sarbottam and nepal life

अर्थ विविध

पुनर्निर्माण प्राविधिकलाई कस्न नयाँ प्रावधान, काम छाड्नु एक महिनाअघि जानकारी दिनुपर्ने


काठमाडौं, ६ पुस –तलव सुविधा लगायतमा बार्गेनिङ गर्दै एकैपटक ठूलो संख्यामा पुनर्निर्माण कार्यमा खटिएका प्राविधिकले राजीनामा दिएपछि सरकारले नयाँ प्रावधान ल्याउन लागेको छ ।

पुनर्निर्माणका लागि भूकम्प प्रभावित जिल्लामा करारमा नियुक्त भएका इन्जिनियरले अब काम छाड्नु एक महिनाअघि नै जानकारी गराउनुपर्ने प्रावधानको तयारी गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

‘तलव सुविधामा सामूहिक सौदाबाजी गरेर काम प्राविधिकले धोका दिएका छन्,’ शहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरी शर्माले लोकान्तरसँग भने, ‘अब काम छाड्नु एक महिनाअघि नै जानकारी गराउनुपर्ने गरी नयाँ प्रावधानको तयारी गरेका छौं ।’

मंगलवार एकैपटक भूकम्पप्रभावित ११ जिल्लामा कार्यरत झण्डै १४ सयले राजीनामा दिएको इन्जिनियहरूले दावी गरेका छन् । गत मंसिर २२ गतेदेखि आन्दोलनरत् इन्जिनियरहरूले मंगलवार एकैपटक ठूलो संख्यामा राजीनामा बुझाएका हुन् ।

ठूलो संख्यामा इन्जिनियरको राजीनामाले पुनर्निर्माण कार्यसमेत प्रभावित भएको छ । मन्त्रालयले निजी आवाश निर्माणको मध्य चरणमा इन्जिनियरले धोका दिएको बताएको छ ।

इन्जिनियरहरूले तलव सुविधा, बीमा, ग्रामिण क्षेत्रमा आवाशको सुविधा, स्पष्ट अधिकार प्रत्यायोजन लगायतका माग राख्दै आएका छन् ।

दुइजनाले राजीनामा बुझाएर गएका हुन्, १४ सयले राजीनामा दिएका हैनःप्रवक्ता 

शहरी विकास मन्त्रालयले भने १४ सय इन्जिनियरले राजीनामा बुझाएको भनेर गलत प्रचार गरिएको बताएको छ । ‘२ जनाले राजीनामा बुझाएर गएका हुन्,’ प्रवक्ता शर्माले भने, ‘उनीहरूले दावी गरेजस्तो १४ सयले राजीनामा दिएका हैनन् ।’  

मन्त्रालय भन्छ –यो ठूलो धोका हो 

मन्त्रालयले एकैपटक ठूलो संख्यामा इन्जिनियरले राजीनामा दिनु सरकारलाई ठूलो धोका भएको बताएको छ । ‘प्रत्येक इन्जिनियरमाथि सरकारको लगानी छ,’ प्रवक्ता शर्माले थपे, ‘तर, अहिले अधैर्य भएर राजीनामा बुझाउनु ठूलो धोका हो ।’

सरकारले नियुक्त गर्दा भत्तालगायतको प्रावधान नभए पनि पछिल्लो समय इन्जिनियरले संवेदनशिल अवस्थाको उपयोग गरेर सरकारमाथि बार्गेनिङ गरेको मन्त्रालय बताउँछ ।

२ सय ५० नयाँ भर्ना गरियो

यसैगरी यसअघि विभिन्न समयमा काम छाडेका २ सय ५० इन्जिनियरको स्थानमा नयाँ इन्जिनियर भर्ना गरि सकिएको मन्त्रालयले बताएको छ ।

अब के हुन्छ ?

भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माणका लागि भनेर सरकारले विशेष व्यवस्था गरी करारमा २७ सय प्राविधिक भर्ना गरेको थियो । काममा खटिएका इन्जिनियरले आफूले चाहेको खण्डमा काम छाड्न पाउने भन्दै राजीनामा दिएका इन्जिनियरको स्थानमा चाँडै नयाँ भर्ना गरिने मन्त्रालयले जनाएको छ ।

कारवाही गर्ने चेतावनी
यसैबीच पुनर्निर्माण प्राधिकरणले सेवा सुविधा दिने गरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्पबाट मर्माहत भएका पीडित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।  बुधवार, पौष ६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell