Nic Asia
Tata /sipradi
Sarbottam Cement

आलेख

...त्यो घटना नभएको भए नेपाल दक्षिण कोरिया जस्तै विकसित भइसक्थ्यो

सुशील पन्त

समाचार टिप्पणी

काठमाडौं, १६ पुस – नेपालका पहिलो जन–निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई १ पौष २०१७ मा अपदस्थ गर्नुभन्दा केही दिन पहिले ‘श्री ५ ११’ र ‘प्रधानमन्त्री ११’ टोलीबीच तत्कालीन राष्ट्रिय रंगशाला (दशरथ रंगशाला) मा फूटबल खेल भएको थियो, जहाँ बीपीको टोलीले २-१ गोलअन्तरको जीत हासिल गरेको थियो ।


बीपीसँगको व्यक्तिगत टकरावको प्रतिशोध लिन त्यो एउटा पूरक घटना जस्तो हुन गयो, राजा महेन्द्रलाई । राजालाई प्रधानमन्त्रीविरुद्ध उक्साउनेहरूले बीपीले जानी—जानी महेन्द्रको खुट्टामा हानेको भनेर मिथ्या आरोप लगाए । महेन्द्रसँग केही व्यक्तिगत मतभिन्नता रहेको बीपी कोइरालाका आत्मवृत्तान्त लगायतका कृति पढ्दा अनुमान गर्न सकिन्छ ।

त्यो कालो दिन
भनिन्छ, बीपी सरकारको लोकप्रियताका कारण दरबारलाई औडाहा भएको थियो, त्यसैक्रममा महेन्द्रले जननिर्वाचित संसद समेत भंग गरेर बहालवाला प्रधानमन्त्रीलाई थुनामा हाले । नेपाली इतिहासको आधुनिक कालखण्डमा पौष १ को घटनालाई एउटा कडीको रूपमा हेर्ने पनि चलन छ ।

इतिहासका समीक्षक र राजनीतिक विश्लेषकहरूको दृष्टिकोणमा त्यही दिन नेपालको दुर्भाग्य शुरू भयो, राष्ट्रियता कमजोर भयो र देश अस्थिर हुँदै गयो । नेकपा एमालेका नेता एवं पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारी नेपाली जनताका अधिकार खोसिएको पौष १ गतेको त्यस घटनालाई कालो दिनका रूपमा स्मरण गर्छन् ।

कतिपयले भने शाहवंशीय राजाहरूमध्ये महेन्द्रलाई अति दूरदर्शी राजाको रूपमा प्रस्तुत गर्ने गर्दछन् । महेन्द्रकै पालामा नेपालमा पूर्व पश्चिम राजमार्ग (हाल महेन्द्र राजमार्ग) को निर्माण शुरू भयो, उत्तरतर्फ कोदारी राजमार्ग खुल्यो । सरकारी स्वामित्वमा उद्योग र कारखानाहरू भकाभक खुल्न थाले । वीरगञ्ज चिनी कारखाना, वीरगञ्जमै कृषिऔजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी छालाजुत्ता कारखाना यस सन्दर्भका दृष्टान्त हुन् । त्यसबखत नेपाल धान निर्यात समेत गर्नसक्ने मुलुक थियो । सबभन्दा बढी त राष्ट्रियताको सन्दर्भमा भारतसँग उनले लिएको अडानको चर्चा अहिलेसम्म गरिन्छ ।

एमाले नेता अधिकारी महेन्द्र राजमार्ग बनाउन र कोदारी राजमार्ग मार्फत चीनसँगको सडक सम्पर्क जोड्नमा महेन्द्रको योगदान रहेको कुरा भने स्वीकर गर्छन् ।

‘दूरदर्शी राजा’ र कांग्रेसीवृत्तमा ‘महामानव’को संज्ञा पाएका अर्का दूरदृष्टि राजनेता बीपी कोइराला किन मिल्न सकेनन् त ? राष्ट्रियता र राष्ट्रहितप्रति वफादार रहेका यी दुईजना किन मिलेर बस्न सकेनन् ? यही हो रहस्यको विषय ।

राष्ट्रियताप्रति बीपीको प्रतिबद्धता कति थियो भने आफैंलाई जेल हाल्ने र निर्वासनमा जान बाध्य पार्ने राजसंस्थासँग आफ्नो ‘घाँटी जोडिएको’ भन्दै २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किए, यद्यपि त्यतिबेला राजगद्दीमा वीरेन्द्र आसीन भइसकेका थिए । राष्ट्रियताका यी दुई हिमायतीलाई मिल्न नदिने तत्व को थियो त ? अहिले पनि रहस्य पूरै खोतलिएको छैन । विश्लेषकहरू बीपी कोइराला र राजा महेन्द्र एकै कालखण्डका दुई दूरदर्शी पात्र हुनुपनि देशका लागि विडम्बना रहेको बताउँछन् ।

स्वीडेनको स्कटहोम विश्वविद्यायलमा कानूनका प्राध्यापक डा. कटक मल्ल राजा महेन्द्रले बीपी कोइरालालाई जेल नहालेर संसदीय व्यवस्थालाई अगाडि बढ्न दिएको भए नेपालको परिस्थिति अहिले भन्दा भिन्न, सुदृढ र विकसित भइसक्थ्यो भनी विश्लेषण गर्छन् । ‘त्यसको परिणाम के हुन्थ्यो होला ? शायद हामी अहिले जुन परिस्थितिमा छौं, त्यसभन्दा फरक र बलियो परिवेशमा हुन्थ्यौं । मलाई जहाँसम्म लाग्छ, यो देश बन्न नसक्नुको मुख्य कारण महेन्द्र र बीपीको टकराव नै हो,’ डा. मल्लको विश्लेषण छ ।

परचक्रीको उक्साहट
बीपीका अनुयायी नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाट पौष १ को घटना मुलुकको नयाँ युगमा प्रवेश गर्ने आधार भत्केको दिनका रूपमा सम्झना गर्छन् । ‘परम्परागत शक्ति राजतन्त्र र नेपालको आधुनिक शक्ति (नेपाली कांग्रेस)बीचको समझदारी बिगार्ने तत्वका कारणले नै असमझदारी बढ्यो’ रानाभाटको कथन छ । ‘दुईजनाको मिल्दोजुल्दो सोच बुझेर परचक्रीहरूले राजालाई उक्साए, दरबार पनि त्यो षड्यन्त्रमा फँस्यो ।’

रानाभाट बीपी कोइरालालाई पृथ्वीनारायण शाहपछिको नेपालको दूरदर्शी व्यक्तित्व ठान्छन् । पृथ्वीनारायणले भौगोलिक एकीकरण गरेका र बीपीले जनताको भावनाको एकीकरण गरेका रानाभाटको तर्क छ । ‘सत्र सालमा त्यस्तो दुर्भाग्यपूर्ण घटना नभएको भए यतिञ्जेलमा नेपालले धेरै प्रगति गरिसकेको हुन्थ्यो’ रानाभाट भन्छन् । ‘सोही समय प्रस्थानविन्दु बनाएका हामीसरहका अन्य देशहरू धेरै विकसित मुलुकको श्रेणीमा गइसके, हाम्रो भने यस्तो दुर्गति भयो ।’

सत्र सालको घटना आउनुमा सातसालदेखि तीनवटा शक्ति – परंपरागत शक्ति (राजतन्त्र) जनशक्ति (नेपाली कांग्रेस) बाह्य शक्ति (भारत) को त्रिपक्षीय स्वार्थ बाझेको रानाभाटको विश्लेषण छ । चर्चित प्रसङ्ग ०१७ सालको भएतापनि ०७३ सालमा आइपुग्दा समेत नेपाल त्यो रोगबाट मुक्त नभएको रानाभाट बताउँछन् । भन्छन् : ‘हामीले अहिलेसम्म पनि आन्तरिक मामिलामा आत्मनिर्णयको अधिकार स्थापित गराउन सकेका छैनौं ।’

व्यक्तिगत टकराव पनि कारक

२०१७ सालको घटना हुनुमा महेन्द्र–बीपी व्यक्तित्वको टकराव पनि कारक रहेको कतिपय विश्लेषणप्रति पनि रानाभाट सहमत छन् । ‘एकातिर जनताको साथ मलाई छ भन्ने बीपीको आत्मविश्वास थियो र अर्कोतर्फ परम्परागत शक्ति र पृथ्वीनारायणको सन्तान पो हुँ भन्ने महेन्द्रको घमण्ड सत्र सालको घटना हुनुको एउटा कारण हुनसक्छ,’ रानाभाट भन्छन् ।

एमाले नेता अधिकारी राणाशाहीद्वारा खोसिएको राजगद्दी आफ्ता पिता त्रिभुवनलाई फिर्ता गराइदिने नेपाली जनताकै विरुद्धमा राजा महेन्द्रले घात गरेको बताउँछन् । ‘जुन राजालाई जनताले मुक्त गरे उनैका छोराले जनताको अधिकार खोसेर हुकुमी तानशाही व्यवस्था लागू गरे । झण्डै ३० वर्ष जनतालाई बोल्ने-लेख्ने समेतका नागरिक अधिकारबाट वञ्चित गरे,’ अधिकारीको तर्क छ ।

पटक—पटक देशको अर्थमन्त्री बनिसकेका अधिकारी पौष १ गतेको घटनाले नै देशलाई दशकौंपछि धकेल्ने काम गरेको आरोप लगाउँछन् । ‘त्यसबेला आर्थिक हिसाबले दक्षिण कोरिया र नेपाल एउटै खुड्किलोमा थिए, आज दक्षिण कोरिया कहाँ छ, हामी कहाँ छौ जगजाहेर छ,’ अधिकारी थप्छन् ।

महेन्द्र–बीपी मिल्ने काल्पनिक कुरा
एमाले नेता अधिकारी भने बीपी र महेन्द्र मिल्ने कुरा अति काल्पनिक भएको बताउँछन् । ‘कहाँ तानाशाही व्यवस्था चाहने महेन्द्र, कहाँ जनताको अधिकार स्थापित गर्न त्यस प्रतिकूल समयमा रैतीलाई नागरिक अधिकारसम्पन्न बनाउन संघर्ष गरेका बीपी ! तुलनै हुन सक्दैन ।’ नातामा बीपीका भान्जा पर्ने वामपन्थी नेता अधिकारीको विश्लेषण छ ।

महेन्द्रले गरेको त्यस गल्तीका कारण नेपालको पचास वर्ष खेर गएको उनको मूल्याङ्कन छ । ‘त्यो अँध्यारो युग थियो । म त्यतिबेला १९ वर्षको ठिटो थिएँ, त्यसको खिलाफ लडेको मान्छे त्यो व्यवस्था पल्टाउदा बूढो भइसकें ।’

(प्रस्तुत सामग्री पहिलोपटक पुस १, २०७३ मा प्रकाशित भएको थियो ।) शनिवार, पौष १६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell