Nic Asia
cocacola

आलेख

डोकलाम विवाद : छिमेकी मिलाउन नेपालको भूमिका के ?

डा. अतीन्द्र दाहाल

अनपेक्षित आन्तरिक अवयवहरूले निरन्तर संशयमा राखेको हाम्रोे राजनीतिमा कहिलेकाहीँ अन्तर्राष्ट्रिय समसामयिकताको सघन प्रभाव देखिन्छ । चर्चित विश्व परिघटनामाथि कसैको सशक्त महिमामण्डनदेखि कठोर पटाक्षेपसम्म हुनेगर्छ । त्रिदेशीय रणनीतिक महत्त्वको सूक्ष्मउपत्यका डोकलाम अहिले चर्चामा छ । डोकलाम विवादमा नेपाल तटस्थ बस्ने उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताइसकेका छन् ।


सन् १९६२ को युद्धपछि चीन र भारत यतिबेला पुनः उच्च टकरावमा छन् । स्वभावैले हामीहरूसमेत छिमेकीका कचिंगलबाट विमुख हुन सक्दैनौं । रिचार्ड हयासकृत पुस्तक ‘द वर्ल्ड इन डिसएरे’ र अलेक्जेन्डर वेन्ड्टको कृति ‘सोसल थ्योरी अफ इन्टरनेसनल रिलेसन’ले यसलाई सविस्तार वर्णन गरेका छन् । चीन र भारत छिमेकीसँगै पछिल्लो विश्व राजनीति र शक्ति समीकरणका मुख्य तर विपरीत हस्ती हुन् ।

उनीहरूबीचको असामन्जस्यले हामीलाई बढी नै प्रभावित गर्छ तसर्थ पछिल्ला तनावमाथि हाम्रो चासो जायज छ । तर हामी भारत वा चीनमध्ये एउटालाई गलत देखाउन खोज्दैछौं । कोही भारतको अनि अरू चाहिँ चीनको समर्थक बन्दैछौं । खासमा पक्षविपक्षको लगावभन्दा यस तरल अवस्थाको सरल समाधानमा नेपालले खेल्नुपर्ने भूमिका केलाउने बहस बढी आवश्यक छ ।

नभुलौं छिमेकी

हाम्रा लागि दुवै छिमेकी महत्त्वपूर्ण छन् । हाम्रो भूराजनीतिक महत्त्व उनीहरूलाई समेत उत्तिकै आवश्यक छ । लेखक जेपी दल्वीको पुस्तक ‘हिमालयन ब्लन्डरः द कर्टेन रेजर टु सिनो–इन्डियन वार’ले दुवै देशलाई नेपालको आवश्यकताको बोध गराउँछ । हामीलाई भारतबाट प्रजातान्त्रिक आन्दोलनका विभिन्न चरणमा राजनीतिक सहयोग थियो । त्यसपछि विकास, सामाजिक सुदृढीकरणसँगै आर्थिक परिवर्तनमा समेत सहयोग हुँदैछ । चीनबाट पनि उस्तै सहयोग आउँदैछ ।

पछिल्लो लगानी सम्मेलनमा सबैभन्दा बढी आठ खर्ब बराबरको सहयोग प्रतिबद्धता आयो । भारत विश्वकै ठूलो प्रजातन्त्र अनि चीन ठूलो साम्यवादी देश हो । दुवै अधिक गति र आयतनको आर्थिक प्रगतिमा छन् । यसैका लागि चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नामक महत्त्वाकांक्षी व्यापार परियोजना थालेको छ ।

सन २००० पछि सशक्त अर्थतन्त्र बनेको चीनलाई युरोप र अमेरिकाको आर्थिक मन्दी वरदान साबित भयो । अन्तर्राष्ट्रिय व्यापार तथा लगानीमा ऊ आक्रामक बन्यो । २०१६ सम्ममा बीआरआई अन्तर्गत चीनबाट विभिन्न देशमा ५२ आर्थिक सहकारीहरू खोलिए ।

सत्तरी हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको अनि चार हजार इन्जिनियरिङ परियोजनामा सम्झौता भएको देखिन्छ । बीआरआईले संसारको क्रमशः ७०, ६० र ५० प्रतिशत क्षेत्र, मानिस र कुल गार्हस्थ्य उत्पादनलाई आकर्षित गर्नेछ । यसले नेपाललाई पनि विश्वबजारमा स्थान दिनसक्छ । गरिबी निराकरण, रोजगारी निर्माण अनि व्यपार प्रवर्धनमा सघाउन सक्छ ।

दुवै देशका कार्यकारीहरूमा आफनो देशसँगै समस्त क्षेत्रको समृद्धिलाई नेतृत्व गर्ने चाहना छ । भारतका प्रधानमन्त्रीको सफल दक्षिण एसिया अनि चीनका राष्ट्रपतिको सबल एसियाका सपनाहरू उदाहरण छँदैछन् । तर यिनै देशबीच युद्घ भए विश्वको आर्थिक विनिमय डगमगाउँछ । उनीहरूको प्रगतिले सबैभन्दा बढी फाइदा वा टकरावले धेरै क्षति हामीलाई नै हुन्छ तसर्थ हामीले उनीहरूको तनावमा मौन रहन मिल्दैन । चासो मात्र हैन, समाधानका प्रयाससमेत राख्नुपर्छ हामीले ।

के गर्नसक्छौं हामी ?

हामी अहिले सार्कको अध्यक्ष राष्ट्र हौं, भारत सार्कको सदस्य र चीन पर्यवेक्षक छ । एकअर्काको सम्मान तथा आर्थिक वृद्घिमा सकेसम्मको सहयोग गर्ने उद्देश्य भएको क्षेत्रीय संगठनको अध्यक्षको हिसाबमा नेपालले दुवै देशलाई सहमतिमा ल्याउने प्रयास गर्नुपर्छ । वार्ताको अपिल गर्नुपर्छ, मध्यस्थता लिनुपर्छ र अग्रसरता समेत देखाउनुपर्छ । दोस्रो विश्वयुद्घ अन्त्य गर्नका लागि थुपै्र साना देशहरूले दिएको दबाब साक्षी छ ।

संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायमा हामीले पैरवी गर्न सक्छौं । हस्ताक्षर संकलन गरेर विभिन्न निकायहरूमा बुझाउँदै दुवै देशका सरकारलाई पठाउन सकिन्छ । युद्घबाट हुनसक्ने मानवअधिकार हनन, वातावरण विनाश, सम्बन्धित देशका नागरिक र बाँकी विश्वसमुदायमा पर्ने असरमाथि छलफल, गोष्ठीबाट खबरदारी गर्ने/गराउने गर्न सक्छौं । ‘स्मल कन्ट्रिज बिग पावर’ पुस्तकका जुक्तिहरूको प्रयोग गर्न सकिन्छ ।

विश्वका अन्य साना देशहरूसँग छलफल र सहकार्य गर्दै सकारात्मक दबाबको प्रयास बनाउनुपर्छ । घटनामाथि प्रतिक्रियात्मक बन्नेभन्दा नेतृत्वदायी बनेर अघिलाग्ने काम गर्नुपर्छ । अर्कोतिर हामी लामो समय छिमेकीसँग मात्र धेरै सामीप्यमा छौं र बाँकी विश्व हाम्रा लागि टाढिँदैछ । हामी उनीहरूबाट पाउने सदाशयता र सहयोग खोज्न भुल्दैछौं । छिमेकीबाहेकको बाँकी विश्वलाई पनि यसरी पूरै बिर्सनु हुँदैन ।

नभुलौं विश्व

औपचारिक रूपमा थुप्रै देशसँग हाम्रो दौत्य सम्वन्ध छ । तर अभ्यासमा छिमेकीसँग मात्र देखिन्छ । प्रत्येक नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि भारत अनि चीनको भ्रमण हुन्छ । ती देशका शक्तिशाली कार्यकारीलाई यहाँको भ्रमण गराउने प्रतिस्पर्धी प्रयास चल्छ ।

एस डी मुनी लगायतका विख्यात भारतीय विश्लेषकहरू नै हाम्रो अन्तराष्ट्रिय राजनीतिलाई ‘इन्डिया बाक्रेटेड सेन्टिमेन्ट’को रुपमा व्याख्या गर्नुहुन्छ । छिमेकीकै सहयोग र सदभावमा विकासकोे खोजी गरिन्छ । तर हामीलाई तत्कालका लागि सर्वाधिक फाइदा हुने थुपै्र कुराहरू बाँकी विश्वसँग छन् जसलाई हामी छोडिरहेका छौँ । हामी भन्दा धेरै साना देशहरू समेत विकसित भई आर्थिक प्रगतिको धमाका मच्चाउँदैछन् । सिंगापुर, हंगकंग, दक्षिण कोरिया, बहामास, बु्रनाई, कतार, कुवेत ज्वलन्त उदाहरण हुन् । उनीहरू लगायत अन्य विश्वसमुदायबाट हाम्रो विकासलाई अथक उत्पे्ररणा, ज्ञान तथा सहयोगसमेत सम्भव छ ।

अमेरिकाले संसारभर खपत हुने गहुँको ५०.१ प्रतिशत, इन्डोनेसियाले खाने तेलको ५१ प्रतिशत र थाईल्याण्डले चामलको ३४ प्रतिशत निर्यात गर्ने तथ्यांक देखिन्छ । कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान जम्मा ५ प्रतिशत भएको अमेरिका र जम्मा जनसंख्याको ३.७ प्रतिशत मात्र मानिस कृषिमा सम्लग्न भएको फ्रान्सचाहिँ विश्वभर खाध्यन्न बजार निर्माण गर्दैछन् ।

कुल ग्राहस्थ उत्पादनमा झन्डै ३२ प्रतिशत योगदान भएको र ७० प्रतिशत मानिस सम्लग्न हामीले उनीहरूसँग सहकार्य बढाउनुपर्छ । लेखक पल र्वकको पुस्तक ‘गुड अर्थ’ले कृषिबाट पनि भविष्य देख्न सिकाउँछ ।

थुप्रै देशले पर्यटनबाटै प्रगति गर्दैछन् । ‘र्वल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल’को सन २०१४ को तथ्यांक अनुसार मकाउ, मालदिभ्स, बहामास, अरुवा, एन्गुलिया लगायत झन्डै २० देशहरूमा कुल ग्राहस्थ्य उत्पादनमा पर्यटनको योगदान अनुपात ५० प्रतिशतसम्म छ ।

मकाउमा सम्पुर्ण जनसंख्याको ५० प्रतिशत, बहामासमा ३० प्रतिशत, अरुवामा ३० प्रतिशत र माल्दिभ्समा २५ प्रतिशतले र्पयटनबाट प्रतक्ष्य रोजगारी पाएका छन् । पर्यटन हामो विकासको पनि एउटा मुख्य आधार बन्नसक्छ । ‘इन्भेस्टिँग अन वुद्घिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्यांक अनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड र्र्पयटक मध्धे २५ प्रतिशत वौद्घ धर्मालम्वी छन् ।

‘किटन इकोनोमी’बाट ‘टाईगर इकोनोमी’ भएका हंगकंग, थाईल्याण्ड, दक्षिण कोरिया, मलेसिया, ताईवान, भियतनाम जस्ता देशहरूमा वौद्घ धर्मालम्वी बासिन्दाको बाहुल्यता छ । अबको २० वर्षमा कम्तिमा जम्मा वौद्घ धर्मालम्वीको केवल चौथाईमात्र अथवा अहिले प्रतिवर्ष पर्यटनमा जाने वौद्घ धर्मालम्वीको एक चौथाईलाई नियमित रुपमा नेपाल ल्याउन सके हामी पनि वाघ अर्थतन्त्र बन्नसक्छाँै ।

तत्कालको अविकासका लागि हामी भ्रस्टाचारलाई प्रमुख समस्या मान्दैछौँ । डेनमार्क, फिनल्याण्ड, नर्वे जस्ता देशहरू हामीले खोजेको अवस्थामा छन् । सेवा प्रवाहा र भ्रस्टाचार नियन्त्रणमा उनीहरूका सफल परीक्षणलाई हामी पनि अनुकरण गर्नसक्छौँ । फिनल्याण्ड विश्वभर नै उत्कृष्ट सरकारी शिक्षाको मानक मानिन्छ ।

हाम्रो भयावह शिक्षाको समधानको गुदी त्यहाँबाट फेला पर्नसक्छ । बेलायत तथा जर्मनीले सन २०४० बाट पेट्रोलबाट चल्ने सवारीमा प्रतिवन्ध लगाउँदैछन् । अबको केही दशकपछि संसारभर तेलको हाहाकार हुदाँ विद्युतमात्र एक बैकल्पिक उर्जा हुनेछ । त्यसबखत आज मध्यपुर्व भनिएका देशहरूले तेल बेचेजस्तै हामीले उर्जा बेच्न सक्याँै भने हाम्रो आर्थिक हैसियत कहाँ हुन्छ ?

लोककल्याणकारी राज्य स्थापनार्थ हामीले चाहेका मानव अधिकार, शिक्षा, स्वास्थ्व, लैगिंक समानता, समता जस्ता थुप्रै पक्षमा सघन बहसपैरवी तथा बृहत कार्यक्रम दिदैगरेका अरु देशहरू छन् जोसँग हामीले गहन सम्वन्ध राख्नुपर्छ । क्युवाको हरित अर्थतन्त्र हाम्रो जस्तो कृषिप्रधान देशलाई अनुकरणीय दिक्षा हुनसक्छ । थाईल्याण्डले माछापालनबाट लिने गरेको आम्दानी अनि नाम्बियाले बन्युजन्तु आरक्षणमा अभ्यास गरेका परीक्षणहरू हाम्रालागि सकरात्मक परिवर्तनको क्षितिज कोर्न सहयोगी बन्नसक्छ ।



लेखक दाहाल

अब राजनीतिक परिवर्तनका स्वरुप अनि चरणहरू लगभग सकिए । अबको प्रजातन्त्र भनेकै विकास प्रजातन्त्र हो । आर्थिक विकासको तिव्र गति नेतृत्वको एउटै र अन्तिम अपेक्षा हुनुपर्छ । बेरोजगारी व्यवस्थापन, आर्थिक वृद्घिसँगै व्यपार प्रर्वधन सबैको सामुहिक प्राथमिकता बन्नुपर्छ । हाम्रो राजनीतिको प्रत्येक प्रयास यसैमा समाहित रहनुपर्छ । जसका लागि अन्तराष्ट्रिय राजनीतिक अभ्याससमेत पुनरावलोक गर्नुपर्छ ।

अन्तराष्ट्रिय राजनीतिको एउटै लक्ष देशको हित बढोत्तरी हो । त्यसैले अब सिमाना बाहिरको राजनीतिक सम्वन्धका आयाम र दायरा दुबैमा बृहत परिवर्तन ल्याउनुपर्छ ।

छिमेकी कोे गलत र को सही भन्दा पनि उनीहरूलाई कसरी एकअर्कामा संयमित र हामीसँग सन्तुलित बनाउन सकिन्छ भन्ने रोज्नुपर्छ । अनि उनीहरूभन्दा बाहिरको विश्वसँग समेत सहकार्य खोज्नुपर्छ ।

दाहालले राष्ट्रनिर्माणका आयामहरू विषयमा विद्यावारिधि गरेका छन् । 

बुधवार, श्रावण २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti