विश्लेषण : आलेख

मधेसमा जातीयताको कुरा गर्नेहरू एकपटक मुसहर बस्ती हेर्न जाऊ !



केही समय पहिला म मेरो घर भएको जिल्ला सर्लाही गएकी थिएँ । म आफैं तराईमा जन्मे, हुर्केको मान्छे । मेरो जीवनको प्रमुख ठाउँ, मैले पढेको पाठशाला र मैले जन्मेहुर्केर समाज र देशमा ताते गर्न सिकेको ठाउँ हो सर्लाही ।

प्रदेश नम्बर २ को एउटा प्रमुख जिल्ला मान्न सकिन्छ यसलाई । जातको नाममा राजनीति गरेर देशको बागडोर सम्हाल्ने मधेसका नेताहरूको गृहजिल्ला पनि हो सर्लाही । त्यसैले सर्लाही भन्नेबित्तिकै सबैको मनमा ‘ए’ भन्ने शब्द उठ्छ । त्यसैले मेरो जिल्ला नामको हिसाबले महान् छ । तर समुदायमा गएर हेर्ने हो भने पीडा अनेकौं छन् ।

सर्लाहीको बरमपुरी गाउँपालिका वडा नं. ८ साबिक नोकेल्वा खोरियामा जाने अवसर प्राप्त भयो मलाई यसपटक पनि । यो जिल्लाको क्षेत्र नं. ४ मा पर्छ र महेन्द्र राय यादवले जितेको क्षेत्र पनि हो । उनी सधैं मधेसी जनताको नाममा राजनीति गरेर पार्टीको मुख्य व्यक्ति भएर बसेका छन् । उनको क्षेत्रको एउटा गाउँमा ५५ घर मुसहरहरू बस्छन् । मुसहरको मूल पेशा माटो बोक्ने र खेतीपाती नै हो । अब त माटो एक्स्काभेटरले खन्छ, ट्र्याक्टर र ट्रकले ठाउँठाउँमा ढुवानी गर्छ ।

त्यसैले उनीहरूको माटो बोक्ने पेशा पनि संकटमा परेको छ । मुसहर समुदायलाई खेती गर्न आफ्नो जमीन उपलब्ध छैन । त्यसैले पेट पाल्न पनि धौधौ छ ।

पचपन्न घरमध्यको एउटा घर सुरेन्द्र माझीको हो । उनी घरमूली हुन् । उनीसहित १६ परिवार बस्छन् त्यो घरमा जुन तीन धुरमा बनेको छ । सुरेन्द्र माझीको घरको लम्बाइ सात हात र चौडाइ चार हातमा फैलिएको छ । त्यो घर तीन पुस्तादेखि यही जमीनमा छ । त्यो गाउँमा एक धुरदेखि सात धुरसम्ममा घर बनाएर जीवन धानेका छन् ५५ परिवारले ।

त्यस गाउँका मुसहर परिवारसँगै बस्ने सुरेन्द्र माझीको कथा भने निकै रोचक छ । पाँच जोडी त श्रीमान् श्रीमती मात्रै बस्छन् सुरेन्द्र माझीको घरमा । बेलुका सुत्ने तरिका फरक छ । उनको घरमा एक जोडी घरभित्र पसेर सुत्छन् अनि त्यो जोडीले बार्नको निम्ति कपडा टाङ्छन् । अनि अर्को जोडी आएर सुत्छन्, फेरि बार्नको निम्ति कपडा टाङ्छन् र सोही तरिकाले पाँच जोडी श्रीमान् श्रीमती कपडाको बार बनाएर रात गुजारा गर्छन् ।

सोही तरिकाले उनीहरूले बाँसको चित्रोको टाँड बनाएका छन् । टाँडको माथि र तल बच्चाहरू सामूहिक सुतेर आफनो जिन्दगी गुजारेका छन् । लाग्छ उनीहरूको अवस्था देख्दा उनीहरूको लागि पृथ्वी माटो भन्ने चीज नै यही तीन धुर हो त्यसबाहेक अरू केही पनि छैन । काँही जाने र बस्ने ठाउँ पनि छैन उनीहरूलाई । यस अवस्थामा जीवन धान्न बाध्य छन् ५५ घर मुसहरहरू ।

शहरमा धनी मानिसको घरमा एउटा कुकुरलाई पूरै एउटा कोठा छुट्ट्याइएको हुन्छ । कुकुर सुत्ने कोठाजतिको जमीनमा तराईको पूरै एउटा मुसहर गाउँ बस्छ । यस्तो फरक छ, बसिखाने र गरिखाने बीच ।

सर्लाहीमा मात्रै यस्ता मुसहर गाउँ झन्डै ११० जति छन् । जुन गाउँमा ५५ देखि ३०० घरसम्म अटाएका छन् । सबैको हालत भने उही एकै किसिमको छ । मैले नोकेलवा, पडरीया, लालबन्दी, हरिपुर लगायतका मुसहर बस्तीमा पनि घुम्ने मौका पाएँ । मुसहर बस्ती भएको ठाउँ जहाँ पनि अवस्था उस्तै छ । घर उस्तै छन् । सानो झुप्रोमा धेरै परिवार अटाएका छन् । पढ्नसक्ने व्यक्ति एक बस्तीको एकजना पनि पाउन गाह्रो छ । पेशा माटो बोक्ने हो, त्यो चलन पनि हरायो ।

मजदुरीका लागि धेरै पुरुष भारतको पञ्जाब गएका छन् । घरमा केवल महिला र साना बच्चा मात्रै भेटिन्छन् । गाउँमा मजदुरी गर्न जाँदा नौ घन्टा काम गर्नुपर्छ । ज्याला दिनभरिको २५० रुपैयाँ मात्रै पाउँछन् । दिनभर काम गर्दा एकछाक खाजाबाहेक अरू सबै खाना घरमा खानुपर्छ । यस्तो अवस्था छ ।

यस्तो अवस्था रहुञ्जेल के मधेसका मान्छेको मुक्ति जातको नारामा सम्भव छ ? यहाँ श्रीमान् पञ्जाबमा मजदुरी गर्न जाँदा लिएको ऋणको मासिक ब्याज ३ देखि ५ प्रतिशतको दरले प्रत्येक महिना तिर्नुपर्छ । त्यही सापटी पैसा लिएको गुनमा ब्याज त तिर्नुपर्छ नै, श्रमशोषण पनि त्यत्तिकै हुन्छ । यो शोषण मुसहरलाई पहाडी समुदायका व्यक्तिले गर्ने होइन, मधेसका जमिन्दार मधेसीहरूले गरिरहेको देखिन्छ ।

कहिलेकाहीँ श्रम शोषणसँगै महिलाहरू शारीरिक शोषणमा पनि पर्छन् जसको कुनै लेखाजोखा हुँदैन । बरू पहाडका व्यक्तिले मधेसका व्यक्तिलाई सताए भनेर मधेसको नाममा राजनीति हुन्छ । यहाँ पेटको छलफल कहिलेपनि हुँदैन । केवल जातको नाममा छलफल हुन्छ । मधेसीको नाममा जातको नाममा पार्टी खोलेर बसेका मधेसका ठूला नेताहरूको घर पनि सर्लाहीको विभिन्न ठाउँमा पर्छ ।

महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय, अशोक यादव, जंगीलाल राय, अमरेश कुमार सिंहको घर यसै जिल्लामा पर्छ । मधेसका जनताको नाममा यिनीहरू धेरैपटक पार्टी अध्यक्ष, सांसद अनि मन्त्रीपदमा हुँदा यी समस्याको कुनै मतलब गरेनन् । तर फेरि पद खुस्किएपछि दोस्रो दर्जाको नागरिक भएको भाषण गर्न चुक्दैनन् ।

यी नेताहरूको राजनीति भाषण मात्रै हो । जनताको दुःखसुखको साथी बन्नेमा उनीहरूलाई वास्ता छैन । नेताहरू नेपालको राजनीतिमा भाषणमा मात्रै सीमित भए । जनताको जीवनस्तर सुधार्ने नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया एकदम खुकुलो र सुस्त छ । यसको परिणाम जनतालाई सास्ती, नेतालाई मस्ती भएको छ ।

(लेखक राष्ट्रिय भूमिअधिकार मञ्च नेपालकी महासचिव हुन् ।)
 
साउन २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस