विश्लेषण : आलेख

प्रतिबहस : बिहे गर्ने सासूसँग कि लोग्नेसँग ?

एक पुरुष मित्रले भने, ‘नेपालमा दुईथरी नारीवादी छन्, १. महिला सिट खोज्ने, २. महिला सिटमा नबस्ने । पछिल्लो समयमा अनलाइन समाचार पोर्टलहरूमा प्रकाशित भएका लेखहरू र त्यसका बारेमा सामाजिक सञ्जालमा भएका चर्चाले, उहाँ (मित्र) को भनाईलाई सत्य साबित गरेको छ ।  शुरूमा एक अनलाइन पोर्टलमा मानवीजीको लेख आयो, जसको सार थियो ः महिला अधिकारकर्मीहरू विदेशी डलरका लागि अर्काको घरबार बिगार्छन्, उनीहरू आफू लोग्ने छोडेर बसेका हुन्छन् तर उनीहरूलाई पुरुषको साथ चाहिन्छ, त्यसैले गोप्य रुपमा परपुरुषसँग सम्बन्ध राख्छन् । उनको लेखको यस्तै सन्दर्भ थियो ।
 वनिता खनाल 


अब म केही विश्लेषण गर्न चाहन्छु । मानवीजीलाई मेरो पहिलो प्रश्न : यस्ता कति नारीवादी चिन्नुन्छ तपाईं ? नेपालका सबै फेमिनिस्ट लोग्ने छोडेरै बसेका छन् त ? के महिला र पुरुषको सम्बन्ध, पुरुषको साथ र महिलाको एक्लोपना मात्र हो त ? महिलाले सधैं साथ खोज्ने मात्र हुन् ? साथ दिने होइनन् ? उहाँले त्यस्ता गोप्य सम्बन्धका बारेमा कसरी थाहा पाउनुभयो ? उहाँ त पढेलेखेको कतै काम गर्नुहुन्छ भन्ने सुन्थें, यस्ता गोप्य सम्बन्धका बारेमा चियोचर्चा गर्न भ्याउनुहुँदोरहेछ ? कसैका गोप्य सम्बन्धलाई बजारमा छरपस्ट पार्न उहाँलाई लाज लाग्नुपर्ने हो । खोई, मैले त जति फेमिनिस्ट चिनेको छु, उनीहरू सबले घरपरिवार सम्हालेरै बसेको देख्याछु । कि डिभोर्स गर्ने सबैलाई नारीवादी देख्नुहुन्छ मानवीजी ?

कतै सबै डिभोर्स गर्ने महिलाहरूले नारीवादीको लहैलहैमा लागेर लोग्ने छोड्छन् भन्न खोज्नुभएको हो कि ? अनि डिभोर्सलाई किन त्यति घृणा गर्नुभएको ? बिहेमा बाधा आएपनि जबर्जस्ती लोग्नेस्वास्नी सँगै टाँसिएर बसिरहनुपर्ने हो ? कसैको लोग्ने र सासूले दिनरात दाइजो ल्याइनस् भनेर हिंसा गरेपनि सहेरै बस्नुपर्ने भयो, होइन त ? मानवीजीजस्ता समाजसेवी नै डिभोर्सको विरोध गर्छन्, कथंकदाचित् डिभोर्स भइहाले, महिलाले त्यसपछि अरू सम्बन्धको आशा नगर्ने ? नगर्नुपर्ने सम्बन्धविच्छेद गरेकोमा बाँकी रहेको जीवन एक्लै बिताएर आफूले आफैंलाई सजाय दिने हो ?

त्यसपछि अर्को एउटा लेख आया अर्को अनलाइन पोर्टलमा, मैले सासूको खुट्टा किन ढोग्ने शीर्षकमा । लेखकले शुरूमा नै यो उनको साथीको भोगाई हो भनेर उल्लेख गरेकी थिइन् लेखकले । किन त उनकी साथी आफैंले त्यो लेख लेखिनन् ? मानवीजी जस्ता मान्छेसँग शायद डराइन् उनी ।  आफूले नदेखेको र नभोगेको कुरा समाजमा हुँदै हुन्न भन्नु कहाँको बुद्धिमानी हो ? लेख नै लेख्नुपर्नेगरी तपाईंको साथीको पीडा कसरी अनुमान गर्न सक्नुहुन्छ ? यो उनको आफ्नो भोगाई थिएन तर विवाहित साथीको पीडा सुनेपछि एक अविवाहितका मनमा प्रश्न तेर्सिए । त्यसो त उनले हक या अधिकारका लागि त्यो लेख लेखेकी थिइनन् । आफ्नो मनको जिज्ञासा केवल समाजसामु राखेकी थिइन् । तर उनको लेखलाई यसरी खण्डन गरियो मानांै, महिलाले समाजमा प्रश्न उठाउन प्रतिबन्ध छ, यस्ता खण्डन पनि नारीवादीलाई घृणा गर्ने महिलाले नै धेरै गरेको देखियो ।

सासूलाई किन ढोग्ने ? यो लेखलाई जोडेर अर्को एउटा लेख आयो, जुन मैले पढिरहन मुनासिब मानिनँ । शीर्षक थियो, सासूको खुट्टा नढोग्ने भए, बिहे गरेर लोग्नेको घर किन जाने ?
यस लेखमाथि टिप्पणी गरेर मैले आफ्नै बौद्धिकताको खिल्ली उडाउन चाहिनँ । तर यही लेखको शीर्षकजस्तै केही प्रश्नको शिकार म स्वयं सामाजिक सञ्जालमा भएँ । त्यसकै बारेमा केही अलिकति लेख्न चाहन्छु । बिहे गर्ने सासूसँग हो कि लोग्नेसँंग ? लोग्नेको माया पाउन सासूको खटनपटन खेप्नपर्ने हो ? सासूलाई ढोग्दैमा लोग्ने खुशी हुन्छन् भन्ने के प्रमाण छ ? अनि बिहे केका लागि गरिन्छ ? कसैको साथ पाउन या साथ कमाउन ? अनि लोग्ने र उसको आमाको सधैं सुमधुर सम्बन्ध हुन्छ भन्ने के ग्यारेन्टी छ ? लोग्नेले श्रीमतीलाई माया गर्न नसक्ने तर उसकी आमालाई चाहिँ सधैं ढोग्नुपर्ने हो ? हो भने किन ? बिहे गरेर अरूको घर जाने जात भएर हो ? छोरी मान्छे भएको भएर ? आमा केटा मान्छेको मात्र हुन्नन्, केटी मान्छेका पनि हुन्छन् ।

आफ्नी छोरीलाई दुःखी देख्दा उनको मन रुँदैन ? यही कारण होइन मान्छेहरूले छोरी जन्माउन नचाहेका ? छोराको चाहना राख्ने अनि गर्भपतन गर्ने संस्कार त्यही सोचको उपज होइन ? तपाईंहरू गर्भपतनलाई अपराध नै भन्नु हुन्छ । तर यसको लागि उक्साउने त तपाईंहरू नै हुनुहुँदो रहेछ त ।  अनि केही दिनअघि काभ्रेमा एक दलित महिलालाई बोक्सीका आरोपमा यातना दिइयो र पछि उनको मृत्यु भयो । पहिले बोक्सीको आरोपमा स्थानीय स्कूलका शिक्षकले मारेको भन्ने भएपनि अनुसन्धानको क्रममा तिनै महिलाको श्रीमान् र सासूले मिलेर हत्या गरेको भन्ने कुरा पनि आएको छ । यसको अर्थ हो, ती महिलाको मृत्युको कारण घरेलु हिंसासमेत हुनसक्छ ।

सासूको मान–मर्यादामा बुहारीले कमी गरेमा, घरबाट बाहिर बस्ने छोरालाई आमाले जथाभावी कुरा लगाएर बुहारी कुटाएका कुरा नसुनिएको होइन । काभ्रेको गाउँमा भएको सो हत्याको कारण पनि यस्तै नहोला भन्न सकिन्न ।  अन्त्यमा म के भन्छु भने महिला र पुरुष शारीरिक बनावटमा पक्कै पनि फरक छन् । यस्तै फरक विशेषतालाई आत्मसात गर्दै, महिला सिट उपलब्ध गराएर हुन्छ कि कोटा दिएर हुन्छ, नारीवादीहरूले आफूलाई पुरुषको हाराहारीमा पु—याउन निकै संघर्ष गरेका छन् । यसको मतलब सबै नारीवादी राम्रै छन् भन्ने होइन, तर सबै डलरकै खेती गर्ने खालका पनि छैनन् । म नारीवादी हुँ र गर्वका साथ भन्छु – आजसम्म एक डलर पनि खेती ग-या छैन । मंसिर २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस