चलचित्र घामपानी: केही सफल र केही असफल प्रयोग

समाजमा देखिएका स–साना घटनालाई कथानकमा उतारेर फिल्म बनाउने प्रयोग केही वर्षदेखि नेपाली चलचित्रमा बारम्बार भइरहेको देखिन्छ । नयाँ लेखक तथा निर्देशकले सोही प्रयोग र प्रवृत्तिमा दर्जनौं फिल्म बनाइसकेका छन् । उस्तै प्रयोगमाथि चलचित्र ‘घामपानी’ ले नयाँ इँट्टा थपेको छ ।
एक लाइनमा ‘चलचित्र राम्रो छ । चेतनामूलक र घटनामूलक दुवै छ ।’

चलचित्र ‘घामपानी’ जातीयताले मान्छेको जीवनमा निम्त्याएको घामपानीमा आधारित छ । फुर्वा (दयाहाङ राई) र तारा (केकी अधिकारी) को प्रेमकथामा आधारित छ घामपानी । काठमाडौं पढ्न गएकी तारा र उसको बच्चैदेखिको साथी फु्र्वा एक अर्काप्रतिको माया छ । सम्मान छ । फुर्वा गाउँकै स्कुलमा करारमा पढाउने मास्टर हो । उसको आफ्नै सम्मान र प्रतिष्ठा छ । दशैं मान्न गाउँ फर्किएकी ताराले फुर्वासँग आफ्नो समय बिताउँछे । विशेष कारणले ताराको बिहेको दबाब आउँछ । त्यसपछि हुने घटनाक्रम नै चलचित्र ‘घामपानी’ को कथानक हो ।

लामो समयदेखि कडा समीक्षा लेख्दै आएका दीपेन्द्र लामाले चलचित्रको कथानकलाई अब्बल बनाएका छन् । कथानकसँगै चलचित्रको संवादलाई पनि पावरफुल बनाएका छन् । चोटिला र आकर्षक संवादले दर्शकलाई हँसाइरहन्छ । परिवारका सदस्यले पचाउन सक्ने सरल भाषाका संवादले दर्शकलाई हँसाउन सक्नु उनको खुबी हो ।

गाउँमा असई बनेर आएका नयाँ युवाले युवतीहरुसँग गर्ने व्यवहार र तल्लो दर्जाका प्रहरीले माथिल्लो दर्जाका प्रहरीसँग गर्ने व्यवहारलाई लामाले सदृष्य साभार गरेका छन् । बर्दीको बलमा पुलिसले एउटा सानो घटनाको आडमा पनि आफ्नो स्वार्थ पूरा गर्न सक्छ भन्ने कुरालाई पनि चलचित्रमा देख्न सकिन्छ । जुन वास्तविक लाग्छ ।

चलचित्रको बलियो पक्ष भन्नु नै यही कथा र संवाद हो । पुरानो कथालाई संवादले सबल बनाएको छ । एउटा गाउँको चरिच चित्रणलाई मज्जासँग उतारिएको छ । कुनै पनि घटना र गीत गाउँभन्दा धेरै पर पुग्न सकेका छैन । यो कथानकको माग नै हो ।

निर्देशक लामाले चरित्र विकास र पात्रको हाउभाउमा पनि सक्दो मेहेनत गरेका छन् । लाग्छ, ती पात्रहरु फिल्मका कलाकार होइनन् । त्यही गाउँका बासिन्दा हुन् । स–साना कुरालाई पनि चिटिक्क पारेर पर्दामा उतार्नु फिल्मको अर्को सुखद पक्ष हो ।

मुख्य पात्र दयाहाङ राई र केकी अधिरकारीको मात्र होइन, प्राय सबै कलाकारले आफूलाई चरित्रसंगत न्याय गरेका छन् । तर, दयाहाङको अभिनयमा कुनै तात्त्विक फरक छैन । उनको अभिनय अन्य फिल्मको ह्याङबाट टाढा हुन सकेको छैन । दर्शकले दयाहाङ राईको हाउभाउ र अभिनयमा कुनै फरक पाउँदैनन् ।

उनको चरित्रको दायरालाई अलिक फराकिलो बनाउन सकेको भए या नयाँपन ल्याउन सकेको भए निर्देशक लामाको काम अझै प्रशंसनीय हुने थियो । या त उनले दयाहाङजस्तै चरित्रमा कथा लेखे । या त दयाहाङ राईलाई फरक भूमिकामा देखाउनमा उनी सफल भएनन् । यो उनैलाई थाहा होला ।

केकी अधिकारीको भूमिका पनि उस्तै लाग्छ । लामाले निर्माण गरिदिएको कथानकमा उनी फिट छिन् । तर नयाँपन केही दिन सकेकी छैनिन् । अर्थात दयाहाङ र केकी नामबाटै चिनिए । फुर्वा र तारा हुन उनीहरुलाई साँच्चिकै गाह्रो परेको छ । यो फिल्मको कमजोरी हो ।

कथानकको छायांकन पक्ष औसत छ । लाइट इफेक्टले साथ दिएको छ । सुस्त गतिमा बगेको फिल्ममा छायांकन पनि सुस्तरी नै भएको छ । पात्रलाई फोकस गरेर छायांकन गरिएको छ । स– साना शटले नै फिल्मलाई सकेको छ । सिनेमाटोग्राफर ले चलचित्रलाई अझै आकर्षक ढंगले पर्दामा उतार्नुपर्ने थियो । केही नयाँपनको खोजी गर्नुपर्ने थियो लामाले पनि ।

चलचित्रको गीत संगीत राम्रो छ । गीतलाई पाश्र्व ध्वनि पनि बनाइएको छ । सटिक छ । अझै स्वादिलो बनाउन सकिने ठाउँ भने छन् ध्वनिमा । यदि मैले हेरेको फिल्म हलको साउन्ड सिस्टमको समस्या होइन भने कतिपय फिल्मको संवाद त राम्रोसँग सुन्न पनि धौ धौ पर्छ । एरेन्जमा समस्या देखिएको छ । तर युट्युबमा ट्रेलर हेरेका आधारमा चलचित्रको संवादमा समस्या छैन कि भन्ने आशा गर्न सकिन्छ ।

समग्रमा चलचित्र राम्रो छ । निर्देशकले कथानक र संवादलाई जोड दिएका छन् । फिल्मको माध्यमबाट समाजलाईसकारात्मक सन्देश दिने प्रयास गरेका छन् । तर चलचित्र ‘घामपानी’ एउटा गाउँभन्दा पर पुग्न सकेको छैन । उनै कथा, उस्तै समाज र उस्तै संवादमा अल्झिरहेको नेपाली फिल्मकर्मीको एउटा वर्गमा निर्देशक लामा पनि थपिएका छन् ।

आफ्नै गाउँ र समाजभित्रको कथामा फिल्म बनाउन त सजिलो होला तर लामाले नयाँ फिल्ममा बिल्कुलै नयाँ प्रयोग गरेर दर्शकको मन जित्नुपर्ने देखिन्छ । यदि यस्तै खालका फिल्ममा फिल्मकर्मी अल्झिने हो भने दर्शकलाई शीर्षक फेरिएको उही फिल्म हेर्न चलचित्र घर गएको अनुभव भइरहनेछ ।

स्टारः ३.५

Advertisement


Advertisement

कुमार चौलागाई
कुमार चौलागाई

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्