Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

आलेख

वैद्य थकान, विप्लव रटान र प्रचण्ड पुनरागमन

विपिन आचार्य



लामो अध्ययन, अनुसन्धान र अनुभवबाट मार्क्सले कम्युनिस्ट घोषणापत्र जारी गरे । तत्पश्चात् विश्वमा कम्युनिस्ट आन्दोलनको उभार आयो । सर्वहारा श्रमजीवी जनताहरूले सामन्तवादमा आधारित पूँजीवादी शासनविरुद्ध ‘जेहाद’ शुरु गरे । कम्युनिस्टहरूले गरेको आन्दोलन मजदुरहरूको रोजीरोटी र आत्मसम्मानका लागि थियो ।

आगोको झिल्को झैं बिस्तारै विश्वभरि फैलिएको आन्दोलनमा मजदुरहरूको ठूलो सङ्ख्यामा उपस्थिति रह्यो । तीव्र गतिमा अगाडि बढेको आन्दोलनले पेरिसमा कम्युनिस्ट शासन शुरु ग–यो । कुनै अनुभव र तयारी नभएका कारण पेरिस कम्युन ढल्यो । तर यसले विश्वभरिका कम्युनिस्ट नेता र शुभचिन्तकहरूलाई ठूलो पाठ सिकायो । श्रमजीवी वर्गमा नयाँ चेतनाको प्रादुर्भाव आयो ।

कम्युनिस्टहरूले सशस्त्र आन्दोलनको माध्यमबाट धेरै देशमा राज्यसत्ता कब्जा गरेका छन् भने केही देशमा चुनावको माध्यमबाट पनि सत्ता आरोहण गरेका छन् । चीन र उत्तर कोरियामा भीषण सशस्त्र संघर्षले जनवादी राज्यसत्ता निर्माण भएका छन् । भेनेजुएला लगायतका देशमा चुनावको बाटोबाट समाजवादी बन्दैछ भने कतिपय देशहरूमा कम्युनिस्ट नेताहरू भूमिगत संघर्षमा छन् । विश्व कम्युनिस्ट आन्दोलनको सिंहावलोकन गर्दा कम्युनिस्टहरूले पूँजीवादी राज्यसत्ताविरूद्ध बल प्रयोगको सिद्धान्त अवलम्बन गरेको पाइन्छ ।

विश्व कम्युनिस्ट आन्दोलन जस्तै नेपाली कम्युनिस्ट आन्दोलनमा पनि विभिन्न उत्तारचढाव नआएको होइन । नेपालमा पनि झापा विद्रोहदेखि ‘माओवादी जनयुद्ध’ सम्म हतियारको प्रयोग भयो । झापा विद्रोह पञ्चायतविरुद्ध थियो । जनयुद्ध गणतन्त्रका लागि वंशवादमा आधारित राजतन्त्रात्मक शासनविरूद्धको विद्रोह थियो । वस्तुगत र आत्मगत अवस्थालाई अध्ययन गरी ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा जनयुद्ध भएको थियो । आधार इलाकाबाट शुरु गरिएको जनयुद्धले शहरका मध्यमवर्गलाई समेत सकारात्मक प्रभाव थियो ।

त्याग, बलिदान र समर्पणको जगमा दशवर्षे माओवादी जनयुद्धले नेपालको राजनीतिमा कायापलट गरिदिएको छ । माओवादी आन्दोलनले लिएको लक्ष्यअनुरूप नेपालमा संघीय गणतन्त्र स्थापना भएको छ । बिस्तारै स्थानीय, प्रदेश र केन्द्रको चुनावबाट गणतन्त्र संस्थागत बन्दैछ ।

पहिलो संविधानसभाको चुनावमा माओवादी ठूलो पार्टी बन्यो । जनताहरूको अपेक्षा माओवादी नेतृत्वप्रति धेरै थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गणतन्त्र नेपालको प्रथम कार्यकारी प्रधानमन्त्री बन्नुभयो । भूमिगत जनयुद्धको नेतृत्वबाट खुल्ला राजनीतिमा आएका प्रचण्डलाई ‘पुरानो सत्ता दीक्षित कर्मचारीतन्त्र’, शाही सेनाबाट रूपान्तरित नेपाली सेना, न्यायालय र खुल्ला सञ्चारमाध्यमको अनुभव हुने कुरै भएन । यसैकारण हुनुपर्छ, जनताले आशा गरेको जस्तो परिवर्तन र विकास निर्माणको काम धेरै हुन सकेनन् । विपक्षी दलको काम माओवादी पार्टीलाई ठेस लगाउने मात्र भयो ।

लेखक आचार्य


पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्दा होस् वा सेनाको प्रधानसेनापति फेर्ने प्रकरणमा, सहयात्री दल एमालेबाट माओवादीलाई धोका भयो । निराश मुद्रामा प्रचण्डले सरकार नेतृत्वबाट राजीनामा दिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो । माओवादी पार्टी एकपछि अर्को अन्तर्विरोधमा फस्दै गयो । प्रचण्डलाई आन्तरिक र बाह्य रूपमा विपक्ष दलका नेता लगायत मिडियाको असहयोग भइरह्यो ।

सुदृढ पार्टी निर्माणका लागि प्रचण्डले ल्याउनुभएको दस्तावेजउपर फरक मत राख्दै मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईले फरक फरक किसिमका दस्तावेज ल्याउनुभयो । यस प्रकारको आन्तरिक अन्तविरोधलाई हल गर्न गोरखाको पालुङटारमा माओवादीको विस्तारित बैठक भयो । पालुङटार बैठकमा वैद्य र भट्टराईले निष्कर्ष भने दिन सक्नुभएन । सहयोद्धाहरूले दिएको अत्यन्त पीडाको बाबजुद पनि अध्यक्ष प्रचण्डको लाइनअनुरूप पार्टीका काम अगाडि बढिरहेका छन् ।

मोहन वैद्य ‘किरण’ झट्ट हेर्दा इमान्दार देखिने, दार्शनिक तर्कहरू राख्ने क्रान्तिप्रति समर्पित नेता हुन् । विद्रोही स्वभावका नेता वैद्यले क्रान्तिको रक्षा प्रयोग र विकासबारे राम्रो अध्ययन गरेका छन् । तर जनयुद्धको समयमा होस् वा अहिले पार्टी अध्यक्ष हुँदा क्रान्ति रक्षाको सवालमा अगाडि नै भएपनि मार्क्सवाद, लेनिनवाद र माओवादको मौलिक सिर्जनशील प्रयोग र रचनात्मक विकासबारे व्यावहारिकता कमजोर देखिन्छ ।

सैद्धान्तिक रूपमा यस्तोलाई जडसूत्रवादी भन्ने गर्दछन् । माओको ‘अन्तरविरोधबारे’ पुस्तक धेरै अध्ययन गरेका मोहन वैद्य ‘किरण’ जोश र जाँगरसहित क्रान्तिको कठिन पहाडको उकालो लागे तर वर्तमान समयमा नेपाली क्रान्ति बाटो नभेटाएर थकान र अलमलमा परेको भेटिन्छ । कुनै समय चुनावको धुरन्धर विरोधी वैद्य कमरेडले अहिले चुनावको उपयोग गर्ने विरोधभासपूर्ण शैली अपनाउनुभएको छ । नतिजा पनि त्यस्तै आएको छ ।

मार्क्सवाद र माओवाद आन्तरिक अन्तरविरोधलाई मुख्य मान्दछन् । अन्तरविरोध सधंै एकैप्रकारको हँुदैन । देश र समाजको विशेष अन्तरविरोध विकास फरक फरक किसिमको हुने नेताहरूले हेक्का राख्नुपर्छ ।

माओवादी आन्दोलनका महत्त्वाकांक्षी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न भन्दै ‘एकीकृत जनक्रान्ति’को बाटोमा अगाडि बढ्ने उद्घोष गर्नुभएको छ । क्रान्तिको विकास सम्भव छ तर क्रान्तिको पुनरावृत्ति हुँदैन, विप्लवले बुझ्न मनासिब हुन्छ ।

क्रान्ति रहरले हुने भए आज विश्वका धेरै देशमा कम्युनिस्ट शासन स्थापित हुने थियो । पूँजीवादी व्यवस्था धराशायी मात्र नभई चपरीमुनिको वास हुने थियो होला । कार्यनीतिको अस्पष्टताले रणनीति गोलमाल र गन्तव्यविहीन विप्लवको क्रान्तिको सुगारटाइ क्रान्तिको नाममा भुलभुलैया मात्र हो । नेपाली समाजको चरित्र बदलिसकेको छ, तर उही पुरानो व्याख्या गरिएको ‘एकीकृत जनक्रान्ति’ २१ औं शताब्दीको नेपाली समाजका लागि अमूर्त र ढोङ्गी छ ।

पछिल्लो समय जति सरकार गठन भए, ती सबैको पहिलो प्राथमिकता लोडसेडिङ अन्त्य थियो तर त्यो मौखिक घोषणामा सीमित थियो । प्रचण्ड सरकारले लोडसेडिङको अन्त्य ग–यो । बन्द रहेका उद्योग कलकारखाना पुनः सञ्चालनमा ल्यायो । प्रचण्ड नेतृत्वको सरकारको छोटो कार्यकालमा धेरै सुधारात्मक काम भएका छन्, समृद्धिको ढोका खुलेका छन् । आर्थिक वृद्धिदर ७ दशमलब ५ प्रतिशत रहने तथ्याङ्क विश्व बिकास बैंकले सार्वजनिक गरेको छ ।

प्रचण्ड सरकारको पालामा मूल्यवृद्धि घटेर २ दशमलब २५ हुनु क्रमशः मुलुक उज्यालो दिशातर्फ उन्मुख भएको संकेत हो । प्रचण्ड सरकारको पालामा लगानी सम्मेलन सम्पन्न भएको छ र इतिहासमा सबैभन्दा धेरै १३ अर्ब ५१ करोड अमेरिकी डलर (करीब १४ खर्ब रुपैयाँ) बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

सिंहदरबारको अधिकार गाउँनगरमा हस्तान्तरण गर्दै स्थानीय तहको चुनाव गराउनु संविधान कार्यान्वयन र संक्रमणकालको अन्त्यका लागि प्रचण्ड सरकारले गरेको ‘बोल्ड डिसिजन’ हो । युद्धकालका सहयात्री वैद्य, बाबुराम र विप्लवहरू प्रचण्डको आलोचनामा उनीहरूले आफ्नो राजनीतिक भविष्य देख्ने गर्दछन् । तर प्रचण्डको कामले सहयात्रीहरूका आलोचना फिक्का साबित भएका छन् ।

सत्ताका निम्ति जालझेल षड्यन्त्र, धोका नेपाली राजनीतिका निम्ति सामान्य भएको अवस्थामा प्रचण्डले राजनीतिमा नैतिकताको आशा जगाए । युवापुस्तामा राजनीतिप्रतिको वितृष्णालाई सकारात्मकतातर्फ मोडे र आशावादी बनाए ।

प्रचण्डको दोस्रो कार्यकालमा सम्भावनाभन्दा चुनौती धेरै थिए । तमाम चुनौतीलाई अवसरमा बदल्दै प्रचण्ड सरकार सफल भयो, मुलुकका लागि यो उपलब्धि भयो । मुलुकमा उग्रराष्ट्रवाद र क्षेत्रीयतावादको टकरावको अवस्थाबाट प्रचण्डले हिमाल, पहाड र तराईको आन्तरिक राष्ट्रियताको कडी जोड्ने चानचुने विषय थिएन । प्रचण्डको अद्भुत नेतृत्व क्षमताले यो सम्भव भयो । दोस्रो कार्यकालमा मुलुकको आर्थिक क्षेत्र र सामाजिक क्षेत्र निरन्तर लगनशील रहे ।

काठमाडौंलाई तराईसँगको दूरी घटाउने फास्ट ट्रयाक प्रचण्डबाट शिलान्यास भयो । ‘वान वेल्ट, वान रोड’ (ओबीओआर) सम्झौता भयो । प्रचण्डका पूर्ववर्ती केपी ओलीले छिमेकी राष्ट्रहरूसँग असन्तुलित सम्बन्ध कायम गरेका थिए । प्रचण्ड सरकारले कूटनीतिक सम्बन्धमा सन्तुलन ल्याउन सफल भयो । रोजगारीको सिलसिलामा दैनिक विदेश जाने सयौ ंयुवाहरूबाट मुलुकले रेमिटान्स लिने मात्र होइन प्रचण्ड नेतृत्व सरकारले बीमामार्फत उनीहरूका समस्या समाधानको पहलकदमी लियो । संविधान जारी भएदेखि संविधान कार्यान्वयनमा लिएको नेतृत्वका कारण प्रचण्ड नेपाली राजनीतिमा ‘हेबीवेट’ नेता प्रमाणित हुनुभएको छ । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell