Nic Asia
cocacola

आलेख

...ती चलखेल जसले समृद्ध नेपालको सपना सिध्याइदिए

डा.युवराज संग्रौला

हरेक राष्ट्र र समाजको विकास ‘आफैंमा एउटा सामाजिक प्रक्रिया’ हो । विकास छुट्टै अन्य कुरा होइन । समाज परिवर्तनको ढाँचा एवं गतिसँग मानिसका समृद्धिका यात्राहरू पनि गाँसिएका हुन्छन् । अर्थात् ‘समाजको मनोविज्ञानसँग विकासप्रतिको दृष्टिकोण जोडिएको हुन्छ’ र मानिसको मनोविज्ञान समाजले अवलम्बन गरेका सांस्कृतिक मूल्य मान्यताले निर्माण गरेको हुन्छ ।


यसै पृष्ठभूमिबाट नेपाली समाजको परिवर्तन र विकासको यात्रालाई नियाल्नुपर्छ । नेपाली समाजको आधुनिकताको इतिहास लामो छैन । लामो इतिहास निरंकुश शासन व्यवस्थासँग जोडिएको छ र सामन्तवादको विकृत स्वरूपले इतिहासलाई कलंकित पारेको छ । २००७ सालपछाडि मात्र नेपाल संसारसँग जोडियो, आधुनिक शिक्षा प्रणालीसँग परिचित भयो र जीवनका हरेक पक्षमा विज्ञान र प्रविधिको सम्पर्कमा आयो । तर मानिसको चेतना आधुनिक हुने क्रम भने सुस्त रह्यो । परिणामस्वरूप ‘मानिसको चेतना र विज्ञान’ का बीचमा तालमेल बन्न सकेन । जस्तै, नेपालमा मोटरको आगमन भयो तर मासिनले मोटरको पूजा गरे, मशिनमा बोको काटेर रगत चढाउने संस्कार पो हुर्कियो । पछिल्लो समयमा हवाईजहाज ल्याउँदा पनि कालो बोको काटियो ।

यसो गर्नुलाई मानिसले संस्कार, संस्कृति वा प्रचलन भन्ने गरेपनि ‘यथार्थमा यो आधुनिकता र विज्ञानलाई आविष्कार गर्ने सूक्ष्म रूपमा दिमागमा बसेको अचेतनाले निर्माण गरेको नकारात्मक मनोविज्ञान हो’ । यस्ता अनेकौं पक्षहरू छन् जसले नेपालीहरू नेपालमा नकारात्मक मनोविज्ञानलाई यथावत् कायम राखेको देखाउँछन् । नेपालीहरू लाहुरे हुन रुचाउँछन् । नेपालीहरू आफ्नो घरमा काम गर्नुभन्दा ज्यामी हुन रुचाउँछन् । नेपालीहरूमा बचत गर्ने बानी छैन । नेपालीहरूमा शिक्षाप्रति जाँगर छैन ।

यस्ता अनेकौं भित्री वा लुकेका कारणहरू छन् जसले नेपाली समाजको परिवर्तन र विकासमा गम्भीर मनोवैज्ञानिक समस्याहरू खडा गरेका छन् । फेरि अर्कातिर एउटा सत्य के पनि हो भने ‘यस्ता गलत मनोविज्ञान तोड्न सकिन्छ र त्यो तोड्ने माध्यम शिक्षा हो । २००७ सालमा नेपालको साक्षरता प्रतिशत एक प्रतिशत थियो । अहिले यो लगभग ७० प्रतिशत छ । प्रत्येक वर्ष एक प्रतिशतले औसतमा बढेछ । यो नराम्रो पनि होइन । तर यति धेरै साक्षरताको प्रतिशत बढ्दा पनि किन मासिनमा निम्न प्रवृत्तिहरू यथावत छन् : (१) मानिसहरू स्कूल खोल्नभन्दा मन्दिर बनाउने कार्यमा उद्यत हुन्छन् । (२) नेपालमा धर्म नमान्ने वामपन्थीहरू पुराण लगाएर चन्दा वा धन असुल गर्छन् । (३) शिक्षित पण्डितहरू आफूलाई महाराज भनी सम्बोधित गराउँछन् । (४) जनताको प्रतिनिधित्व गर्ने सेवकलाई ‘माननीय’ भनिन्छ । (५) स्कूलहरू फोहोर, अव्यवस्थित र रुग्ण हुन्छन् ।

यी यथार्थताहरूले देखाउँछन् नेपाली शिक्षा प्रणालीले नेपालीहरूको नकारात्मक, रूढिवादी र परिवर्तनविरोधी मनोविज्ञानलाई हटाउन सकेन । बरू अर्को किसिमको नकारात्मक मनोविज्ञानमा रूपान्तरण मात्र ग–यो । जस्तै, (१) प्रत्येक नेपालीमा आफू ठीक र अर्को गलत भन्ने सूक्ष्म अहम् छ, त्यसैले प्रत्येक नेपाली अरूमा परिवर्तनको आवश्यकता देख्छ । आफूलाई भने ठीकठाक देख्छ । बाटोमा फोहोर फ्याँक्ने, बाटोको बार भत्काउने, सार्वजनिक बाटोमा डिलमा उभिई पिसाब फेर्ने मानिस नै नेता गलत हो भन्ने हुङ्कार गर्छ । प्रहरी आफूलाई ठीकठाक देख्छ र जनता फटाहा हुन् भन्छ । कर्मचारी सेवा लिने मानिसलाई खराब देख्छ ।

(२) नेपालीहरूमा विज्ञता र लगानीविना करोडौं कमाउने भोक जागेको छ । प्रत्येक बिदेसिने मानिस देशमा रोजगारी छैन भन्छ तर धान फल्ने जमिन बेचेर एजेन्टलाई बुझाउँछ । युरोप जाने मानिस देशले केही दिएन भन्छ तर बूढानीलकण्ठमा पढ्ने पनि जनताको कर समाप्त पारी बिदेसिन्छ । मलाई थाह छैन मनोविज्ञानमा यस प्रवृत्तिलाई के भनिन्छ ?

(३) राजनीतिमा नेता हुन जाने मानिस कलेजमा ध्यान दिएर ज्ञान प्राप्त गर्दैन । ऊ चिट चोर्छ वा प्रिन्सिपललाई धम्क्याएर वा फकाएर जाँचमा पास हुन्छ । ऊ राष्ट्रलाई कर तिर्दैन । आफ्ना छोराछोरी पनि बाबुआमालाई पाल्न लगाउँछ । उ कमिसनको रकम लिन्छ, धन कमाउँछ । उसलाई कमाउनुको अर्थ नै थाहा छैन । तर विकासको नीति बनाउने ठेक्का उसले पाएको छ । यसको तात्पर्य के हुन्छ भने २००७ साल पछाडि नेपालले लागू गरेको शिक्षा प्रणालीले नेपालको परिवर्तन र विकासका आवश्यकतालाई सम्बोधन गर्न सकेन । माथि छलफल गरेको नकारात्मक मनोविज्ञानलाई हटाई ‘प्रगतिशील चेतनायुक्त’ मनोविज्ञानको निर्माण गर्न सकेन । यसले मानिसलाई साक्षर र शिक्षित बनायो, डिग्री प्रदान ग–यो तर ‘नेपालीपनमा आधारित आधुनिकता र सिर्जनात्मक उर्वर प्रगतिशील चेतनाको निर्माण गर्न सकेन ।

२०४७ सालपछि नेपालमा अभूतपूर्व राजनीतिक परिवर्तनको युग शुरु भयो । नेपाल स्वतन्त्र नागरिकहरूको एउटा ‘राष्ट्र राज्य’को रूपमा खडा भयो । तर यस सुखद परिवर्तनले साथसाथै ल्याउनुपर्ने आर्थिक समृद्धिको क्रान्ति ल्याउन सकेन । राज्य र निजीक्षेत्रको सहकार्यका साथसाथै ‘सहकारी’ को उपयोग र राज्यले ठूलठूला विकास संरचनाको निर्माणको नेतृत्व लिनुपर्ने थियो । देशको अर्थतन्त्रलाई निर्यातमूलक बनाउने औद्योगिकीकरणको नेतृत्व निजीक्षेत्रले लिनुपर्ने थियो । तर देशको अर्थतन्त्रलाई विदेशीका इशारामा ‘अतिउपभोक्तावादी अश्लील उदारीकरण र व्यापारीकरण’ तर्फ धकेल्ने काम भयो । गरीबको शोषण गरी धनी झन् झन् धनी हुने आर्थिक व्यवस्था लागू गरियो । देशको १० प्रतिशत सम्भ्रान्तले कुल राष्ट्रिय आम्दानीको ५२ प्रतिशत प्रयोग गरिरहेबाटै यो देख्न सकिन्छ ।

यसको सबैभन्दा ठूलो मार शिक्षामा प–यो । शिक्षामा निजीक्षेत्रको सहभागिता आवश्यक थियो । तर शिक्षामा निजीक्षेत्रको सहभागिताको नाममा ‘व्यापारीकरण’ भयो । औद्योगिकीकरणमा लाग्नुपर्ने कर्पोरेट हाउसहरू मुनाफाका लागि स्कूलमा लगानी गर्न थाले । शिक्षित मानिसहरूको ससाना पूँजी र ज्ञानको संयोजनबाट अघि बढ्नुपर्ने शिक्षामा निजीक्षेत्रको सहभागितालाई अवरुद्ध गर्दै ‘पैसाले डिग्री किन्न पाइने’ शिक्षणसंस्थाहरू मौलाए । लगानी र मुनाफाको प्रतिस्पर्धामा यसले (१) नेपाली विद्यार्थीलाई पलायन हुन सिकायो । (२) नेपालको ऐतिहासिक, भू–राजनीतिक, ग्रामीण, सामाजिक जीवन पद्धतिको बारेमा जानकारी हुनबाट वञ्चित ग–यो । (३) नेपाली भाषा र अन्य मातृभाषाको विनाश ग–यो । (४) अति उपभोक्तावादको दास बनायो । यसका उत्पादनले राष्ट्रको नेतृत्व गर्न सक्ने क्षमता कमाउन सकेनन् ।

(२) किन २००७ सालदेखि २०७० सालसम्म आउँदा पनि नेपालको विकास हुन सकेन ?
माथि मैले इङ्गित गरिसकेको छु, नेपालको आर्थिक एवं सामाजिक समृद्धिका लागि आवश्यक पर्ने वैज्ञानिक चेतनामा आधारित राष्ट्रिय मनोविज्ञानको निर्माण गर्न २००७ सालदेखि २०७० सालसम्म पनि नेपालले ग्रहण गरेको शिक्षापद्धति, पाठ्यक्रम र कार्यक्रम एवं संस्थाहरू असफल भए । परिणाम के भयो ? देशमा स्युडो–विज्ञान वा अर्धचेतनायुक्त ज्ञान भरमार फैलियो । यस शिक्षाले प्राविधिक, वैज्ञानिक, व्यवसायी र विज्ञहरू निर्माण गरेन । यसले विशाल संख्यामा बेरोजगारहरू पैदा ग–यो । यस बेरोजगार, डिग्रीयुक्त तर सीप र कलाविहीन जमातले के उत्पादन ग–यो ?

(१) यसले कृषिमा संलग्न हुने जनशक्तिको नास ग–यो । कृषि व्यवसाय गर्नुलाई अपमान ठान्ने जमातको निर्माण ग–यो । हिजो आफ्नै जमिनमा काम गर्ने जमात आज शिक्षित भयो तर उसले आफ्नो हैसियत सरकारी जागीरमा मात्र देख्यो । त्यो नपाउँदा देशलाई सराप्दै विदेश भाग्यो ।

(२) सरकारी जागीर नपाउने, पहिलाको अशिक्षित लाहुरे जस्तै अब शिक्षित लाहुरेमा परिणत भयो । देश र समाज उसका लागि आवश्यक रहेनन् ।

(३) डि.भी., पी.आर. र अरबको रोजगारी अब उसको प्राथमिकता बन्न थाल्यो । जो देशमा थियो, ऊ राजनीतिमा आकर्षित बन्न थाल्यो । कोही नेता भए । कोही भ्रष्टाचार र कमाउने राजनीतिमा लागे । कोही क्रान्तिबाट देशलाई परिवर्तन गर्न जनयुद्धमा लागे । क्रान्ति पनि धोकामा सकिए । उनीहरूमध्ये केहीले राज्यबाट रकम पाए, त्यो पनि धेरै पार्टीले लग्यो । केही अपराधमा लागे । केही निराशावादी भए । केही बिदेसिए । देश युवाहीन बन्यो । देशको कृषि क्षेत्र पतनोन्मुख बन्यो ।

एकातिर अर्धशिक्षित युवा कृषिमा श्रम गर्न नचाहने, अर्कातिर जागीरको मानसिकतले कृषि उत्पादनमा ह्रास मात्रै आएन, एक समय चामल र खाद्यान्न पैठारी गर्ने नेपाल खाद्यान्न आयात गर्ने अवस्थामा पुग्यो । व्यावसायिक प्राविधिक शिक्षाको अभावले व्यक्तिले आफैं रोजगारी सिर्जना गर्ने अवस्था पनि विकास भएन । परिणामस्वरूप ७० वर्षको लामो युगमा पनि नेपालले आफ्नो प्रगति गर्न सकेन । नेपालको वर्तमान शिक्षा राष्ट्रियताहीन, श्रमविरोधी र उद्यमशीलतारहित छ । आजको देशको समस्या यसकै कारणले भएको हो ।

३. के कारणहरू थिए जसले नेपालको परिवर्तन र विकास अवरुद्ध रहिरह्यो ?
नेपालको परिवर्तन र विकासमा अवरोध पु–याउने तत्वहरूको खोजीनिती अहिलेसम्म भएको छैन । माथि नै भनिसकियो, शिक्षा उत्पादनमूलक हुन सकेन । तर शिक्षा उत्पादनमूलक हुन नसक्नुमा पनि कारणहरू छन् । सत्तरी वर्षको यस युगमा मैले ५५ वर्ष जीवन बिताएको छु । वि.सं. २०२५ साल पछडिका घटनाहरूको अनुभव मलाई छ र ती घटनाहरूको विश्लेषण गर्दा केही महत्वपूर्ण कारणहरू अगाडि प्रकट हुन्छन् ।

३.१. विदेशीहरूको योजनाबद्ध घुसपैठ :
नेपालमा विदेशीहरूको घुसपैठ १७६५ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिलादेखि नै भएको हो । सिल्भियन लेभीले लेखेका छन्, ‘काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहले जीत हासिल गर्नुपूर्व नै ‘काठमाडौं उपत्यकामा कापुचिनो पादरीहरू आई चर्च स्थापित गरेका थिए । उनीहरूले बेलायती शासकहरूलाई बताए अनुसार काठमाडौं उपत्यकामा रहेका पाँच हजार महत्वपूर्ण दस्तावेजहरू उनीहरूले डढाइदिएका थिए । उनीहरू भित्रभित्रै उपनिवेशी शासकलाई सहयोग गरिरहेका थिए । बेलायतीहरू काठमाडौं उपत्यकालाई हातमा पारी नेपालको तिब्बतसँगको व्यापार हातमा लिन चाहन्थे ।

लिच्छवीकालमा नेपाल सम्पन्न र धनी देश थियो । मगधमा उनका सामानहरू, कागज र कपडाको निर्यात नेपालले गर्थ्यो । नेपालले तेस्रो शताब्दीदेखि नै कागज उत्पादन गर्न सिक्यो । दक्षिण एसियामा कागज उत्पादन गर्ने नेपाल पहिलो देश हो । तिब्बतमा नेपाल सुनका मुद्राहरू बेच्थ्यो । अतः जहिलेसम्म विदेशीहरूबाट मुक्त रह्यो, त्यतिखेरसम्म नेपाल सम्पन्न थियो ।

सन् १८१४ पछाडि नेपालको आन्तरिक एवं बाह्य सम्बन्ध बेलायतको अधीनमा आयो । सन् १८४० सम्म नेपालमा बेलायतीहरूले निरन्तर षड्यन्त्र गरिरहे । भीमसेन थापा, माथवरसिंह, गगनसिंंह भण्डारी तीनजना काजीहरूको हत्या गराए । कोतपर्वबाट जंगबहादुरको उदय गराए । जंगबहादुरले बेलायतका अगाडि आफू महान् प्रमाणित गर्न ‘भारतमा सिपाही’ विद्रोह दमन गरे । यद्यपि जंगबहादुरले बेलायतसमक्ष आफ्नो हैसियत बन्धक राखेनन् ।

परिणामस्वरूप उनको मृत्युपछि जंगबहादुरको वंश नाश गरी शम्शेर खलकलाई आफ्ना कठपुतलीका रूपमा खडा गरियो । जंगबहादुर चाहन्थे सिपाही विद्रोह दमन गरेपछि ब्रिटिसहरूले उनलाई मालिक मान्नेछन् । तर जंगबहादुरको सहयोगले सिपाही विद्रोह दमन गरेपछि बेलायतीहरू स्वतन्त्र भएर नेपाललाई कज्याए ।

शम्शेर खलक प्रधानमन्त्रीहरूबाट गोर्खा भर्तीलाई वैधानिक बनाई नेपाली युवाहरूको घिनलाग्दो शोषण भयो । तर यता नेपालमा गोर्खालीका बारेमा महानताको गीत लेखिनेखालको शिक्षाको प्रचार गरियो । देव शम्शेरले जापानको प्रगति देखेर नेपालमा केही परिवर्तन गरे । उनले नौजना विद्यार्थीहरू त्यसताका जापान पढ्न पठाएका रहेछन् । नेपालमा उद्योगहरू स्थापना गर्न जापानसँग अनुरोध गरेका रहेछन् । नेपालमा संविधान बनाई खुकुलो राजनीति गर्ने नियतले दिल्लीमा भाइसरोयलाई वकिलको सहयोग मागेछन् । परिणामस्वरूप, बेलायतीहरूले देव शम्शेरको हत्या गराइदिए ।

यसमा दुईवटा कारण थिए : (१) नेपालमा शिक्षा र उद्योगको विकास हुँदा, बेलायती सेनामा गोर्खाहरू जान बन्द हुन्थ्यो । (२) नेपाल अन्धकारमय भएमात्र राणाहरूले बेलायतलाई सहयोग गरिरहन सक्थे । २००७ सालमा प्रजातन्त्र आयो । भारत पनि स्वतन्त्र भयो । त्यपछि त नेपालले सुखका दिन देख्नुपर्ने थियो । तर त्यसो भएन । (क) नेपालको क्याबिनेटमा भारतका कर्मचारी नियुक्त भए । (ख) टंकप्रसाद आचार्य, मोहन शम्शेर राणा, मातृका प्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला र सुवर्ण शम्शेर राणा सबै नेहरु र श्री वल्लभभाई पटेलको आशीर्वादमा नेपालमा राजनीति गर्न चाहन्थे । त्यसपछि तुलसी गिरी, सूर्यबहादुर थापा यस दौडमा जोडिए । (ग) उनीहरूले सिर्जना गरेको अराजकताबाट फेरि राजतन्त्रको निरंकुशता आयो ।

भारतको हस्तक्षेप र चीनको कम्युनिस्ट क्रान्तिबाट जोगिन राजा महेन्द्रले पश्चिमी शक्तिलाई अग्राधिकार दिए । अमेरिका र युरोपलाई बिस्तारै रुसतर्फ ढल्किँदै गरेको भारत र साम्यवादी सत्ता स्थापना गरेको चीनसँग नेपालको राजनीति प्रभावित होला भनी सशंकित हुनु स्वाभाविकै थियो । युरोप र अमेरिकालाई भारत र चीनमाथि निगरानी गर्न र उनीहरूका विरुद्ध काम गर्न नेपाल चाहिएको थियो । दुवैलाई दुवै चाहिएका थिए । त्यसैले दरबारले पश्चिमलाई सबैथोक खोलिदियो ।

(१) अमेरिकाले दलाई लामाको समर्थनमा विद्रोहीहरूलाई प्रशिक्षित ग–यो र नेपालको उत्तरी भेगमा हातहतियार ‘एयरलिफ्ट’ (प्यारासुटबाट हातहतियार खसाउने कार्य) ग–यो । (२) चीनको स्वशासित क्षेत्र तिब्बतमा आक्रमणका गतिविधि भए । (३) यी सबै कुराका लागि सूचना संकलन गर्ने मानिसहरू चाहिन्थे, अतः अमेरिकाबाट स्वयंसेवकहरू तथा पिस कोरका नाममा गाउँ गाउँमा अमेरिकीहरू पुगे । (४) २०२८ सालमा नेपालमा राष्ट्रिय शिक्षा योजना (नयाँ शिक्षा) आयो जसले २००७ सालपछि नेपालीमा जागेको शिक्षाप्रतिको प्रेम र जाँगर समाप्त पारिदियो । त्यसपूर्व गाउँमा मानिसहरू स्कूल बनाउँथे । चन्दा उठाएर शिक्षकलाई तलब दिन्थे । २०२८ सालको कथित नयाँ शिक्षाले यो समाप्त पारिदियो । शिक्षामा सहयोगको नाममा नेपालमा मन्त्रालयहरूमा घुसपैठ
गरियो ।

राजा महेन्द्रले लामो समयसम्म तिब्बतका विरुद्धमा अमेरिकालाई स्वतन्त्र भूमिका दिएनन् । चीन र नेपालका बीचमा सम्बन्ध स्थापित भयो । नेपालले उत्तरमा रहेको चेकपोस्ट हटायो । अब बिस्तारै भारतसँग सम्बन्ध चिसिन थाल्यो । भारत नेपाललाई आफ्नो अधीनमा राख्न चाहन्थ्यो । तर नेपालले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा खडा ग–यो । यसै समयमा नेपालले आफ्नो स्वतन्त्र अस्तित्वका साथसाथै विकासका गतिविधिहरू पनि अगाडि बढायो ।

३.२. २०४७ सालको आन्दोलन, लोकतन्त्रको स्थापना र विदेशी घुसपैठ
पञ्चायती व्यवस्था निरंकुश व्यवस्था थियो । २०४७ सालमा यसको पतन भयो । नेपालीहरूलाई लोकतन्त्र र विकास दुवै चाहिएको थियो । तर २०४८ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै नेपाल विश्वका लागि पूर्ण रूपमा खुल्ला भयो । यसक्रममा अनेकौं भित्री चलखेलहरू भए ।

(१) भारत गम्भीर आर्थिक विषमता र राजनीतिक परिस्थितिबाट गुज्रिरहेको थियो । इन्दिरा गान्धीको संकटकाल र उनको पराजय, जनता पार्टीको उदय र सत्तापरिवर्तनको खेल, इन्दिरा गान्धीको पुनरुदय, खालिस्तान र गोल्डेन टेम्पलमाथि कारवाही, र अन्तमा इन्दिरा गान्धीको हत्या र शिखहरूमाथि अत्याचार । यी सबै घटनाले भारत कमजोर भएको थियो । यसै समयमा नेपालमा लोकतन्त्रको पुनःस्थापना भयो । यो समय पश्चिमी देशहरूको लागि सुअवसर प्रमाणित भयो ।

(२) राजतन्त्रले चीनसँग घनिष्ठता विकास गरेको थियो । त्यसैले चीनको तिब्बतमा अराजकता फैलाउन पश्चिमी शक्तिहरूलाई सम्भव थिएन । लोकतन्त्रको पुनःस्थापना एउटा अवसर थियो त्यसका लागि ।

(३) अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको बाढी नै आयो नेपालमा । वामपन्थी विद्वानहरू, कार्यकर्ताहरू र शिक्षकहरूले पनि गैरसरकारी संस्थाको खेती गरे । पश्चिमी पूँजीवादी देशहरूले नेपालको वामपन्थी आन्दोलन समाप्त पार्न गैरसरकारी संस्थाको प्रयोग गरे । एमाले जस्तो राजनीतिक दल गैरसरकारी संस्थाको प्रभावमा पुग्यो ।

(४) एमालेका नेता मदन भण्डारीले शायद यस रहस्यलाई बुझेका थिए । उनले उग्रवामपन्थी दललाई लोकतान्त्रिक दलमा परिणत गरे । पहिला त टाइम म्यागेजिनमा उनको अन्तर्वार्ता छापियो । त्यसपछि जब उनी कलकत्तामा एउटा कम्युनिस्ट सभामा भाग लिएर फर्किए, केही समयपछि उनको हत्या भयो ।

(५) नेपाली कांग्रेसको सरकारले एकाएक खुल्ला उदारीकरणका नाममा नेपालमा निजीकरण र खुल्ला बजारको नीति ल्यायो । यो विश्व बैंकको ‘संरचनात्मक समायोजन’ को नीतिअनुरूप ल्याइएको थियो । निजीकरणका नाममा प्रसिद्ध अर्थमन्त्री रामशरणजीले बाँसबारी जुत्ता कारखाना, भृकुटी कागज कारखाना, वीरगञ्ज सुगर मिल, कृषि औजार कारखाना, बुटवल धागो उद्योग सबै व्यापारीलाई कौडीको दाममा बेचिदिए । विश्व बैंकको दबाबमा बिजुलीको भाउ बढाए । तब आयो अरुण जलविद्युत् आयोजना । त्यसमा ऋण लगानी गर्ने प्रतिबद्धता विश्व बैंकले ग–यो । बिजुलीको दाम बढाइयो । तब विश्वबैंकले गैरसरकारी संस्थामार्फत अरुणको विरोध गरायो । गैरसरकारी संस्थाकै माध्यमबाट विपक्षी दल एमालेले विरोधपत्र लेख्यो । त्यसपछि विश्व बैंकले हात झिक्यो । उसको योजना नेपालमा निजीकरणको योजना लागू गरी पश्चिमी देशहरूलाई बजार दिनु थियो ।

(६) यस निजीकरणलाई संस्थागत गर्न कांग्रेसभित्र गणेशमान, कृष्णप्रसाद भट्टराई, रामहरि जोशी, सि.के प्रसार्इं, ढुण्डीराज जस्ता समाजवादीहरूको पतन आवश्यक थियो । त्यसैले प्रतिनिधिसभा गिरिजाप्रसादले विघटन गरिदिए । अदालतमा विवाद भयो । विश्वनाथ उपाध्यायले गिरिजाको प्रतिनिधिसभा विघटनको कार्यलाई संवैधानिकताको जामा लगाइदिए ।

यी घटनाबाट देख्न सकिन्छ, पश्चिमा शक्तिले कसरी योजनाबद्ध ढंगबाट नेपालमा वामपन्थी आन्दोलनलाई समाप्त पारे । कसरी कांग्रेसभित्रको समाजवादी समूहको सफाया गरे । कसरी लोकतन्त्रलाई कमजोर बनाए । कसरी नेपालमा अतिउपभोक्तावाद र विकृत पूँजीवादी व्यवस्था कायम गरे ।

कांग्रेसले घोषणा गरेको मध्यावधि निर्वाचनमा एमाले सबैभन्दा ठूलो दलको रूपमा स्थापित भयो । एमालेले उदाहरणीय सरकार बनायो र विकास बजेटलाई ग्रामीण भेगमा पु–यायो । तर पश्चिमी देश र संस्थाहरूले उसको सरकार लडाउन सबै किसिमका हतकण्डाहरू प्रयोग गरे । मनमोहन अधिकारीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याए । एमालेलाई संसद् विघटन गर्न बाध्य बनाए । अदालतमा मुद्दा प–यो । तर एमालेका विरुद्धमा फैसला गराए ।

यसबेलासम्म नेपालमा अमेरिकी र पश्चिमी देशको बाक्लो हस्तक्षेप थियो । यसका विरुद्ध अब भारतले खेल्न शुरु ग–यो । महाकाली सन्धिका कारणले एमाले फुट्यो । वामपन्थी शक्ति क्षीण भयो । माओवादीको रचना भयो । यसबारेमा धेरै भनिरहनु पर्दैन ।

४. कस्तो बनाउन सकिन्थ्यो नेपाललाई ?
नेपाल प्रकृतिको अनुपम वरदान हो । नेपालसँग सबैथोक छ । तर पनि नेपाल अहिलेसम्म गरीब छ । (१) २०४८ मा लोकतन्त्रको प्रतिनिधित्व गर्ने पहिलो निर्वाचित सरकारले अश्लील व्यापारीकरण र अति उपभोक्तावादी आर्थिक व्यवस्था लागू नगरी, राज्यकै नेतृत्वमा कृषि क्षेत्रको आधुनिकीकरण, कृषिमा आधारित उद्योगहरूको सञ्चालन गरेको भए देश आज पलायन र राजनीतिक अराजकताको शिकार हुने थिएन ।

(२) २०४८ सालको पहिलो निर्वाचनबाट स्थापित प्रतिनिधिसभाको विघटन नभई सरकारको स्थायित्व भइदिएको भए, अहिलेको राजनीति, अराजकताको शिकार हुनुपर्ने थिएन । विदेशीहरूको चलखेललाई बुझिदिएको भए, पहिलो प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्था नै आउने थिएन । नेपालले अहिले समृद्धिको एउटा चरण पूरा गरिसकेको हुने थियो ।

तर अहिले देश कस्तो छ ? राज्यले नागरिकको शोषण गरिरहेको छ । राज्य नेतालाई औषधी उपचारका लागि करोडौं बाँड्छ । तर गरीब सर्वसाधारण जनतालाई अस्पतालमा उपचार गर्न जाँदा ‘भ्याट कर’ लगाउँछ । मानिसहरूले उपचार गर्दा ‘भ्याट’ तिर्नुपर्ने यो कस्तो शोषण हो ? गरीबले उपचार गर्दा ‘भ्याट’ उठाई राज्य नेतालाई करोडौं अनुदान दिन्छ । राज्यले शिक्षा निःशुल्क होइन, शिक्षामा कर लगाएको छ । राज्यले गरीबको जग्गामा मालपोत लगाई ‘बाँच्न’ कर लगाइरहेको छ । कसरी हुन्छ नेपालमा आम्दानीको वितरण ? देशको दश प्रतिशत उच्च सम्भ्रान्त वर्गले कुल गार्हस्थ्य उत्पादनको ५२ प्रतिशत खर्च गर्छ । देशको कंगाल २० प्रतिशत जनसंख्यालाई कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत हिस्सा मात्र प्राप्त छ ।

५. क–कसले ठगिरहेका छन् देशलाई ?
देशलाई ठग्नेहरूको सबैभन्दा पहिलो वर्ग हो कर्मचारीतन्त्र । प्रत्येक ठूला कर्मचारी करोडभन्दा माथिको गाडी राज्यको कोषबाट खर्च हुनेगरी चढ्छन् । उनीहरूलई राज्यले चालक पनि दिन्छ, तेल पनि दिन्छ । एउटा हाकिमलाई सरकार वर्षौैंसम्म करोडौंमा लगानी गर्छ । तैपनि यी हाकिमहरू तलब कम छ भन्छन् ।

राजनीतिक नेताको अर्को वर्ग छ । एकजना मन्त्रीलाई मासिक १६ लाख रुपैयाँ खर्च हुन्छ । एकपटकमा ४० जना मन्त्री नियुक्त हुन्छन् । संसदको प्रतिवर्ष १० अरबभन्दा बढी खर्च छ । तर गाउँमा स्कुलहरू छैनन् । बालबालिका खुल्ला चौरमा पढ्न बाध्य छन् । जनता ठग्ने काममा स्वयं राजनीतिक नेताहरू सरिक छन् ।

कार्टेलिङ व्यवसाय गर्ने व्यवसायीहरूको अर्को समूह छ, जसले यातायातमा, तेलमा, ग्याँसमा, खाद्यान्नमा जनता लुट्ने गर्छ । यस्ता लुटेराहरूको सामना जनताले प्रत्येक पाइलामा गर्नुपर्छ । स्कूल, अस्पताल, मन्दिर जताततै लुटेराहरूको जमात छ । वर्षमा १० अरब रुपैयाँ धार्मिक मठबाट भारत जान्छ । वर्षमा ४० अरब रुपैयाँ विद्यार्थीबाट बिदेसिन्छ । बूढानीलकण्ठ, महाराजगञ्ज र पुल्चोकमा राज्यको लगानीमा विद्यार्थीहरू पढ्छन् । तर उनीहरू बिदेसिन्छन् । अहिले करीब दुई हजार चिकित्सक पलायन भएका छन् ।

यी सबै तथ्यहरूको विश्लेषण गर्दा किन नेपाल विकास भएन ? किन नेपाल आज भत्किएको घर जस्तो भएको छ ? भन्ने कुरा स्वतः प्रस्ट हुन्छ । थप निम्न निष्कर्ष निकाल्न सकिन्छ ।

(क) अझै पनि नेपाली जनताको मनोवृत्ति रूढिवादी, विज्ञानविरोधी, विकासविरोधी अर्धचेतनाबाट प्रभावित छ । मानिसहरू अहिले पनि भाग्यमा विश्वास गर्छन् । अहिले पनि उत्पादकत्व विकास गर्ने र अधिकारसम्पन्न हुने प्रगतिशील सामाजिक चेतनाको विकास हुन बाँकी छ ।

(ख) नेपाली शिक्षा पद्धति र यसले ग्रहण गरेको पाठ्यक्रम व्यक्तिलाई चेतनशील, योग्य, व्यावसायिक व्यक्ति बनाउने होइन । जागीरे, श्रमविरोधी र अल्छी मानिस बनाउने खालको छ । यसले सीप सिकाउँदैन । यसले गफ गर्न र ढाँट्न सिकाउँछ ।

(ग) नेपालीहरू विदेशीहरूको चलखेल र षड्यन्त्रको शिकार भएको दुईसय वर्ष भयो । १८१६ मा जमिन लुटियो । २०१६ मा राष्ट्रको अस्मिता लुटिँदैछ । अहिले देश जातीयता र क्षेत्रीयताको द्वन्द्वको संघारमा छ । मानिसहरू पहिचान खोज्दैछन् । उनीहरू नै सबैभन्दा बढी क्रिस्चियन बन्दैछन् । बाहुनले जनै लगाउन बाध्य पारेको थिएन । क्रिस्चियन भएपछि त नाम र थर पनि फेरिएको छ ।

(घ) दुईसय वर्षको लामो इतिहासमा नेपालका शासकहरूले सधैं आफ्नो व्यक्तिगत लाभका लागि मात्र सोचे । राष्ट्रको हितमा कहिल्यै सोचेनन् । २०४७ सालको लोकतन्त्रले पनि जनताको शुभचिन्तक नेता जन्माउन सकेन । केवल जनतामाथि शासन गर्ने नेता मात्र जन्मायो ।

(ङ) २०४७ सालपछि देशको राष्ट्रिय सुरक्षा धरापमा परेको छ । देशको राष्ट्रिय अखण्डता धरापमा परेको छ । नेताहरू विदेशीको भक्ति गाउँछन् । उनीहरूमा राष्ट्रिय स्वाभिमान नाश भएको छ । राजनीति, कमाउने धन्दा भएको छ । जनताको कल्याण सरोकारहीन बन्न पुगेको छ ।

(च) गरीब देश असीमित निजीकरण र अतिउपभोक्तावादको जालोमा फँसेको छ । उपभोग्य वस्तुहरू र सेवाहरू कार्टेलिङको चंगुलमा परेका छन् । भ्रष्टाचारले अतिउपभोक्तावाद र कार्टेलिङलाई संरक्षण गरेको छ । राजनीतिले भ्रष्टाचारलाई संरक्षण गरेको छ ।

(छ) राज्यको वितरण प्रणाली शोषणयुक्त छ । धनीलाई सबै सुविधा राज्यले नै दिलाउँछ । जस्तै, कर्मचारीका लागि सहुलियतको अस्पताल छ । कर्मचारीका छोराछोरी पढ्ने भिन्नै स्कूलहरू छन् । धनीका छोराछोरी बूढानीलकण्ठ स्कूलमा पढ्छन् । गरीबलाई पढ्ने स्कूल नै छैनन् । देशको ५२ प्रतिशत आय दश प्रतिशत सम्भ्रान्तले उपभोग गर्छन् ।

(ज) राज्य शोषणयुक्त भएकै कारणले कृषिक्षेत्रको विकास हुन सकेन । किसानहरू गरीब भए । विश्वबैंकले दिनको १.२५ डलर र त्यसमाथि कमाउनेलाई धनी मान्दछ । त्यसको तथ्याङ्क लिएर देशका अर्थशास्त्री नेपालमा १८ प्रतिशत जनता मात्र गरीब भएको आँकडा प्रचार गर्छन् । तर देशमा ९० प्रतिशत मानिस गरीब छन् । यसको अर्थ हो, देशमा जनतको सरकार होइन, विदेशीको सेवा गर्ने सरकार छ ।

अब यस अवस्थालाई बदल्नुपर्छ । यस अवस्थालाई बदल्न सकिन्छ । यस अवस्थालाई कसरी बदल्न सकिन्छ भन्ने विषय अर्को भागमा चर्चा गरिनेछ । यद्यपि एक वाक्यमा भन्ने हो भने अब ‘राष्ट्रियता र विकास’लाई’ जोड्नुपर्छ ।

(प्रा.डा. संग्रौला काठमाडौं स्कुल अफ लका निर्देशक हुन् ।) मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti