sarbottam and nepal life

अर्थ विविध

यसबर्ष अहिले सम्मकै धेरै धान उत्पादन

लोकान्तर संवाददाता
काठमाडौं, १२ पुस –यस वर्षको धान र कोदो उत्पादनले नेपालमा अहिले सम्मकै रेकर्ड कायम गरेको छ । कृषि विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७३/७४ मा सबै अन्नको उत्पादन विगतमा वर्षहरुको भन्दा उच्च देखिएको हो ।

चालू आवमा मुलुकभर ५२ लाख ३० हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार गत आवमा ४२ लाख ९९ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

चालू आवमा भएको धान उत्पादन गत आवको भन्दा झन्डै २२ प्रतिशतले बढी हो । अघिल्ला वर्षमा अधिकतम ५० लाख मेट्रिक टनसम्म धानको उत्पादन भएको थियो । आव २०७०÷७१ र २०६८÷६९ मा धान उत्पादन ५० लाख मेट्रिक टनसम्म पुगेको थियो ।

नेपालमा प्रमुख खाद्य बालीको रूपमा रहेको धानले कुल खाद्यान्न उत्पादनमा औषत ५५ प्रतिशत योगदान पु¥याउँदै आएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादन र समग्र कृषिमा धानको योगदान औषतमा क्रमशः ७ प्रतिशत र २० प्रतिशत छ ।

मकै उत्पादन पनि बढ्यो

मन्त्रालयका अनुसार चालू आवमा मुलुकभर २२ लाख ५९ हजार ४ सय मेट्रिक टन मकै उत्पादन भएको छ । गत आवमा मुलुकभर २२ लाख ३१ हजार ५ सय मेट्रिक टन मकै फलेको थियो ।

चालू आवमा भएको मकै उत्पादन गत आवको तुलनामा १ दशमलव २५ प्रतिशतले बढी हो । आव २०७०÷७१ मा मकै उत्पादन सबैभन्दा उच्च थियो । उक्त आवमा मकैको उत्पादन २२ लाख ८३ हजार २ सय २२ मेट्रिक टन मकै उत्पादन भएको थियो । जुन चालू आवको भन्दा झण्डै २४ हजार मेट्रिक टनले मात्र बढी हो ।

३ लाख मेट्रिक टन कोदो फल्यो

मन्त्रालयका अनुसार चालू आवमा मुलुकभर ३ लाख ६ हजार २ सय मेट्रिक टन कोदो उत्पादन भएको छ । गत आवमा मुलुकभर ३ लाख २ हजार ४ सय मेट्रिक टन कोदो फलेकोमा चालू आवमा १ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

आव २०७१/७२ मा मुलुकभर ३ लाख ८ हजार ४ सय ८८ कोदो उत्पादन भई सर्वाधिक रेकर्ड कायम भएको थियो । त्यसको तुलनामा चालू आवमा भएको कोदोको कुल उत्पादन २ हजार २ सय ८८ मेट्रिक टनमात्र कम हो ।

फापरको उत्पादन पनि बढ्यो
चालू आवमा मुलुकभर मुलुकभर ११ हजार ८ सय मेट्रिक टन फापर उत्पादन भएको छ । गत आवमा मुलुकभर ११ हजार ६ सय मेट्रिक टन फापर उत्पादन भएको थियो ।

मौसमको अनुकुलता, समयमै विउविजनको उपलब्धता लगायतका कारण सबै अन्नको उत्पादन बढेको मन्त्रालयले बताएको छ । ‘हामी एक दुइ दिनमै औपचारिक रुपमै घोषणा गर्दैछौ’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

मूख्य खाद्य बालीका रुपमा रहेका अन्नबालीको उत्पादन बढ्दा यसले दैनिक उच्च मात्रामा आयात हुने खाद्यान्नलाई प्रतिस्थापन गर्न सहयोग मिल्ने मन्त्रालयको विश्वास छ ।

व्यापार तथा निकासी केन्द्रका अनुसार गत आवमा ३९ अर्ब ३४ करोड रुपैयाँ बराबरको अन्न विभिन्न मुलुकबाट नेपाल आयात भएको थियो । मंगलवार, पौष १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell