sarbottam and nepal life

आलेख

चीनले अमेरिकाको स्थान लिँदै : अलबिदा पश्चिम !

योस्का फिसर

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि पश्चिमको अन्त्य सुनिश्चित भएको छ । पश्चिम भन्नाले आन्ध्र महासागरका दुवैतर्फका महादेश (युरोप र अमेरिका) भनी बुझिन्छ । बीसौं शताब्दीमा भएका दुई विश्वयुद्धपछि पश्चिम भन्ने शब्द प्रचलनमा आएको हो र यसले ४० वर्ष चलेको शीतयुद्ध अनि अहिलेसम्म पनि विश्व राजनीतिलाई पुनर्परिभाषित गरेको छ । तर यसको मिति सकिएको छ । प्रथम विश्वयुद्ध शुरूमा त युरोपेली मुलुकहरूको द्वन्द्वमा सीमित थियो । सन् १९१७ मा अमेरिका युद्धमा प्रवेश गरेपछि बल्ल यो विश्वयुद्ध बन्न पुग्यो । अहिले पश्चिम भनेर चिनिने अवधारणाको जन्म भएको त्यतिखेरबाट नै हो ।

अझ ‘पश्चिम’ले दोस्रो विश्वयुद्धताका ‘जन्मदर्ता प्रमाणपत्र’ पाएको हो । सन् १९४१ को अगस्टमा नाजी जर्मनीले सोभियत संघमाथि आक्रमण गरेपछि बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी. रूजवेल्टले न्युफाउन्डल्यान्डको तटमा रहेको युद्धपोतमा बसेर ‘एटलान्टिक चार्टर’मा हस्ताक्षर गरेका थिए । यही सम्झौता पछि गएर नाटोको रूपमा विकसित भयो र चार दशकका लागि यसले सोभियतको त्राससँग सामना गर्नका लागि साझा मूल्यमान्यता र बजार अर्थनीति भएका स्वतन्त्र लोकतान्त्रिक देशहरूको एक गठबन्धन बनायो । यसैले युरोपलाई अहिलेसम्म सुरक्षित राखेको छ ।



अझ पश्चिमको स्थापना नै अमेरिकाले आफ्ना मित्रदेशहरूको रक्षा गर्ने प्रतिबद्धताबाट जन्मेको हो । अमेरिकाले यो महत्वपूर्ण भूमिका निर्वाह नगरे पश्चिम टिक्न सक्दैन । तर ट्रम्पको शासनकालमा अमेरिकाले भूमिका खुम्च्याउने देखिँदैछ । त्यसो हो भने पश्चिमको भविष्य नै दाउमा पर्छ ।

ट्रम्पको जीतले अमेरिकी लोकतन्त्रका लागि के अर्थ राख्छ अनि उनले प्रशासन सम्हालेपछि के गर्लान् भन्ने विषयमा कोही सुनिश्चित छैनन् । तर हामी दुईवटा तर्कसंगत अनुमान लगाउन सक्छौं । पहिलो, उनको राष्ट्रपतित्वले अमेरिकी घरेलु र विदेशनीति दुवैमा परिवर्तन ल्याउनेछ । अमेरिकी राजनीतिको लगभग सबै अलिखित नियमलाई तोडेर उनी राष्ट्रपति भएका हुन् । उनले हिलारी क्लिन्टनलाई मात्र नभई रिपब्लिकन पार्टीको संस्थापनलाई समेत हराएका हुन् । माघ ७ (जनवरी २०) मा शासन सम्हालेपछि उनले आफ्नो विजयी रणनीति अचानक त्याग्लान् भन्ने आश छैन ।

दोस्रो, ट्रम्प अमेरिकालाई फेरि महान् बनाउने वाचामा अडिग रहलान् भनी हामी अनुमान गर्न सक्छौं । जस्तो परिस्थिति आएपनि उनको राष्ट्रपतिकालको यो आधार नै हो । पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले पनि यस्तै प्रतिज्ञा गरेका थिए र तर उनको पालामा अमेरिका शीतयुद्धमा थियो अनि उसले साम्राज्यवादी तरिका अपनाउन सक्थ्यो । त्यसैले रेगनले ठूलो मात्रामा पुन: शस्त्रीकरणको नीति अपनाए जसका कारण सोभियत संघको पतन भयो । यसबाट नै उनले अमेरिकाको आर्थिक वृद्धिको बाटो पनि खोले र राष्ट्रियतामा बढोत्तरी गरे ।

ट्रम्पलाई ‘साम्राज्यवादी तरिका’ अपनाउने सुविधा छैन । अझ यसको उल्टो चुनावी अभियानका दौरान उनले अमेरिका मध्यपूर्वका वाहियात युद्धहरूमा संलग्न भएको भनी आलोचना गरे । उनका समर्थकहरू अमेरिकाले विश्वव्यापी नेतृत्वको भूमिका त्यागोस् र संसारबाट हात झिकोस् भन्ने चाहन्छन् । अमेरिकाले अलगथलग राष्ट्रवादी धार अपनाएपनि ऊ संसारको एकदमै शक्तिशाली देश रहिरहन्छ । तर यसले पश्चिमी देशको सुरक्षा वा खुल्ला व्यापार र विश्वव्यापीकरणमा आधारित विश्व राजनीतिको सुरक्षाको ग्यारेन्टी दिँदैन ।
लेखक जोस्का फिसर 


अबको प्रश्न भनेको अमेरिकी नीति कति छिटो परिवर्तन हुन्छ र कत्तिको आमूल परिवर्तन हुन्छ भन्ने हो । ट्रम्पले १२ देश सम्मिलित पराप्रशान्तीय साझेदारी (ट्रान्स पेसिफिक पार्टनरशिप) लाई भंग गर्ने प्रतिज्ञा गरिसकेका छन् । ट्रम्पले बुझेपनि नबुझेपनि यसबाट चीनलाई फाइदा पुग्छ । दक्षिण चीन सागर (साउथ चाइना सी)मा अमेरिकी संलग्नता घटाउँदा पनि चीनलाई फाइदा पुग्छ । चीन छिट्टै नै विश्वव्यापी खुल्ला व्यापारको नयाँ प्रत्याभूतिकर्ता हुनसक्छ अनि मौसम परिवर्तनको सामना गर्ने विश्वव्यापी नेता पनि हुन सक्छ ।

सिरिया युद्धका सम्बन्धमा कुरा गर्दा ट्रम्पले त्यो तहसनहस भएको देशलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानलाई सुम्पिन सक्छन् । व्यावहारिक रूपमा भन्दा यसले मध्यपूर्वको शक्ति सन्तुलन परिवर्तन गरिदिन्छ । यसले त्यस क्षेत्रमै गम्भीर परिणाम निम्त्याउँछ । नैतिक रूपमा भन्नुपर्दा सिरियाली विपक्षीप्रतिको यो क्रूर धोका हुनेछ भने सिरियाली राष्ट्रपति बशर अल असदलाई वरदान हुनेछ ।

अमेरिकाका विषयमा ट्रम्पले चाल्ने नयाँ कदमको झलक हामीले पाइसकेका छौं । ट्रम्पले अमेरिकी कंग्रेसमा कति विरोधको सामना गर्छन् र उनलाई मत नदिने ठूलो संख्याका अमेरिकीले उनलाई कत्तिको पछि हटाउँछन् भन्ने कुरामा भविष्य आधारित रहनेछ ।

तर हामीले कुनै भ्रम नपाले हुन्छ । रणनीतिक रूपमा अमेरिकाको स्थान लिन युरोप कमजोर र विभाजित छ अनि अमेरिकाको नेतृत्वविना पश्चिम बाँच्न सक्दैन । त्यसैले अहिले सबैले पश्चिम भनी चिन्ने विश्व हाम्रै आँखाअगाडि पतन हुने सुनिश्चित छ ।  अब यसपछि के ? चीनले अमेरिकाको स्थान लिने पक्का छ । अनि युरोपमा राष्ट्रवाद फेरि जाग्न थालेको छ र समय बित्दै जाँदा राष्ट्रवादका राक्षसहरूले युरोप र संसारलाई नै आक्रान्त पार्नेछन् ।

(जर्मनीका पूर्व विदेशमन्त्री तथा भाइस चान्सलर जोस्का फिशरले प्रोजेक्ट सिन्डिकेटमा छापेको लेख ‘गूडबाई टु द वेस्ट’को अनुवाद) अनुवादक : विन्देश दहाल , ०, ० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell