Nic Asia
cocacola

अग्रलेख

के एफ् एम् प्रसारणको दुरुपयोग सेनाबाट मात्र हुने हो ?

नेपाली सेना चर्चामा छ र यसपल्ट फ्रिक्वेन्सी मोडुलेसन (एफ् एम्) रेडियो सञ्चालनको सन्दर्भमा चर्चा बाक्लो भएको देखिन्छ ।


देशभित्र विपद् व्यवस्थापन र देशबाहिर शान्तिसेनाको भूमिकामा रहँदा नेपाली सेनाले प्रशंसा एवं सद्‌भाव आर्जन गर्दै आएको छ । सर्वसाधारण जनतासित दैनिक रूपले सम्पर्कमा आउने प्रहरीजस्तो निकाय यो होइन, तसर्थ सेनालाई सार्वजनिक बहस वा विवादमा आइरहने संगठित संयन्त्र मानिँदैन; हुनु पनि हुँदैन । तर बेला-बेलामा जङ्गी अड्डाका कतिपय कार्य तथा कार्यक्रम जनचासोका विषय हुन पुग्दछन् । किनभने मुलुकको प्रतिरक्षा गर्ने प्राथमिक औ मूल दायित्व भएको सेना अन्य (र त्यसमा पनि अतिरिक्त ) आय-आर्जनका परियोजनामा संलग्न भए को देखिएको छ ।

हेटौंडाको कपडा कारखाना सञ्चालन गरेर सेना र प्रहरीहरूको पोशाकमा देशलाई आत्मनिर्भर गराउने प्रयास सह्रनीलायक हो भने सेनाको जिम्मामा रहेका राजधानीको टुँडिखेल अनि त्यस वरिपरि का ठाउँमा जङ्गी अड्डा आफैंले, आफ्नो ढङ्गले खडा गरेका संरचनालाई भाडामा लगाई तिनलाई सस्तो मनोरञ्जनका कार्यक्रमस्थल बन्नदिने चलन भने आलोच्य हुन पुग्छ । यसबारे सेनाले पुनर्विचार गर्नैपर्छ ।

व्यापारले नाफामुखी सोच बनाउनु अपरिहार्य हुन्छ जसले आर्थिक अनियमितता का आधारहरू सिर्जना गर्ने जोखिम रहन्छ । र, सेना आफ्नो सर्वोपरि उत्तरदायित्वबाट विचलित हुनसक्छ । यसैकारण सैनिक नेतृत्वले सावधानी अपनाउनु पर्दछ भनिएको हो । भन्नु परोइन, करदाता जनताको यससम्बन्धी चिन्ताको उपेक्षा किमार्थ गरिनु हुँदैन ।

जहाँसम्म एफ् एम् रेडियो प्रसारणको चर्चा छ, सेनाले त्यसमा भने सञ्चारका केही माध्यमले  प्रवाहित गरेका तरङ्गबाट तर्सिनुपर्ने अवस्था छैन । नेपाली सेनाले आफ्ना नियमित  क्रियाकलापबारे जनसाधारणलाई जानकारी गराउने उद्देश्य राखी सूचनाको आधिकारिक स्रोत बन्न खोजेको हो भने त्यसलाई अन्यथा मान्नुपर्ने कारण देखिँदैन । यो काम आधुनिक सञ्चार प्रविधिको उपयोग गर्दै वेबसाइट जस्ता माध्यम खोलेजस्तै मात्र हो ।  

सूचना तथा सञ्चार मन्त्रालयबाट अनुमति लिएर गरेको काममा तर्क गरिरहनु पर्दैन किनभने असंगठित समूह वा जमातले अनुचित वा अवैध काम गरे सोधखोज गर्न समेत गाह्रो स्थिति सेनाको सम्बन्धमा आउँदैन । त्यसकारण एफ्. एम्. लाई उदाहरण बनाई लोकतान्त्रिक देश सैनिकीकरणको बाटोमा लाग्यो भन्ने निष्कर्ष निकाल्नु ठीक होइन । कदाचित् त्यसो हुँदो हो त बेलायत सरकारले सेनालाई ‘बृटिश फोर्सेस ब्रोडकाष्टिङ्ग सर्विस’ सञ्चालन गर्न दिने थिएन । अमेरिकामा पनि सेनाको प्रसारण सेवा छ; छिमेकको भारतकै लागि पनि यो नौलो कुरो होइन---नेपालमा बसोबास भएका गोर्खा सैनिकले उताबाट तिनका परिवारलाई बोलेर दिनेगरेका सन्देश (प्रसारण) समय-समयमा सुनिएकै हो ।

हो, उपकरणको ठीक प्रयोग नगरे  दु:खद परिणाम निम्त्याउने खतरा जेसुकै कामबाट पनि हुन्छ । खुकुरीकै उदाहरण पर्याप्त हुन्छ ।

सेना र प्रहरी संगठनहरूले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट सूचना, जानकारी  र संस्थागत खबर प्रसारण गर्न थालेको त वर्षौं भैसक्यो । हालैका वर्षमा आएर सडक यातायात व्यवस्थित गर्ने क्रममा नेपाल प्रहरीले नै ट्राफिक सूचना प्रवाह गर्न एफ् एम् रेडियो चलाउँदै आएको छ । तसर्थ उपलब्ध प्रविधिको उपयोग गरी सेना आफैंले एफ् एम् सञ्चालन गर्नु अनुचित हुँदैन । बरू प्रसारणमा जाने सामग्रीलाई सरल र आधिकारिक तुल्याउन जङ्गी अड्डाले पत्रकारिता संस्था, विज्ञ र विशेषज्ञहरूबाट समयसुहाउँदो तालीम आदिको प्रबन्ध गर्नुपर्दछ । त्यस्तै, प्रसारित विषयवस्तुको परीक्षण र आवधिक लेखाजोखाको काम प्रेस काउन्सिल नेपाल जस्ता तोकिएका नियामक संयन्त्रहरूबाट गराई आफ्ना कार्यहरूलाई अद्यावधिक गराउने व्यवस्था मिलाउनु पर्दछ । नत्र पटक-पटक विवादको सामना गरिरहनुपर्ने हुनसक्छ ।  

बिहिवार, श्रावण १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti