Ruslan
Tata /sipradi
Nic Asia

आलेख

संसारकै खतरनाक समय हो अहिले

बेलायतकोे क्याम्ब्रिजमा बस्ने सैद्धान्तिक भौतिकशास्त्रीका रूपमा मैले असाधारण रूपमा सुखसुविधापूर्ण जीवन बाँचिरहेको छु । संसारकै महानतम विश्वविद्यालयमध्येको एक यही क्याम्ब्रिज शहरमा छ । त्यही शहरभित्रको वैज्ञानिक समुदाय, अझ अन्तर्राष्ट्रिय सैद्धान्तिक भौतिकशास्त्रीहरूसँग मैले क्रियाशील जीवन बिताएको छु । यहाँका भौतिकशास्त्रीहरू आफूलाई सर्वोच्च ठान्ने लोभ लुकाउन सक्दैनन् । अझ म त किताब लेखेर लोकप्रिय भएको अनि बिरामीका कारण एक्लो हुन बाध्य पारिएको व्यक्ति भएका नाताले मेरो स्थान अझै चुलिएको अनुभूति गर्छु ।

त्यसैले हालसालै बेलायत र अमेरिकामा जनताहरूले सम्भ्रान्तलाई गरेको बहिष्कार अन्यजस्तै मैतर्फ लक्षित छ । बहुसंख्यक बेलायती जनताले युरोपेली युनियनको सदस्यता बहिष्कार गर्ने अनि अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई आफ्नो भावी राष्ट्रपति बनाउने निर्णय गर्नुका पछाडि जेजस्तो कारण भएपनि विश्लेषकहरूका अनुसार यो आफूहरूलाई नेताहरूले बेवास्ता गरेकोमा क्रुद्ध भएका जनताको साझा पुकार हो ।

सबैलाई यही ठाने कि बिर्सिएकाहरूले यतिखेर बोल्ने मौका पाए र उनीहरू विज्ञ तथा सम्भ्रान्तको उपदेश तथा निर्देशनलाई बहिष्कार गर्नका लागि आवाज उठाइरहेका छन् । म पनि यस नियमबाट अछुतो छुइनँ । ब्रेक्जिट मतदानअघि मैले चेतावनी दिएको थिएँ – यसो गर्दा बेलायतमा वैज्ञानिक अनुसन्धानलाई क्षति पुग्छ अनि बहिर्गमनका लागि मत दिनु एक कदम पछि हट्नु हो । तर बहुसंख्यक मतदाताले अन्य पेशाकर्मीको उपदेशलाई बेवास्ता गरेझैं मलाई पनि सुनेनन् ।

बेलायती बहिर्गमन (ब्रेक्जिट) र ट्रम्पको विजयभन्दा पनि महत्वपूर्ण कुरा सम्भ्रान्तहरूले कसरी प्रतिक्रिया दिन्छन् भन्ने हो । हामीले यी जनताका मतहरूलाई तथ्यको बेवास्ता गर्ने ‘पपुलिजम’ (लोकरञ्जनवाद)को परिणाम मानेर उनीहरूको चाहनालाई चाहिँ छल्ने त ? यसो गर्नु गम्भीर भूल हुनेछ भन्ने मेरो तर्क छ ।

यी मतहरूले ग्लोबलाइजेसन (विश्वव्यापीकरण) का आर्थिक परिणाम र प्राविधिक परिवर्तनको तीव्रताले जन्माएका चिन्तालाई प्रतिनिधित्व गर्छन् । कारखानाहरूमा मशिनले नै सबै काम गर्न थालेपछि परम्परागत उत्पादन उद्योगमा रोजगारीको कमी भइसकेको छ । अनि रोबोटहरूको उदयपछि त झन् मध्यमवर्गको रोजगारी ध्वस्त हुने सम्भावना छ । अब त मान्छेले गर्ने काम भनेको हेरचाह, सिर्जनात्मकता र सुपरीवेक्षण मात्र हुनेवाला छ ।

यो विकासले संसारभरि गहिरिँदै गएको आर्थिक असमानतालाई झन् बढाउँछ । इन्टरनेट र सञ्जालहरूले केही व्यक्तिको सानो समूहलाई ठूलो मुनाफा दिलाउँछ अनि उनीहरूले आफ्नो कम्पनीमा अत्यन्तै थोरै मान्छे राखे पुग्छ । हुन त यो प्रगति अवश्यम्भावी छ तर यसले सामाजिक विध्वंस निम्त्याउँछ ।

हामीले यसलाई केही वर्षअघिको आर्थिक मन्दीसँग पनि जोडेर हेर्नुपर्छ । मन्दीका कारण वित्तीय क्षेत्रका केही मुट्ठीभरका मान्छेले ठूलो रकम कुम्ल्याउने अनि उनीहरूको लोभको परिणामजन्य विनाश चाहिँ हामीजस्ता सर्वसाधारणले भोग्नुपर्ने देखियो । त्यसैले समग्रमा हेर्दा वित्तीय असमानता घट्नुको साटो झन् झन् बढ्दै गइरहेको छ । यसका कारण धेरै मानिसहरूले आफ्नो जीवनस्तर मात्र नभई कमाउनसक्ने क्षमता हराइरहेको अनुभूति गर्नुपरेको छ । यस्तोमा उनीहरू नयाँ विकल्पको खोजीमा रहनु स्वाभाविक हो । अनि यो विकल्प ट्रम्प र ब्रेक्जिटले प्रतिनिधित्व गरेकोझैं देखिन्छ ।

इन्टरनेट र सामाजिक सञ्जालको विश्वव्यापी फैलावटको अर्को अवाञ्छित परिणामस्वरूप यस्ता असमानताहरू पहिलेको तुलनामा झन् बढ्दै गएका छन् । मेरो हकमा त सञ्चार गर्नका लागि प्रविधिको प्रयोग स्वतन्त्रता दिलाउने तथा सकारात्मक अनुभव हो । यो नभएको भए त यत्तिका वर्षदेखि मैले संवाद गर्न सक्ने नै थिइनँ ।


तर सञ्चारको विकासले समृद्ध मुलुकका अत्यधिक धनी मान्छेहरूको जीवन सबैले देख्न पाउँछन् । जति गरीब भएपनि फोनमा पहुँच पुगेको व्यक्तिले धनीको जीवनशैली देख्न पाउँछ । ‘सबसहारन् अफ्रिका’मा सफा पानीमा भन्दा फोनमा बढी पहुँच छ मान्छेको । यसको मतलब जनसंख्याको वृद्धि भएको यो ग्रहमा लगभग सबैले असमानताबाट भाग्न सक्ने स्थिति छैन ।

यसका परिणाम त प्रस्ट नै छन् : गाउँका गरीबहरू शहरतर्फ पलायन भएका छन् । आशाले डोरिएर उनीहरू शहरका झुपडपट्टीमा बस्न पुग्छन् । अनि फेसबुकमा देखिएको सुन्दर जीवन त्यहाँ उपलब्ध छैन भन्ने लागेपछि उनीहरू विदेशतिर जान्छन् । राम्रो जीवनको खोजीमा बहुसंख्यक आर्थिक आप्रवासीको भीडमा उनीहरू मिसिन पुग्छन् । यस्ता आप्रवासीले आफू पुगेको देशको भौतिक संरचना र अर्थतन्त्रमा थप भार पार्छन् जसका कारण सहिष्णुता संकटमा पर्छ अनि राजनीतिक लोकरञ्जनवाद चर्किन्छ ।

मेरा लागि चिन्ताको विषय भनेको इतिहासको कुनै पनि समयको तुलनामा अहिले मानवजातिले सँगै मिलेर काम गर्नुपर्ने आवश्यकता झन् टड्कारो भएको छ । हामीहरू ठूला वातावरणीय चुनौतीहरूको सामना गरिरहेका छौं : मौसम परिवर्तन, खाद्य उत्पादन, जनसंख्या वृद्धि, अन्य प्राणीको नाश, सरुवा रोग र महासागरहरूको अम्लीकरण ।

यी सबैले हामीहरू मानव विकासको सबभन्दा खतरनाक क्षणमा रहेको सम्झना गराउँछन् । हामी बस्ने ग्रहलाई ध्वस्त पार्न सक्ने प्रविधि हामीसँग छ । तर हामीले यस्तो प्रविधिबाट बच्ने क्षमता हासिल गरेका छैनौं । शायद अबको सय वर्षभित्र हामीले अन्य ग्रहमा मानव वस्ती बसाल्न सक्छौं तर अहिलेका लागि त हामीसँग जम्मा एउटा ग्रह छ र यसलाई संरक्षण गर्नका लागि हामीहरूले मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।

त्यसो गर्नका लागि हामीले देशभित्र र देशपिच्छे अवरोध खडा गर्ने हैन, भत्काउनुपर्ने आवश्यकता छ । हामीले त्यसो गर्ने सम्भावना विकासका लागि विश्वका नेताहरूले जनताप्रति दायित्व निर्वाह गर्न चुकेको स्वीकार्नुपर्छ । अत्यन्त कम व्यक्तिको हातमा स्रोतसाधन सीमित हुन पुगेको अवस्थामा हामीले अहिलेभन्दा बढी बाँड्न सिक्नुपर्छ ।

राजगारी मात्र नभएर समग्र उद्योग नै हराइरहेका बेला हामीले नयाँ विश्वका लागि मानिसहरूलाई प्रशिक्षण दिन मद्दत गर्नुपर्छ । अहिलेको आप्रवासको स्तरलाई समुदाय तथा अर्थतन्त्रले थेग्न सक्दैनन् भने हामीले विश्वव्यापी विकासलाई अभिप्रेरित गर्नुपर्छ । त्यसो गर्दा मात्र लाखौंको संख्यामा आप्रवास खोज्ने मानिसहरूले आफ्नै गाउँठाउँमा बसेर भविष्य खोज्न थाल्छन् ।
हामी यसो गर्न सक्छौं । म मानवजातिको पक्षमा आशावादी छु तर यसका लागि लन्डनदेखि हार्वर्ड अनि क्याम्ब्रिजदेखि हलिउडसम्मका सम्भ्रान्तहरूले विगतबाट पाठ सिक्नुपर्छ । सबभन्दा ठूलो कुरा त उनीहरूले विनयी हुन सिक्नुपर्छ ।

(सुप्रसिद्ध भौतिकशास्त्री स्टिफन हकिङको द गार्डियनमा प्रकाशित लेख दिस इज द मोस्ट डेन्जरस टाइम फर आवर प्लानेटको अनुवाद )

अनुवादक : विन्देश दहाल
शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing