ntc

आलेख

आज वैदिक नयाँ वर्ष, के छ यसको महत्व ?

शुक्लपक्षको प्रतिपदा पारेर वैदिक धर्मका अनुयायीहरू आज (बुधवार) नयाँ वर्ष मनाउँदैछन् । वैदिक पात्रोअनुसार संवत् ५०८२ लागेको हो । वैदिक कालगणना चान्द्रमानमा आधारित भएकाले नयाँ वर्ष ठ्याक्कै यही मितिमा पर्छ भन्ने हँुदैन । सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन अर्थात् पुस ७ गते शुक्लपक्षको कुनै तिथि परेको भए त्यसै पक्षको प्रतिपदामा नयाँ वर्ष लाग्छ भन्नुहुन्छ, वेदाङ्ग ज्योतिषका विज्ञ तथा वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन ।

कृष्णपक्षको नवमी र त्यसभन्दा अघिका तिथि भए त्यस (कृष्णपक्ष) भन्दा अघिल्लो शुक्लपक्षको प्रतिपदामा र दशमीदेखि पछाडिका तिथि भए आउने शुक्ल प्रतिपदामा वैदिक नयाँ वर्ष शुरू हुन्छ । वैदिक नववर्षारम्भको दिन नै वैदिक सौरचान्द्र उदगयन (उत्तरायण), शिशिर ऋतु र तपोमासको अथवा आर्तव माघमासको शुरूआत हुन्छ । प्रयोग हुँदै आएको पात्रोको विवरणमा ‘दर्शश्राद्ध’ लेखिएको दिनको भोलिपल्ट नयाँ महिना शुरू हुन्छ ।
vedic_calendar
तप, तपस्य, मधु, माधव, शुक्र, शुचि, नभ, नभस्य, इष, उर्ज, सह र सहस्य गरी वैदिक महिना पनि बाह्रैवटा हुन्छन् । वैदिक महिना र वर्ष ऋतुबद्ध मानिन्छन् । एक महिनामा शुक्ल र कृष्ण गरी दुई पक्ष हुन्छन् । शुक्लपक्षमा प्रतिपदादेखि पूर्णिमा र कृष्णपक्षमा प्रतिपदादेखि औंसीसम्मका १५÷१५ तिथि हुन्छन् । कौण्डिन्न्यायनका अनुसार वैदिक तिथि अहोरात्रात्मक हुने हुनाले चतुर्दशीबाहेक अरू तिथि टुट्दैनन् । एक वर्षमा बढीमा ६ वटा चतुर्दशी मात्रै टुट्छन् ।

यो संवत् अनुसार पाँच वर्षको एक युग हुन्छ । क्रमशः संवत्सर, परिवत्सर, इदावत्सर, इद्वत्सर र वत्सर नामका पाँच वर्ष दोहोरिरहन्छन् । यो संवत् कुनै वर्ष शकसंवत् अनुसारको मार्गशीर्ष शुक्ल प्रतिपदा र कुनै वर्ष पौषशुक्ल प्रतिपदादेखि प्रारम्भ हुन्छ । यस वर्ष मार्गशीर्ष शुक्ल प्रतिपदाबाट शुरू भएको छ । चल्तीको मङ्सिर वा पुस परे पनि यस संवत्को शुरूआतलाई माघमासारम्भ भनिन्छ । ६ वटै ऋतुहरू रहेको यो संवत्को प्रारम्भमा शिशिर ऋतु पर्छ ।

वैदिक पात्रोअनुसार गणना गर्दा अहिले चलेको जस्तो तिथि टुट्ने वा बिहान एउटा बेलुकी एउटा र अर्को दिन सूर्योदय नहुँदै अर्को लागिसक्ने हुँदैन । तिथिहरू अहोरात्रात्मक अर्थात् सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि रहन्छन् । तर वर्षमा बढीमा ६ वटा चतुर्दशी टुट्ने वैदिक तिथिपत्र निर्माणकर्ताहरूको भनाई छ । वैदिक कालगणनालाई बेवास्ता गरी अर्वाचीन ज्योतिषका आधारमा चल्ने गरेकाले चाडपर्व मान्ने समय पनि परिवर्तन भइसकेको बताइन्छ ।

यसैगरी वैदिक परम्परामा धार्मिक कार्यको अनुष्ठान सौरमान सापेक्ष चान्द्रमानका आधारमा गर्नुपर्ने विधान छ । त्यसैले वर्षाकालको प्रारम्भ हुनेबित्तिकै ‘पानी परेर वनजङ्गलमा औषधी (वनस्पति) उम्रिन थालेपछिको पहिलो पूर्णिमा’ मा गर्नुपर्ने पर्व उपाकर्म (जनैपूर्णिमा) लगभग वर्षाको अन्त्यतिर मनाउन थालिएको बताउँछन्, वैदिक कालगणनाका अध्येताहरू ।

वैदिक कालगणनामा नक्षत्रको ठूलो महत्त्व छ । कृत्तिकादेखि भरणीसम्मका २७ वटा नक्षत्र नै विभिन्न कार्यका लागि गणना गरिन्छन् । नामकरणको लागि नक्षत्र देवताको प्रयोजन बताइएको छ । विवाह उत्तरायणको शुक्लपक्ष पूर्वाह्नमा, व्रतबन्ध उत्तरायणको शुभतिथिमा, उपाकर्म अर्थात् वेदाध्ययनको नयाँ सत्रको आरम्भ गर्ने पर्व नभोमासको पूर्णिमामा मनाउने विधान छ । शुभकर्मको लागि शुभ नक्षत्रहरूको विधान बताइएको छ । एक वर्षदेखि अर्को वर्ष शरू हुँदासम्म १३ चान्द्रमास प—यो भने उत्तरायण वा दक्षिणायनको अन्त्यमा अयनको सातौं अमान्त चान्द्रमासकै रूपमा अधिकमास पर्दछ ।

वैदिक कालगणनामा क्षयमास पर्दैन । वैदिक पात्रोको अनुसरण गर्नेहरूले औंसी र पूर्णिमा तिथिलार्ई विशेष महत्त्व दिन्छन् । पूर्णिमा देवकार्यका लागि महत्वपूर्ण हुन्छ भने औंसी पितृहरूको उद्देश्यका लागि ।

नेपालका कतिपय जातजातिले मनाउने संवत्मा पनि वैदिक परम्परालाई आधार मानेको पाइने वैदिक कालगणनाका अध्येताहरू बताउँछन् । नेपालसंवत् पनि वैदिक कालगणनाबाटै प्रभावित भएको पाइन्छ । कृष्णपक्षको प्रतिपदालाई आधार मानिएको शालिवाहन शाकेको गणनाविपरीत वैदिक नयाँ वर्ष शुक्लपक्षको प्रतिपदामा शुरू हुन्छ । यसैगरी मङ्गोल समुदायको ल्होसार र थारू समुदायले मनाउने माघी पर्वले पनि वेदको उत्तरायण लाग्दा माघबाट नयाँ वर्ष शुरू हुने मान्यतालाई अङ्गीकार गरेको पाइन्छ ।

त्यति मात्र होइन प्राचीनकालमा संसारका धेरै भागमा उत्तरायण लाग्दा नयाँ वर्ष मान्ने चलन रहेको थियो । आजभोलिको ग्रेगोरियन क्यालेन्डरले जनवरी १ लाई नयाँ वर्ष मान्नुमा पनि यही कारण देखिन्छ । तर गणनाको गडबडीले गर्दा सौरमानले वास्तविक उत्तरायण लाग्ने दिन पुस ७ गते सौर नयाँ वर्षको आरम्भ हुनुपर्नेमा १० दिन पछाडि पुस १७ गते पुगेको छ ।

भारतमा पहिले नै हराएको भएपनि नेपालमा लिच्छविकालदेखि मल्लकालमा (सोह्रौं शताब्दीसम्म) पनि वैदिक कालगणनापद्धति संरक्षित भएको र व्यवहारमा रहेको कुरा काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा प्राप्त धेरै शिलालेखहरूमा पाइएको छ । अहिले पनि काठमाडौं उपत्यकाका परम्परागत मच्छिन्द्रनाथको रथयात्रालगायत पर्वहरूको निर्धारणमा वैदिक कालगणनाको विचार गर्ने गरिएको पाइन्छ ।

वैदिक कालगणनाका सिद्धान्तहरू बताउने आधिकारिक ग्रन्थ वेदाङ्ग ज्योतिष हो । यो ग्रन्थ आजभन्दा लगभग चौंतीस सय वर्षअघि लगध मुनिले बनाएका हुन् । शुक्ल यजुर्वेदीहरूको परम्पराबाट आएको ४४ श्लोकयुक्त वेदाङ्गज्योतिषको स्वाद्ध्यायशाला कुटुम्बका शिवराज आचार्यद्वारा विस्तृत व्याख्या गरिएको र ज्योतिष विषयका प्रश्नहरूको विवेचना गरिएको पुस्तक पनि वाराणसीबाट प्रकाशित छ । नेपालमा ‘स्वाद्ध्यायशाला’ले सात वर्षदेखि ‘वैदिक–तिथिपत्रम्’का नामले वैदिक पात्रो प्रकाशनमा ल्याइरहेको छ ।

तस्वीर– प्रमोदवर्धन कौण्डिन्न्यायन
शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam