Ruslan
Tata /sipradi
Nic Asia

आलेख

खतरामा परेको स्वाधीनता कि गणतन्त्र ?

ईश्वर अर्याल

‘मैले अहिले पिएको हुनसक्छु, तर भोलि बिहान हुनेबित्तिकै म गम्भीर हुनेछु र तिमीहरू फेरि नराम्रा नै हुनेछौ ।’ — विन्स्टन चर्चिल

देशमा गणतन्त्र नामको कागजी प्रणाली आएको दश वर्ष हुन लाग्यो । यो व्यवस्था अहिलेसम्म कागजी नै रहेको किन हो भने अहिले राजतन्त्र या गणतन्त्र भन्ने बहस धुँवाधार रूपले चलिरहेको छ । गणतन्त्र व्यवहारमा लागू भइसकेको भए अहिलेको बहस निरर्थक हुन्थ्यो ।

गणतन्त्रले एक दशक नपुग्दै दुईजनालाई राष्ट्रपति बनायो । मुलुकमा दीर्घकालीन अराजकता र जातीय द्वन्द्वको शृङ्खला मात्र थपेन, केही व्यक्तिलाई अरबपति हुने आशीर्वाद पनि दियो । सयौं थान मन्त्रीपदहरू सित्तैमा दियो । यसबाहेक आम नेपाली जनताले अन्य कुराहरू प्राप्त गर्न सकेनन् । उनीहरूको जीवनमा कुनै सुधार आएन ।

नेपाली राजनीतिक बजारमा अचम्मको दलिल छ, राजा सामन्तवादको प्रतीक भएकाले हटाइयो । सामन्तवादको प्रतीकलाई हटाउने तर सामन्तवादको अभ्यास आफैं गर्ने दुश्चक्र रोकिएन । राजाले कुनै निश्चित नश्ल वा वंशको मात्र प्रतिनिधित्व गरेको कारणले हटाइयो । आफ्नै राजनीतिक नश्लसुधार अभियान चलाउनेहरूले दिएको यस्तो दलिल ओभानो हुने कुरै भएन ।

पूर्वराजा ज्ञानेन्द्र शाहको केही दिन अगाडिको विज्ञप्तिले गणतन्त्र खतरामा परेको देख्ने आँखाहरूमा फुलो नपरेको भए, गणतान्त्रिक व्यवस्थाका हिमायती भनिनेहरू निहित व्यक्तिगत स्वार्थमा लागेको कारणले गणतन्त्र खतरामा परेको देख्नु नपर्ने हो । गणतन्त्र साँच्चिकै खतरामा परेको होइन, पारिएको हो । इतिहास साक्षी छ, जब जब एउटा राजनीतिक व्यवस्था असफलतातिर सोझिने गर्दछ त्यस व्यवस्थाका व्यवस्थापकहरूले अर्को व्यवस्थाको हुर्मत काढेर शक्तिलाई सन्तुलनमा ल्याउँंछन् र आफूलाई सुनपानी छर्किने गर्दछन् ।

राजतन्त्र ढल्यो भने विडम्बना हुन्छ भनेर राजनीतिक रोटी सेकेकाहरू अहिले गणतन्त्र ढल्यो भने संसार नासिन्छ भन्दै हिँडेका छन् । फरक व्यवस्थामा शक्तिकेन्द्रको फरक–फरक ठाउँमा स्थानान्तरण हुन्छ । तर सार्वभौमसत्ता चाहिँ जनतामा छ भन्न कति पनि नलजाउने प्रवृत्ति देखाएर राजनीतिमा गरिखाने प्रचलन हिजो आज ह्वात्तै बढेको छ । दश वर्षसम्म गणतन्त्रको किर्ते स्वादमा रमाएकाहरू जब ज्ञानेन्द्र निर्मल निवासबाट बाहिर निस्कन्छन्, तब गणतन्त्र सकिनै लागेको घोषणा गर्छन् । यस्तो घोषणा एकपटक मात्र हैन पटक–पटक भएका छन् ।

गणतन्त्र साँच्चिकै खतरामा छ किनकि गणतन्त्र ल्याउने असली योद्धाहरूसँग पाँचहजार लिएर एउटा पासपोर्ट हातमा थमौती गरिएको छ र देशबाहिर लखेटिएको छ । गणतन्त्र साँच्चिकै खतरामा छ किनकि देशभित्र बचेखुचेका युवालाई जातीय नाममा भिडाइँदैछ । जब जनता भिडाइन्छ, तब गणतन्त्र मात्र खतरामा पर्दैन, पूरै देश विखण्डनको खतरामा पर्छ । गणतन्त्र खतरामा परेको कारणको रूपमा ज्ञानेन्द्रलाई मात्र चित्रित गरिरहँदा देश नै खतरामा परेको जिम्मेवारी कसले लिने ?

हिन्दूधर्ममा एउटा संस्कार छ, बलि दिनेबेलामा बोकालाई टीका लगाइदिने अनि टाउकोमा पानी छर्किदिने । त्यो पानीले बोकालाई असहज हुन्छ र टाउको हल्लाउँछ, त्यसपछि बोकाले मान्यो भनेर मार हान्ने ।

पुनःस्थापित संसदमा एमालेकै हाराहारीमा तत्कालीन माओवादी प्रवेश गरिसकेपछि २०४६ सालकै संविधानका धाराहरू फटाफट परिवर्तन गरिए । तीमध्ये एउटा थियो, प्रस्तावित संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने । ठूलो परिणाममा राजनीतिक शक्तिसञ्चय गरेको राजतन्त्रलाई शक्तिकेन्द्रबाट हटाउन गरिएको निर्णयले तत्कालीन संसदलाई आतंकित तुल्याएको भएपनि कुनै अप्रिय घटना नभएपछि त्यसलाई बोकाले मान्यो भन्ने शैलीमा लगियो । अहिलेको अवस्थामा ‘गणतन्त्र’ साँच्चिकै एउटा व्यवस्था नभएर चेतना भएको कुनै वस्तु हुन्थ्यो भने आत्महत्या गरिसक्थ्यो ।

बगेको खोला फर्किन्न, जन्मेको बच्चा फेरि पेटभित्र प्रवेश गर्दैन भन्ने उदाहरण र परिवर्तित राजनीतिक व्यवस्था पुनः पहिलेको स्थितिमा आउन्न भन्ने उदाहरणहरू एउटै हैनन् ।

राजतन्त्रले राष्ट्रियता खतरामा पारेको थियो भनेर आन्दोलन र विद्रोह गरिए । गणतन्त्रले पनि राष्ट्रियता खतरामै पारेको छ । नेपालको राष्ट्रियता यसको भूराजनीतिसँग जोडिएको छ । यो आजमात्र हैन, धेरै पहिलेदेखि खतरामा छ र रहिरहन्छ । त्यही भएर त देशमा सरकार चाहिन्छ, सुरक्षा संयन्त्र चाहिन्छ ।

तसर्थ राष्ट्रियता खतरामा पर्‍यो भनेर आफू अनुकूलको व्यवस्था ल्याउन लड्ने र लडाउनेहरूले दिने यस्ता कतिपय दलिलहरूमा कत्तिपनि विश्वसनीयता छैन । सरकार र त्यसलाई प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको काम राष्ट्रियता खतरामा छ भनेर भट्याउने हैन, खतरामुक्त बनाउन पहल गर्ने हो । गणतन्त्र खतरामा छ भनेर चुनावी राजनीति गर्ने हैन, बरू यसलाई सबल र जनमुखी बनाउनतिर लाग्ने हो ।

राजतन्त्रका सीमितताहरू थिए, कमजोरी थिए । मुख्य कमजोरी भनेको शक्ति र सत्ताको दुरुपयोग नै हो । तर गणतन्त्रमा पनि त शक्ति र सत्ताको दुरुपयोग भएको छ । अझ ठूलो मात्रामा भएको छ । यसलाई कम गर्दै लैजाने हो भने केही पनि खतरामा पर्दैन । फगत पूर्वराजा ज्ञानेन्द्रको कारणले गणतन्त्र खतरामा छ भनेर कमसेकम सामाजिक सञ्जाल चलाउने नेपालीहरू मान्न तयार छैनन् ।

खगोलमा काला छिद्र छन् भनेर पत्ता लगाइएको धेरै वर्ष भएको छैन । नेपालका राजनीतिक शक्तिहरूमा पनि त्यस्ता काला छिद्रहरू छन् जसले आफ्नैलाई निल्छन् । राजतन्त्र कालो छिद्रबाट गुज्रिएको एउटा शक्ति हो । त्यहाँभित्र आफ्नाले आफ्नैलाई निलेका छन् । निलेका चीजहरू बाहिर निस्कन्छन् निस्कन्नन् अलग कुरा हो ।

देशलाई चाहिएको सबल र सक्षम व्यवस्था हो, चाहे गणतन्त्र होस या राजतन्त्र । एक्काईसौं शताब्दीमा कुनै पनि मुलुकलाई चाहिएको र हासिल गर्नैपर्ने दुईवटा कुरा छन्, एउटा रोटी हो भने अर्को स्वाधीनता । देशलाई रोटी र स्वाधीनता मिल्ने शर्तमा जनता जुनसुकै व्यवस्था पनि स्वीकार्न तयार हुन्छन् । खतरामा परेको स्वाधीनता हो, गणतन्त्र कदापि होइन ।

स्वाधीनताका आफ्ना आफ्ना परिभाषाहरू बनाइएका छन् । राष्ट्रियताका पनि छुट्टै परिभाषाहरु छन् । कुनै एउटा अर्थ गलत लाग्यो भने पनि समग्र देशलाई घाटा हुन्छ । नाकाबन्दी भोगेको नेपालले एउटा नयाँ सत्यलाई उद्घाटित गरेको छ, त्यो हो स्वाधीनताबाहेक सबै कुरामा सम्झौता हुन सक्छ, राजतन्त्रमा पनि र गणतन्त्रमा पनि । स्वाधीन हुने शर्तमा एउटै नेपालीले फरक–फरक समयमा राजतन्त्र मुर्दाबाद पनि र गणतन्त्र मुर्दाबाद पनि भन्ने हिम्मत राख्छ ।

इतिहासको कुनै निर्मम कालखण्डमा एउटा निश्चित समुदायले अर्को निश्चित समुदायमाथि शासन गरेको सत्य हो । शाहवंश त्यसको अन्तिम प्रमाण पनि हो । त्यसलाई सच्याउनुको कुनै विकल्प थिएन र छैन पनि । राजा हटाएर सच्चिन्थ्यो कि नहटाएरै सच्चिन्थ्यो भन्ने प्रक्रियाको कुरा हो । प्रक्रियामा बहस गर्ने छुट लोकतन्त्रमा सबैलाई हुन्छ गणतन्त्रवादीलाई मात्र होइन ।

यो आलेखको निहितार्थ राजा पुनःस्थापित हुनुपर्छ भन्ने कदापि होइन, न त पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समयमा निकालेको विज्ञप्ति सही हो भनेर ठह–याउनु हो । कालै रंगको कोइलीको स्वर सुनेर फोहोर खाने कागलाई माया गर्न सकिन्न । गणतन्त्र खतरामा पर्‍यो भनेर निकालिने धुन सुन्दा त कोइलीको जस्तै लाग्छ, तर अभीष्ट चाहिँ कागको भन्दा पनि फोहोर छ ।

भनिन्छ नि, मनको बाघ वनको बाघभन्दा शक्तिशाली हुन्छ । वनको बाघले एउटा शिकार गरेपछि केही हप्ता चुप लाग्छ तर मनको बाघले हरेक सेकेन्ड शिकार गर्दछ । कहिल्यै अघाउन्न र जो कोहीलाई पनि आक्रमण गर्न सक्छ । जनताको मनभित्र मनको बाघ पठाएर कसले राजनीति गर्न खोजेको हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ ।

गणतन्त्र खतरामा छ भनेर सहानुभूति बटुल्न खोज्नेहरूलाई नेपाली जनताका केही प्रश्नहरु छन् । देशमा साम्प्रदायिक एकता र सद्भाव खतरामा छ कि छैन ? देशको स्वाधीनता खतरामा छ कि छैन ? एउटा मधेशीले ढुक्कसँग काठमाडौंमा म मधेशी हुँ भनेर भन्न सक्ने स्थिति खतरामा छ कि छैन ? बिदेसिएको छोराको लासको आशमा सास रोकेर बसेकी एउटी आमालाई गणतन्त्र खतरामा छ भनेर कसरी बुझाउन सक्नुहुन्छ ? म आफैंलाई के भनेर सम्बोधन गरूँ, गणतन्त्र खतरामा परेको एउटा विभाजित देशको नागरिक ?

फिल्मको निर्देशकले लाइट, क्यामेरा, एक्सन भन्ने बित्तिकै पात्रहरु अभिनय गर्न शुरु गर्छन । जतिसुकै जीवन्त अभिनय गरेपनी त्यो कसैको जीवनसंग मेल खाएमा क्षमाप्रार्थी नै बन्न पुग्छ । कागजी गणतन्त्र पनि अहिले क्षमाप्रार्थी छ । वास्तविक गणतन्त्रको रुप अर्कै हुन्छ । गणतन्त्र त ब्यबस्था हो यसलाई क्षमा दिन सकिन्छ तर यसलाई कुरुप, बिद्रुप र लेण्डुप बनाउने पटकथाका पटमुर्ख पात्रहरु चाहिँ क्षमाको लायक हुन सक्दैनन् ।

तस्वीरः द हिमालयन टाइम्सबाट बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon