Nic Asia
cocacola

बैंक / सेयर

शेयर बजारको ओरालो यात्रा: मधेसी दलसँग डराए लगानीकर्ता


काठमाडौं, २९ जेठ– यो महिनाको पहिलो दिन (जेठ १ गते सोमवार) १६५९.२३ विन्दुमा रहेको शेयर बजार त्यसपछिका दिनमा भने लगातारजसो घट्दो क्रममा छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार जेठ महिनामा अहिलेसम्म ५ पटकमात्रै शेयर बजार हरियो भयो । अन्य दिनमा भने शेयर खरिद गर्नेभन्दा बिक्री गर्नेको संख्या बढी रह्यो ।

पछिल्लोपटक संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेको दिन (जेठ २३ गते) बढेको शेयर बजार त्यसपछि भने लगातार घट्दो क्रममा छ । प्रजातान्त्रिक पार्टी नेतृत्वको सरकार आउँदा शेयर बजारमा कारोबार बढ्ने नेपाली पूँजीबजारका लगानीकर्ताको मनौवैज्ञानिक धारणा छ । तर यसपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा भने त्यसो हुन सकेको छैन ।

बरू ‘कट्टर कम्युनिस्ट’ माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको पालमा भन्दा देउवा प्रधानमन्त्री भएपछि शेयर बजार ओरालो लागिरहेको छ । देउवाले प्रधानमन्त्रीको सपथ लिएको दिन (जेठ २४ गते) शेयर बजार परिसूचक नेप्से १६३७.३७ विन्दुमा थियो । तर त्यसपछिका दिनमा भने बजार लगातार ओरालो लागिरहेको छ । जबकि देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिका ६ दिनमा शेयर बजारमा ५६.८५ अंकको गिरावट आएको छ ।

शेयर विश्लेषकहरूले बजारमा खडेरीको संकेत देखा पर्न थालेको बताउन थालिसकेका छन् ।

आखिर किन यस्तो अवस्था आयो त ? शेयर लगानीकर्ता तथा विश्लेषक छाटेलाल रौनियार यसपटक लगानीकर्ता हतोत्साहित भएको बताउँछन् । यसमा राजनीतिक र नीतिगत दुई कारण रहेको उनको ठम्याइ छ ।

मधेसी मोर्चाले चुनाव हुन नदिने धम्की दिनु, प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरताको लागि खासै पहल गर्न नसक्नु लगायत राजनीतिक कारणले पूँजीबजारमा नकारात्मक असर परेको उनी बताउँछन् ।

यस्तै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) आएपछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनले बताए । खासगरी बैंकहरूले शेयरमा गर्ने लगानीमा कडाइ हुनु यसको प्रमुख कारण हो । यसले गर्दा अझैसम्म पनि ठूला लगानीकर्ता बजार प्रवेश गरेका छैनन् ।

बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्नेहरूको समूह अहिले निष्क्रिय जस्तै रहेको शेयर ब्रोकरहरू बताउँछन् । शेयरमा लगानी गर्ने ठूला लगानीकर्ताले साना लगानीकर्तामा मानसिक त्रास पैदा गर्ने गरेको पनि साना लगानीकर्ता बताउँछन् ।

ठूला लगानीकर्ता जतिसक्यो बजारलाई घटाउन चाहन्छन् किनकि बजार घट्दा नै उनीहरूले लगानी गर्ने समय आउँछ ।

त्यसो त वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनपछि बैंकहरूमा लगानीयोग्य पूँजी (तरलता) बढ्ने अनुमान गरिएको थियो । बैंकहरूमा जम्मा हुने तरलता पूँजी बजारमा आउने धेरैको अनुमान थियो ।

तर त्यसो हुन सकेन । कतिपय बैंकहरूले त अहिलेसम्म पनि तरलता अभाव रहेको बताउँदै आएका छन् ।

साप्ताहिक कारोबारको दोस्रो दिन सोमवार (आज) शेयर बजारमा सबै समूहका परिसूचक घटेका छन् । अघिल्लो दिन (आइतवार) १४६ कम्पनीको ७१ करोडभन्दा बढी रुपैयाँको शेयर किनबेच भएपनि सोमवार भने त्यसको मात्रा घटेको छ ।

सोमवार १३८ कम्पनीको ४९ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

शेयर विश्लेषकहरू शेयर बजारको अवस्था अहिले नै सुधार हुने सम्भावना नरहेको बताउँछन् । लगानीयोग्य पूँजीको अभाव कायमै रहेको, बैंकको ब्याजदर घट्ने छाँट नभएको, बजार ओरालो लागेसँगै मार्जिन कल माग्ने क्रम बढेकाले शेयर बजार तत्कालै स्थिर बन्ने सम्भावना नरहेको विश्लेषकहरूको भनाइ छ । सोमवार, जेठ २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार