Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

तीन महिनामा औषधि लिमिटेड चलाउने मन्त्रीको घोषणा अलपत्र, उद्योग मन्त्रालयकै उदासीनता

सुवास भट्ट

काठमाडौं, ५ पुस – उद्योग मन्त्रालयमा छिर्नेबित्तिकै मन्त्री नवीन्द्रराज जोशीले घोषणा गरेका थिए, अब सरकार माताहतका संस्थान सरकार स्वयंले सञ्चालन गर्छ । उनले केही महत्वपूर्ण र ठूला उद्योग तत्काल सञ्चालन गर्ने भन्दै मन्त्रालय सोका लागि कार्ययोजना बनाइरहेको बताएका थिए ।

मन्त्रीले तत्काल सञ्चालन गर्ने भनेर उद्घोष गरेको संस्थानमध्ये नेपाल औषधि लिमिटेड अग्रपंक्तिमा थियो । तीन महिनाभित्रै औषधि लिमिटेडले आफ्ना उत्पादन बजारमा ल्याउने मन्त्री जोशीले बताएका थिए । तर घोषणा गरेको तीन महिना पुग्न लाग्दा उद्योग सञ्चालनको कुनै चाँजोपाँजो भएको छैन ।

‘उद्योग सञ्चालन गर्ने कुरा प्रक्रियामै छ,’ उद्योग मन्त्रालयका सहसचिव यामलाल भुसालले लोकान्तरसँग भने । उद्योग सञ्चालनार्थ अर्थले बजेट उपलब्ध नगराउँदा काम अघि बढ्न नसकेको उनले बताए ।

औषधि लिमिटेड सञ्चालनका लागि उद्योग मन्त्रालयले अर्थ मन्त्रालयसँग १४ करोड ६५ लाख रुपैयाँ ऋण सहयोग माग गरेको थियो । उद्योग मन्त्रालयका अनुसार उक्त रकम दिने सम्बन्धमा अर्थबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमा कार्ययोजना सहित बजेट माग गरेको बताएपनि अर्थ मन्त्रालयले भने सोको फाइल नै प्राप्त हुन नसकेको बताएको छ । मन्त्रालयका संस्थान महाशाखा र बजेट महाशाखा दुवैले आफूकहाँ फाइल नै नआएको जानकारी लोकान्तरलाई दिए ।

उद्योग मन्त्रालयकै एक अधिकारीले ऋण सहयोग दिनका लागि अर्थ मन्त्रालय आश्वस्त हुन नसकेको बताए । उनका अनुसार कार्ययोजना सहितको बजेट गत भदौमै अर्थ मन्त्रालय पेश गरिएपनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

ती अधिकारीका अनुसार अर्थ मन्त्रालयले उद्योग मन्त्रालयसँग लिमिटेडको पुराना हिसाबकिताब मागेको छ । मन्त्रालयले यसअघि लिमिटेडलाई पटक—पटक ऋण सहयोग दिएर चलाउँदै आएको छ । तर त्यसको भुक्तानी लिमिटेडले दिन सकेको छैन ।

‘बिजनेस प्लान र लगानीको परिणाम आउने सुनिश्चितता नदेखेसम्म अर्थले बजेट दिने सम्भावना छैन,’ ती अधिकारीले भने । मन्त्रालयका सहसचिव भुसालले भने लिमिटेडमा महाप्रबन्धकको नियुक्ति लगायतको काम भइरहेको बताएको छ ।

एक दशकअघिसम्म झण्डै १ सय २० प्रकारका विभिन्न औषधि उत्पादन गर्दै आएको लिमिटेड हाल पूर्णतः बन्द छ । २०६७ सालदेखि लिमिटेड ठप्प छ ।

कुनै समय जनमानसमा लोकप्रिय सिटामोल, जीवनजल लगायतका लोकप्रिय औषधि उत्पादन गर्दै आएको लिमिटेड राजनीतिक खिँचातानी, सरकारी उदासीनता, कर्मचारीको मनोमानी लगायतका कारण बन्द हुने स्थिति बनेको हो ।

लिमिटेडसँगै उद्योग मन्त्रालयले लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका गोरखकाली रबर उद्योग, धागो उद्योग, कृषि औजार लिमिटेड, हेटाैंडा कपडा उद्योग, फागु उद्योग, नेपाल मेटल लगायतका उद्योग पनि सञ्चालनमा ल्याउने बताएको छ । तर ती उद्योग सञ्चालनार्थ प्रक्रियागत विषयमै लामो समय बित्दा आशंका उब्जिएको छ । मंगलवार, पौष ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing