ntc

अन्तर्वार्ता

राजनीतिबाट संन्यासपछि मेरा दुईवटा योजना छन् : बाबुराम भट्टराई [अन्तर्वार्ता]


नयाँ शक्ति अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विशेषगरी युवा पुस्तामाझ लोकप्रिय छन् । दशकौं लामो मार्क्सवादी दर्शन त्यागेको भन्दै वामपन्थी राजनीतिक वृत्तमा आलोचना भएपनि गहिरो अध्ययन, सूचना प्रविधिको प्रयोग तथा समसामयिक घटनाक्रमप्रति अपडेट र सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्ने गरेका कारण उनी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पनि उत्तिकै चर्चित छन् । प्रस्तुत छ, भट्टराईको जीवनशैलीबारे लोकान्तरले केही समय पहिले गरेको अन्तर्वार्ताको सारसंक्षेप :

आजकाल कत्तिको पढ्नुहुन्छ ?

बढो गम्भीर प्रश्न उठाउनुभयो, खासमा म पढ्न रुचाउने नै मान्छे हो । समय हुँदा अरू कामभन्दा पढ्नमै मेरो बढी रुचि हुन्छ । तर आजकल म पूरै किताब छिचोलेर पढ्न पाइरहेको छैन । छास्सछुस्स पढ्ने गरिरहेको छु । दिनहँु बढी खट्नुपर्ने हुन्छ, तैपनि समय पाउँदा म पढने कोशिश चाहिँ गर्छु ।

पछिल्लोपटक कुन पुस्तक पढ्नुभयो ?

टेबलभरि किताब थुपारेको छु । अंश अंश पढेको छु । ‘सोसल कन्टेक्स्ट अफ अर्थ’ भन्ने सामाजिक मानवशास्त्रको किताब । अर्को नरेन्द्र मोदीको चुनाव सम्बन्धी लेखिएको ‘वार रूम’ लगायत केही किताब पढिरहेको छु ।

कुन समयमा पढ्न रुचाउनुहुन्छ ?

म बेलुका पढ्छु, अझ राति नै पढ्छु । उस्तै पर्दा राति १—२ बजेसम्म पनि पढ्छु । बिहान बरू ६—७ बजेसम्म सुत्ने तर रातिमा पढ्न मन पर्छ । प्रायः १२ बजेसम्म त बसेकै हुन्छु । उस्तै पर्दा २ बजेसम्म पनि पढ्छु ।

पहिला लेख्ने मानिस आजकल किन कम ?

लेख्न मन त लाग्छ । समय अभावका कारण पनि हो त्यो खड्केको अनुभूति हुन्छ । समय निकालेर लेख्ने चाहना राख्छु । सक्रिय राजनीतिक जीवनबाट निवृत्त भएपछि (७० वर्ष पुगेपछि) दुईवटा किताब लेख्ने विचार गरेको छु । युद्धकालीनदेखि डायरी लेखेर राखेको छु । दुईटा काम गरौं जीवनमा भन्ने लागेको छ । एउटा विचारको इतिहास लेख्न मन छ । मानवजातिको सृष्टि भएदेखि जुन विचारहरूको विकास भए, सुकरातदेखि गौतम बुद्धसम्म हँुदै कन्फ्युसियसदेखि लिएर अहिलेसम्मका विचारकहरूको समीक्षा गरेर आगामी दिनमा मानवजातिले कुन ढंगको विचार र दर्शन निर्माण गर्ला भन्ने विषयमा लेखौं जस्तो लाग्दैछ । समग्र मानवजातिको विश्वव्यापी ज्ञान समेटेर किताब लेख्ने योजना हो ।

दोस्रो चाहिँ, नेपालकै इतिहास पनि लेख्न मन छ । अहिलेसम्म नेपाली इतिहासको वस्तुगत र तथ्यगत ज्ञान हामीसँग छैन । त्यसैले नेपालकै यो जुन भूखण्ड छ, यसमा आएको मानवजातिको बसोबासदेखि लिएर विभिन्न समय जसरी विकास हुँदै आयो, त्यसको बारेमा एउटा पुस्तक लेखांै भन्ने मेरो सोच छ । ७० वर्षपछि कति बाँचिन्छ थाहा छैन, तर त्यस बेलासम्म यी दुईवटा प्रोजेक्ट सक्ने मेरो विचार छ ।

कुनै औषधी सेवन गर्नुहुन्छ ?

अरू त सेवन गर्दिनँ तर अहिले आएर प्रेसर बढ्यो । जनयुद्धकालमा मेरो प्रेसर बढेको थियो । पछि चाहिँ हिँडडुल गर्दा अलि मत्थर भएको थियो । एकचोटि प्रेसर भएपछि त्यो औषधी खाइराख्नुपर्ने रहेछ । एउटा त्यही खान्छु, अरू औषधी खानुपरेको छैन ।

खानामा तपाईंको रुचि के हो ?

खाना त अत्यन्त सरल खान्छु । थोरै तर नियमित खाने मेरो बानी छ । बिहानै एउटा सुख्खा रोटी, साग, दही र केही फलफूल । दिउँसो थोरै दाल, भात र तरकारी अनि बेलुका फेरि अलिकति रोटी र तरकारी खाने बानी छ ।

घुम्न चाहिँ कता जान मन पराउनुहुन्छ ?

भ्याएसम्म घुम्न चाहिँ मन पराउँछु । खासगरी अग्ला पहाड र हरियालीयुक्त क्षेत्रमा जान बढी मन पर्छ । मुस्ताङ भयो, मुक्तिनाथ क्षेत्र, रारा — यस्ता यस्ता ठाउँ जान मन लाग्छ । पूर्वतिर सोलुको फाप्लु र कोग्रे बढी मन पर्छ ।

गीत संगीत कत्तिको सुन्नुहुन्छ ?

गीत गाउन चाहिँ आउँदैन, संगीत चाहिँ सुन्छु । शास्त्रीय प्रकारका, अलिकति पुराना, १९६०—७० को दशकका हिन्दी पनि त्यही समयका । अंग्रेजी गीत चाहिँ त्यति सुन्दिनँ ।

कपडा आफैं छान्नुहुन्छ कि कसैले किनिदिन्छ ?

कपडा अरूले किनिदिन्छन्, रंगको मेसो पाउँदिनँ । कपडा प्रायः अरूले किनिदिएको लगाउँछु ।

कुन मोबाइल बोक्नुहुन्छ ?

जसले जे दियो, त्यही चलाउँछु । दुई वर्षपहिले मलाई एकजनाले आइफोन ५ दिनुभएको थियो, त्यही चलाउँदैछु ।

जिन्दगीमा पश्चात्ताप लाग्ने कुनै घटना ? प्रम हुँदा गर्न नसकेको कुरा ?


मेरो रुचि नै समृद्धि हो । बजेट नै पेश नगरेको सरकार थियो मेरो पालाको । त्यतिबेला सेना समायोजन र संविधान बनाउने मेरो चाहना थियो । समायोजन त कमीकमजोरी सहित पूरा भयो, संविधान बनाउन नसकेको कुरा चाहिँ मेरो निम्ति निकै पछुतोको विषय हो । शुक्रवार, मंसिर २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam