Ruslan
Tata /sipradi
Nic Asia

आलेख

दशकपछि जनयुद्धको उद्गमस्थल रोल्पा पुग्दा

सुदर्शन बराल

नेपालमा माओवादी जनयुद्ध चलिरहेको बेला रोल्पा–रुकुम पुग्न पाउनु हामी माओवादीहरूका लागि धार्मिक मान्छेलाई आफ्नो पवित्र धर्मस्थल पुग्नु बराबर थियो ।
विसं २०५८ सालमा सरकारसँग वार्ता चलिरहेको बेला पहिलोपटक रोल्पा जाने मौका मिल्यो । रोल्पाको राङ्गसीको ढाङढुङ भन्ने स्थानमा केन्द्रीय जनपरिषद्को भेला आयोजना गरिएको थियो । गुल्मी जिल्ला जनसरकार प्रमुखको हैसियतले म त्यो कार्यक्रममा सहभागी भएको थिएँ । त्यतिबेला नै पार्टी अध्यक्ष प्रचण्ड नेता डा. बाबुराम भट्टराई लगायतका नेतालाई भेट्ने अवसर पाइएको थियो । त्यसपछि गुल्मी जिल्ला पार्टीको विशेष क्षेत्र अन्तर्गत रहेपछि भेला, बैठक र प्रशिक्षणहरूमा लगातार आवतजावत भइनैरह्यो ।


२०६२ सालमा गुल्मी जिल्ला पुनः गण्डक क्षेत्र अन्तर्गत रहेपछि रोल्पा जाने क्रम टुट्यो । पार्टी शान्ति प्रक्रियामा आएइसकेपछि म संविधानसभा सदस्य रहेको समयमा कुनै न कुनै कार्यक्रम मिलाएर रोल्पा जाने रहर गरेको थिएँ । तर त्यो साइत कहिल्यै जुरेन । झण्डै डेढ दशकपछि गएको मंसिर ३० गते संयुक्त मगर मञ्चको कार्यक्रममा रोल्पा जाने रहर पूरा भयो । एघार वर्षपछि रोल्पा पुग्दाका केही अनुभूतिहरू :

सुरक्षाको नयाँ व्यवस्था 

हामी भूमिगत कालमा रोल्पा पुग्दा स्थानीय मिलिसियाले सुरक्षा गर्दै रुट गाइडसहित एक पोस्टबाट अर्को पोस्टमा हस्तान्तरण हुँदै जान्थ्यौं । कहिलेकाहीँ आवतजावत गर्नेको चाप बढेपछि रुट गाइड नपाइएर रोकिनुपर्ने स्थितिसमेत हुन्थ्यो । तर म यसपालि रोल्पा लिवाङका लागि काठमाडौंबाट सिधै बस चढेर लागें ।

३० गते बिहान रोल्पा सुलिचौर पुग्दा पाँच नम्बर प्रदेश अखण्ड राख्नुपर्ने माग गर्दै रोल्पा र प्युठान बन्दको घोषणा स्थानीयहरूले गरेका रहेछन् । गाडी अगाडि बढ्ने कुनै सम्भावना थिएन । तर कार्यक्रममा त जसरी पनि पुग्नैपर्ने थियो । फेरि भूमिगतकाल सम्झँदै पैदलै अगाडि बढें एकजना स्थानीय साथीलाई रुट गाइड बनाएर । झण्डै दुई घण्टाको उकालो यात्रा गरेपछि मैले १३ किमी बाटो पार गरेंछु ।

जनयुद्धको समयमा जस्तो लगातार १७/१८ घण्टा हिँड्न सक्ने सामथ्र्य ममा थिएन । रातभरको बस यात्रा, अनिँदो र उकालोले मेरो कठिन परीक्षा लिएको थियो । साथीहरूले पटक–पटक गरेको फोन सम्पर्कको आधारमा मेरो क्षमता बुझिसकेका थिए । माथि लम्पुजा भन्ने ठाउँमा पुग्दा नेपाल प्रहरीको गाडी मलाई लिन आइपुगेको रहेछ ।

उहिले रोल्पा जाँदा सेना, प्रहरीलाई छल्दै निकै घुमाउरो बाटो तय गरी हिँड्नुपर्दथ्यो भने अहिले प्रहरी अ.स.ई.सहितको सुरक्षाका साथ प्रहरीकै गाडीमा हुँइकिँदै म सदरमुकाम लिवाङ पुगें । मलाई जिल्ला प्रहरी कार्यालयमा प्र.जि.अ., प्रहरी प्रमुख, सशस्त्र र गुप्तचर प्रमुखहरूले पर्खेर बसिरहेका रहेछन् । कार्यक्रममा भिडन्त हुने चिन्ताले उनीहरू मलाई कार्यक्रम शान्तिपूर्ण गराउन अनुरोध गर्न बसेका रहेछन् ।

हाम्रो कार्यक्रम पूरै शान्तिपूर्ण हुने र हाम्रो तर्फबाट कुनै अप्रिय वा झडप निम्त्याउने गतिविधि नहुने आश्वासन दिएर म कार्यक्रम स्थलतर्फ लागें । कार्यक्रम शुरु हुँदा नहुँदै अखण्डवाला मित्रहरूले ढुंगामुढा शुरु गरिहाले । तैपनि हामीले कार्यक्रम नरोकी लगातार जारी राख्यौं । अखण्ड पक्षधर र प्रहरीका बीचमा झडप भयो र अन्ततः प्रहरीले लाठी चार्ज र अश्रूग्याँस फायर ग–यो ।

कार्यक्रमको समापनपछि हाम्रो सुरक्षाका लागि प्रहरीले हामीलाई जि.प्र.का. लगेर राख्यो । कार्यक्रम अवधिभर संयम अपनाएकोमा सि.डि.ओ.र डि.एस.पी.ले मलाई धन्यवाद ज्ञापन गरे । यसरी पन्ध्र वर्षपछि रोल्पा जाँदा सुरक्षाका लागि नयाँ अनुभूति भयो ।

उस्तै छ आत्मीयता 

हामी भूमिगतकालमा रोल्पा जाँदा अनुभूति गर्ने एउटा पक्ष त्यहाँको आत्मीयता थियो । शहीद परिवार, घाइते अपांग वा जोसुकैले पनि पार्टीका नेता वा कमरेडहरूलाई दिने न्यानो माया र जिम्मेवारीले हामीलाई कायल पार्ने गर्थ्यो । अहिले विभिन्न माओवादी धारमा रहेको भएपनि पुराना परिचित कैयौं कमरेडहरू म त्यहाँ पुगेको थाहा पाएर मञ्चमा नै भेटघाट गर्न पुग्नुभयो र बस्न कर गर्नुभयो ।

सुलिचौरबाट उकालो लाग्ने क्रममा म थाकेको थाहा पाएर साथीले मलाई झोला बोक्नै दिएनन् । कार्यक्रम शुरु भइसकेपछि झडप हुन थाल्यो र त्यहाँको पार्टी सदस्यहरूले मेरो सुरक्षामा अत्यन्त सतर्कता अपनाउनुभयो । काठमाडौं र विदेशमा बसिरहेका रोल्पाली साथीहरूले समेत लगातार स्थितिको जानकारी लिने र मेरो सुरक्षाको चासो देखाउने गर्नुभयो । फर्कुन्जेल याद गरिरहें, रोल्पालीहरूको पाहुना र साथीप्रतिको आत्मीयतामा अझै कमी आएको रहेनछ ।


गति लिँदैछ विकासले 

हामी विगतमा रोल्पा जाँदा सदरमुकाम जानेबाहेक दाङको घोराहीबाट दहवनसम्म मात्र मोटर पुगेको थियो तर अहिले करीब सबै गा.वि.स.मा मोटर पुगिसकेको रहेछ, सडक कच्ची नै भएपनि । हामीले पारिबाट देख्ने गरेको सानो सुलिचौर बजार अहिले अटेसमटेस गरेर विकसित अवस्थामा पुगिसकेको रहेछ । सडक यातायात, सञ्चार, विद्युत्, विद्यालय र अस्पतालहरू बिस्तारै स्थापित हुँदै गएका रहेछन् ।

सदरमुकाम बजार विस्तार तीव्र गतिमा बढेको रहेछ । शान्ति प्रक्रियापछि एकप्रकारले देशकै नेतृत्व गरिरहेको रोल्पाको नेतृत्वले जिल्लामा करोडौं रुपैयाँमा विकासका कार्यक्रमहरू अगाडि बढाइरहेको देख्न र सुन्न पाउँदा मन प्रफुल्लित भयो । सदरमुकाम पुग्ने बाटो भने कुनै जमानामा ग्रेड नमिलाई बनाइएको अत्यन्त साँघुरो र डरलाग्दा घुम्तीसहितको रहेछ जसले त्यस जिल्लाका उच्च नेताहरुलाई व्यंग्य गरिरहे झैं लाग्छ ।

माओवादी जनयुद्धको उपज भन्नुपर्छ, गाउँमा राजनीतिक चेतना र सामाजिक जागरणले देशका हरेक राजनीतिक घटनाक्रमप्रति रोल्पाली जनताको चासो छ । रोल्पाबाट शुरु भएको माओवादी जनयुद्धले देशमा आमूल परिवर्तन ल्याएको थियो । केही वर्षअघिसम्म विकासका दृष्टिकोणले पिछडिएको भएपनि रोल्पा अहिलेपनि राजनीतिक चेतनाको राजधानी बनेको छ । फेरि पनि स्वाभिमानपूर्वक उभिरहेको जलजलालाई सलाम ! सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing