अर्थ विविध

भारु सटही : भारतमा समय सकियो, नेपालमा के होला ?

काठमाडौं, १८ पुस – दुई महिना बित्न लाग्दासमेत नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपैयाँ (भारु) सटहीमा अन्योल टरेको छैन ।

नेपालमा ठूलै परिमाणमा रहेको भनिएको भारु सटहीका लागि पटक–पटक गरिएको प्रयासले मूर्तरूप पाउन नसकेपछि भारु सटही हुनेमा थप संशय पैदा गरेको छ ।

कालोधन र आतंकवादविरुद्ध लड्न भन्दै भारत सरकारले गत कात्तिक २३ गतेदेखि पाँच सय र एक हजारका भारु नोटलाई स्वतः अवैध ठह–याएको थियो । यसबीचमा भारतले आफ्नो मुलुकभित्र प्रतिबन्धित पुराना नोट सटहीका लागि दिइएको समयसीमा समेत सकिएको छ ।

तर, यहाँ रहेको भारु सटहीका लागि भारत सरकारले हालसम्म स्पष्ट जवाफ नदिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘हामी अझै जवाफ कुरिरहेका छौं,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्म ढुंगानाले लोकान्तरसँग भने ।
यसअघि भारत सरकारले नेपाली बैंकसँग रहेको प्रतिबन्धित भारुको विवरण माग गरेको थियो । भारु सटहीका लागि राष्ट्र बैंकले डेपुटी गभर्नरको संयोजकत्वमा एक समितिसमेत गठन गरेको थियो ।

भारतभित्र नोट सटहीको समयसीमा सकिएकाले अब नेपाललगायत बाहिरी मुलुकसँग रहेको भारु सटहीका लागि पहल हुनसक्ने बैंकको भनाइ छ । ‘भारतभित्र नोट सटहीको समय सकिएकाले अब नेपालको बारेमा पहल गर्नसक्छ,’ ढुंगानाले थपे ।

प्रतिबन्धित भारु सटहीका लागि नेपालले पटक–पटक भारत सरकारसँग औपचारिक रूपमै माग गरेको थियो । तर, हालसम्म भारतले सटहीका लागि ठोस जवाफ दिएको छैन । ‘नोट नसाट्ने भनेर किटेर भन्न भारत सक्दैन,’ बैंकका कार्यकारी निर्देशक ढुंगानाले भने, ‘तर अबको एक दुई साताभित्र ठोस जवाफ आउने अपेक्षा गरेका छौं ।’
नेपालमा झण्डै १० अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँ रहेको अनुमान छ । यसअघि राष्ट्र बैंकले नै नेपाली बैंकमा रहेका झण्डै चार करोड रुपैयाँ बराबरको प्रतिबन्धित भारु संकलन गरिसकेको छ ।

अनौपचारिक रूपमै साटिए भारु

राष्ट्र बैंकले नै केही भारु अनौपचारिक रूपमै साटिएको दाबी गरेको छ । ‘सीमावर्ती क्षेत्र र अन्य माध्यमबाट केही नेपालीले भारु साटिसकेका छन्,’ ढुंगानाले भने । पुस १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस