Nic Asia
Tata /sipradi
Sarbottam Cement

आलेख

किन एक गोरिल्ला बाँदरले सन् २०१६ भरि चर्चा कमायो ?

साम जुदाह

किन हराम्बे नामक गोरिल्लाले सन् २०१६ मा अनलाइन प्रयोगकर्ताको सामूहिक मनोविज्ञान कब्जा ग–यो ? हुन पनि उसको अनुहार इन्टरनेटमा भाइरल भएर अनेकौं मेम बने ।


यो एक उदास कहानी थियो जुन अझ धेर उदास हुन सक्थ्यो । गत मे महिनामा अमेरिकाको सिनसिनातीस्थित चिडियाखानामा तीन वर्षीय एक बालक लड्यो । उक्त बालकलाई एक गोरिल्लाले यताउता घिसार्न थाल्यो ।

‘मम्मी यहीँ छिन् । मम्मी तिमीलाई माया गर्छिन्,’ बच्चोकी आमा चिच्याउन थालिन् । यो सब हेरिरहेका मानिस आत्तिन थाले ।

अन्ततोगत्वा बालकको ज्यान खतरामा छ भन्ने लागेपछि चिडियाखानाका एक कर्मचारीले हराम्बेलाई एकै गोलीमा ढलाए । बालकलाई खासै गम्भीर चोटपटक लागेन ।

यो घटना भिडियोमा कैद भएर युट्युबमा अपलोड भएपछि लाखौंले हेरे ।

हराम्बेको मृत्युले चर्को तर पूर्वानुमान गर्न सकिने बहस निम्त्यायो । चिडियाखानाको सुरक्षा मापदण्ड र घातक हतियार प्रयोग गर्नु जरूरी थियो कि थिएन भन्ने विषयमा धेरै बहस भए ।

तर कसैले पनि अपेक्षा नगरेको कुरा हुन पुग्यो । हराम्बे इन्टरनेटमा मेम बन्न पुग्यो । (मेम भन्नाले एकले अर्कामा सार्ने सांस्कृतिक संक्रमण हो जसलाई नक्कल भनेर बुझ्न सकिन्छ ।) उसको तस्वीर इन्टरनेटमा जताततै फैलियो । उसका बारेमा गम्भीर तथा फन्टुस अभियान बने । उसलाई गीतमा पनि सम्झना गरियो ।

हराम्बेको हत्याले स्तब्ध तथा दुःखी भएका व्यक्तिको स्वतःस्फुर्त प्रतिक्रियाका रूपमा शुरु भएको थियो यो सब ।
‘म त्यहाँ भएको भए खोरमा आफैं छिर्थें,’ फ्रान्क पेरिस भन्छन् । ट्विटरमा रिपहराम्बे नामक ह्याशट्याग प्रयोग गर्ने अनेकौं व्यक्तिमध्ये उनी पनि एक हुन् । गोरिल्ला मरेको केही घन्टाभित्रै यो ह्याशट्याग लोकप्रिय बन्न पुगेको थियो ।
धेरैजना जस्तै उनी पनि हराम्बेलाई मार्ने चिडियाखानाको निर्णयबाट आक्रोशित भएका थिए ।

‘त्यो दिन मेरा लागि अत्यन्त दुःखको दिन थियो,’ उनी बताउँछन् । ‘बालकलाई बचाउनका लागि म आफ्नो जीवन पनि जोखिममा राख्न सक्थें । उक्त बालक सहीसलामत थियो र हराम्बेले उसलाई हानि गर्ने कुनै उद्देश्य राखेको थिएन भन्नेमा म पूर्णतः विश्वस्त छु ।’

चिडियाखानाबाट हजारौं माइल टाढा रहेका व्यक्तिको एक प्रतिक्रिया आफ्नो ठाउँमा छँदैछ तर चिडियाखानाका अधिकारीहरू बालकलाई गम्भीर चोटपटक लाग्नबाट बचाउन आफूहरूले चालेको कदम ठीक भएको बताउँछन् ।

सामाजिक सञ्जालमा खुबै चर्चा भएको हराम्बेका लागि मैनबत्ती जुलुस समेत निस्केका थिए । बालकका आमाबुवाप्रति लक्षित गरिएका अभियान पनि सञ्चालित भए । उनीहरूलाई लापरवाहीका लागि अभियोजन गर्नुपर्ने माग उठे । बालककी आमालाई पछि सफाइ दिइयो ।

‘यस विषयमा साँच्चै मानिसहरू क्रोधित भएका थिए,’ अजा रोमानो बताउँछन् । उनी समाचार साइट भोक्समा वेब संस्कृतिका बारेमा लेखिरहन्छन् ।

‘यो विषय नियन्त्रणबाहिर पुगेर यसले ठूलो सामाजिक ट्रेन्ड बनायो किनकि यो प्रकरणमा जनावरविरुद्ध क्रूरता गरिएको मानियो । हराम्बेलाई चिडियाखानामा राखेको कुराबाटै यो विषयमा बहस शुरु हुन्छ, चिडियाखानाले यस्तो वातावरण निर्माण ग–यो जसका कारण गोरिल्लाले बाँच्ने मौका नै पाएन ।’

हराम्बेको मृत्युपछि मानिसहरूमा जागेको भावनालाई कमेडियनहरू र अन्यले खुबै उडाए । यो विषयलाई धेरै महत्व दिइएकोमा उनीहरूले उडाएका थिए ।

‘अनलाइन बस्ने मानिसहरूले आफूलाई वास्ता नपरेको कुरामा पनि नचाहिँदो आक्रोश पोखिरहेका हुन्छन्,’ ब्रान्डन वार्डेल बताउँछन् । उनी स्ट्यान्ड अप कमेडियन हुन् र उनले हराम्बेको मृत्युमा शोक मनाउनेहरूलाई उडाएका थिए । ‘तपाईं हराम्बेलाई चिन्नुहुन्न थियो, यो घटनाले तपाईंको जीवनमा कुनै असर परेन ।’

उता सिनसिनातीको चिडियाखानाले मृत जनावरमाथि यत्ति ठूलो हल्लाखल्ला हुनु तर्कसंगत नभएको बतायो । तर हराम्बेमाथिका चुट्किला बन्न बन्द भएनन् । हराम्बेलाई यसै वर्ष निधन भएका ठूला व्यक्तित्वसँग तुलना गर्न छोडिएन । उनका बारेमा झुटा समाचारहरू, किताबहरू, कमिकहरू र बाइबलको बूक अफ जेनेसिसको प्यारोडी समेत बन्यो ।

‘सामाजिक विषयका रूपमा हराम्बेलाई उभ्याउनुको अर्थहीनतालाई सजिलै उडाउन सकिन्छ,’ रोमानो भन्छन् ।
‘सामाजिक सञ्जालमा आक्रोश पोख्ने एउटा स्तरलाई यसले देखाउँछ । सिरियाको शरणार्थी संकटका कारण हजारौं मानिस मरिरहेको कुरालाई ध्यान दिनुभन्दा एउटा मृत गोरिल्लाका बारेमा मानिसहरू चिच्याउँछन् भने त्यो रिस के कामको ?’

‘रिसलाई व्यक्त गर्नका लागि हराम्बेको पूजा गर्ने अनि उसको मृत्युले जन्माएको गहिरो सांस्कृतिक पीडालाई मेम बनाउने काम भएको छ,’ रोमानो थप्छन् ।

जसले जे भनेपनि यो नै सन् २०१६ को मेम बन्न पुग्यो ।

हराम्बेको आत्माले शान्ति पाओस् ।

हराम्बेको भिडियो यहाँ हेर्नुस् :

बीबीसी ट्रेन्डिङका लागि साम जुदाहले तयार पारेको यो रिपोर्टलाई लोकान्तरका विन्देश दहालले अनुवाद गरेका हुन् । सोमवार, पौष १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell