Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन संसदीय समितिको निर्देशन

काठमाडौं, ७ पुस –संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्वि तत्काल फिर्ता लिन नेपाल आयल निगम र आपुर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

संसद सचिवालय सिंहदरवारमा बिहीवार बसेको समितिको बैठकले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहँदा चोरी निकासी रोक्ने नाममा पेट्रोलियम पदार्थको मूल्य बढाउनु नाजायज भएको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारलाई निर्देशन दिएको हो ।

‘सरकारले गरेको मूल्यवृद्वि सरकार स्वयंले स्वीकृत गरेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि –२०७१ को कार्यविधि विपरित छ,’ निर्णयमा भनिएको छ, ‘तसर्थ मूल्यवृद्वि हाललाई स्थगत गर्न निर्देशन दिइएको छ ।’ समितिको निर्णयमा भनिएको छ ।

निगमसँग ३ वर्षअघिदेखिको हिसावकिताव माग 

समिति बैठकले नेपाल आयल निगमसँग पुरानो हिसावकिताव माग गर्ने निर्णय गरेको समिति सचिव सुदर्शन खडकाले जानकारी दिए । समितिले निगमले पेट्रोलियम पदार्थको मूल्य तय गर्दा लिइएका आधारहरूका सम्बन्धमा निगमसँग जिज्ञासा राखेको हो ।

निगमले सडक मर्मतसम्भार कर, प्रदुषण शूल्क, मूल्य स्थिरिकरण कोष, पूर्वाधार कर, निगमको पूर्वाधार विकास लगायतका विभिन्न शिर्षकमा पेट्रोलियम पदार्थबाट निश्चित रकम करबापत असुल गर्दै आएको छ । ‘पछिल्लो ३ वर्षमा विभिन्न शिर्षकमा पेट्रोलियम पदार्थबाट लिइएको कर तथा आम्दानी र खर्च र सम्बन्धित निकायमा उपलब्ध गराइएको रकम विवरण समितिलाइ आगामी एक साताभित्र उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिइन्छ,’ समितिको निर्णयमा उल्लेख छ ।


यसअघि नेपाल आयल निगमले गत सोमबारदेखि पेट्रोल, डिजेल र मट्टीतेलको प्रतिलिटर साढे ४ रुपैयाँ मूल्य बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यसको व्यापक विरोध हुँदै आएको छ । बिहिवार, पौष ७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam