Ruslan
Tata /sipradi
Nic Asia

आलेख

हामी कुलमानको समर्थन गर्न किन हिचकिचाउँछौं ?

दिपेश घिमिरे

केपी ओलीले प्रधानमन्त्रीको रूपमा रहँदा एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने सहितका लोकप्रिय नारा ल्याइरहँदा हामीजस्ता आम नागरिकले उनको आक्रामक शैलीको समर्थन नगरेका होइनौं ।

खासगरी आफ्नो चिनारीको लागि कुनै संगठन तथा राजनीतिक दलको ट्याग भिर्न नचाहने मजस्तै राजनीतिक स्वतन्त्रता अंगालेका व्यक्तिहरूले पनि ओलीका धेरै भाषणमा आशाको किरण भेटे । नारा आफैंमा आशा र आविष्कारको जननी हो ।

ओलीअघिका सरकार प्रमुखले जनतामा त्यही आशासमेत दिन नसक्दा छाएको चरम राजनीतिक निराशालाई ओलीले पछ्याएनन् । र, उनले आम नेपालीलाई अब देश बन्ने आशा देखाए ।

उनका लोकप्रिय नारासँगै विरोध र समर्थनको कित्ताकाट पनि इतिहासमा झैं दलगत ध्रुवमा विभाजित भयो ।
राधा ज्ञवाली ऊर्जामन्त्री हुँदा अक्षमतालाइ आधार मान्दै चिलिमेबाट हटाइएको लगभग एक वर्षपछि कुलमान घिसिङ विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक बनेर आए ।

राधा ज्ञवालीले चिलिमेमा जबर्जस्त अक्षम बनाइएका कुलमान त्यसपछि चर्चामा छन् । त्यो पनि लामो समय लोडसेडिङको मारमा रहेका राजधानीवासीलाई विद्युतको उज्यालो प्रदान गरेर । उनले आफैंले बिजुली कतैबाट ल्याएर उपत्यका झलमल पारिरहन सकेका होइनन् । गरेका यत्ति मात्र हुन् कि, प्राधिकरणको गैरजिम्मेवार व्यवस्थापन र विद्युत् क्षेत्रमा भएको अवैध व्यपारमाथि रोक ।

उनको कामबाट ओलीले एक वर्षमा गर्ने भनिएको लोडसेडिङ अन्त्यले समेत सार्थकता पाएको छ । ओलीको नारा साकार पनि भयो । ओलीले भाषणका लागि बोलेका थिए तर कुलमानले त्यसलाई चरितार्थ गर्ने काम गरे ।
चौध घण्टाबाट अल्पकाललाई नै सही, शून्य लोडसेडिङ सम्भव भयो । यसबीचमा प्रत्येक वर्ष लगभग १० प्रतिशतका दरले विद्युतको माग बढ्दै जाने गरेको पनि आफ्नै ठाउँको यथार्थ थियो ।

एक वर्षपछि भएको लोडसेडिङको अन्त्यले केपी ओली जति प्रखर वक्ताका रूपमा चिनिए, त्यत्तिकै यसले उनलाई असफल व्यवस्थापकका रूपमा पनि चिनाउने काम ग–यो । भलै उनले केही प्रयास र केही थान निर्देशन दिए ।

नाराको त हामीलाई आदत नै बसिसक्यो । सुन्ने र बिश्वास नगर्ने । हामीलाई शब्दको मिठास भन्दा प्रगतिको भोक छ ।

अहिले लाग्दैछ केपीले फेरि एकपटक जनताको आशामाथि खेलवाड गरे । उनकै कार्यकालमा बलियो व्यवस्थापनले लोडसेडिङ हामीले भोगेभन्दा कम हुनसक्ने यथार्थलाई कुलमानको कुशल व्यवस्थापनले साबित गरिदियो, साथै ओलीको लोकप्रिय जिब्रो र इच्छाशक्तिबीचको भिन्नतालाई पनि ।

हामी जनताले बोकेको राज्यप्रतिको आशाको स्वरूप प्रत्येक सरकार परिवर्तनसँग फेरिन बाध्य हुने गर्छ । यो राज्यको शासन प्रणालीको विपन्नता तथा हाम्रो मानसिक विपन्नताको जोडबाट सम्भव भएको कुरा पनि हो ।

जति हामी कल्पनामा छौं, यथार्थमा त्यसभन्दा धेरै भिन्न धरातलमा छौं । हामीमा संक्रमणकालरूपी सकसले दिएको मानसिक दरिद्रता ब्याप्त छ, चाहे स्वीकार गरौं या नगरौं । लाग्छ हामीलाई भ्रमको नै सही आशा र सकारात्मक परिवर्तनको साथ चाहिएको छ ।

हाम्रा प्रगतिहरू प्रत्येकपटक दलीय स्वार्थको शिकार बनेको छ । कुलमानले दिएको यो सकारात्मक प्रगतिलाई राजनीतिको एउटा कित्ता अझै स्वीकार्न तयार छैन, दीर्घकालीन असरको नाम दिएर । हामी प्रगति पनि सहन सक्दैनाैं जहाँ अरूको प्रयासको गुणगान सुनियोस् ।

यस्तै प्रयास भयो यसपटक पनि यसभन्दा सानो प्रगति दिएर गोकर्ण विष्टको हाईहाई भयो, मीठो बोलीको प्रभावले गगन थापा युवाहरूको ‘आइकन’ पनि बने । म यहाँनेर उहाँहरूको विरोध गर्दै छैन, न त मैले त्यो औकात नै खडा गर्न सकेको छु । तर अझै हामी कुलमानको यो कुशलता र जनताप्रतिको उत्तरदायित्व स्वीकार्न हिच्किचाउँदैछौं ।

आफू राम्रो केही गर्न नसके पनि राम्रो गर्न खोज्ने र गरेर देखाउनेको विरोध नै नगरे कैयौं प्रयासहरू सार्थक हुन्छन् भन्ने मेरो सोच हो । हुन त मेरा सोच र बुझाइले त्यति ठूलो अर्थ नराख्लान्, तर मजस्ता हजारौंको सोच र बुझाइले पक्कै पनि अर्थ राख्नेछ ।

यतिखेर राष्ट्रिय राजनीति र सामाजिक सञ्जाल कुलमानको अस्तित्व स्वीकार गर्न चाहिरहेकै छैन, पन्ध्र घण्टा अन्धकारको आदत बनाएका हामी पन्ध्र मिनेट बत्ती जाँदा कुलमानलाई आर्यघाटमा उतारेको देखेको छु मैले । हामी कुन विकास र प्रगतिको सोच राख्दैछौं ? किन कुलमानलाई समर्थन गर्न कन्जुस्याइँ गर्दैछौं ? यो राजनीतिको नबुझिसाध्ये रहस्य हो ।

राधा ज्ञवालीले अक्षम देखेर हटाएको कुलमानले आफ्नो सक्षमता प्रदर्शन गरेर हामी विमुख बनेका त होइनौं ? या केपी ओलीले बाँडेको सपना पूरा गरेर देखाउनु उनको अपराध भयो ? या प्रत्येक राम्रो काम कांग्रेस र एमालेको छायाँ देखिनु जरूरी छ ? अन्यथा राम्रो कुरा नस्वीकार्ने संस्कार बनाइसक्यौं हामीले ?
लेखक घिमिरे


मलाई अन्दाज छ, कुलमानले गरेको काम कांग्रेस र एमाले कुनैको छत्रछायाँमा सम्भव थियो भने उनको देवत्वकरण हुन्थ्यो । राजनीतिक विद्वेषका कारण राम्रो कामको समर्थनसम्म पनि स्वीकार्न नसक्ने कस्तो परिवर्तनको स्वार्थ बोक्दैछाैं हामी !!

कुलमानको यो व्यवस्थापनभन्दा अगाडि एक वर्ष पहिलेको बिजुली अड्डाको आँकडा हार खाएको छ । हामीले उज्यालोसहितको रातको पनि अनुभूति गर्न पाएका छौं, तर हाम्रो विरोधको संंस्कृति अझै सगरमाथाको उचाइमा चुलिएको देख्दा आश्चर्य लाग्छ ।

हामी विकास पनि पार्टीगत खोज्न थाल्यौं । सिद्धान्तसँग दूरी बढाएका राजनीतिक चरित्र देखिन्छ प्रत्येक राजनीतिक कार्यकता र समूहमा । आफ्ना समर्थकहरूबाट भएका गल्तीमा सकारात्मकता खोज्ने र अरुद्वारा भएका प्रगतिमा कमजोरी खोज्न हामी जुटिहाल्छौं । लाग्छ, हामीसँग के सही र के गलत भन्ने छुट्याउने विवेक नै मृतप्रायः बनिसकेको छ ।

हाम्रो आवश्यकता नै संकटमा परेपछि बल्ल विकासको योजना र व्यवस्थापनका उपाय सोच्छौं हामी । आखिर विद्युत् क्षेत्र पनि त्यसैको शिकार देखियो, सबल व्यवस्थापनले उपलब्ध स्रोतहरूबाटै पनि धेरै समस्याको न्यूनीकरण सम्भव छ भन्ने उदाहरण हुन् कुलमान घिसिङ । तर पूरै काठमाडौं उपत्यका मात्र होइन, मोफसलमा अझै जारी रहेको लोडसेडिङ अन्त्य कुलमानको अर्को चुनौती पनि हो ।

त्यसका लागि व्यवस्थापनका साथै निर्माणाधीन आयोजनाहरूको गति पनि आवश्यक छ र चर्को राजनीतिक दबाबको सामना पनि । हेरौं, अबको बाटोमा कुलमान कत्तिको अब्बल देखिन्छन् या फेरि हामी असफल देखाउन युद्धकालीन अस्त्रको प्रयोग गर्छाैं, आयोजनाहरूमा मजदुरको विरोधको राजनीति खेल्दै ।

राजनीतिमा त प्रत्येक नीचकार्य पनि जायज छ । यो मेरो अभिव्यक्ति होइन, इतिहासले सिकाएको खराब पाठ हो । कुलमानको सक्षमताको प्रमाण अझै जुटिसकेको छैन र ? सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing