Ruslan
Tata /sipradi
Nic Asia

आलेख

हिज्जे र उच्चारण नबिगार्ने कि सञ्चारकर्मी मित्र !

रामप्रसाद धिताल

समाचार पढिसक्नेबित्तिकै वाचिका हतारिँदै पंक्तिकारछेउ आइन् । हातमा रहेको समाचारमा ‘बहिर्गमित’ शब्द देखाउँदै भनिन्, यो (रेफ) यता (‘ग’मा नभई ‘ह’मा) हुनुपर्ने होइन र !
संयोग भनौं त्यसैदिन अर्को टेलिभिजन च्यानलमा ‘प्राइम न्युज’ को ‘हेडलाइन’ पढ्ने क्रममा समाचारवाचिकाले बर्हिगमित (बहिर्गमित) उच्चारण गरेकी रहिछन् ।
‘युट्युब’मा राखिएको समाचार दोहो-याएर तेहे-याएर सुने । शुरू र अन्त्यको प्रमुख समाचारमा बर्हिगमित नै पढेकी छिन् । मेरी सहकर्मीले शुद्ध पढे पनि लेख्न चाहिँ त्यसरी पर्थ्यो भन्ने सोच राख्नु संयोग नै थियो ।
रेफले -याख-याखतीram prasad dhital design
‘आधा र’ अर्थात् रेफयुक्त शब्दको बनावट र उच्चारणमा ध्यान नदिँदा ‘पुनर्निर्माण’लाई पुर्ननिमार्ण/पुननिर्माण, ‘अन्तर्राष्ट्रिय’लाई अन्र्तराष्ट्रिय/अन्तराष्र्टिय लेखेको सयौं उदाहरण छन्, पंक्तिकारसँग । ‘पुनर्मिलन’लाई पुर्नमिलन, ‘पुनर्विचार’लाई पुर्नविचार, ‘पुनर्जीवन’लाई पुर्नजीवन, ‘पुनर्विवाह’लाई पुर्नविवाह, ‘चतुर्दशी’लाई चर्तुदशी लेख्दा ती शब्दले कस्तो अर्थ देलान् !
संस्कृत भाषाको नियमतिर नजाऊँ, शब्दको संरचना एकपटक ध्यान दिएर हेर्ने हो भने पनि अशुद्ध लेख्ने/बोल्ने समस्या नै आउँदैन । जस्तो – पुनर् निर् माण, पुनर्निर्माण । अन्तर् राष्ट्रिय = अन्तर्राष्ट्रिय । पुनर् मिलन = पुनर्मिलन । पुनर् जीवन =पुनर्जीवन । पुनर् विवाह = पुनर्विवाह, चतुर् दशी =चतुर्दशी ।
द्द, द्ध, द्व नचिन्दा
अचेल सञ्चारकर्मीहरूले मद्धत, मुद्धा, उद्दार, द्धारा, द्धन्द्ध लेखेको देख्दा अनौठो नमाने हुन्छ । आधा द जोडिएर आउने शब्दहरू अशुद्ध बोल्दै र लेखिँदै आएको छ । आधा द र पूरा द मिलेर द्द बनेको हो । मद् द त = मद्दत । मुद् दा = मुद्दा । आधा द र पूरा ध मिलेर द्ध बनेको छ । त्यसैले उद् धा र = उद्धार । आधा द र व मिलेर द्व बनेको छ । त्यसैले द् वारा = द्वारा हुन्छ । द्वन्द्व = द्वन्द्व ।
द्य कि ध्य ?
आम नागरिकको कुरा छोडौं, आमसञ्चारमा कार्यरत हामी सञ्चारकर्मी विध्या, विध्यार्थी, बैध्य उच्चारण गर्छाैं । विद्या अर्थात् विद्या द् र य मिलेर द्य बनेको ध्य होइन । वैद्य = वैद्य । उद्योग (उद्योग), लाई उध्योग वा उद्दोग, विद्युत् (विद्युत्) लाई विद्धुत् उच्चारण गर्ने हामी सञ्चारकर्मी, प्रस्तोता अनि समाचारवाचक/वाचिका ।


‘द्म’लाई द्य
द्म अर्थात् द्म । द्य अर्थात् द्य । तर पद्म लेख्दा पद्य लेखेको पाइन्छ । एउटा विद्युतीय पत्रिका (अनलाइन)मा समाचारको शीर्षक थियो, ‘चीरहरण’ लाई पद्यश्री पुुरस्कार । पद्म अर्थात् कमलको फूल । पद्य अर्थात् छन्दोबद्ध रचना ।
ध र द्य नखुल्दा
एउटा अनलाइन समाचारको शीर्षक थियो ‘अबैद्य भारतीय नोट बैद्य बनाउन चलखेल ।’ शीर्षकमै यति धेरै अशुद्ध भएको समाचार चाहिँ कस्तो थियो होला ? अवैधलाई वैध बनाउन...लेख्न खोजिएकोे थियो तर व र ब तथा ध र द्यको भेद नबुझ्दा यस्तो हुन गयो । बाँच्नुमात्र पर्छ के के देखिन्छ, के के ! बुढापाकाको भनाई । त्यसैले त विधेयकलाई विद्येयक लेखको पनि देखियो ।
पञ्चम वर्णमा जथाभावी
‘संवत्’लाई सम्वत् अझ सम्बत् लेख्ने हामी धेरै छौं । ‘संवाद’लाई सम्वाद वा सम्बाद पनि लेखेको देखिएकै हो । पञ्चम वर्णको आधा अक्षर माग हुँदा पछाडि जुन वर्णको अक्षर हुन्छ, त्यहीअनुसार (आधा अक्षर) निर्धारण हुन्छ । अन्यथा शिरविन्दु हुन्छ । संवत्को माझको अक्षर ब भएको भए सम्बत् ठीक हुन्थ्यो तर व भएकाले सको पछाडि आधा म नलेखी शिरविन्दु भयो । सोही कारणले सम्वाद नभई संवाद हुन्छ ।
शङ्ख, पञ्च, सञ्चार, घण्ट, मन्त्री जस्ता तत्सम शब्द शंख, पन्च, संचार, घन्ट/घंट, मंत्री लेख्नु अशुद्ध हो ।
शिरविन्दु र चन्द्रविन्दुको भेद
हिजोआज शिरबिन्दु (ं) र चन्द्रविन्दु (ँ) को भेद पनि छुट्टिन छाडेको छ । ‘पाँच’लाई पांच, ‘आँगन’लाई आंगन, ‘आँचल’लाई आंचल, ‘सँग’लाई संग, साँढेलाई सांढे लेख्ने चलन बढेको छ । चन्द्रविन्दुको ठाउँ शिरविन्दुले पूरा गर्न सक्दैन भन्ने बुझौं ।
श, ष, स
‘सशस्त्र’लाई शसस्त्र/ससस्त्र, ‘शशांक’ लाई सशांक/शसांक, ‘विस्फोट’ लाई विष्फोट लेखिएको पाइन्छ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई विनाकसुर भुषाल बनाइएको देखिन्छ । ‘संशोधन’लाई संसोधन, ‘दृश्य’लाई दृष्य, ‘प्रसारण’लाई प्रशारण, ‘प्रकाशन’लाई प्रकासन लेखेको यत्रतत्र भेटिन्छ । ‘विशेष’लाई विषेश, ‘निषेध’लाई निशेध, ‘निष्कर्ष’लाई निश्कर्श र दोषलाई दोश लेख्दा पनि अप्ठ्यारो अनुभव गरिँदैन ।
ब र व
ब र व को भेद पनि छुट्टिनै छोडेको छ । ‘वरिष्ठ’लाई बरिष्ठ, ‘बहिष्कार’लाई वहिष्कार, ‘वनस्पति’लाई बनस्पति र संविधानलाई संबिधान (अर्थात् सम्बिधान) लेखेको पाइए अचम्म नमाने हुन्छ । व उच्चारण भएको थाहा पाउँदा पाउँदै ब लेख्ने हामी सञ्चारकर्मी कस्ता होलाऔं ! भाषाविद् शरच्चन्द्र वस्ती भाषा बिग्रियो भनेर कति मरिमेट्छन् । उनैको थर बस्ती लेखिदिएपछि के लाग्छ ! अनि पढ्नेले बस्ती नभनेर के भनोस् !
‘वीर’लाई बीर/बिर, विक्रमलाई बिक्रम, ‘वक्ता’लाई बक्ता, ‘व्यक्ति’ लाई ब्यक्ति, ‘वस्तु’ (पदार्थ, चीज) लाई बस्तु (चौपाया) लेख्नुलाई के भन्ने ! ‘संविधान’लाई संबिधान, वर्षालाई बर्षा, वार्तालाई बार्ता, वामलाई बाम, देव लाई देब बनाइएको पनि बगे्रल्ती देखिन्छ ।
बढी जान्ने हुँदा
नेपाली भाषामा अचेल सम्बृद्धि शब्दको प्रयोग व्यापक रूपमा हुँदै आएको छ । शब्दकोश पल्टाएर हेर्नुस्, भेटिँदैन । बढी जान्ने भएर समृद्धिलाई सम्बृद्धि बनाइएको हो । ओकारले हुने ठाउँमा औकार गर्दा हेर्नुस् त छनोट, छनौट हुन पुगेको । अन्योल पनि अन्यौल भएको छ ।
बढी जान्ने भएर हामीले ‘पुनर्संरचना’ र ‘अन्तरक्रिया’ लेखिरहेका छौ तर यी शब्द शुद्ध होइनन् । शुद्ध त पुनः संरचना र अन्तः क्रिया हो ।
खुट्टा काट्न छोड्दा
संसद्, विद्वान्, सभासद् भगवान् खुट्टा नकाटी लेख्ने चलन बढेको छ । तर संसद, विद्वान, सभासद, भगवान लेख्नु अशुद्ध हो । अङ्क, अङ्ग, संङ्ख्या लेख्ने हो भने ङको खुट्टा त काट्नै प-यो नि !
छन्, खाइन्, लगाइन्, भइन् जस्ता क्रियामूलक शब्दको अन्यमा खुट्टा नकाट्दा अनर्थ पनि लाग्छ । जस्तै, सभामुख ओनसरी घर्तीले आज राष्ट्रपति विद्या भण्डारीलाई भेटिन् । ‘भेटिन्’ मा नको खुट्टा काट्न बिर्सनुस् वा बेवास्ता गर्नुस्, वाक्य नै चौपट हुन्छ ।
क्ष छ् उस्तै
शिक्षा (शिक्ष्आ) लाई शिछ्या उच्चारण गर्नेगरी कस्तो नेपाली पढे÷पढाइएको होला । क्षत्रीलाई छ्यत्री पढेको पनि सुनिन्छ । बरू नेपालीमा छेत्री भने शुद्ध हुँदो हो ।
विसर्ग नभुलौं
अन्ततः, पुनः, स्वतः आदि शब्दको अन्त्यमा दुईवटा थोप्ला आएका छन् । यसलाई संस्कृतमा विसर्ग भनिन्छ । शब्दसँगै विसर्गको पनि उच्चारण गर्नुपर्छ । त्यसैले अन्तत, पुन, स्वत मात्र लेख्दा/बोल्दा अशुद्ध हुन्छ । जस्तै, उदाहरणजस्ता शब्दमा विसर्ग हाल्नु गल्ती हो । जस्तै–, उदाहरण– लेख्ने हो ।
अन्त्यमा
भ्रातृ शब्दको अर्थ हुन्छ, दाजु वा भाइ । नेपालीमा दलसम्बद्ध सङ्घ–सङ्गठनको चर्चा चल्दा भ्रातृ शब्दको उल्लेख गरिन्छ । जस्तो कांग्रेसको भ्रातृ संगठन... । भ्रातृलाई भातृ लेखेको र भ्रातृ लेखेको देख्दादेख्दै पनि भातृ उच्चारण गर्नु लापरवाही वा नेपाली भाषाप्रतिको अन्याय हो ।

नेपाली/संस्कृत भाषाको विद्यार्थी र आठ वर्षदेखि टेलिभिजन समाचार डेस्कमा रहेको पंक्तिकारका अनुभवमा आधारित । [email protected]] शनिवार, मंसिर २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell