विश्व/प्रवास

उत्तर कोरियाको आणविक क्षमता सुधारोन्मुख : अमेरिका

काठमाडौं, २२ पुस — एक वर्षभित्र उत्तर कोरियाको हतियार क्षमतामा गुणात्मक सुधार आएको अमेरिकी उपविदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।


सन् २०१६ मा उत्तर कोरियाले अभूतपूर्व तीव्रताका साथ आणविक र क्षेप्यास्त्र परीक्षण गरेको उनको भनाइ छ । यसले निम्त्याउने खतरा दिनदिनै बढिरहेको उनले बताए ।

तर अमेरिका र सहयोगी देशहरू चुप लागेर नबसेको बताउँदै ब्लिन्केनले अन्य देशले सुरक्षा संयन्त्रलाई मजबुत बनाएको जानकारी दिए ।

जापान र दक्षिण कोरियाका मन्त्रीहरूसँगको भेटघाटपछि उनले यो बताएका हुन् ।

उत्तर कोरियाले अमेरिकी भूमिमा मार हान्न सक्ने क्षमता कत्तिको विकास गरिसकेको प्रस्ट भएको छैन ।

त्यहाँका सर्वोच्च नेताले गत आइतवार अन्तर्महाद्वीपीय क्षेप्यास्त्रको निर्माण अन्तिम चरणमा पुगेको बताएका थिए ।

दक्षिण कोरियाका अर्थमन्त्रीले क्षेप्यास्त्रबाट सुरक्षा गर्ने अमेरिकी प्रविधि आफ्नो देशले लगाउने निर्णयका कारण चीनले अप्रत्यक्ष कारवाही चलाइरहेको आशंका गरेका छन् ।

अमेरिकाको थाड प्रतिरोधात्मक प्रणालीको शक्तिशाली राडरले आफ्नो भूमिमा प्रवेश गर्न सक्ने चीनको चिन्ता छ ।

यो प्रणाली लगाएमा अमेरिका र दक्षिण कोरियाले त्यसको मूल्य चुकाउनुपर्ने चीनले चेतावनी दिएको छ ।

दक्षिण कोरिया र अमेरिकाले भने क्षेप्यास्त्र प्रणाली उत्तर कोरियाबाट हुने खतरालाई रोक्न मात्र केन्द्रित रहेको बताएका छन् ।

एजेन्सी
पुस २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस