Nic Asia
cocacola

आलेख

माओवादीमार्फत इसाई चलखेल

पुस्तक चर्चा
बडादिन (क्रिसमस) आउन लागेको बेला इसाई जगतले नेपालबाट एक ‘सु–समाचार’ प्राप्त गरेको छ । त्यो के भने धर्मपरिवर्तन गर्ने अवैध काममा लागेको भनी मुद्दा खेपिरहेका आठजना (एक महिलासमेत) माथिको अभियोग अदालतले खारेज गरिदिएको छ । अर्थात् तिनले सफाई पाएका छन् । तिनले धर्मप्रसार सम्बन्धी पुस्तकहरू एक त्यस्तो विद्यालयमा बाँडेका थिए जहाँ गैर–इसाई बालबालिका पनि पढ्थे ।Bible_1
‘क्रिस्चियानिटी टुडे’ समेतका प्रकाशनमा अदालती निर्णयलाई आफ्नो पक्षमा भएको भन्दै खुशी प्रकट गरिएको छ । तर नेपालका ताजा घटना विकासबाट पश्चिमी देशका इसाई धर्मप्रचारकहरूलाई दुःखी पनि गराएको छ । त्यो किनभने ‘धर्मनिरपेक्ष’ भनिएको संविधानमा धर्मपरिवर्तनलाई अवैध कार्य मात्र होइन, दण्डनीय अपराधको कोटिमा राखिएको छ । पश्चिमाहरूको विचारमा यो अन्याय हो । धार्मिक स्वतन्त्रता मात्र पर्याप्त हुँदैन । तर समग्रमा इसाई (क्रिस्चियन) धर्म प्रचारकहरू नेपालमा आफ्नो धर्मको तीव्र विकास भएकोमा भने प्रसन्न छन् ।

इसाई मतसम्बन्धी प्रकाशन ‘वर्ल्ड रिलिजन न्युज' (१२ डिसेम्बर २०१६) मा उद्धृत आँकडा अनुसार, अहिले नेपालमा सात लाख मानिस क्रिस्चियन भइसके । प्रकाशन लेख्छ : ३० वर्षअघि नेपालमा क्रिस्चियन दुर्लभ थिए । छर्लङ्ग छ, नेपालमा इसाई धर्म (क्रिस्चियानिटी) को विस्तार यही ३० वर्षको अवधिमा भएको हो ।

जग–जाहेर छ, यसै कालखण्डमा नेपालमा ४६ सालको राजनीतिक परिवर्तन आयो, यसै समयमा माओवादीले जनयुद्धको नामबाट हजारौं नेपालीको हत्या गरे–गराए, यसै क्रममा २०६३ सालको आन्दोलन भयो र यही सिलसिलामा राजतन्त्रलाई पाखा लगाइयो । भन्नु परेन, पश्चिमा धर्मप्रचारकहरूले यसै अवधिको सदुपयोग गरे र लाखौं लाटा-सोझा नेपालीलाई आफ्नै सनातन धर्म, बौद्ध धर्म, किराँत धर्मका बागी बनाए । तिनको धार्मिक आस्थालाई खण्डित तुल्याए र ‘प्रभु येशु’ का शरणमा पु—याए । र, त्यसको लागि धर्म नमान्ने नास्तिक नेताहरूलाई सकेसम्म उपयोग गरे – आर्थिक सहायताको माध्यमबाट ।

यी र यस्तै विषय र बुँदा समेटिएको पुस्तक हो ‘बाइबल र माओवाद’ । अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाले मिलेर लेख्नुभएको यस पुस्तकलाई माथि चर्चा गरिएको इसाई दाबी र आँकडाको सन्दर्भमा पढ्नु उपयुक्त हुन्छ ।

कुरो एउटा बौद्धमार्गी तामाङ वा हिन्दू थापा थरको मानिसलाई धर्मच्यूत गराई इसाई तुल्याउने गलत कार्यसित मात्र गाँसिएको छैन । संगठित तर गुपचुप तवरले चलाइएको धर्मान्तरणको यस अभियानले वैदिक सनातन, बौद्ध अथवा किराँत धर्म मात्र क्षय गराउने लक्ष्य राखेको छैन, यसले त समस्त पूर्वीय दर्शन र संस्कृतिमाथि धावा बोल्ने काम गरेको छ । र, लेखकद्वयको चासो र चिन्ता यसैमा देखिन्छ । तसर्थ यसै सेरोफेरोमा गरिएका अध्ययन, अनुसन्धानको क्रममा भेटिएका घटना र प्रमाण प्रस्तुत गरिनु सर्वथा स्वाभाविक भयो ।


कृति : बाइबल र माओवाद
लेखकः अर्जुन ज्ञवाली/पेशलकुमार निरौला
प्रकाशकः विश्व हिन्दू महासंघ तथा विश्व बौद्ध सम्मेलन
संस्करणः चौथो, २०७३ असोज
पृष्ठसंख्याः २७२
मूल्यः रु. ३००/– संस्थागत रु. ५००/-

२०७० साल असोजमा पहिलो संस्करण निस्केको यस पुस्तकको दोस्रो संस्करणमा दिवंगत राजनीतिज्ञ राजेश्वर देवकोटाको मन्तव्य समावेश गरिएको छ । त्यसमा उहाँले इसाई धर्मविस्तारको कुटिल चाल सफल गराउनमा माओवादीको देनको चर्चा गर्दै लेख्नुभएको छ : “तर खुद कथित माओवादको भविष्य तुहिँदै जान थालेको अहिले स्पष्ट भइहाल्यो ।''

चर्चित पुस्तक इसाई चलखेलमा माओवादी भूमिकातर्फ केन्द्रित छ तापनि नेपालमा धर्मान्तरणको अभियानमा मतियार र मद्दतगारको भूमिकासहित राजनीतिक पार्टीका कथित नेताहरू पनि रहँदै आएको जस्ता अन्य पक्षलाई पनि खोतलिएको छ ।

हो, सन्त नेता कृष्णप्रसाद भट्टराई हिन्दूराष्ट्रको पक्षमा हुनुहुन्थ्यो तर नेपाली काँग्रेसका कतिपय सदस्य परधर्मीलाई सघाउन सक्रिय रहे, रहेकै छन् ।Bible2






वेद संसारका सबै धर्मग्रन्थहरूमा जेठो धर्मग्रन्थ हो । चार हजार वर्ष पहिलेको ग्रन्थ हो यो भनेर पश्चिमाहरूले नै स्वीकार गरेका छन् ।

येशु, मोहम्मदका सन्दर्भ निकै पछि आएका हुन् । हो, जेठो ग्रन्थ वेदले समयको अन्तरालमा अनेका हावा, हुण्डरी बेहोरेको छ तर यसलाई मास्न, समाप्त पार्न कसैले सकेनन् । छिमेकको भारतमा मुगल (मुसलमान) र अंग्रेजहरूले लामो समय शासन गर्दा पनि वेदमा आधारित धर्म, संस्कृति, दर्शन र मान्यता मास्न सकेनन् । नेपालले त ‘असली हिन्दुस्थान’ को रूपमा आफ्नो परिचय जोगाइरह्यो ।

अहिले इसाई धर्म प्रचारकहरूको अभियानले गहिरो जरो भएको सतिसालको रुखजस्तै वैदिक सनातन धर्मलाई हल्लाउन सक्दैन । हो, तिनको दुष्प्रयास भने अरू केही समय चालू रहला । तर हिन्दू–बौद्ध जागरणले गर्न थालेका खबरदारीबाट तिनका आगामी दिन सहज नहोलान् ।

वैदिक सनातन धर्मले अन्य धर्मको अस्तित्व स्वीकार गर्दै तिनको सम्मान समेत गर्दछ । नेपाल त्यसको दृष्टान्त हो । तर इसाई र मुस्लिम धर्मका व्याख्याताहरू अन्य धर्मको अस्तित्व नै स्वीकार गर्दैनन् । इसाईहरू संसारमा आफ्नो बाहेक अरू धर्म नै छैन भन्छन् भने मुसलमानको पनि उस्तै अवधारणा छ ।

इसाई र मुसलमान समुदायका मानिसले धर्मपरिवर्तन गरे वा नास्तिक हुन खोजे भने त्यस्तालाई मृत्युदण्ड तोकिन्छ । ‘फत्वा’ जारी गर्नेजस्तो चलन वैदिक सनातन धर्ममा हुँदैन । उदार – अनुदारको अनुहार यस्तै कुराबाट चिनिन्छ ।

धर्म संस्कृतिको परिप्रेक्ष्यमा नेपालको सम–सामयिक स्थिति बुझ्न, बुझाउन चर्चित पुस्तक निकै उपयोगी हुने देखिन्छ ।

ध्रुवहरि अधिकारी
शनिवार, पौष २, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti