Ruslan
Tata /sipradi
Sarbottam Cement

अग्रलेख

नेपाल–चीन संयुक्त सैनिक अभ्यास : यसकारण तर्सिनु पर्दैन भारत

आतङ्कवाद नियन्त्रण र विपद् व्यवस्थापनको परिप्रेक्ष्यमा विभिन्न देशहरूले आफ्ना सुरक्षा संयन्त्रहरूलाई संयुक्त अभ्यासहरूमा संलग्न गराउँछन् । यो प्रचलित अभ्यास हो ।

संयुक्त सैनिक अभ्यासका सिलसिलालाई यसै परिवेशमा हेरिनुपर्दछ । हालैका वर्षहरूमा नेपालले पनि भारत, अमेरिका समेतका देशका सैनिक टोलीहरूसित संयुक्त अभ्यास गरेका छन् ।

सीप र अनुभव सबैका लागि लाभदायक हुन्छ । नेपाल र चीनका सैनिक एकाईले माघको अन्त्यतिर गर्ने भनिएको यस्तै अभ्यासले दुवै पक्ष लाभान्वित हुनेछन् । खास गरेर पर्वतीय इलाकाहरूमा आइपर्ने चुनौतीको सामना गर्न यस्ता अभ्यासले नेपाल र चीन दुवै देशलाई सघाउ पु–याउने कुरा निश्चित छ ।

यो कुनै अन्य देश वा पक्षविरुद्ध जाने गतिविधि होइन, हुनै सक्दैन । र, नेपालको राजनीतिक भूगोल बुझेको चीनले आफ्नो दक्षिणी छिमेकीलाई अप्ठेरो पर्ने कार्ययोजना अघि सार्ने सम्भावना छैन ।

यसको पुष्टि केही दिनअघि मात्र चीनको मुखपत्र मानिने ‘पिपुल्स डेली’ अखबारको अङ्ग्रेजी संस्करण ‘ग्लोबल टाइम्स’ले एक टिप्पणी मार्फत दिइसकेको छ । यस वस्तुतथ्यउपर आँखा चिम्लेर दिल्लीका केही अखबार (र विद्युतीय सञ्चारमाध्यम) ले प्रस्तावित नेपाल–चीन संयुक्त सैनिक अभ्यासका बारे नकारात्मक सूचना, प्रतिक्रिया प्रवाहित गरिरहेका छन् ।

‘नेपाल–विज्ञ’ कहलिएका भारतीयमध्ये कसै–कसैले त नेपाल–चीन संयुक्त सैनिक अभ्यास जस्ता गतिविधिलाई सन् १९५० को नेपाल–भारत सन्धिले वर्जित नगरेपनि यसअघि नगरिएको हुँदा यस्तो अभ्यासले भारतमा चिन्ता बढाउँछ भन्ने आशय प्रकट गरेको देखियो ।

नेपाललाई आफ्नो करेसाबारी ठान्ने भारतको मानसिकता थोत्रो र असामयिक हो भन्ने तथ्य दिल्लीले जति छिटो बुझ्छ, उति जाती । यही वास्तविकता बुझाउने शब्दावली भएको सन्देश ‘ग्लोबल टाइम्स’ ले पनि दिएको छ ।

नेपालले स्वतन्त्र अस्तित्वको सुरक्षाका लागि भारत र चीन दुवैसित असल छिमेकीको सम्बन्ध राख्नुपर्छ । अर्को शब्दमा, दुई छिमेकीसितको सुसम्बन्ध नेपालको हितरक्षाको लागि हो; यही नै सर्वोपरि महत्वको विषय हो ।

छिमेकीका सुरक्षा चिन्ता, चासो त्यसै क्रममा हेरिने कुरा हुन् । परराष्ट्र विषयमा बेला–बेलामा चर्चामा आइरहने व्यक्तित्व स्वर्गीय यदुनाथ खनालले आफ्नो पुस्तकमा लेख्नुभएका दुईवटा बुँदा यहाँछेउ उल्लेख गर्नु सान्दर्भिक होला : (१) नेपालको क्रमशः भारत र चीनसितको सम्बन्धका संवेदनशील पक्षलाई नेपाल आफैंले बाहेक अरू कसैले सम्बोधन गरिदिन सक्दैन;  (२) भारत र चीन दुवै शक्तिशाली देश भएकाले नेपालसितको सम्बन्ध सञ्चालनमा ती देशमा वैकल्पिक नीतिहरू तय गरिएका हुन्छन् ।

प्राध्यापक खनालको यस खारिएको कथनले संकेत गरे झैं, नेपालले भारतसित मात्र असल छिमेकी सम्बन्ध कायम राखेर पुग्दैन; चीनसित पनि उत्तिकै सद्भावयुक्त सम्बन्ध कायम गर्नैपर्छ । अर्थात् भारतको चीनसित सामरिक अथवा अन्य प्रतिद्वन्द्विता छ भन्दैमा नेपालले चीनसितको आफ्नो सम्बन्धलाई कम आँक्न सक्दैन; मिल्दैन । नेपालले भारतलाई प्रसन्न राख्ने धुनमा आफ्नो हितमा आघात पुग्नेगरी चीनलाई चिढ्याउन सक्दैन । र, यसमा तत्कालको स्वार्थ हैन, दीर्घकालीन हित गाँसिएको छ ।

कदाचित् चीन नेपालका शासक–प्रशासकप्रति विश्वस्त रहेन भने बेइजिङले वैकल्पिक रणनीति प्रयोगमा ल्याउने जोखिम बढ्नेछ । त्यस्तो जोखिमको सामना गर्ने परिपक्व राजनीतिक नेतृत्व, कुशलता र स्रोत–साधनको अभावमा नेपालले अकल्पनीय संकट बेहोर्नुपर्ने हुनसक्छ । साथसाथै दक्षिण एसिया क्षेत्र नै प्रभावित हुनेगरी समस्याको आयाम बढ्नेछ । भारतले थप दायित्व काँध हाल्नुपर्ने अवस्था आउनेछ ।

तसर्थ सतही सोच र तात्तातो प्रतिक्रिया जनाउनेतिर भन्दा भारतको केन्द्रीय सरकारले गम्भीर भएर आफ्नो दीर्घकालीन शान्ति र सुव्यवस्थालाई प्राथमिकता दिनु बुद्धिमानी होला । आइतवार, पौष १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement