sarbottam and nepal life

आलेख

कमरेड केपी ओलीलाई खुल्लापत्र

र्इश्वर अर्याल

आदरणीय कमरेड केपी ओलीज्यू,

२०५९ सालमा पोखराको पश्चिमाञ्चल क्याम्पस लामाचौरमा अनेरास्ववियुका विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग विद्यार्थी हकहित सम्बन्धी माग तेर्स्याएर रिले अनशन आयोजना गरेका थिए । तपाईंलाई खुल्लापत्र लेख्दै गर्दा मैले त्यो अनशनमा सहभागी भएबापत प्राप्त गरेको एउटा प्रमाणपत्र सम्झें ।

पुराना कागजपत्रहरू राखिएको फाइल पल्टाउँदै जाँदा अनेरास्ववियुको झण्डा प्रिन्ट गरिएको त्यो रातो कागज फेला प–यो । मेरो राजनीतिक सहभागिताको इतिहास खोतल्न सहयोग गर्ने त्यो रातो प्रमाणपत्रले मलाई धेरैबेर घोत्लिन बाध्य बनायो ।

त्यसैको बलमा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई मात्र दिइने होस्टेल सुविधा म एउटा स्याङ्जाको विद्यार्थीले पाएको थिएँ । मलाई लाग्थ्यो, विद्यार्थी हकहितको बारेमा लड्ने एउटै संगठन छ, त्यो हो अनेरास्ववियु । तलपट्टि हेरें, पृथ्वीनारायण क्याम्पसबाट आएर त्यसमा तुलबहादुर गुरुङले हस्ताक्षर गरेका रहेछन् । अहिले उनी कहाँ के गर्दै छन भन्ने कुरामा म अनभिज्ञ छु ।

२०६१ साल माघ १९ गते मैले केही साथीहरूको सहयोगमा स्याङ्जाको बयरघारीमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको शाही घोषणाको विरुद्धमा नारा लगाउने र टायर जलाउने काम गरेको थिएँ । घोषणाभन्दा अगाडि तपाईंको पार्टी नेकपा एमाले प्रतिगमन आधा सच्चिएको नाउँमा सरकारमै आसीन थियो ।

ज्ञानेन्द्रले हुकुम प्रमाङ्गीबाट दिएको मन्त्रीपदहरूमा तपाईंका नेताहरू रमाइरहेका थिए । राजतन्त्रको विरुद्धमा तपाईंका विद्यार्थी नेताहरूले पहिल्यैदेखि आन्दोलन गर्दा कहिलेकाहीँ भाषणमा भन्ने गर्दथे, ज्ञानेन्द्रको टाउको काटेर फुटबल खेल्छौं । म दर्शकदीर्घामा बसेर ताली पिट्थें ।

अस्ति लैनचौरमा प्रचण्डको टाउको काट्ने घोषणा गरेका संगठनका एउटा नेता आरसी लामिछानेको कुराले मलाई ज्ञानेन्द्रको टाउको काट्ने अभिव्यक्ति सुनेको र ताली बजाएको याद आएको थियो । तर पृष्ठभूमिमा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालले राजालाई दाम चढाउँदै गरेको तस्वीर पनि झल्झली याद आयो । राति बाह्र बजे संसदमा दर्ता भएको महाकाली सन्धि पारित गर्नका लागि तपाईंले देखाउनुभएको इच्छा र तत्परताको इतिहासले मलाई मात्र होइन सबैलाई गिज्याइरहेको त थियो नै ।

अब समयलाई १० वर्ष फास्ट फरवार्ड गरौं । संविधान बन्ने क्रममा कोशेढुङ्गो मानिएको सोह्र बुँदे सहमतिको मुख्य डिजाइनकार तपार्इं हुनुहुन्थ्यो । त्यसैको जगमा टेकेर भएका अन्य भद्र सहमतिहरूमध्ये तपाईं प्रधानमन्त्री बन्ने र सुशील कोइराला राष्ट्रपति बन्ने सहमति तोडिएको दिन मलाई नराम्रो लागिरह्यो । सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिनुले संविधान बनाउनका लागि गरिएको सहमति पनि भंग हुने त्रास थियो । म खुलेर तपाईंको पक्षमा लागें ।

तपाईंको सरकार चलिरह्यो । शुरुशुरुमा सपना देख्न सक्ने भिजन भएको प्रधानमन्त्री जस्तो लाग्थ्यो, तर आफ्नो पक्षमा बढेको जनमतलाई तपाईंले सपना बाँडेर खुशी दिन लाग्नुभयो । केही खुशी पनि भए तर जनताको त्यो कष्टकर जीविकालाई सपनाले मात्र राहत दिन सक्दैनथ्यो । चीनसँग केही सहमति भएपनि त्यो फगत कागजमा मात्र थियो, तर जनतालाई वास्तविक राहत चाहिएको थियो । त्यसलाई राष्ट्रवादसँग जोड्न सकिएपनि जनजीविकासँग जोड्न मिल्दैनथ्यो ।

कामभन्दा धेरै गफमा रमाउन थालेपछि म मात्र होइन, तपाईंका धेरै समर्थकहरू विरोधी कित्तामा उभिए । तिनीहरू जसलाई कामसँग मतलब छैन, जसले जनताको वास्तविक परिस्थितिको बारेमा बुझेको छैन, राजनीतिक दलहरूको वास्तविकताको बारेमा बुझेको छैन, अझै पनि तपाईंको देवत्वकरण गर्न व्यस्त छन् ।

एउटा निश्चित वर्ग, गुट, नश्ल या जातिको लागि मात्र गरिएको राजनीति राष्ट्रिय राजनीति हुँदैन । आज पनि मैले देख्ने गर्छु, मधेशी, जनजाति लगायतका कैयौं अन्य समुदायहरू नेकपा एमालेको नश्लीय राजनीतिकै कारणले विभेदमा परेको गुनासो गर्दैछन् ।

संसदमा रहेको दोस्रो ठूलो पार्टी नेकपा एमालेले राष्ट्रिय राजनीतिलाई छोडेर साम्प्रदायिक द्वन्द्व बढाउने गरी आफूलाई ‘प्याराडिम सिफ्ट’ गराउँछ भने हाम्रो अबको दशक कसरी बित्ला ?

गुनासो तपाईंसँग होइन, मैले आफैंसँग गुनासो गरिरहेको छु कि म त्यो देशको नागरिक हुँ जसले फरक मत राखेकै आधारमा व्यक्तिगत चरित्रहत्याको शिकार बन्नुपर्छ ।

मेरो फोटोमा भारतीय दलाल, दूतावासबाट पैसा खाएको, कर्णाली बचाऔं अभियानको नाममा टिशर्टको कारोबार गरेको लगायतका नानाथरी अपुष्ट आरोप लगाउने तपाईंबाट प्रेरित भएका आजकलका बच्चाबच्ची एमालेजन देख्दा म कुनै दिन रातभरि पोखरामा एमालेकै कार्यक्रम अन्तर्गत ब्ल्याकआउट गर्न हिँडेको कुरा स्मरण गर्न चाहें । विचार र सिद्धान्तहरूमा बहस गर्न मलाई पनि आउँछ ।

एमाले के हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । सम्भवतः पछिल्लो समयमा तपाईंको हाई हाई मात्र गर्ने धेरै अनुयायीलाई भन्दा धेरै थाहा होला मलाई ।

तपाईं केबाट बच्नुपर्नेछ भने जुन अराजक समूहहरूले तपाईंले उठाएको खोक्रो राष्ट्रवादको मुद्दालाई लिएर तपाईंलाई देवत्वकरण गरेका छन् र भिन्न विचारलाई दलालीपनाको उपमा दिएका छन्, यो राष्ट्रवाद खोक्रो हो भनेर प्रमाणित भएको दिन तिनैले तपाईंको खोइरो खन्नेछन् । यसकारण त्याग र बलिदानबाट प्राप्त भएको एमालेको उपलब्धिलाई निष्ठासँग जोडेर जनसमुदायमा प्रयोग गर्नुहोस् ।

अब कुरा गरौं हिजोआजको राजनीतिको । संविधान कार्यान्वयन भनेको चुनाव मात्र हो भनेर जसरी एकपक्षीय कुरा तपार्इं र तपाईंको पार्टीका अन्य नेताहरूले फैलाइरहेका छन्, त्यसको कुनै तुक छ र भनेको ? किनभने कार्यान्वयन भनेको संशोधन पनि त हो । त्यसको विधि र प्रक्रियामा बहस गर्न सकिन्छ, त्यसमा एमाले सहभागी बन्न सक्नुपर्दथ्यो । यो एमाले नेतृत्वलाई गरिएको आलोचना मात्र होइन, भरोसा पनि हो ।


लेखक अर्याल
बेबुनियादी र खोक्रो आडम्बरमा आधारित भएको राष्ट्रवादको माला आफ्ना कार्यकर्ताहरूलाई जप्न लगाएर तपाईंले एमालेको विचारसँग सहमत नहुने जति सबै राष्ट्रघाती हुन् या विदेशीका दलाल हुन् भन्ने भाषाशैलीको प्रयोग गर्नुभएको छ र त्यसैलाई निरन्तरता दिँदै तपाईंका अनुयायीहरूले सामाजिक सञ्जालमा अरूविरुद्ध विषबमन गरिरहेका छन् । कैयौंले धम्कीको भाषा पनि बोल्ने गर्दछन् । यसले राष्ट्रवादीहरूको आन्तरिक एकतालाई कहाँ लैजान्छ ? तपाईंको नेतृत्वले यसबारेमा कहिल्यै सोचेको छ ? संविधानको स्वीकार्यता बढाएर देश विघटन हुन्छ ? कि साम्प्रदायिक एकता खल्बल्याएर देश विघटन हुन्छ ?

देशको अस्मिता खतरामा परेको साँचो हो, र यो पनि साँचो हो कि देशको अस्मिता लिलामी शुरु भएको प्रचण्डको सरकार बनेपछि मात्र होइन, यसको ग्य्रान्ड डिजाइन धेरै पहिलादेखि नै शुरु भएको हो जसमा तपाईंको पनि भूमिका छ । हरेक नेपालीलाई देश दुखेको छ र मलाई पनि उत्तिकै दुखेको छ । तर युवाहरूबीचको यो विखण्डनको कारकतत्व बनेर देश जोगिन्छ ?

ओलीज्यू, संसद् अवरोध गर्ने कुरा संसदीय प्रणाली अन्तर्गतको कुरा हो, गर्नुस् । विरोधसभा र –यालीहरू चाहिँ गर्न मजाले पाइन्छ, त्यसमा पनि आपत्ति छैन । टायर बाल्ने, ढुङ्गामुढा गर्ने पनि नेपाली राजनीतिको संस्कृति नै बनेको छ, त्यसमा पनि हाम्रो धेरै आपत्ति छैन । आपत्ति छ त केवल तपाईंले गलत सन्देश दिएर एकथरी युवाहरूको मनोबल गलत ढंगबाट उकास्दै हुनुहुन्छ ।

संसद् अवरोध गर्ने या विरोध जुलुस निकाल्ने कामलाई राष्ट्रवादबाट प्रेरित हो भनेर एकतर्फी कुरा गर्नुभएको छ । गलत राजनीतिक संस्कारको विरोध गर्नेहरूलाई पनि राष्ट्रवादी देख्ने नयाँ सूत्रको प्रयोग गरेर हेर्नुस् । एउटा नश्ल, जात, गुट र समुदायको राजनीति गर्न छोड्नुस् ।

राजनेताहरूले चिरा परेको राष्ट्रको एकतालाई जोड्ने काम गर्छन् । कैंची लिएर काट्न हिँड्दैनन् । सुन्दा मीठो लाग्ने, उखान, टुक्का र क्षणिक आवेगको राजनीति गरेको भए नेल्सन मण्डेला कालाहरूको मात्र नेता बन्थे, संसारले राजनेता मानेर पुज्दैनथ्यो ।

संविधान संशोधन विधेयक संसदमा पेश भएको छ, चाहे जसरी होस् । यसमा पनि तपाईंको चलखेललाई शंका गर्ने ठाउँ त प्रशस्तै छ । तर जे भएपनि संसदमा छलफल हुने कुरा राम्रो हो, विधेयक राष्ट्रहितमा छैन भने पनि पर्याप्त छलफल गरेर जनतालाई त्यसको बारेमा जानकारी दिएर त्यसलाई फेल गर्नुहोस् । फेल गरिदिएर मात्र पनि तपाईंको उत्तरदायित्व पूरा हुन सक्दैन, अहिले राजनीतिमा जमिरहेको हिउँलाई पगाल्न कुनै उत्कृष्ट विकल्प दिनुहोस् ।

धेरै दिनपछि नेताहरूलाई खबरदारी गर्ने क्रममा यो खुलापत्र लेखेको छु । मलाई आशा छ, एउटा स्वतन्त्र युवाले यहाँ लेखिएका शब्दहरू र शब्दका भावहरूलाई गहिरो गरी बुझ्दछ र जसले नबुझी कसैको ट्याग भिराएर प्रतिक्रिया दिन्छ, त्यसलाई पनि सम्मानकै साथमा लिइनेछ । जनतालाई सुसूचित गराउने र नेतालाई राजनीतिक खबरदारी गर्ने मेरो अभियान त जारी नै रहनेछ । विश्वास छ, तपाईंले पनि पढ्ने मौका पाएर यसमा लेखिएका कुराहरू मनन गर्नुहुनेछ ।

धन्यवाद
ईश्वर अर्याल (हाल युएई ) बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell