अर्थ विविध

नाकाबन्दीको सजाय : नेपालले भारतलाई उल्टै विलम्ब शुल्क तिर्नुपर्ने ?

काठमाडौं, १५ पुस – नेपालमाथि गतवर्ष भारतले लगाएको नाकाबन्दीका कारण रासायनिक मल ढुवानी प्रभावित हुँदा राज्यलाई ६६ करोड रुपैयाँ भन्दा बढीको आर्थिक व्ययभार थपिएको छ ।

गत वर्षको असोजदेखि फागुनसम्म भएको भारतीय नाकाबन्दीका कारण नेपालले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको रासायनिक मलको नियमित ढुवानी प्रभावित हुँदा ६६ करोड ४२ लाख रुपैयाँ बराबरको भण्डारण, डिटेन्सन र डिमरेज (विलम्ब) शुल्क बुझाउनुपर्ने भएको हो ।

पाँच महिनासम्म जारी नाकाबन्दीका कारण आवागमन प्रभावित हुँदा करीब १ लाख २० हजार मेट्रिक टन बराबरको रासायनिक मल लामो समय बन्दरगाहमा भण्डारण गर्नुपरेको थियो । त्यस्तै, विभिन्न मुलुकबाट आयात गरिएको रासायनिक मल पानीजहाजमै ‘होल्ड’ भएको थियो ।

नेपालमा मल आयात गर्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अनुसार रासायनिक मल ढुवानी प्रभावित हुँदा नेपालको वीरगञ्ज सुक्खा बन्दरगाहलाई मात्रै करीब ३९ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । नाकाबन्दी र इन्धन अभावका कारण ढुवानी प्रभावित हुँदा लामो समयसम्म आयात भएको रासायनिक मल बन्दरगाहमै भण्डारण गर्नुपरेको थियो ।

त्यस्तै, भारतले वस्तु निर्यातमा अवरोध गर्दा तेस्रो मुलुकबाट आयात गरिएका रासायनिक मल पानीजहाजमै होल्ड भएका थिए भने केही समय कलकत्ता बन्दरगाहमै अड्केका थिए । त्यसबाट नेपाललाई करीब २७ करोड रुपैयाँ व्ययभार पुगेको लिमिटेडले बताएको छ ।

अध्ययन गर्न उपसमिति गठन

‘नाकाबन्दीका समयमा आयात गरिएका रासायनिक मलको डिमरेज, डिटेन्सन र भण्डारण शुल्क माग गर्दै मन्त्रालयमा पटक–पटक ताकेता भएको छ,’ कृषि विकास मन्त्रालयका अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क महाशाखाका प्रमुख ईश्वरप्रसाद रिजालले लोकान्तरसँग भने ।

ठूलो परिमाणमा बिल प्राप्त भएपछि मन्त्रालयले सोसम्बन्धमा अध्ययन गर्न महाशाखा प्रमुख रिजालकै संयोजकत्वमा एक उपसमितिसमेत गठन गरेको छ । ‘त्यतिको बिल कसरी उठ्यो भनेर अहिले उपसमितिले अध्ययन गरिरहेको छ,’ रिजालले भने । थप अध्ययनका लागि छिट्टै क्षेत्रगत अनुगमनमा जाने उनले बताए ।
‘उपसमितिले गरेको अध्ययनका आधारमा उक्त शुल्क तिर्न अर्थ मन्त्रालयसमक्ष पत्राचार गर्नेछौं,’ महाशाखा प्रमुख रिजालले थपे ।

नेपालको संविधानमा आफ्नो स्वार्थ पूरा नभएको बहानामा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । भारतीय नाकाबन्दीका कारण नेपालले करोडाैं रुपैयाँ नोक्सानी बेहोरेको थियो भने नेपालको आर्थिक वृद्धिदर अहिलेसम्मकै न्यून विन्दुमा झरेको थियो ।

तस्वीरः अलजजिराबाट पुस १५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस