shivam
Nerolac and Nepal life

आलेख

‘एसएलसी दिएका सिद्धिचरण र एसईई दिएका अहिलेका विद्यार्थीको तुलना हुन सक्दैन’

प्रा.डा. विद्यानाथ कोईराला


आईरन गेट भनिने हिजोको एसएलसी परिक्षा र आजको माध्यमिक शिक्षा परिक्षा (एसईई) बीच कुन राम्रो भन्ने कुरा मूल विषय हैन । बरु यसबीचमा रहेका केही तात्विक अन्तर खुट्याउनु जरुरी छ ।

आजका केटाकेटी तेज छन् । उनिहरू सामाजिक सञ्जाल र प्रविधि प्रयोग गर्छन । त्यहाँबाट धेरै ज्ञान आर्जन गर्न सक्छन् । उनिहरूमा सूचनाको भण्डारण पनि उत्तिकै छ ।

तर, यसबीचमा अहिलेका केटाकेटीमा धेरै ठूलो ‘दरार’ देखिन्छ । उनिहरू जीवन, जगत र आफू जन्मेको परिवेशबीच सन्तुलन कायम गर्न सक्दैनन् । जीन्दगीसँग टाढा, सृजनशिलता कम, साहित्यको दृष्टिकोणबाट कमजोर अहिलेका केटाकेटीमा धेरै खड्किएका चिज हुन् ।

यसैबीचमा अहिले एसईई प्रणाली ल्याइएको छ । तर, यो प्रणाली विद्यार्थीको औकात परिक्षण गर्न त्यति सफल देखिँदैन । अहिलेको एसईई प्रणाली विषयगत बढी छ, वस्तुगत कम छ । यो प्रणाली विद्यार्थीको वस्तुगत ज्ञानको मूल्याङ्कन गर्ने हिसावमा पनि चुकेको छ । यस्तो मूल्याङ्कनको म धेरै तुक पनि देख्दिनँ ।

विदेशी मुलुकमै पनि यसको ठीक वितरीत प्रणाली छ । उनिहरू वस्तुगत मूल्याङ्कनमा ध्यान दिन्छन् ।

हिजोको एसएलसी ‘रेटिङ’ प्रणालीमा आधारित थियो । त्यसले ठिक र बेठिक छुट्याउँथ्यो ।

तर, अहिलेको एसईईले ग्रेडिङ छुट्यायो । यो प्रणालीले धेरैलाई असहजता उत्पन्न गरेको छ । कतिपयलाई फेल पनि छैन, पास पनि छैनको स्थितिमा पु-याएको छ ।

नयाँ प्रणालीमा केही कमजोरी देखिन्छन् ।

मैले भन्ने गरेको छु, पहिले एसएलसी पास गरेको सिद्विचरण श्रेष्ठ र अहिलेका केटाकेटीको बीचमा तुलनै हुन सक्दैन ।

जे भए पनि अब हामी नयाँ प्रणालीमा आइसकेका छौं । सरकारले यो प्रणालीलाई वैधता दिइसकेको छ ।

यो प्रणालीमा विद्यार्थीलाई केही सुधारात्मक कक्षा दिनु जरुरी देखिन्छ ।

ग्रेडिङ प्रणालीमा कम अंक ल्याउनेका लागि केही विकल्प दिन आवश्यक छ ।

उनिहरूलाई केही व्यवहारिक र गरिखाने सिप पनि दिनुपर्छ । ‘परिक्षाले ममा केही क्षमता छैन भन्यो, तर म अन्य क्षेत्रमा राम्रो गरेर देखाउन सक्छु,’ भन्नेगरी विद्यार्थीलाई केही विकल्प दिनुपर्छ ।

यसको मतलव कम ग्रेडिङ ल्याउने विद्यार्थीको पनि प्राकृतिक क्षमता (एप्टिच्यूड) हुन्छ, त्यसको परिक्षण गरि उनिहरूलाई सहज बनाइदिनुप-यो ।

तसर्थ, एसईई परिक्षाभित्र विद्यार्थीको क्षमता जाँच्ने केही स्तरीय विधि पनि समावेश गरौं । ताकी यसमा विद्यार्थी आफैंले पनि आफ्नो क्षमता मापन गर्न सकोस् ।

बालबालिकालाई खाली अंक र ग्रेडको पछाडि दौडाउने भन्दा पनि जीन्दगी र सृजनशिलतासँग पनि जोड्न सिकाऔं भन्ने मेरो मनसाय हो ।

(शिक्षाविद् डा कोइरालासंग लोकान्तरका लागि सुवास भट्टले गरेको कुराकानीमा आधारित) शुक्रवार, आषाढ २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota