Nic Asia
cocacola

अन्तर्वार्ता

माओवादीसँगको सहकार्यले कांग्रेसलाई घाटै घाटा : लक्ष्मण घिमिरे [अन्तर्वार्ता]


स्थानीय तहको चुनावमा माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको विषयमा नेपाली कांग्रेसभित्र चर्को विवाद छ । माओवादीसँग गरिएको चुनावी तालमेलको विरोध गर्नेमध्ये लक्ष्मण घिमिरे पनि एक हुन् । पहिलो संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट मुख्य सचेतक समेत रहिसकेका कांग्रेसका पुराना नेता पूर्वमन्त्री घिमिरेसँग लोकान्तरका लागि सुशील पन्तले समसामयिक विषयमा कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सारसंक्षेप :

हालै सम्पन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले पराजय बेहोर्नुपर्नाको कारण के हो ?

यसलाई अनपेक्षित त भन्दिनँ म । हामी जुन प्रकारले जुन पृष्ठभूमिमा चुनावमा गयौं त्यसरी हेर्ने हो भने हामीले जुन बेला केपी ओलीलाई हटायौं उहाँ त्यसबेला आफू राम्रो ठाउँमा पुग्नुभएको थियो । उहाँले बोल्ने बेलामा हावादारी कुरा गरेपनि नाकाबन्दीका समयको बोली र चीनसँगको पारवहन सम्झौता हुँदाका राम्रा पक्ष थिए । लोकप्रियता चरमचुलीमा थियो । उहाँलाई हटाउनु चाँडो भयो । ओलीलाई केही समय दिनुपर्दथ्यो, त्यो हामीले दिएनौं ।
दोस्रो कुरा हामीले माओवादीसँग सहकार्य ग–यौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका नराम्रा काम जतिको सबै अपजस कांग्रेसले खेप्नुप–यो, राम्रा कामको जस चाहिँ माओवादीले मात्रै लियो । त्यसलाई हामीले क्याश गर्न सकेनौं ।

अर्को कुरा स्थानीय तहको चुनावको लागि कांग्रेस तल्लो तहमा जुन किसिमले नेताहरू व्यवस्थापन गर्नुपर्थ्यो, त्यो गरिएन । त्यस्तै चुनावभन्दा केही अघि राजदूत नियुक्ति प्रकरण, आईजीपी प्रकरण, महाअभियोग प्रकरणहरूमा कांग्रेस मात्रै मुछियो । अपजस सबै कांग्रेसले बेहोर्नुपर्‍यो ।

महत्वपूर्ण कुरा चाहिँ हामीले टिकट दिने मान्छेहरूको नाम अन्तिम समयसम्म पनि टुंग्याउन सकेका थिएनौं । एमालेले अघि नै टिकट दिएर आफ्ना उम्मेदवारलाई सम्बन्धित स्थानीय तहमा पठाइसकेको थियो । टिकट दिँदाको गुट उपगुटका आधारमा टिकट दिइयो । त्यस्तै, महानगरपालिका र कतिपय नगरपालिकामा कांग्रेसले माओवादीसँग सहमति गरेको असर देखियो । भरतपुरमा गरेको सम्झौताको असर काठमाडौं र पोखरामा पनि देखियो । यिनै पाँचसातवटा कारणले गर्दा कांग्रेसले चुनाव हारेको हो ।

भनेपछि माओवादीसँगको तालमेल कांग्रेसलाई फापेन ?

निश्चित रूपमा । स्थानीय तहको वडा तहमा जुन एकता गरिन्छ, त्यो सामान्य कुरा हो । यो सबैले गर्छन् । तर राष्ट्रिय रूपमा गरिएको भरतपुर महानगरको मेसेज देशभर राम्रो गएन । अत्यन्तै गलत सन्देश बाहिर गयो । स्वयं सभापतिले भरतपुरमा गएर नेपाली कांग्रेस जिन्दाबाद, भोट के मा हँसिया हथौडामा भनेर नारा लगाएपछि यो कुरा कांग्रेसी कार्यकर्ताले सहनसक्ने कुरा नै भएन ।

सैद्धान्तिक रूपमा माओवादीसँगको कार्यगत एकता सही थियो कि गलत ?

एकदमै गलत थियो । कुन कारणले कार्यगत एकता भन्ने कुरा कोही पनि नेतृत्व तहका नेताले पुष्टि गर्न सक्नुभएको छैन । एक्लै चुनाव लड्दा पनि त जितिन्छ भन्ने कुरा विराटनगरले देखायो । सही ठाउँमा उभिँदा हारेपनि त भोलिका दिनमा जनताले कुरा बुझेको हुन्छ नि त । त्यसकारणले गर्दा महात्मा गान्धीले भनेको सात अपराधमध्ये सिद्धान्तविहीन राजनीति पनि एक हो । अहिले हामी त्यही अवस्थामा छौं । माओवादीसँग मिलेर सरकार बनाउनु एउटा कुरा होला तर सरकार बनाउने कुरा पनि आम कांग्रेस कार्यकर्ताले मन पराउँदैनन् । प्रचण्डलाई प्रधानमन्त्रीमा बोक्ने भन्ने कुरा कांग्रेसी कार्यकर्ताले मन पराएनन् । सहयोग लिने कुरा फरक थियो ।



माओवादीसँग एकता नगरेको भए त कांग्रेसको हैसियत अझै खस्किन्थ्यो होला नि ?

त्यसो होइन । प्रतिपक्षमा बसेर चुनाव लड्नलाई जबसम्म पार्टी तयार हुँदैन, तबसम्म लोकतन्त्र बलियो हुँदैन । आज एमाले प्रतिपक्षमा बसेर पनि ठूलो पार्टी भयो त । दोस्रो संविधानसभाको निर्वाचनसम्म हामी प्रतिपक्षमै थियौं त, तर हामी पहिलो पार्टी बनेका थियौं । त्यसका केही कारणहरू छन् ।

संविधान निर्माणका लागि कांग्रेसले राम्रो भूमिका निर्वाह गरेको थियो । तर दोस्रो संविधानसभामा आइसकेपछि कांग्रेसको भूमिका जनताले देख्ने किसिमको भएन । देशको ठूलो पार्टी भयो तर त्यसअनुसारको भूमिका देखिएन । अर्को चरणमा आएर पनि हाम्रा केही क्रियाकलापहरू गलत भए ।

सुशील कोइराला प्रधानमन्त्रीमा पुनः उठ्नु पनि गलत थियो । एमाले र माओवादी सरकारमा गए तर हामीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेनौं । हामीले जस्टीफाई नै गर्न सकेनौं । भएका गल्तीजति सबै कांग्रेसका टाउकामा आए, तर राम्रा कामको जस कांग्रेसले पाएन । सोही कारणले गर्दा कांग्रेस कार्यकर्तामा नैराश्य आयो ।

भरतपुरको सभा र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दिनमा प्रचण्डले कांग्रेस र माओवादीबीचको एकता रणनीतिक भएको बताउनुभएको थियो, यो कति टिक्ला ?

कार्यगत एकता भनेको कस्तो हो ? प्रचण्डजीको पुत्रीको लागि कांग्रेसले बलिदान दिनुपर्ने ? यसको कुनै जवाफ छ ? यदि रेणु दाहालको ठाउँमा अरू माओवादी कार्यकर्ता उठेको भए प्रचण्डजीले यो तहको सम्झौता गर्नुहुन्थ्यो कि नाइँ ? शेरबहादुरजीले गर्नुहुन्थ्यो किन नाइँ ? कुरा यो हो । कुनै पनि हालतमा एउटा नेताविशेषको परिवारवादलाई प्रश्रय दिने काम गलत हो । काठमाडौंको चुनाव हार्नुको एउटा कारण भरतपुरमा माओवादीलाई सहयोग गर्नु नै हो ।
आउँदो चुनावमा कसरी कार्यगत एकता हुनसक्छ ? त्यो भनेको सीट बाँडफाँट गर्ने हो ? सिद्धान्तको रूपमा माओवादी अहिले पनि साम्यवादी पार्टी हो । एकदलीय अधिनायकवाद नै हो उसको लक्ष्य । बीपीले हामीलाई जे कुरा भनेर जानुभएको थियो हामीले ती सबै कुरालाई तिलाञ्जली दिएका छौं । एकदलीय तानाशाहमा विश्वास गर्ने माओवादीसँग सत्ताको बाँडफाँटको लागि कार्यगत एकता गरेर हामीले बीपीले भनेर गएका राष्ट्रियता, प्रजातन्त्र र समाजवादजस्ता कांग्रेसका सिद्धान्तलाई तिलाञ्जली दिएका छौं ।

कार्यगत एकता केमा गर्ने भन्ने कुरा हुन्छ । सत्ताका लागि माओवादीसँग सम्झौता गर्दै जाने हो भने हाम्रो नीति, नियम हराउँछन् त ।

यसमा माओवादीको मात्रै नभएर कांग्रेसको पनि स्वार्थ थियो होला नि ?

जेसुकै होस् । हामी एकडेढ वर्ष सत्ताबाहिर रहन सक्थ्यौं । पहिलो संविधानसभामा पनि हामी प्रतिपक्षमा थियौं त । माधव नेपाललाई सहयोग गरेकोबाहेक हामी प्रतिपक्षमै थियौं त । त्यसपछि हामी पहिलो दल बनेका पनि हौं । सिद्धान्तमा अडिएर बस्नुहोस् । हामी अत्यन्तै स्खलनमा पुगेका छौं ।

हामीले आमसभामा ओलीले बोलेका टुक्कालाई जवाफ दिएर पुग्दैन त । कांग्रेसको विचार के हो ? समाजवादका लागि के गर्ने भन्ने कुरा हामीले भन्नुपर्छ । आउने दिनमा नेताले राम्रैसँग मूल्यांकन नगरेमा कांग्रेसलाई गाह्रो हुँदैछ । दुई नम्बर प्रदेशको चुनावमा हामीले बुद्धि पु–याउनुपर्छ । सुधार्ने भन्ने कुरा नेतृत्वले सुधार्ने हो ।

सभापतिको जिल्ला अमरगढीमा हामीले चुनाव हार्‍यौं । हामी चार नम्बरबाहेक अन्त सबै ठाउँमा दोस्रो स्थानमा पुगेका छौं । कार्यकर्तामा जन्मिएको घात केन्द्रबाटै शुरु भएको हो । केन्द्रबाट गतिलोलाई टिकट दिएको भए राम्रो हुन्थ्यो । प्रदेशको चुनावमा तेरो मेरो नभनी हामी अघि बढ्यौं भने बल्ल हामीले केही गर्न सक्छौं ।

अहिले त एमाले अघि अघि, कांग्रेस माओवादी पछि पछि हिँडिरहेका छन् नि ?

हो, अहिले त हामी प्रतिक्रिया दिन मात्रै तयार छौं । एमालेले केही भन्यो भने कांग्रेसले प्रतिक्रिया मात्रै दिइरहेको छ । यसरी कांग्रेस कसरी बलियो हुन्छ ? राजनीति भनेको त तपाईं एग्रेसिभ भएर जाने हो । एमालेको सन्दर्भमा त एमाले प्रतिपक्ष नै होइन ।

बूढीगण्डकीको विषयमा प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि बालुवाटारमा बसेर ठेक्का दिएका छन् । यहाँ एमाले भन्ने पार्टी एक शब्द पनि बोलेन् । कहाँ छ प्रतिपक्ष ? प्रतिपक्ष भनेको त मेजर कुराहरूमा बोल्ने हो त । एमाले त प्रतिपक्ष होइन भने पनि हुन्छ ।

अब प्रजातन्त्रमा संकट आएको छ । २०४८ देखि २०५१ सम्म एमाले सशक्त थियो । एमालेलाई फेस गर्नुपर्ने थियो । तर अहिले कहाँ छ एमाले ? समष्टिगत रूपमा भ्रष्टाचारले सबैतिर जालो फैलिएको छ । जालोमा कांग्रेस, एमाले र माओवादी सबै डुबेका छन् । अहिले प्रतिपक्ष नै छैन ।

तपार्ईंको पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी हो । सरकारको नेतृत्व गरिरहेको छ । तपाईं प्रजातन्त्रमा संकट आएको कुरा गर्दै हुनुहुन्छ ? कसका कारण यस्तो भयो ?

यहाँ मलाई सबैभन्दा ठूलो पीडा हुन्छ । कांग्रेस पञ्चायतदेखिनै लड्दै आएको छ । इतिहास बोकेको छ । बीपी प्रजातन्त्र भनेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलनको कुरा हो भन्नुहुन्थ्यो । पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी कसरी प्रधानमन्त्री बन्नुभयो ? त्यहाँ कांग्रेसले नै समर्थन गरेको छ । प्रजातन्त्रको जगलाई नै हामीले हल्लाउने काम गरेका छौं । भोलिका दिनमा अर्को प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा आउँदा कांग्रेसले कसरी विरोध गर्न सक्छ ?

फेरि पनि गैरराजनीतिक व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना छ र ?

किन छैन ? प्रशस्त सम्भावना छ । माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन नभएमा गाह्रो हुँदैछ । आज असारको अन्तिममा कुरा गरिरहँदा निर्वाचनका लागि चाहिने कानूनहरू बनेका छैनन् । निर्वाचन क्षेत्र निर्धारण आयोग बनेको छैन । आयोगले साउन १५ गतेसम्म क्षेत्र निर्धारणको प्रतिवेदन मागेको छ । अब कसरी चुनाव गर्ने ? लगातार स्थानीय तहको निर्वाचन सकियो तर उनीहरूलाई अहिलेसम्म कानून बनाएर दिएका छैनौं ।
एक सय २३ वटा कानूनलाई संशोधन वा नयाँ बनाउनुपर्ने छ । यो परिदृश्य तपाईंले देखिरहनुभएको छ । प्रजातन्त्रका सिद्धान्तविपरीत कांग्रेसले खिलराजलाई प्रधानमन्त्री बनाएको कुरामा मेरो अहिले पनि विमति छ । भलै संविधानसभाको चुनाव सम्पन्न भयो ।

राष्ट्रियताको सवालमा हेर्नुहोस् त । प्रधानमन्त्री दिल्लीले बनाएको कि चीनले बनायो भनेर छलफल हुन्छन् । मन्त्री बनाउँदा समेत कोटाको कुरा हुन्छ । राष्ट्रियताको विषयमा सोध्नुहोस्, अहिले जति राष्ट्रियता कमजोर भएको समय कहिल्यै थिएन ।

कसको कारणले यो भयो त ? कांग्रेसले दिल्लीमा गरेको १२ बुँदेको उपज होइन र ?

फर्किएर जाँदा १२ बुँदेमै कुरा जान्छ । त्यो १२ बुँदे देशमा भएको भएपनि अहिलेको अवस्था आउने थिएन । तर भारतलाई म दोष दिन्नँ । यो त सबै हाम्रो कारणले भएको हो । तर हाम्रा नेताहरू सत्तामा जाँदा त्यो कुरा बिर्सिन्छन् । बाहिर आउँदा मात्रै कुरा गर्ने हुन् ।

कुनै बेला बीपीलाई इन्दिरा गान्धीले प्रेसर दिँदा यहाँ गान्धीले भनेको कुरा मान्नुभन्दा म नेपाल फर्कन्छु भनेर बीपीले भन्नुभएको थियो । उहाँ एउटा राष्ट्रियताको विषयलाई लिएर नेपाल आउनुभयो । तर अहिले हाम्रो अवस्था दक्षिण फर्किने कि उत्तर भन्नेमा पुगेको छ । नेपालतिर कोही पनि फर्किंदैनन् ।

अब कुरा रह्यो समाजवादको । समाजवाद भनेको तल्लो स्तरको आम नागरिकको जीवन उकास्ने कुरा हो । आम जीवनस्तर उठाउने कुरामा हामी कति आयौं त ? बीपीले १५ वर्षमै नेपालीलाई मध्यम स्तरमा ल्याउँछु भन्नुभएको थियो । आज नेपाली खाडीमा नजाने हो भने देशको अर्थतन्त्र डगमगाउँछ । धेरैजस्तो अर्थमन्त्री त कांग्रेसकै हुनुभएको छ । २०४६ सालपछि त धेरैपटक कांग्रेसकै अर्थमन्त्रीहरू हुनुभएको छ ।

यो देशमा धनी र गरीबको बीचमा खाडल ल्याउने काम कांग्रेसले नै गर्‍यो त ?

सबै दोष कांग्रेसको पनि होइन । पहिलो चरणमा कांग्रेसले तीन वर्ष चलाएको सरकारले धेरै काम गरेको थियो । २०५१ सालको चुनावपछि सरकार फाल्ने र ल्याउने जुन कुरा चलेको छ, त्यसले हामीलाई यो अवस्थामा ल्याएको छ । अझ अहिलेको अवस्थामा समानुपातिकको कारणले गर्दा कुनै पनि दलले बहुमत ल्याउनसक्ने अवस्था छैन । यही कारणले गर्दा सरकार अस्थिर भइरहेको छ । प्रधानमन्त्री फेर्नासाथ मन्त्री र सचिव फेर्नुप–यो । यो अवस्थाबाट नेपाल कहिले माथि उठ्छ ? अहिलेको संविधानले त कामै नलाग्ने व्यवस्थाहरू गरेको छ ।

स्थानीय तहको चुनावी नतिजाले त संसदीय निर्वाचनमा एमालेको बहुमत आउने संकेत देखिन्छ नि ?

छोडिदिनुस्, प्रलय फर्किएपनि कसैको बहुमत आउँदैन । सबैले बुझेका छन् एमाले पनि के हो भनेर । यसपाली एमाले ठूलो हुनुको कारण त कांग्रेसको गल्तीले गर्दा हो । एमालेले फाइदा उठाएको मात्रै हो । आज कांग्रेसले जति जितेको छ, त्यो सबै स्थानीय रूपमै कार्यकर्ताले जितेका छन् । जनताले कांग्रेस जोगाएका हुन् ।
देउवा सरकारको एक महिनाको कार्यकालको कामको कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

हामी गलत जगमा उभिएका छौं । त्यसको नै मूल्यांकन गर्नुपर्ने अवस्था छ । कुनै दिन प्रचण्डजीले यूटर्न गरेर देउवा सरकार ढाल्नुभयो भने आश्चर्य नमान्दा पनि हुन्छ । त्यो खतरा प्रबल छ । उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सचिवहरूलाई राखेर आफूलाई फेरि स्वागत गर्नको लागि तयार हुनुहोस् भन्नुभएको थियो । उहाँले त मेसेज दिनुभएको छ आउँदैछु भनेर ।



तपाईंले भन्न खोजेको प्रचण्डलाई विश्वास गर्नु हुँदैन भन्ने हो ?

अब सुन्नुस न । अहिले कुनै पनि नेतामा विश्वास रहेन । यो १० वर्षमा कुनै पनि नेतामा विश्वास छैन । पछिल्लो ११ वर्षमा नेपाली जनताले के पाए ? चरम भ्रष्टाचार भएको छ । जताततै द्वन्द्व छ । यी सबै कुराको पछि नेता र नेतृत्वको विश्वासको कमी छ । नेताहरूमा इमान्दारिताको खडेरी छ ।

नेताहरू परिवारवादबाट पनि माथि उठ्न सकेनन् भन्ने तपाईंको निष्कर्ष हो ?

यो एक सय १० सीटवाला समानुपातिक त परिवारवाद नै हो । यो जनताले मागेको होइन । जनताले संघीयता मागेको पनि होइन । धर्मनिरपेक्षता मागेको पनि होइन । सबै कुरा आयातित हुन् । समानुपातिक पनि आयातित नै हो ।

भारतमा सबैभन्दा ठूलो डेमोक्रेसी छ, त्यहाँ पाँचसयभन्दा बढी प्रत्यक्ष सिट छ । जनसंख्याको आधारमा सीट बाँड्ने हो भने त भारतको उत्तर प्रदेश र दिल्ली जस्ता ठाउँले त पूरै भारत ओगट्थे नि । त्यहाँ समानुपातिकको कुरा हुँदो हो त को बन्थ्यो होला र प्रधानमन्त्री ?

हामीकहाँ त समानुपातिक त कसरी आयो, हामीलाई नै थाहा छैन । भारतमा समानुपातिक जनसंख्याको आधारमा नचाहिने, हामीलाई चाहिँ किन चाहिने ?

अहिलेको प्रदेश निर्माण पनि गलत छ । पाँच विकास क्षेत्रको संघीयता बनाएको भए कति राम्रो हुन्थ्यो । संघीयता अझै लागू हुन सकेको छैन । प्रान्तको आवश्यकता नै नहुने भयो । अर्को कुरा, अर्थतन्त्रले धान्ने संघीयता हुनुप–यो । हाम्रो अर्थतन्त्रले पनि संघीयता र समानुपातिक धान्न सक्दैन ।

धर्मनिरपेक्षताको विपक्षमा तपाईंले धेरै पहिले आन्दोलनको घोषणा पनि गर्नुभएको थियो, त्यो कहाँ पुग्यो ?

संविधान जारी हुँदा भन्दा अघिदेखि नै हामी आन्दोलनमा थियौं । हिन्दू राष्ट्रको स्थापनाको पक्षमा हामीले आन्दोलन गरेका थियौं । अहिले संविधान जारी भइसकेको छ । माओवादी अध्यक्ष प्रचण्डबाहेकका सबै नेताहरूले
हामीलाई धर्मनिरपेक्षता हट्ने विषयमा समेत कुरा गर्नुभएको थियो ।

ओलीजीले पनि धर्मनिरपेक्षता हट्ने कुरा गर्नुभएको थियो तर आयो । हाम्रो संविधानमै धेरै कुराको अन्योल छन् । संविधान हतारमा ल्याइएकाले गर्दा संविधानमा धेरै कमजोरीहरू रहेका छन् । धेरै धाराहरूमा अन्योल छन् । झण्डै तीन दर्जन मौलिक अधिकार छन् । सबै कुरामा कानून बनाउँदा एउटाको कारणले गर्दा अर्कोलाई समस्या हुन्छ ।

धर्मको राजनीति त राप्रपाले नै गरिरहेको छ, धर्मनिरपेक्षताको विवाद किन अब ?

अब हेर्नुहोस् । संविधानसभा चुनावमा राप्रपाले चलाएको अभियानका आधारमा भोट पायो । काठमाडौंमा पनि राप्रपाको धेरै भोट आयो । तर त्यसपछिबाट राप्रपाको भूमिका उपप्रधानमन्त्री र मन्त्री पद पड्काउनेमा सीमित रहेको छ । राप्रपाले आफ्ना एजेन्डा नै बिर्सिएको छ । तर अहिलेको स्थानीय निर्वाचनमा राप्रपालाई जनताले देखाइदिएकै छन् । राप्रपाको नैतिकतामा ह्रास देखिएको छ ।

अहिले संविधान संशोधनको विषयमा चर्चा भइरहेको छ । राप्रपाले संविधान संशोधनको एजेन्डामा भन्दा पनि कतिवटा उपप्रधानमन्त्री वा मन्त्री पाइन्छ भन्ने विषयमा बार्गेनिङ गरिरहेको छ । त्यो इस्युमा त उहाँहरूले छलफल नै गर्नुभएको छैन । मत हाल्ने हो भने कतिवटा मन्त्री दिन्छस् भनेर बार्गेनिङ भइरहेको छ ।

अब नेपालको राजनीतिक दिशा कसरी अघि बढ्ला ?

माघ ७ गतेसम्म सबै निर्वाचन भएर सरकार बन्ला भने सम्भावना देखिँदैन । अब उहाँहरूले गर्ने भनेको म्याद बढाउने कुरा हो । नेपाली जनताका लागि चाहिँ संसद्को म्याद बढाउने कुरा गलत हो । जनताले चुनाव चाहेका छन् । राजपाले तराईमा चुनाव भाँड्ने कोशिश गरेको हो नि तर त्यहाँ पनि चुनाव त भयो । जनताले प्रतिनिधि चाहिने कुरा बुझेका छन् । सरकार र पार्टीहरूको निकम्मापनले संसद्को म्याद थप्ने काम भयो भने त्यो निकै गलत हुन्छ ।

बेलैमा चुनाव भएन भने अर्को खिलराज जन्मिने सम्भावना पनि छ । एघार वर्षदेखि जनताले हेरिरहेका छन् । तर प्रजातन्त्रका लागि जनता तत्कालै जाग्ने अवस्था पनि छैन । नेताहरूलाई हामीले जे गरेपनि हुन्छ भन्ने लागेको छ । उहाँहरूले त खिलराजदेखि लोकमानसम्मका प्रकरण गर्न आफूलाई स्वतन्त्र ठान्नुभएको छ । विवेक त प्रयोग गर्नुप–यो नि । आफूमाथि खतरा देखेपछि जे पनि गर्ने प्रवृत्ति बढेको छ । बुधवार, आषाढ २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti