किशोर कुमारको ८८औं जन्मजयन्ती आज

साउन २०, २०७४

काठमाडौं, २० साउन — बलिउडका महान् कलाकार किशोर कुमार बाँचिरहेका भए आज ८८ वर्षका हुन्थे ।
फिल्मको सबै कलामा उनी निपूण थिए । उनको गहिरो आवाजले कुनै पनि संगीत र शब्दमा ज्यान भर्न सक्थ्यो ।


गीत रेकर्ड गर्दा उनले देखाउने हर्कतहरू पनि रमाइला हुन्थे । उनी एक राम्रो अभिनेता पनि थिए र कमेडीमा उनको दख्खल थियो ।

उम्दा गायक हुनुका अलावा उनी संगीतकार, गीतकार, अभिनेता, निर्देशक, निर्माता र स्क्रिप्ट लेखक पनि थिए ।

यी महान् गायक र योडलरले आफ्नो प्रभावशाली करीयरमा गाएका गीतहरू कालजयी छन् । अहिलेसम्म पनि श्रोताहरू उनका गीत सुनेर आनन्दित हुन्छन् । 'खैके पान बनारसवाला', 'इस मोड से जाते हैं', 'ये शाम मस्तानी', 'तुम आगए हो' लगायतका गीतले उनको गायनको उत्कृष्ट उदाहरण पेश गरेका छन् । अचम्मको कुरा त उनले शास्त्रीय संगीतको तालिम समेत लिएका थिएनन् ।

विशेषगरी संगीतकार आरडी बर्मनको समन्वयमा उनले गाएका गीतहरू सुपरडुपर हिट छन् । यी दुईले बलिउड संगीतकै महानतम गीतहरू दिएका छन् । ती गीत कल्ट क्लासिक नै भएका छन् ।

अत्यन्तै सफल करीयर भएका किशोर कुमारले जहिल्यै रहस्यमय जीवन बिताए । उनको वास्तविक नाम आभास कुमार गांगुली थियो र उनी उम्दा अभिनेता अशोक कुमारका भाइ थिए । उनले जीवनमा चारचोटि विवाह गरेका थिए ।

एजेन्सी


ADVERTISEMENT

साउन २०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस