्ने, दिसा खुवाउने, म तिनीहरूलाई मार्छु भन्दै छेडुपको घर हुँदै मास्तिर लागेको तर हीराको घरतिर नलागी छेडुपको गोठतिर लागेको भोलिपल्ट छेडुपको भैंसीलाई थोरै काटेको पाइयो । त्यसपछि अघिल्लो रात मृतक लक्ष्मी त्यही गोठतिर लागेको भएर लक्ष्मीले भैंसी काटेको भनेर छेडुपले प्रहरीमा रिपोर्ट दिएको तर लक्ष्मीले अन्तिमसम्म मैले काटेको हैन भनेको पाइयो ।

त्यहीँ नै हीराले पनि लक्ष्मीविरुद्ध गाली बेइज्जतीको रिपोर्ट दिएको अनि २३ गते प्रहरी आएर मिलापत्र गरेर गएको पाइयो । २४ गते बिहान करीब ६ः३० तिर छिरिङ तामाङले लक्ष्मीको लोग्नेले लक्ष्मीलाई एक लट्ठी हानेको देखेको र ७ः३० बजे लक्ष्मी मरेको खबर सुनेको तर हेर्न नगई काममा गएको त्यहाँबाट पनि सबै लक्ष्मी त म–यो रे भनेर हेर्न गएपछि छेडुप घर आएर काम गरेको अनि प्रहरी आएपछि मात्रै घटनास्थल पुगेको त्यहाँका स्थानीयहरू भनाइ छ ।
अब मेरो दोस्रो प्रश्न ।

छेडुपको भनाइ अनुसार लक्ष्मीको पति मिलन परियार, हीरा लामा र छेडुप मिल्ने साथी अझै भनौं, एउटै दाजुभाउजु जस्तो एउटै थालमा खाएर हुर्केका रहेछन् । उनको भनाइलाई मान्ने हो भने बिहान ६ः३० बजे लक्ष्मीलाई पिटेको पनि सुनेको ७ः३० तिर मरेको पनि सुनेको तर त्यति नजिक बेस्ट फ्रेन्डको श्रीमती मर्दा पनि हेर्न नगई १०ः३० मा काममा फर्केर पनि हेर्न नगई घरमै काम गरिरहनु कुन चाहिँ बेस्ट फ्रेन्डको मनले मानेको ?

तेस्रो बयान लक्ष्मीकै देवरानी सरिता नेपालीबाट । उहाँका अनुसार २० गतेको घटनाको उहाँ प्रत्यक्षदर्शी नभएपनि थाहा चाहिँ पाएको हो । उहाँको भनाइ अनुसार मृतक लक्ष्मी परियारको पिइरहने, पिएपछि पनि झगडा गर्ने बानी भएकोले सरितासँग पनि राम्रो सम्बन्ध थिएन । बीस गतेको घटनापछि प्रहरी २३ गते आएको थियो । प्रहरीले मिलापत्रमा के लेखेको छ भन्ने नपढी ‘तिमीले पनि यहाँ साइन गर्नुपर्छ’ भनेपछि साइन गरेकी रहिछन् । मृतक लक्ष्मीले ‘मैले नै कुटाइ खाने, मलाई नै दिसा खुवाउने, अनि मैले नै किन जरिवाना तिर्नुपर्ने’ भन्दा ‘दिसा खुवाइएको हैन, दिसा खुवाएको भए त लक्ष्मी बौलाई हाल्थिनी’ भनेको थाहा छ । प्रहरीले ‘अझै हामीले बोक्सी कुटपिट झैझगडा बहुविवाह जस्ता मुद्दालाई यसरी नै मिलापत्रमा टुंग्याउछौं’ भनेको थाहा छ ।

त्यसपछि २४ गते बिहान जेठाजु र जेठानी माइत जान्छु भनेर हिँडेको तर जेठाजु मास्तिर र जेठानी तेर्सै लागेको धेरैबेरसम्म डाँडामा ननिस्केपछि मृतक लक्ष्मीकै माइलो छोरालाई हेर्न पठाउँदा छोरा रुँदै ‘आमा ढलिरहेककी छिन्’ भनेर कराएको पाइयो । त्यसपछि सरिता र सरिताको सासूसहित हेर्न जाँदा उनीहरूले मृतक लक्ष्मीको टाउकोपट्टिको आधा शरीरभित्र र आधा शरीरबाहिर रहेर ढलिरहेको देखे । त्यसपछि लक्ष्मीको श्रीमानलाई खबर गरिएको थियो ।
यहाँनेर मेरो तेस्रो प्रश्न । प्रहरीले मिलापत्रमा के थियो, पढेर सुनाउनुपर्थेन ? साथै यस्ता मुद्दाहरू प्रहरीले नहेरी मिलापत्र गराउँछौं भन्नु प्रहरीको गैरजिम्मेवारी हो कि हैन ?

तेस्रो बयान हामीले छिरिङ तामाङसँग लियौं । उहाँको भनाइ अनुसार करीब ६ः३० तिर मृतक लक्ष्मीको घर बाटो आउँदै गर्दा उहाँले एक लट्ठी हानेको देख्नुभयो । त्यसपछि यिनीहरू सधैं यस्तै हो भनेर केही नबोली छेडुपको घरमा गएर मिलनले त श्रीमती कुट्दैछ भन्नुभयो ।

विन्दु परियार
अब मेरो चौथो प्रश्न । सधैंको झगडा भएपनि त्यसरी एउटा लोग्नेमान्छेले एउटी श्रीमती कुटिरहँदा अर्की महिला कसरी चुपचाप केही नभनी जान सक्छे ? अनि माथिल्लो घर मृतक लक्ष्मीको देवरानी सरिताको घरमा कोदालो राखेर ‘अझै घाम आउन्जेल सुत्ने दमिनीहरूले के काम गरेर खान्छन्’ भनेर जान सक्ने छिरिङले ‘किन तिम्रो जेठानीलाई त कुटिरहेको छ है’ नभनी छेडुपको घर गएर कुटेको कुरा भनिन् ?

यी प्रश्नहरूले मलाई अवाक् बनाएका छन् । उनीहरूका अनुसार मृतक लक्ष्मी परियार रक्सी खान्थिन् र झगडा गर्दै हिँड्थिन् भने पनि त्यो नौलो कुरा लागेन मलाई किनकि हामी १२ बजे दिउँसै पुग्दा पनि त्यहाँ केही व्यक्तिहरू पिएर हल्ला गर्दै बसेका थिए । अरूको मेला गएकी मृतक लक्ष्मीले एक्कासि हीरा लामालाई ‘तँ बाइक चोर’ भनेर गाली त पक्कै गरिनन् होला । केही कारण त पक्कै थियो त्यो झगडाको । तर अझसम्म त्यो कारण बाहिर आउन सकेको छैन । त्यहाँ दलितहरूको स्थिती ज्यादै दयनीय देखें मैले तर गाउँलेको भनाइ अनुसार मृतक लक्ष्मी परियार गाउँको विभिन्न संघ र समूहमा आबद्ध रहेकी र जोकोहीसँग प्रतिकार गर्न सक्ने अनि जवाफ फर्काउन सक्ने खालकी थिइन् ।

हामी आशंका गर्न सक्छौं, त्यही प्रतिकार गर्न सक्ने आँट नै लक्ष्मीको मृत्युको कारण त हैन ? छेडुप लामाको बयानमा उनले लक्ष्मी भन्दा पनि बढी ‘दमिनी’ भनेको मेरो रेकर्डरमा छ । अन्तिमसम्म ‘मैले भैंसी काटेको हैन’ भनेर भनिरहँदा प्रहरीले लक्ष्मीलाई कसरी एक हजार जरिवाना तिर्न लगायो ? धेरै प्रश्नहरू छन् जसको जवाफ खोज्न हामी लाग्नैपर्छ ।

हत्या जसले गरेको होस्, कारवाही हुनैपर्छ । बीस गतेदेखिको घटनाको दोषी, मिलापत्र गराउने प्रहरी र लक्ष्मीको हत्या गर्ने हत्यारालाई छिटोभन्दा छिटो हदैसम्मको कारवाही होस् !

लक्ष्मीको आत्माले शान्ति पाओस् !

(विन्दु नेपाल दलित महिला उत्थान संघमा अावद्ध छिन् ।) बिहिवार, पौष १४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell