Nic Asia
cocacola

बैंक / सेयर

कस्तो सेयर किन्ने ? कसरी छान्ने ?

मनीषा अवस्थी


काठमाडौं, २५ असोज - कम्पनीमा रहेको कूल पूँजीको विभाजीत इकाइको दस्तावेजलाई शेयर भनिन्छ । अथवा कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरुलाई बिक्री गरिने स्वामित्वको इकाइ शेयर हो ।

यसरी कम्पनीकाम थप काम गर्नका लागि पूँजी जम्मा गर्नको लागि शेयर जारी गरिन्छ लगानी गरेवापत कम्पनी स्वामित्वको इकाइको दस्तावेज राख्ने व्यक्तिलाई शेयरधनी भनिन्छ । शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयरधनी विच करार हुने गर्दछ ।

शेयरमा लगानी गरे वापत शेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ ।

कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।

कसरी आउँछ बजारमा सेयर?


पछिल्लो समय नेपाली शेयर बजारमा पनि आकर्षण बढ्दो छ । अझ भनौं शेयरमा लगानी गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

शेयर विश्लेषक रवीन्द्र भट्टराईका अनुसार कुनै पनि कम्पनी शेयरबजारमा आउनु अघि धितोपत्र सम्बन्धि कानुनको पालना गरि तोकिएका शर्त पुरा गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिन्छ ।
सेबोनले स्वीकृति दिएपछी प्राथमिक शेयर जारी हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर कारोबार हुन्छ । प्राथमिक शेयर जारी हुन लागेको जानकारी पत्रपत्रिकाबाट पाउन सकिछ । प्राथमिक र हकप्रद शेयर कहिले आउँछ सेबोनको वेवसाइटमा पनि राखिएको हुन्छ ।

भट्टराईकाअनुसार नेपालको सन्दर्भमा बैंक र बिमाले अनिवार्यरुपमा यसका नियामकले तोकेबमोजिम शेयर बेच्नैपर्ने व्यवस्था छ । जलविद्युत, दूरसञ्चार, उत्पादन, प्रशोधन तथा होटेलहरुले स्वेच्छिकरुपमा शेयर जारी गरेका छन् ।

यस्ता कम्पनीले धितोपत्र सम्बन्धि प्रचलित कानून पालना गरेर आएमा शेयर जारी गर्ने स्वीकृति पाउँछन् । धितोपत्र निष्काशन सम्बन्धि नियमावलीले वास्तविक क्षेत्रका कम्पनीलाई पनि शेयर जारी गराउन प्रोत्साहन गर्न खोजेको छ ।

संस्थापक सेयर


कुनै पनि कम्पनी शुरु भएपछि जारी गरिने विभिन्न प्रकारका शेयर हुन्छन् । शुरुमा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ ।

अधिकृत पुँजी भनेको कम्पनीको जम्मा स्वीकृत बजेट हो । जस्तै कसैले डेड अर्बको कुनै कम्पनी खडा गरे भने त्यो नै अधिकृत पूँजी हो । त्यसमा कम्पनी शुरुवातकर्ताले कति रकम हाल्ने भनेर कबुल गर्छन् । उनीहरुले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छन् । त्यसलाई संस्थापक शेयर वा अग्राधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो शेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ ।

संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।

साधारण शेयर

संस्थापकहरुले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । साधारण शेयर भनेको कम्पनीको काम बढाउनका लागि सर्बसाधारण जनताबाट उठाईएको लगानी हो । नेपालमा प्राथमिक सेयरको मुल्य प्रतिकित्ता १०० तोकिएको छ । सामान्यतया सर्वसाधारणले ४९ प्रतिशतसम्म सेयर हाल्न पाउँछन् । तर त्यसको निर्धारण संस्थापकहरुले नै गर्छन् । सर्वसाधारण सेयर धनीले कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा दुबै लिनुपर्छ ।

शेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ ।
कुनै पनि कम्पनीको पहिलो पटकको काराबोरका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म रकम तोकिदिन्छ ।

सेयरको दोस्रो बजार

शेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर सूचीकरण गराउँछन् । त्यसपछि लगानीकर्ताले (जलविद्युत् जस्ता कम्पनीले स्थानीय बासिन्दा वा यही समूहका लागि जारी गरेको शेयरबाहेक) शेयर कारोबार गर्न सक्नेछन् ।

त्यसपछिको मूल्य भने बजारमा रहेको माग र आपूर्ति अनुसार नै निर्धारण हुन थाल्छ । आधिकारीक दलालको सूची नेप्से वा सेबोनको वेबसाइटमा हेर्न सकिन्छ । दलालको कार्यालयमा गएर सम्पूर्ण व्यहोरा खुलाउने ‘ग्राहक पहिचान फारम’ भरेपछि प्राप्त हुने कसैसँग नमिल्ने छुट्टै ग्राहक संकेत मार्फत कारोबार गर्नुपर्छ ।

सेयरको कारोबार दोस्रो बजार बाहेक बाहिर गर्द पाइँदैन । सेयर पनि अन्य सम्पत्ति जस्तै किबेच गर्न सकिन्छ । तर सेयरको कारोबार अनिवार्य रुपमा दलाल मार्फत गर्नुपर्छ ।

किनेका शेयर विद्युतीय स्वरुपमा भण्डारण गर्नको लागि अभौतिकीकारण (डिम्याट) खाता खोल्नुपर्छ, यसलाई हिताग्राही खाता (बिओ) पनि भनिन्छ । यो बैंक खाता जस्तै हो र यसमा शेयर भण्डारण हुन्छ । यस्तो खाता खोल्नको लागि निक्षेप सदस्य डिपोजिट पार्टिसिपेन्ट (डिपी) को रुपमा कार्य गर्न सेबोनले बिभिन्न मर्चेन्ट बैंक, वाणिज्य बैंक, वित्त कम्पनी र दलाललाई अनुमति दिएको छ ।

विओ खातामा हुने शुरुको आठ अंक डिपी नम्बर र पछिल्लो आठ अंक ग्राहक नम्बर हो । यो नम्बर प्राथमिक र हकप्रद शेयर आवेदन फारममा समेत निर्दिष्ट स्थानमा उल्लेख गर्नुपर्छ । दोस्रो बजारमा कारोबार गर्न जाँदा अग्रिम रकम भुक्तान गर्नुपर्छ भन्ने अनिवार्य छैन तर भर्खर आएकालाई भने शुरुशुरुमा अग्रिम रकम बुझाउनुपर्ने पनि हुनसक्छ । तर कारोबार गर्दै गएपछि अग्रिम दिनुपर्ने हुँदैन ।

शेयर सूचना कसरी पाउने ?


शेयरबजारमा कारोबारको लागि प्रवेश गरेपछि कुन कम्पनीको शेयर किन्ने, कहिले किन्ने, कहिले बेच्ने यस्ता सूचना र जानकारी बिभिन्न स्रोतबाट लिएर त्यसको प्रशोधन गर्नुपर्छ ।

यस्ता जानकारीका लागि नेप्से, सेबोन, नेपाल राष्ट्र बैंक, विमा समिति जस्ता नियमकले बेलाबेलामा जारी गर्ने सूचना, परिपत्र अध्ययन गर्नुपर्छ । त्यस्तै सम्बन्धित कम्पनीले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरण र अन्य सूचनाको बारेमा जानकार हुनुपर्छ ।

लगानीकर्ताले आफूले लगानी गर्न चाहेको कम्पनीको वार्षिक प्रतिवेदन समेत अध्ययन गर्नुपर्छ । शेयरबजारसँग सम्बन्ध राख्ने कम्पनी ऐन, नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, विमा ऐनरनियमावली, धितोपत्र सम्बन्धि ऐन नियमावलीको सामान्य जानकारी लिनुपर्छ ।

कस्ता कम्पनी रोज्ने ?


बिश्लेषक रबिन्द्र भट्टराईकाअनुसार शेयर कुन कम्पनीको किन्ने विषय जटिल छ । उचित सूचना र जानकारी लिनेहरुले शेर बजारबाट राम्रो मुनाफा लिइरहेका छन् । शेयरबजार कति बेला आरालो लाग्छ र बढ्छ भन्ने कुनै निश्चित सुत्र छैन जुनसुकै बेला तलमाथि हुनसक्छ । नेपालको सन्दर्भमा सामान्यतया श्रावणदेखि पौष मसान्तसम्म बढ्ने र त्यसपछिको तीन महिना तल झर्ने समय मानिन्छ । बैशाख लाग्दा तेश्रो त्रैमासिक वित्तीय विवरण आएपछि सामान्य बढ्दै जाने क्रम शुरु हुन्छ ।

शेयरमा लगानी गरेर एकैपटक कमाउने सपना देख्नु भन्दा बैंकले दिने व्याजदरसँगपनि तुलना गर्नुपर्ने र बैंकमा राख्दा कति आँउथ्यो र शेयरमा लगानी गरेर कति आउँछ त्यसको लेखाजोखाबारे चनाखो हुनुपर्ने भट्टराई बताउँछन् ।

मूल्य आम्दानी अनुपात, खूद सम्पति, कूल सम्पति, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च जस्ता आधारभूत कुराको जानकारी समेत लिएर शेयर खरिद गर्दा सहज हुने उनी बताउँछन् । यसवाहेक बैंक, बिमा, जलविद्युतका आफ्नै सूचक पनि हुन्छन् । बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर जस्ता सूचक पनि महत्वपूर्ण हुन्छन् ।

कसरी किन्ने शेयर ?

आईपीओ जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति शेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ ।

आह्वानपत्रले कम्पनीको शेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ ।

आह्वानपत्र राम्ररी अध्ययन गर्न सक्नेले त्यहीँबाट पनि कम्पनीको धेरै जानकारी पाउँछ । यस्तो आह्वानपत्र धितोपत्र बोर्डबाट स्वीकृत भएको हुँदा लगानीकर्ता विश्वसनीयतामा भर पर्न सक्छन् । आह्वानपत्रमा उल्लेख भएको शेयर विक्री प्रबन्धक वा तोकिएका सङ्कलन केन्द्रबाट शेयरमा लगानी गर्न फारम पाइन्छ ।

फारममा लगानीकर्ताले कति कित्ता शेयर लिन चाहेको हो, उल्लेख गरेर आफ्नो बारेमा मागिएको जानकारी पनि भर्नुपर्छ । शेयर फारममा हस्ताक्षरसमेत गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ ।

बैंक खाता अनिवार्य

फारम भर्नेको बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । मागेको भन्दा कम शेयर परेमा वा शेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी विक्री प्रबन्धकले एकाउण्टपेयी (अर्थात् खातामै रकम जाने) चेक जारी गरिदिन्छ ।

फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । सक्कल नागरिकता प्रमाणपत्रसमेत सङ्कलन केन्द्रमा देखाउनुपर्ने भएकाले साथमै बोक्नुपर्छ । निश्चत सीमाभन्दा बढी रकमको शेयर माग गर्दा आम्दानीको स्रोत उल्लेख गर्नुपर्ने हुन्छ भने एकाउण्टपेयी चेकबाटै भुक्तानी दिनुपर्छ ।

आवेदन गरेको शेयरको बाँडफाँट निष्कासित शेयरको आधारमा ४० देखि ७० दिन लाग्छ । शेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति शेयर पाए भन्ने यकिन हुन्छ । पाएको शेयरको प्रमाणपत्र र माग गरेर पनि नपाएको शेयरको रकम फिर्ता भने सङ्कलन केन्द्र वा विक्री प्रबन्धकबाटै पाउन सकिन्छ ।

माग गरेर पनि भनेजति शेयर नपाएकाले त्यो रकम बापतको ब्याज पनि पाउँछन् । तर, यस्तो ब्याज भने जम्मा २ प्रतिशत मात्र पाइन्छ । कतिपय बैंक तथा वित्तीय संस्थाले भने आफ्नै शेयरमा लगानी गर्नेलाई लक्षित गरेर शेयरधनी खाता पनि सञ्चालनमा ल्याएका छन् । बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti