Ruslan
Tata /sipradi
Nic Asia

आलेख

पृथ्वीनारायणको एकतालाई नमान्नेले कतै नेपाल नमानेका त हैनन् ?

दिपेश घिमिरे

यतिबेला राष्ट्रिय एकता दिवसबारे दुईथरी बहस सतहमा देखिएका छन् । एकथरी पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताका रूपमा इतिहास र वर्तमानसँगै भविष्यमा पनि स्थापित गर्न चाहन्छन् । यसलाई पहाडे सामन्तवादी सोचका रूपमा कथित प्रगतिवादीहरू हेर्दछन् । अनि अर्काथरी चाहिँ पृथ्वीनारायणलार्ई सामन्ती सत्ताको निर्माताका रूपमा हेर्दछन् । साथै सामन्ती सत्ताको निर्माणमा उनको ठूलो योगदान रहेको मान्यता दोस्रो वर्गका मानिसले राख्ने गरेको पाइन्छ ।

तर राजतन्त्रको विरोधमा जोकोहीले पृथ्वीनारायणको आलोचना गर्छन् भने त्यो घोर अन्याय र एकतर्फी विश्लेषण हुनेछ । राजतन्त्र त्यतिबेला विश्वभरि नै थियो । पृथ्वीनारायण थिएनन् भने अर्को कोही त राजा हुन्थ्यो नै । राजतन्त्रको शुरुवात उनले गराएका हुन् र ? उनी इतिहासको निरन्तरताका एउटा सिलसिला मात्र थिए । पृथ्वीनारायणले केही त्यस्ता योगदान गरे जसका काराण शाहवंशीय राजाहरूमध्ये उनलाई इतिहासले अटल सगरमाथा बनाएर उभ्याउन सफल भयो ।

म यहाँनेर राजतन्त्रको वकालत पनि गरिरहेको छैन, न त सबै राजाको स्मृतिमा राष्ट्रिय उत्सव मनाउन भनिरहेको छु । म यस आलेखमा तिनै युगपुरुषको जन्मलाई उत्सव मनाउन भनिरहेको छु जो यसका हकदार पनि हुन् । उनले हामीलाइ एकताको सूत्रमा बाँध्न आफ्नो जीवनकाल खर्चिए । हुन त यो तर्कलाई जता मोड्न पनि सकिन्छ अनि उनको कामलाई पेशाको एक अंगका रूपमा जोडेर हेर्न पनि सकिन्छ । उनी राजकर्मको पेशा गर्थे अरूले झैं तर इतिहासमा तिनै अमर रहन्छन् जसले पेशामा अद्भुत सफलता पाउँछन् ।

म यहाँ पृथ्वीनारायणको एकतालाई समाज विकासको चरणका रूपमा जोड्न चाहिरहेको छु । समय र आधुनिकताको विकाससँगै विबकासका परिभाषा र स्वरूपहरू बदलिएका छन् । रुसोदेखि कार्ल मार्क्ससम्म र अन्य विद्वानहरूले समाज विकासको चरणलाई विभिन्न स्टेजका रूपमा स्वीकारेका पनि छन् र आ–आफ्नो विकासका मोडलहरू प्रस्तुत गरेका छन् ।

म पृथ्वीनारायणको तत्कालीन समयमा गरिएको राज्यको सिमाना विस्तारको अभियानलाई त्यही विकासकै चरणको रूपमा लिन्छु । भलै विकासको परिभाषा अहिलेको युगमा बदलिएको होस् । तर एकसमय (जब पृथ्वीनारायण शाह राजा थिए) विकासको मूल अवधारणा नै राज्यको सिमाना विस्तारसँग जोडिएको थियो । त्यो समय अहिलेको व्यापार विस्तार र संरचनात्मक विकास जस्तै सिमाना विस्तार नै विकासको मेरुदण्ड थियो ।

नेपाल एकीकरण अभियानमा तत्कालीन बाईसे र चौबीसे राज्यहरू विशाल नेपालमा विलीन भए । अहिलेको विश्वव्यापीकरणको समय हुन्थ्यो भने त्यतिखेर पृथ्वीनारायण शाह युद्धअपराधी कहलिन सक्थे । तर त्यो समय युद्ध नै सत्य थियो र सिमाना विस्तारकै युग थियो ।

जसरी माओवादी द्वन्द्वकालमा छापामार युद्ध लडियो, त्यसभन्दा जायज र समयसापेक्ष थियो पृथ्वीनारायणको एकीकरण अभियान । उनले अंग्रेज साम्राज्यले झैं उपनिवेश बनाएका पनि होइनन् । सिमाना र राज्य जीतको लहर विश्वभरि नै चलिरहेको पनि थियो । भलै युद्धका क्रममा पृथ्वीनारायणका केही आवेगका घटना बाहिर आए होलान्, कीर्तिपुरको घटना जस्तै ।

लेखक घिमिरे
यहाँनेर म अहिले बहसको एक तर्क जोड्न चाहिरहेको छु । जो अहिले पृथ्वीनारायण शाहलाई सामन्ती सत्ताका निर्माताको रूपमा हेरिरहेका छन्, उनीहरू त्यही युद्धपछिको एकताको बलमा नै त्यो आरोप लगाउन सक्षम बनेका छन् भन्ने मलाई लाग्छ । के बुझ्न जरूरी छ भने तत्कालीन टुक्रे राज्य एकीकरण भएको थिएन भने तपाईं अहिले हिन्दुस्तानी हुनुहुन्थ्यो या पृथ्वीनारायणले एकीकरण अभियान नथालेका या युद्ध हारेका नै भएपनि तपार्इंको राज्य अर्को राज्यको कब्जामा रहन्थ्यो नै । त्यो त त्यतिखेरको विकासको आवश्यकता नै थियो ।

जसलाई हामीले निरंकुशता भनेर व्याख्या गर्‍यौं, जसलाई हामी अहिले युद्धअपराध भन्दैछाैं त्यो तत्कालीन समयको जुक्ति र शक्तिको संगम थियो, जसरी अहिले विकासका योजना बनाइन्छन् र कार्यान्वयन गरिन्छन् ।

हामीलाई त्यही बाईसे–चौबीसे राज्यको त्यो लोभ पनि हुनसक्छ, जहाँ तपार्इं नवराजा या नवयुवराज बन्ने सपना पाल्दै हुनुहुन्छ । तर ती सपना पृथ्वीनारायण शाहको विरोधका लागी देखिने भ्रम मात्र हुन् ।

यदि तपार्इं पृथ्वीको राष्ट्रिय एकतालाई मान्न तयार हुनुहुन्न भने कताकता तपाईंको मनले यो देश नेपाल नमानिरहेको हुनसक्छ, इतिहास बदल्नु कसैको वशको बात होइन । त्यो एकीकरण जो भइसक्यो, अहिले उठेका समर्थन र विरोधका तर्क पनि त्यही एकताको बल हो जुन पृथ्वीनारायणको हातबाट श्रीगणेश गरिएको थियो ।

त्यसैले म त्यो एकतालाई विकासको चरणको रूपमा लिन आग्रह गर्दछु । त्यो एकीकरणले दिएको विकासको स्वरूप जसले हामीलाई अनन्तसम्मको समृद्धि दिएको छ । त्यसले तराईसँग हिमाल जोडिन सम्भव बनायो, पहाडसँग मनमोहक कर्णालीलाई जोड्यो, सेतो हिमाल दन्तलहर फिजाउँदै तराईमा झुलिरहेको धान अपनत्वको नजरले हेर्न सक्ने बनायो ।

त्यो एकीकरण अभियानले प्रकृतिलाई निर्माण त गरेन, तर यो प्राकृतिक विविधतालाई एकै ठाउँमा सम्भव बनायो जसले हामी पर्यटनको क्षेत्रमा संरचनागत विकास नै नगरी प्रत्येक वर्ष चुनिएको गन्तव्यमा पर्न अब्बल बनायो । सानो देश तर जलस्रोतमा धनी मुलुक बनायो, यसको श्रेय म तपाईंको नजरका तिनै सामन्ती सत्ताका निर्माता र प्रत्येक एकता मान्न चाहनेका एकाताका प्रतिमूर्तिलाई दिन चाहन्छु ।

यही थियो त्यतिबेला पृथ्वीनारायणले गरेको विकास जो हामी अहिलेसम्म सडक, सञ्चार, शिक्षा र स्वास्थ्यका लागी कुरिरहेका छौं । म मान्दिनँ, इतिहास पढेर गलत अर्थ मात्र लगाइनुपर्छ । गल्ती देखाउन सक्नेले सही पक्षको विवेचना पनि गर्न सक्ने नैतिक धरातलको निर्माण गर्नुपर्छ, होइन भने आजको समयमा त्यसको विकल्पको सही सारथी बनेर देखाउनुपर्छ । कैयाैं सकारात्मकता बिर्सिएर गरिएको आलोचना तपाईंको स्वार्थको ढोंगभन्दा बढी केही पनि साबित हुन सक्दैन ।

हामीले अहिले आधुनिकताको आँखाबाट हेरिएको विकास र त्यस समयको विकासको स्वरूप फरक होला तर पृथ्वीनारायणले देशको आर्थिक, राजनीतिक र संरचनागत विकासमा पर्याप्त योगदान गरेका थिए । त्यतिबेला राज्य विस्तार गर्न जित्नैपर्थ्यो ।

देशको विकास अनुभूति गर्न देशको सिमानाको परिधि चौडा बनाउनैपर्थ्यो । उनले त्यसैलाई चार वर्ण छत्तीस जातको फूलबारी बनाए जुन धर्ती उनको रगत पसिनाले सिञ्चित भएको थियो । त्यसैले मलाई लाग्दैन, यसभन्दा ठूलो कुनै एकताको उत्सव हुन सक्छ भनेर ।
ट्वीटरः @dpsdg बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell