shivam
Nerolac and Nepal life

आलेख

एमालेको स्याटलाइटले मधेस किन देख्दैन ?

दिल निसानी मगर

‘पहाडतिरका दुईचारजना जनमोर्चाका कार्यकर्ताले एक दिन ‘पानीट्याङ्की’ नाकामा नेपालको झण्डा देखाएर सीमाको रक्षा हुँदैन, त्यसैले मधेसी दाजुभाइलाई नै बलियो बनाउनुपर्छ,’ मानसिक तनावको औषधि सेवन गरिरहेका एकजना पुराना एमाले कार्यकर्ताले थपे, ‘उसबेला केपी ओलीले भन्ने गर्दथे, ‘कालापानीमा खुकुरी नचाउँदैमा सिमानाको रक्षा हुँदैन । भारत हाम्रो नजिकको छिमेकी हो, एउटा खोला दिऊँ । नेपालको रुखमा बिजुली बल्छ, झोलाभरि पैसा आउँछ ।’
पुराना एमाले कार्यकर्ताको फुलेको केश हेर्दा ‘उसबेला’ भनेको त्यस्तै ३० वर्षपहिले हो कि जस्तो लाग्छ, तर तीन महिनाअघि यिनै ओली भाषण गर्दै थिए, ‘हावाबाट बिजुली निकाल्ने मेरो त्यो मूच्र्छित सपना चाँडै पूरा गर्छु ।’

उर्जामन्त्री जनार्दन शर्मा  र कुलमान घिसिङले भ्रष्टचारीहरूको ‘कमिशन–लाइन’ काटिदिएपछि अचानक काठमाडौंमा २४ घण्टा उज्यालो छायो । एमाले कार्यकर्ताहरू तर्क गर्दैछन्, ‘एकमात्र राष्ट्रवादी नेता ओलीको सपना पूरा हुने क्रममा छ ।’

तीस वर्षअघि कालापानीमा खुकुरी नचाउँदैमा सिमानाको रक्षा गर्न नसकिने अभिव्यक्ति दिने ओलीलाई त्यसयता मधेसी दाजुभाइहरूको कति छोरी–चेलीहरू बलात्कृत हुन पुगे होलान् ? थाहा छैन । क–कसको गाउँ लुटियो होला, त्यो पनि थाहा छैन । सीमास्तम्भ हराएको कुरा र जनताले खोजेर फेरि सोही ठाउँमा राखिएको कुरा आक्कल–झुक्कल समाचारमा पढेका चाहिँ हुन सक्छन् । तर विडम्बना त्यही निकम्मा ‘ओलीमार्ग’ आज राष्ट्रवादी भएको छ ।

मौसम जस्तै राष्ट्रवादको रङ्ग बदल्दै जाने ओलीले त्यो ऐतिहासिक बिजुली बत्ती झुण्डिएको रुख देखाउन सक्नुपर्छ । अन्यथा मधेसको भूमिलाई सुक्खा पारेर बेचिएको नदीनाला फिर्ता गर्न सक्नुपर्छ । नक्कली राष्ट्रवादीहरूको अन्तिम अस्त्र भनेको नै भूमि हो । देश नै लग्यो, लग्यो, लग्यो, लग्यो भन्ने ठूलो प्रचार र डर देखाएर जनताको समावेशी अधिकार हडप्ने अनि जनताको भाषा, संस्कृति, पहिचान, धर्मको अधिकारलाई खिसी गर्ने यिनीहरूको चरित्र हो ।

ओलीले अहिले ठ्याक्कै यस्तै आचरण देखाइरहेका छन् ।

ओलीले जनजाति आदिवासी समुदायलाई खिस्सी नगरेको त्यस्तो भाषण छैन । एमालेको एउटा अप्ठ्यारो धार छ — नश्लवादी धार । बेलाबेलामा घनश्याम भुसालले खुलासा गरेजस्तै यो धार नै देश विखण्डनको लाइनमा छ । तर एमाले र ओलीजनलाई यो कुराको महसूस र हेक्का छैन । जतिखेर महसूस र हेक्का हुनेछ, त्यतिखेर विषय धेरै अगाडि बढिसकेको हुनेछ । धेरै पर, क्षितिभन्दा पर । भित्ताभन्दा पनि पर ।

संघीयता भनेको देश विखण्डन हुन जोगाउने विश्वव्यापी मान्यता हो । यो करबल माओवादीको मात्रै एजेन्डा होइन । तर एमाले संघीयता हाम्रो मुद्दा होइन भन्न लाज मान्दैन । समावेशी र समानुपातिक पद्धति भनेको जातीय रूपमा नै इतिहासबाट हेलित भएकाहरूलाई राज्यको मूलधारमा ल्याउने विधि हो । यो पनि एमालेलाई खासै मन पर्दैन । एउटै भाषा, एउटै धर्म, एउटै संस्कृति, एउटै जातबाहेक अरू ‘राष्ट्रिय’ हुन् जस्तो लाग्दैन एमालेलाई ।

त्यो ‘माखेसाङ्लो’

महिनाैं देखिको मधेस आन्दोलनबाट थाकेर लखतरान परेपछि केही हुल आन्दोलनकारीहरू सिंहदरबारको गेटमा आइपुगेका थिए । उनीहरूले ‘सिंहदरबार आँखा खोल्’ जस्ता नाराहरू लगाइरहेका थिए । खुलामञ्चमा आमरण अनशन पनि बसे उनीहरू ।

बिहारतिर जानुपर्नेहरू किन काठमाडौं आएका होलान् ? केही अन्धो राष्ट्रवादीहरूको मनमा खुल्दुली पैदा भयो । सिंहदरबारभित्रको कुुर्सीमा बसेर नयाँ–नयाँ उखान टुक्का गम्दै थिए केपी ओली ।


काठमाडौं र मधेसको दूरी यति टाढा भइसकेको थियो, ओलीले आन्दोलनकारीलाई एक प्रधानमन्त्रिको हैसियतमा आश्वासन दिने कामसम्म गरेनन् । उल्टो एक पहाडिया खस लेखकको पुस्तक विमोचन समारोहमा पुगेर भाषण गरे, ‘म पनि साहित्यिक मन भएको मानिस हुँ ।’ सिमानामा भारतीय प्रहरीको कुटाइ खानेहरूले काठमाडौंमा नेपाल प्रहरीको कुटाइ खाइरहेका थिए । तर त्यो साहित्यिक मन ‘मौन’ थियो, मदन भण्डारीको शालिकजस्तै ।

मधेस आन्दोलनमा कति लाख जनता, कति दिनसम्म ओर्लिएका थिए, लेखाजोखा नगरौं तर त्यो बृहत् आन्दोलन थियो । बृहत् आन्दोलनमा प्रहरीहरू मारिन्छन्, आन्दोलनकारीहरू मारिन्छन् । जस्तो कि २१ दिने जनआन्दोलन । यद्यपि ओलीको नजरमा ती केवल ‘माखेसाङ्लो’ थिए । ती विदेशीको उक्साहटमा उचालिएका रुखको आँप थिए । देशलाई विखण्डन गर्नका निम्ति लागिपरेका राष्ट्रघाती थिए । मुलुकको ‘अहित’ चाहने मानिस थिए । हो, संविधान संशोधनको सन्दर्भमा हामीकहाँ केही मतभेदहरू छन् ।

बहुरूपी स्वार्थहरू बाझिएका छन् । राष्ट्रियताको परिभाषामा एकता कायम गर्न सकिएको छैन । एकअर्काप्रति शंका–आशंका उत्पन्न हुनु भनेको विश्वासको संकट देखापर्नु हो । अहिले बहुजातीय, बहुभाषिक, बहुधार्मिक अनि बहुसांस्कृतिक मुलुकमा समुदायहरूबीच विश्वासको वातावरण निर्माण हुन नसकेकै हो । यसको मुख्य दोषी कोहि छन् भने, केपी ओली नै हुन् ।

हाल जसरी ओलीमार्गमा राष्ट्रवादको छुकछुके रेल गुडिरहेको छ, यसले भयानक दुर्घटनाबाहेक अरू निम्त्याउँदैन । पक्का हो, मधेसमा मध्यमवर्गीय युवाहरूको उदय भइसकेको छ । तिनले आफ्नो भूमि, इतिहास र धरातललाई पहिचान गरिसकेका छन् । लुकाउने कुरा छैन । अभाव, अन्याय, अपमान, गरीबी र असमान व्यवहारको कारण सिके राउत प्रवृत्तिको जन्म भएको छ मधेसमा । मलजल जो कसैले गरून्, त्यो प्रवृत्ति हुर्किंदैछ ।

संघीयतामा भूगोल टुक्रिन्छ, देश रहन्छ । संघीयताको सुन्दर पक्ष नै यही हो । अहिले पनि तराई–मधेसमा रहेका जिल्लाहरू संघकै बनोटमा छन्, खै त मधेस नेपालमै छ । खालि के हो भने, यसलाई परिष्कृत गरेर नयाँ आधारमा मुलुकलाई खडा गरौं भन्ने न हो । भूगोल मात्र होइन, जनताको मनोभावनालाई पनि एकताबद्ध गराैं भन्ने पनि हो । फेरि आजको दुनियाँमा मुलुक नै उचालेर लैजाने भयो भन्ने प्रचार पाखे तर्क हो ।

एमालेको सडक गीत 

एमालेले सडकमा कति ठूलो संख्यामा मानिसहरू देखाउँछ भन्दा पनि मुलुकको संवेदनशील समस्याहरूलाई कसरी हल गर्छ भन्ने सवाल विचाराधीन छ । राष्ट्रिय पार्टीका निम्ति केही लाख मानिसहरू चानचुने सिक्का जस्तै हुन्, ठूलो कुरै होइन । ठुलो कुरा हो त, राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने, निकास दिने । राजनीति भनेको मुलुकलाई गति दिने खालको हुनुपर्दछ । खालि भाषण मात्र त सयौं वर्षदेखि हुँदै आएको छ ।

हामीकहाँ के भयो भने राणाशासन ढल्यो, तर शासनमा आश्रित मानिसहरू पञ्चे बने । राणाको बीज पञ्चेको नाममा सरुवा भयो र तिनले जनता डस्न थाले । लामो संघर्षपछि प्रजातन्त्र त प्राप्त भयो, तर प्रजातन्त्रसँग पञ्चेका रगत, पसिना र प्रणालीहरू हाजिर हुँदै आए । प्रजातन्त्रलाई राजाले खोसे । राजासँगै सति जानेहरू गए । सति जान नसक्नेहरू प्रजातन्त्रको नाममा जनतालाई पीडा मात्रै दियो । दरबारियाहरू मोटाउँदै गए । जनता दुब्लो पातलो भए ।

एमाले मोटाएको थियो । दुब्लाहरू मोटाउन बाँकी थिए । उनीहरूले पाउमा दाम चढाउँदै थिए । कहाँबाट गणतन्त्र आयो । किसिम भयो । राता मण्डलेहरू रातारात गणतन्त्रवादी भए । बयलगाढामा चढेर अमेरिका जान नसक्नेहरू रातारात गणतान्त्रिक नेपालको व्याख्याता बन्न पुगे । संविधान सभाको ‘स’ पनि सुन्न नचाहनेहरू संविधानसभाको सूत्रपात गर्ने मानिसको रूपमा देखा परे । तर गणतन्त्र स्वीकार गरेपनि ‘मण्डलेपन’ हावी रह्यो ।
अहिलेको समस्या यही हो ।

एमालेले संविधान संशोधनको विपक्षमा चित्रबहादुर केसी जस्ता पहिचानविरोधीहरूसँग मिलेर सडक नाटक देखाएको छ । लाखौं राष्ट्रवादी मानिसहरू सडकमा निकालेको दाबी गर्ने एमालेले एउटा मोटरसाइकलमा १० जना व्यक्ति चढाएको हुनुपर्दछ । सडकमा उभिएका प्रत्येक एकजना व्यक्तिको टाउको ३६ पटक गणना गरेको हुनुपर्दछ । अन्यथा त्यो राष्ट्रवादी क्यालकुलेटर हुनुपर्दछ ।


केहि हप्ताअघि पोखरामा भाषण गर्दै ओलीले भनेका थिए, ‘अब एउटा टालो समातेर आन्दोलनमा सहभागी नबनाैं, बाटो खनाैं । विकास निर्माणमा सहभागी बनौं ।’ आन्दोलन भन्ने शब्द नेकपा एमालेको शब्दकोशमा नभएको तर्क गर्ने पनि ओली नै थिए । तर पछिल्लो समय सरकारी सवारी साधनहरूमाथि आगजनी मात्र गरिएको छैन, सरकारी कर्मचारीहरू नै आन्दोलनमा सहभागि भइरहेका छन् ।

मधेसी, जनजातिहरूको पहिचानको आन्दोलनलाई अत्यन्तै तल्लो स्तरमा उत्रेर गालीगलौज गर्ने ओलीलाई आफ्नो पार्टी एमालेको आन्दोलन चाहिँ बडो राष्ट्रवादी लागेको छ । मानाैं कि, राष्ट्रवाद भनेको उनको प्राण हो । यो भूगोलमा बस्ने जनताहरू केवल निर्धा प्राणी मात्र हुन्, केही नजान्ने, नबुझ्ने निकम्मा हुन् । आफ्ना मानिसको जमातलाई ड्रोनले खिच्न नभ्याएको भन्ने ओली र एमालेको स्याटलाइटले मधेस किन देख्दैन ?

राजनीतिमा हिरो हुने कि भिलेन ?

नयाँ संविधानको घोषणापश्चात् विभिन्न भूगोलमा बस्ने जनताहरूको मनमा कैयौं विचार र प्रश्नहरू जन्म भए । प्रचण्डको समर्थनमा केपी ओली प्रधानमन्त्री बने । त्यसो त एमालेको तर्फबाट जति पनि प्रधानमन्त्री बनेका छन्, त्यो प्रचण्डकै ‘आकस्मिक अट्याक’मार्फत भएका छन् । त्यसैले होला, माधव कुमार नेपाल र झलनाथ खनालले प्रचण्डको अगाडि ठुलो कुरा गर्न सक्दैनन् । यिनीहरू प्रचण्डसामु झुकेर नै बोल्छन् ।


ओली प्रधानमन्त्री हुँदा उनले संविधान संशोधनको प्रस्ताव अगाडि बढाएर ‘संविधान संशोधनु गर्नु अपराध होइन, एक स्वाभाविक प्रक्रिया हो’ भन्ने सन्देश दिएका थिए । हाल सीमांकनको विषयमा देखिएका विवाद पनि ओलीकै हस्ताक्षरमा खोलिएका फायर थिए । के त्यतिखेर ओलीले गाँजा खाएका थिए ? ओली राष्ट्रिय नेता हुन् भने उनको काम राष्ट्रलाई निकास दिने हो कि विवादित भाषण गरेर परिस्थितिलाई झनै मुठभेडतर्फ धकेल्ने हो ?

मधेसमा महिनौंसम्म चलेको आन्दोलनको कुरा छाडांै । एमाले मधेसमा पस्न सकेको छैन भन्ने देखिन्छ । यो गलत बुझाइ पनि हुन सक्छ, तर स्थानीय संरचना एमालेकै कारणले निर्माण हुन सकिरहेका छैनन् । सही बुझाइ हो यो । संविधान संशोधनमा अङ्गीकृतलाई राष्ट्रप्रमुख र मुख्य पद दिने प्रसङ्ग नै छैन, न हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने भन्ने नै छ । पिसाबको न्यानो एकछिनमा चिसो हुन्छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि प्रस्टै छ, आन्दोलनरत दलहरूसँग छलफल गरेर राष्ट्रिय एकताका निम्ति अनेकौं पहल गरिरहेका छन् । आदिवासी, जनजाति, मधेसी सबैलाई खुशी बनाउने र संविधानको स्वीकार्यता बढाउने पक्षमा लागिरहेका छन् । यसक्रममा विदेशीहरूको सल्लाह– सुझाव लिने र उनीहरूलाई विश्वास दिलाउने कामहरू समेत भइराखेका छन् । यो आम विश्वव्यापी मान्यता हो । राजनीतिमा हिरो हुने कि भिलेन, ओलीले बुझ्नुपर्दछ ।

तर राष्ट्रलाइ एकढिक्का बनाउँदा कथित राष्ट्रवादीहरू आरामसँग श्वास फेर्न सकिरहेका छैनन्, मानांै कि मधेसीहरू बलियो हुनु देश विखण्डन हुनु हो, सिमानाको रक्षा हुनु होइन ।

आदिवासी जनजातिहरूको पहिचान, भाषा, धर्म, संस्कृति जोगिनु भनेको निश्चित एलिट राष्ट्रवादीहरूको ब्रह्मलुटको संसारमा भूकम्प आउनु जस्तै हो । सबैले अपनत्व महसूस गर्ने नयाँ राष्ट्रनिर्माणमा यसभन्दा ठूलो अवरोध र पीडाको कुरा अरू के हुन सक्छ ?

नेपाल भन्ने देशको ‘संवैधानिक परिभाषा’ को पनि विरुद्धमा छ यो ‘ओलीमार्ग’ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota