ntc

अग्रलेख

इतिहास बिर्सनेप्रति इतिहास नै निर्मम हुन्छ

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवस मान्ने हाम्रो परम्परा हो । सार्वजनिक बिदा दिँदै औपचारिक कार्यक्रमसहित उहाँप्रति सम्मान जनाउने पनि हाम्रो प्रचलन हो । २०६३ सालको राजनीतिक परिवर्तनपछि सत्तामा पुग्नेहरूले एकाएक यो क्रम टुटाइदिए, बिदा कटाइदिए यद्यपि जनआन्दोलनको माग त्यस्तो भएको प्रमाण कतै भेटिँदैन ।


इतिहास नियाल्ने हरेक नेपालीले पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्दछ; गर्नु पनि पर्छ । किनभने उहाँबाट त्यो सत्कार्य भएको छ, जसको तुलना प्रथम अमेरिकी राष्टपति जर्ज वाशिङटन र जर्मनी एकीकरणको लागि काम गर्ने ओट्टो फन बिस्मार्कसित गर्न सकिन्छ । ‘साझा फूलबारी’को अवधारणाबारे पृथ्वी प्रस्ट थिए, त्यसैले उनले बाईसे–चौबीसे राज्यलाई एकीकृत गरेपछि बनेको मुलुकलाई नेपाल नाम दिए; गोरखा भनेनन् । यो देश नबनेको भए सीमाविद् बुद्धिनारायण श्रेष्ठले भनेझैं यहाँका कुनै भूखण्ड भारतको विहारमा र कुनै बङ्गाल र यूपीमा पर्थे होलान् ।

पृथ्वीलाई शाहवंशीय राजाको रूपमा भन्दा नेपाल–निर्माता भनेर सम्झना गरिनु उचित हुन्छ । नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आज पनि सर्वोच्च स्थानमा राखेको छ, जुन उचित र प्रशंसनीय कार्य हो । इतिहाससम्मत कुरालाई यसै तरिकाले राजनीतिक नेतृत्व एवं निजामती प्रशासनले पनि स्वीकार गर्नु आवश्यक छ । यसो गर्दा एकतर्फ एकरूपता कायम हुन्छ भने अर्कोतर्फ सुसङ्गत नीतिको अख्तियारीले जनसाधारणबीच सही सन्देश प्रवाहित हुन पाउँँछ । किनभने अहिलेको नेपाललाई एकताको आवश्यकता झन् टड्कारो छ।

आधुनिक नेपालको इतिहासमा शाहकालकै क्रममा १०४ वर्षको राणाकाल आयो । कसैलाई राणाकाल मन परेन भन्दैमा त्यो कालखण्ड कटाउन मिल्दैन । अर्थात् इतिहासलाई बिर्सन हुँदैन, जसले इतिहासबाट पाठ सिक्न चाहँदैन त्यसलाई इतिहासले नै निर्मम भएर पाठ पढाउँछ । यस शाश्वत सत्यप्रति कसैले आँखा चिम्लिन सक्दैन ।

हाल सरकारमा बसेकाहरू कृतघ्न हुन सक्लान्, तर नेपालीको चिनारी पाएका यहाँका जनता पृथ्वीनारायण शाहप्रति सदा–सर्वदा आभारी रहिआएका छन्; रहनेछन् । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam