Nic Asia
cocacola

आलेख

अमेरिकी चुनावको पाठ : मतदातालाई कहिल्यै तुच्छ नठान्नू

माइकल जे बोस्किन

डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि चुनावी परिणामको चिरफार शृंखला नै शुरु भएका छन् । कसैले ट्रम्पको विजयलाई पश्चिममा चलेको पपुलिजम (लोकरञ्जनवाद) को लहरसँग जोडेर हेरेका छन् । अझ विशेषगरी युरोपमा बेलायतले युरोपेली संघ छोड्नका लागि मत दिएको अवस्थाले पनि लोकरञ्जनवाद मौलाएको विश्लेषण हुने गरेको छ । अरूले चाहिँ ट्रम्पप्रतिको आकर्षण उनी राजनीतिक बाहिरिया भएकाले अनि उनी राजनीतिक प्रणालीलाई उथलपुथल पार्न समर्थ भएकाले गर्दा बढेको विश्लेषण गर्छन् । यी व्याख्याहरूमा केही तुक होलान्, विशेषगरी पछिल्लो विश्लेषणमा । तर कथाको अर्को पाटो पनि छ ।


अमेरिकी निर्वाचन शुरु हुनुअघि मूलधारका मिडिया, विज्ञहरू र निर्वाचनवेत्ताहरूले ट्रम्पको विजय लगभग असम्भव रहेको कुरा दोहो-याउँदै आइरहेका थिए । उनीहरूले प्रविधि र विश्वव्यापीकरण (ग्लोबलाइजेसन) का कारण महत्वपूर्ण राज्यमा कामकाजी वर्गका परिवारले महसूस गरिरहेको आर्थिक तनावको हदलाई पहिचान गर्नै सकेनन् ।
तर मैले निर्वाचनको दुई महिनाअघि बताएअनुसार यो वर्गका मानिसको आक्रोश विशाल थियो र उनीहरू आफूलाई बेवास्ता गरिएको भन्ने सुदृढ धारणा राख्थे । अनि ट्रम्पले यही समूहलाई दृश्यमान बनाए । त्यसैले मैले ट्रम्पको आश्चर्यजनक विजयको सम्भावना देखाएको थिएँ जबकि उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले सबैखाले पूर्वानुमानमा ट्रम्पलाई पछि पारिरहेकी थिइन् ।

हुन पनि ट्रम्पले दशकौंदेखि रिपब्लिकन पार्टीहरूले नजितेका राज्य (विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिया) साँघुरो अन्तरले जिते भने ओहायोजस्तो तीव्र प्रतिस्पर्धा हुने राज्यमा ठूलो अन्तरको जीत हासिल गरे ।

खासमा भन्ने हो भने रिपब्लिकनहरूले विशाल विजय प्राप्त गरे । उनीहरूले सिनेटमाथि नियन्त्रण कायम गरे भने हाउसमा पनि सोचेभन्दा कम सिट गुमाए । अझ त्यसमाथि पनि रिपब्लिकनहरूले ३३ जना गभर्नर पाएका छन् भने डेमोक्रेटहरूको भागमा जम्मा १६ गभर्नर छन् । अनि राज्यका विधानसभाहरूमा उनीहरूले बहुमत झन् बढाएका छन् । रिपब्लिकन पार्टीमा भित्रभित्रै विस्फोट हुनसक्नेदेखि लिएर डेमोक्रेटहरूको अस्तव्यस्तता र अँध्यारो भविष्यसम्मका चर्चा चल्न थालेका छन् ।

निर्वाचनमा विजय पाएदेखि ट्रम्पले छिट्टै नै आफ्नो स्थिति मजबुत बनाइसकेका छन् । चुनावी अभियानका बेलामा ट्रम्पको विरोध गर्ने रिपब्लिकनहरू समेत अहिले उनको समर्थनमा जुटेका छन् । उता सरकारमा रहेका डेमोक्रेटहरू विशेषगरी राष्ट्रपति बाराक ओबामाले क्लिन्टनको हार स्वीकारलाई पछ्याउँदै ट्रम्पलाई नेतृत्वको अवसर दिनुपर्ने बताउन थालेका छन् ।

अमेरिकी चुनावको अनपेक्षित परिणाममा चारवटा शिक्षा लुकेका छन् जुन सबै विकसित लोकतान्त्रिक मुलुकको हकमा लागू हुन्छन् ।

पहिलो, विकासले पुनर्वितरणलाई पछि पार्छ । क्लिन्टनको आर्थिक नीति भनेको ओबामाको वामपन्थतिर ढल्किएको एजेन्डालाई विस्तार गर्ने थियो । यसो गर्दा यो नीति डेमोक्रेटिक प्राइमरीमा उनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सको समाजवाद जस्तै देखिन पुग्थ्यो । धनीहरूलाई उच्च कर लगाउने अनि करदाताको पैसामा निःशुल्क सेवा दिने उपायले असमानतालाई परास्त गर्न सक्छ भन्ने क्लिन्टनको तर्क थियो ।

यसको विपरीत ट्रम्पले देशमै रोजगारी र आयका विषयमा सन्देश दिए । मिडियाले उनका विवादास्पद भनाइलाई मात्रै महत्व दिएको भएपनि जनताले उनको आर्थिक सन्देशलाई अँगाले र उनलाई समर्थन गरे । जनताहरू सुखद भविष्यको आशा गर्छन् र त्यो आय बढाएर मात्र सम्भव छ, सरकारले सित्तैमा बाँडेका सुविधा दिएर होइन ।

दोस्रो शिक्षा भनेको मतदातालाई कहिलेपनि तुच्छ ठान्नु हुँदैन । शुरुदेखि नै क्लिन्टन सबैले रुचाएकी पात्र थिइनन् । चुनावी अभियानका दौरान, उदाहरणका लागि सन् २०१५ मा उनले एक भाषणमा महिलाको प्रजनन तथा अन्य अधिकारलाई सुरक्षित गर्नका लागि ‘गहिरोगरी बसेका सांस्कृतिक अवधारणा, धार्मिक विश्वास र संरचनागत पूर्वाग्रहलाई परिवर्तन गर्नुपर्ने’ बताइन् । यसो गर्दा उनले अति नै प्रगतिशील सामाजिक एजेन्डालाई अघि बढाउँदैछिन् भन्ने डर बलियो भयो ।

आफ्ना यिनै गल्तीलाई महसूस गरेपछि क्लिन्टनले ट्रम्पलाई अस्वीकार्य बनाउने अनि त्यसैको बलमा चुनाव जित्ने कोशिश गरिन् । तर उनले ट्रम्पका आधाजसो समर्थकहरू घृणास्पद भएको अनि उनीहरू जातिवादी, लैंगिक पक्षपाती, समलिंगीलाई मन नपराउने, विदेशीलाई मन नपराउने र मुसलमानलाई घृणा गर्ने भनी चित्रित गरिन् ।
यसले उनी र उनको पार्टी ट्रम्पलाई मत दिने मान्छे नैतिक रूपमा निन्दनीय र मूर्खसमेत ठान्छ भन्ने छाप मतदातामा प-यो । यस्ता अभिव्यक्तिले केही अनिर्णित मतदातालाई समेत क्लिन्टनका विरुद्ध मत दिन प्रेरित गरेको हुनुपर्छ ।

तेस्रो शिक्षा भनेको समाजमा तीव्र परिवर्तन सहन सक्ने क्षमता सीमित हुन्छ । प्राविधिक विकास र विश्वव्यापीकरण अनि सामाजिक र सांस्कृतिक परिवर्तन तीव्र गतिमा हुँदा मानिसहरूले त्यसलाई अँगाल्नै नसक्ने स्थिति आएमा त्यस्ता विकास पनि मन नपर्ने हुन जान्छन् । अमेरिकामा मात्र नभई अन्य देशका मतदाताहरू आतंकवाद र आप्रवासनका विषयमा गुनासो गर्छन् अनि माथि भनिएका तीव्र परिवर्तन पनि चित्त बुझाउँदैनन् ।

अमेरिकामा लागूऔषधको बढ्दो प्रयोग र राजनीतिक विशुद्धता (पोलिटिकल करेक्टनेस) को झिँझोलाग्दो तथा असहिष्णु प्रकारले जन्माएको चिन्ताले धेरैलाई परिवर्तन भनेको प्रगति हो भन्ने लागेन । लोकतान्त्रिक राजनीतिक प्रणालीहरूले यी संक्रमणलाई सहज बनाउने, प्रगतिले ल्याएका धक्कालाई सहने अनि निन्दा नगरिकन विभिन्न धारणा र मूल्यलाई स्वीकार गर्ने उपाय अपनाएनन् भने मतदाताहरूले दण्ड दिन्छन् ।

अन्तिम शिक्षा विचारधारात्मक प्रतिध्वनि (आइडियोलोजिकल इको च्याम्बर) सँग सम्बन्धित छ । हारले छटपटाएका क्लिन्टनका समर्थकहरूले आफूले चिनेजानेको कसैले पनि ट्रम्पलाई मत नदिएको भनी लगातार दाबी गर्नुले असाध्यै धेरै मान्छे सामाजिक, आर्थिक, सूचनामूलक, सांस्कृतिक र सञ्चारको आफ्नै संसार (बबल) मा बसेको देखिन्छ । (आफ्नै संसारमा रमाउने अरूको बारेमा थाहा नपाउने स्थिति)

राष्ट्रिय सञ्चारमाध्यमप्रतिको खस्किँदो विश्वास अनि इन्टरनेटमार्फत संवादको विस्तारले यस्तो संसार जन्माएको छ जहाँ मान्छेले पढ्ने समाचार सूचना दिनेभन्दा पनि भाइरल बनाउने उद्देश्यले सिर्जना गरिएका हुन्छन् । यसलाई समाचार भन्न सकिँदैन । अझ मान्छेले पाउने सूचना पनि प्रायः यसरी फिल्टर गरिएको हुन्छ जसका कारण उनीहरू आफ्नै विचारलाई प्रतिबिम्बित र शक्तिशाली बनाउने सामग्री मात्र पढेर बस्छन् ।

लेखक बोस्किन

यी विकासहरूले आफूभन्दा भिन्न दृष्टिकोण, मूल्यमान्यता वा आर्थिक रुचि भएका मानिससँग ज्ञानी र तार्किक छलफलमा संलग्न हुने व्यक्तिको क्षमतामा ह्रास ल्याउँछन् । ज्ञान बाँड्ने र तीव्र बहस गर्ने थलो हुनुपर्ने विश्वविद्यालयहरू पनि यस्तो छलफललाई दबाउन थालेका छन् । उदाहरणका लागि, उनीहरू कुनै एक समूहले मन नपराएको व्यक्तिलाई प्रवचन दिनका लागि निमन्त्रण गर्न समेत डराउँछन् । यस्ता बहसमा संलग्न नभएमा अनि मानिसहरूले असहज छलफलको साटो सुरक्षित स्थान छानेमा हाम्रो समाजका ठूला समस्यालाई समाधान गर्नका लागि सहमति खोज्ने अवसर हराउन पुग्छन् ।

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक माइकल जे बोस्किनले प्रोजेक्ट सिन्डिकेटमा छपाएको लेख ‘द लेसन्स अफ अमेरिकाज इलेक्सन’को नेपाली अनुवाद

अनुवादक : विन्देश दहाल आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti