sarbottam and nepal life

आलेख

सुमन भाइ, आफूलाई एक्लो नठान, शोकलाई शक्तिमा बदल्नुपर्छ

ईश्वर अर्याल


प्यारो सुमन भाइ,

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको भोलिपल्ट मुटु चिर्ने समाचार पढ्नुप—यो । पाँचतारे होटेलहरूमा दियो बालेर र रिबन काटेर मनाइने मानवअधिकार कार्यक्रम भइरहने राजधानी काठमाडौंबाट नजिकै रहेको काभ्रेमा भने आजसम्म मानवअधिकार–चेत पुग्न सकेको रहेनछ । तिमीले सञ्चारकर्मीहरूलाई दिएको बयान हृदयविदारक, कारुणिक र मुटु हल्लाउने खालको छ । म मात्र होइन, तिम्रो आमाको हत्यामा सचेत समाज रोएको छ । सुमन भाइ, अहिले आफैंलाई सम्हाल्नुपर्छ ।

यो त्यही समाज हो, जहाँ भगवानको नाममा ढुंगामा दूध चढाइन्छ तर भगवानले सृजना गरिदिएको अमूल्य चेतनासहितको मानवजातिलाई भने दिसा कोच्याइन्छ । तिमीले समाजको विकासक्रम पढेका छैनौ होला । आशा छ, तिमीले समाजक्रम पढ्न पाऊ । यसभन्दा अघि पनि सयौं नेपाली र दक्षिण एसियाली आमाहरू अन्धविश्वास र विभेदको शिकार भएका छन् । यदि ईश्वर साक्षात् छन् भने एउटा मानवले अर्को मानवको हत्या गर्दाको पाप चौरासी लाख जुनीसम्म पनि क्षम्य हुँदैन ।

 

तस्वीर स्रोत: अन्नपुर्णपोष्ट 


सुमन,
तिमीले आफूलाई टुहुरो भएको महसूस गर्नुपर्दैन । यो शोकलाई शक्तिमा बदल्ने समय हो । तिमीलाई जन्म दिने प्यारी आमा यो धर्तीमा हुनुहुन्न । वहाँले क्रूरताको शिकार हुनुप—यो । यसर्थ, वहाँको आत्माले न्याय नपाउञ्जेल हामी लडिरहनुपर्छ । वहाँजस्ता सयौं आमाहरू आजको दिनमा पनि त्यस्तै क्रूरताको शिकार भइरहनुभएको छ, कतिपयले भने सहनशीलता देखाएर बाँचिरहनुभएको छ । आशा छ, यो घटनाले धेरैलाई पाठ सिकाउनेछ । मानवको जुनी लिएर दानवको पराकाष्ठासम्म पुग्नेहरू अवश्य पनि एकदिन सजायको भागिदार हुनेछन् ।

हामीलाई थाहा छ, तिम्रो कलिलो बालमस्तिष्कमा यो भयंकर दुःस्वप्नले धेरै ठूलो असर पारेको छ । यसमा एकजनाको हातमात्र छैन सुमन भाइ, पूरै समाज र देश नै यसको दोषी छ । हिजोदेखि चलिआएका पुराना मान्यताहरूमध्ये कतिपयले यो र यस्ता घटनाहरू गराउन उत्प्रेरकको भूमिका खेलेका छन् । हामीले त्यसलाई सदाको लागि समाजबाट हटाउन आवश्यक छ । यस्ता अन्धविश्वासहरूलाई समाजबाट हटाउन एउटा ठूलै अभियान आवश्यक परेको छ, ताकि अब कहिल्यै बालबालिकाहरू टुहुरा नहोऊन् ।

सुमन भाइ,
भन्नलाई प्रशासन छ भनिन्छ, तर प्रशासनको कान नसुन्ने छ हाम्रो । सांघातिक हमला भइसकेपछि मिलापत्र गरिदिएर पुलिसहरूले के गर्न खोजेका हुन् ? उनीहरूले पनि यो कुराको जिम्मेवारी लिनुपर्छ । उनीहरूले तिम्रो पीडा महसूस गरून्, तिमीलाई आफ्नै बालबच्चा सम्झिऊन् । सीमा नाघेको अमानवीयता कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । अपराधीहरूलाई गम्भीर सजाय दिइनुपर्छ ताकि तिमीजस्तै बच्चा टुहुरो हुनबाट जोगियोस् । तिमीलाई पढाउने शिक्षक नै यस्तो कुकृत्यमा लागेको कुरा कसरी सहूँ, सुमन भाइ ? शिक्षकको आवरणमा दानवीय हर्कत गर्ने यस्ता दानवहरू बाँच्ने कुनै अधिकार छैन । यस्ता शिक्षकहरूले शिक्षण पेशामा लागेर समाजलाई सही दिशातर्फ डोहो—याएका अरू मानिसको पनि सामाजिक विश्वास लुटेको छ ।
आज सामाजिक भाइ–बन्धुत्वको परिभाषा फेरिएको छ । देशको कानूनको परिभाषा फेरिएको छ । यिनीहरूमा लागेको अविश्वसनीय दाग आज झन् चम्किलो र गाढा भएको छ । समाजमा बसेर सुरक्षित भइन्छ भन्ने मान्यतामा डढेलो लागेको छ । कानूनले सबैलाई बराबर न्याय दिन्छ भन्ने कुरामा झन ठूलो शंका पैदा भएको छ । बालबालिकाहरूको कलिलो बालमस्तिष्कमा पर्ने असरहरू झन गाढा भएका छन् । वास्तवमा भन्ने हो भने आजकल बाँच्नै गाह्रो भएको छ ।

सुमन,
मलाई विश्वास छ, तिम्रो थाप्लोमा परेको यो कहरलाई तिमीले रचनात्मक उपयोग गर्नेछौ । सामाजिक विकृतिको परिणामस्वरूप घटेको यो र यस्तै घटनाहरूलाई निर्मूल पार्ने काम अब तिमी र तिमीजस्तै अन्य पीडित बालबालिकाहरूको हुनेछ । आजसम्म भाषणमा मात्र सीमित रहेका मानवअधिकारका कुराहरू व्यवहारमै लागू गर्न एउटा दृढ अठोट बोकेर तिमी अघि बढ्नुपर्छ । कमजोरहरूको पक्षमा आवाज उठाउने एउटा मसिहा बन्नुपर्छ । इतिहास साक्षी छ, आफूलाई परेको शोकलाई शक्तिमा बदल्न थोरै मान्छेले मात्र सक्छन् र त्यसमा तिमी एउटा बन्नुपर्ने छ । भोलि तिमीलाई देखेर त्यो समाज झुकोस्, सामाजिक विसंगतिहरूको पक्षमा लाग्नेहरूलाई लाज लागोस् । अर्कोपटक कसैले यस्तो सोच्ने पनि हिम्मत नगरोस् । तिम्रो दुःखमा तिमी एक्लै छैनौ, लाखौं आमाहरू छन, लाखौं दाइदिदीहरू छन् र तिमीलाई साथ दिने तिम्रै उमेरका लाखौं साथीहरू छन् ।

विदेशबाट
तिम्रो पीडामा आँसु बगाएको दाइ मंगलवार, मंसिर २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell