Ruslan
Tata /sipradi
Nic Asia

आलेख

स्ववियु निर्वाचन : २८ वर्षे उमेर हदबन्दीले ल्याएको तरंग

ई. अमृत ज्ञवाली

मुलुकको ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने घोषणा गरेसँगै ‘विद्यार्थी बजार’ तातेको ।

सामाजिक सञ्जालमा स्ववियु निर्वाचनक सम्बन्धमा व्यापक वहस भइरहेको देखिन्छ । स्ववियु चुनावले मात्र गरमागरम बहस निम्त्याउने पक्कै थिएन । यो केवल कर्मकाण्डको रूपमा विकसित छ भएकाले पनि यसको बढी चर्चा भएको हुनुपर्छ । यद्यपि यसपाली चुनावी उम्मेदवारको उमेरमा ‘हदबन्दी’ लगाउने घोषणा गरेपछि कतिपयको ‘पारो’ तातेको देखिन्छ । २८ वर्षे उमेरको हदबन्दीले २८ वर्ष उमेरभन्दा बढी उमेरका विद्यार्थीहरू स्वतः उम्मेदवार हुनका लागि अयोग्य हुनेछन् ।

केही तथ्यहरू हेरौं :

१. नेपालको आधुनिक शिक्षाप्रणालीमा प्रायः १५/१६ वर्ष प्रवेशिका तह, १८/१९ वर्ष प्रमाणपत्र तह, २३/२४ वर्ष स्नातक तह र २६/२७ वर्षमा सरसर्ती हेर्दा स्नातकोत्तर उपाधि हासिल हुने देखिन्छ । एउटा उदाहरणका रुपमा आफ्नै अध्ययन अवधीको व्याख्या गर्न चाहन्छु । म १९८८ डिसेम्बरमा जन्मेको हुँ । आफ्नै हेर्ने हो भने सन् २००४ मा प्रवेशिका , सन् २००७ मा डिप्लोमा, २०१४ मा बिई, २०१६ मा मास्टर डिग्रीको उपाधि प्राप्त भयो । जहाँ मैले प्रवेशिकापछि तीनवर्षे कोर्स पढेँ त्यसको सट्टामा प्लस टुसरह पढेको भए दुई वर्षमा सकिन्थ्यो । त्यसपछि दुई वर्ष काममा लागें र त्यसपछि पढें चार वर्षे कोर्स । मैले सरासर पढेको भए सन् २०११ मा स्नातक सकिन्थ्यो र स्नातकोत्तर २०१४ भित्रै । अझै प्लस टु र तीनवर्षे ब्याचलर गर्दा झन् छिटो सकिन्छ । यसरी हेर्दा मध्यमस्तरमा २००४ देखि २०१६ गर्दा १२ वर्षमा विश्वविद्यालयको स्नातकोत्तर पढाइ सकिने रहेछ ।


अलिक द्रुतमार्गमा पढ्नेहरूले यति वर्ष भित्रमा सजिलैसँग विश्वविद्यालयको स्नातकोत्तर पढाइ सम्पन्न गरेको ‘रेकर्ड’ प्रशस्त छन् । अब उमेरमा हेर्नुभयो भने द्रुतमार्गबाट (१६ जोड १० गर्दा २६ वर्षभित्र) र मध्यम गतिमा (अलिअलि जाममा पर्दै अगाडि बढ्ने मार्गबाट १६ जोड १२ गर्दा २८ वर्षमा) स्नातकोत्तर पढाइ सकिने देखिन्छ ।

२. एमफिल र पिएचडी पढ्ने उमेर समूह खोइ ? उनीहरूले के चुनाव लड्न नपाउने ? त्यस तहमा पढ्नेहरूलाई उमेरको हदबन्दी गर्न मिल्छ र उम्मेदवार हुनका लागि ? भन्ने प्रश्न आउन सक्छ । तर जानेबुझे अनुसार त्यो तप्का र तह नेपालको विद्यार्थी राजनीतिको दैनन्दिनको गतिविधिमा त्यति सौखिन छैन । समयको सुविधा पनि उनीहरूलाई हँुदैन । यदि त्यो तहको नेतृत्व आउने हो भने बहस स्वतः परिमार्जित हुनेछ र विद्यमान व्यवस्था खारेज गर्नुको विकल्प हुनेछैन । यद्यपि यो सम्भावना न्यून छ ।

३. ‘रिपीट डिग्री’ वालाहरूको कथा यसमा जोड्नु आवश्यक छ । नेपालमा सबैभन्दा धेरै विषयमा स्नातकोत्तर उपाधि डिग्री लिने, भर्ना भइरहने, चुनावका लागि मात्र पढेको देखाउने चलन लुकेछिपेको विषय होइन । तर साँच्चिकै भिन्न–भिन्न विषयमा अब्बल तरिकाले उपाधि लिने विद्यार्थी र विज्ञसमूह पनि छ । तर त्यो समूह यसमा आकर्षित छ कि छैन ? विज्ञताको लागि गरेको अध्ययन र त्यसको प्रयोग गर्ने ठाउँहरू प्रशस्त छन् र यो समूहमा प्रथम स्नातकोत्तर उपाधिसम्मको समय छँदैछ ।

लेखक ज्ञवाली
४. अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभेलपमेन्ट (ओईसीडी) मा आबद्ध ३५ मुलुकको सन् २०१४ मा प्रकाशित एक रिपोर्टका अनुसार २४ वर्ष उमेरलाई फस्ट ग्य्राजुएसनको ‘औसत उमेर’ देखाएको छ । अझै त्यहाँ २२ वर्षदेखि नै फर्स्ट ग्य्राजुएसन गर्ने उमेरका विद्यार्थीको तथ्यांक उच्च नै छ । २२ देखि २७ वर्ष फस्ट ग्य्राजुएसन उमेर रहेको तथ्यांकले देखाएको छ । यो आधारलाई लिने हो भने पनि आलेख को एक नम्बरमा दिएको उदाहरण मिल्दोजुल्दो देखिन्छ ।

विद्यार्थी राजनीतिको एउटा मुख्य पाटोका रूपमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव रहँदै आएको थियो । पछिल्लोपटक २०६५ मा त्रिविले स्ववियु चुनाव गराएपछि आजसम्म अर्को चुनाव भएको छैन । यद्यपि दुई वर्षमा आवधिक चुनाव गराइरहनु पर्ने थियो । स्थानीय निकायको निर्वाचन गर्ने मनसाय र हिम्मत नभएका विगतका सरकार र राजनीतिक पार्टीहरूले स्ववियु चुनावलाई ध्यान दिएनन् भनेर गुनासो गर्दा महत्वाकांक्षी बनिएला भन्ने डर छँदैछ । विद्यार्थी संगठनहरूको कुरै नगरौं अझै आफैं सम्बद्ध नेविसंघको इतिवृत्तान्त जगजाहेर नै छ ।

स्ववियु चुनाव यो मितिमा अनिवार्य हुनुपर्छ । यो वा त्यो बहानामा यसलाई रोक्नु मनासिब देखिन्न । स्ववियु चाहिएको छ भने उमेरको बहानामा रोकिनु तर्कसंगत देखिँदैन । अनिवार्य र यही मितिमा निर्वाचन सम्पन्न गर्न नेविसंघले अगुवाइ गर्नुपर्छ । नेविसंघ स्वयंले ३२ वर्षे उमेरको हदबन्दी पारित गरिसकेको सन्दर्भमा त्रिविको पछिल्लो निर्णयलाई स्वीकार गर्न एक कदम अगाडि बढ्नु जरूरी छ ।

उमेर केवल पार गरेका वर्षहरूसँग मात्र जोडिने विषय होइन । उमेरले आफ्नो पछाडि ‘ब्यागेज’ बोकेको हुन्छ तसर्थ उमेर जहाँ पनि बहसको विषय हो । योग्यताको विषय सापेक्षिक हो । सन्दर्भ सन्दर्भमा पेचिलो विषय हो । जैविक विषय हो । उमेर अनुभव हो । उमेर मनोविज्ञान हो । उमेर जोशको, होशको, ज्ञानको र ध्यानको विषय हो । उमेर बहुआयामिक तत्व हो ।

उमेरलाई योग्यताको कसीमा राखिएका प्रशस्त दस्तावेजहरू छन् । नेपालको संविधानमा उमेरलाई योग्यताको कसीमा राखिएका धेरै दफा छन् । मतदान गर्ने सबै उम्मेदवारीका लागि योग्य हुन्छन् भन्ने हुँदैन । कहीँ त्यस्तो छैन र त्यस्तो हुनु पनि हँुदैन । संसारमा ‘क्राइटेरिया’ हरेक सन्दर्भमा तोकिएको हुन्छ । ‘क्राइटेरिया’ मा नपर्ने उम्मेदवार स्वतः अयोग्य हो । हुनुपर्छ । नियुक्तिमा, भर्नामा, अवकाशमा, छात्रवृत्तिमा सन्दर्भ हेरिकन उमेर तोकिएको हामी सबैसामु छर्लंग छ । तसर्थ उमेर ‘अवसर’ पनि हो र ‘अवरोध’ पनि हो ।

एउटा विषय यो पनि हुनसक्छ कि लामो समयदेखि चुनाव नभएको कारणले संक्रमणकालीन परिस्थितिको व्याख्या गरी एकपटकको लागि कुनै हदबन्दी नराखी पुरानै तरिकाले चुनावमा जानुपर्छ । तर यदि यस्तो हो भने यो निर्णय नहुँदै चुनाव सम्पन्न गर्न के कारणले अवरोध भएको थियो ? किन निर्वाचन गरिएन ? त्यसको दोषी को ? यी प्रश्नहरूको निष्कर्षपछि मात्र यो विषय पेचिलो होला, होइन भने यो विषय फेरि पनि चुनाव नहुने बाटोतर्फ लैजाने सेतु मात्र हुन जानेछ ।

स्ववियु चुनाव, यसका परिणाम, यसको इतिहास, यसका विगतका उपलब्धि र कमीकमजोरीबारे ‘गहिरो अनुसन्धान’ नेपालमा भएको छैन । स्ववियु चुनाव आवश्यक हुनुको अपरिहार्यताबारे विद्यार्थी संगठनका नेताले बोल्नु र लेख्नु जरूरी छ । स्ववियु चुनाव विद्यार्थीका लागि हो भने निश्चित उमेर समूहको विद्यार्थी नै त्यसका लागि हकदार छन् । यो ‘लिमिट’ को कारणले पर्न गएको असरको जिम्मा सम्बन्धित संगठनले लिनुपर्छ र उचित तथा आवश्यक जिम्मेवारी दिनुपर्छ ।

राजनीति गर्न र नेतृत्व क्षमता विकास गर्न यो व्यवस्थाले नसमेटेका साथीहरूलाई अन्य धेरै अवसर छन्, अवसर आउँछन् । २८ वर्षमुनिका नेता आएपनि संगठनकै साथीहरू नेतृत्वमा आउने हुन् भन्ने चौडा छातीको आवश्यकता छ ।

हुन त आफू सम्बद्ध संस्थाका अध्यक्ष नैनसिंह महर नै २८ वर्षे उमेरहद भन्दा झन्डै डेढ दशक बढी उमेरको हुनुभएको आँकलन गरिएको बेला उमेरहदले तताएको ‘पारो’ लाई अन्यथा मान्न सकिन्न । समस्याहरू छैनन् भन्ने होइन, तर समधान चाहिएको सत्य हो । समाधान तोकिएको समयमा नै स्ववियु निर्वाचन हुनु हो । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam