राजनीति

कहाँ पुग्यो कांग्रेस–लोकतान्त्रिक फोरमको एकता प्रयास ?

काठमाडौं २६ असोज – विजयकुमार गच्छदारले उपसभापतिको दावी गरेपछि नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमको एकीकरण प्रक्रिया लम्बिएको छ । मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा लोकतान्त्रिक गठबन्धन बनाएर जान सहमत भएका दुईदलबीच तत्कालै पार्टी एकीकरणको चर्चा चलेको थियो ।

चुनाव अगाडि नै दुईदलबीच एकीकरण हुने भनिएपनि पदको व्यवस्थापनमा समस्या उत्पन्न भएपछि एकीकरण प्रक्रिया लम्बिएको फोरम स्रोत बताउँछ । लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले कांग्रेसमा उपसभापति दावी गरेका छन् ।

कांग्रेससंगको एकीकरणबारे गच्छदारले पार्टीमा छलफल चलाएका छन् । एकीकरणको विषयलाई लिएर गच्छदारले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासंग निरन्तर सम्वाद गरिरहेका छन् । जीतेन्द्र देव, शिवलाल थापा र यशोदा लामा बाहेक अन्यले एकीकरणका लागि सहमति जनाएका छन् ।

थापा जनमुक्ति पार्टीबाट गच्छदारको पार्टीमा गएका थिए भने लामा दलित जनजाती पार्टीबाट लोकतान्त्रिक फोरममा गएकी हुन् । विगतमा एमाले पृष्ठभूमिका देव पनि कांग्रेससंगको पार्टी एकीकरणको विपक्षमा देखिएका छन् ।

लोकतान्त्रिक फोरम संसदीय दलका सचेतक योगेन्द्र चौधरीले चुनावी तालमेलबारे कांग्रेससंग छलफल भइरहेको बताए ।

आकाक्षी धेरै भएका कारण महाधिवेशन सम्पन्न भएको दुईबर्ष पूरा भइसक्दा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्न सकेको छैन् ।

देउवाले यसअघि नै बिमलेन्द्र निधिलाई उपसभापति बनाउने आश्वासन दिइसकेका छन् । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस