छापामा

चीनले हतियार नचलाइकनै भारतविरुद्ध शुरु ग–यो तीन मोर्चामा युद्ध

काठमाडौं — चीनले डोक्लाम विवादमा भारतविरुद्ध तीनवटा मोर्चामा युद्ध थालेको भारतीय रणनीतिकारहरूले विश्लेषण गरेका छन् । ती मोर्चा हुन् : मिडिया मोर्चा, मनोवैज्ञानिक मोर्चा र कानूनी मोर्चा ।


तीन मोर्चा सिद्धान्तको उत्पत्ति कहिले भयो थाहा हुन सकेको छैन । तर स्रोतहरूका अनुसार सन् २००३ मा चीनको केन्द्रीय सैन्य आयोगले जनमुक्ति सेनाका लागि सूचना कारवाहीको निर्देशनात्मक अवधारणालाई अनुमति दिएको थियो । त्यसलाई तीन युद्धमोर्चा (सान झोङ झान्फा) भनिन्छ ।

यसलाई सन् २०१० मा फेरि बलियो बनाइयो । मिडिया, मनोविज्ञान र कानूनलाई आधार बनाएर चलाइने यो युद्धमोर्चा चीनको रणनीतिक प्रक्रियाको महत्त्वपूर्ण अंग हो ।

डोक्लामको सन्दर्भमा चीनले मिडिया युद्धमोर्चामार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय विचारलाई प्रभावित गरिरहेको छ ।

भारतलाई डोक्लामबाट हटाउनका लागि चीनको सरकारी मिडिया, विदेश मन्त्रालय, रक्षा मन्त्रालय र विदेशमन्त्री वाङ यी समेतले कडा बयानहरू दिइरहेका छन् ।

मनोवैज्ञानिक युद्धमोर्चाअन्तर्गत भारतीय मिडियाले चीनको सबै सन्देशलाई बढाईचढाई प्रस्तुत गरिरहेका छन् ।

भारतीयहरूलाई आफ्नो सरकारमाथि दबाब दिएर डोक्लामबाट पछि हट्न दबाब दिने काम भइरहेको छ ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई झुटो बोलेको आरोपदेखि लिएर युद्धको दिनगन्ती शुरु भएकोसम्म अनि सिक्किमलाई भारतीय दमनबाट मुक्त गर्नदेखि लिएर जम्मु कश्मीरमा हस्तक्षेप गर्नेसम्मको कुरा झिकेर चीनले भारतमाथि मनोवैज्ञानिक दबाब दिएको छ ।

यसै क्रममा सन् १९६२ मा भएको भारत–चीन युद्धका तस्वीर पनि उसले देखाउँदै आएको छ । यो भारतका लागि लज्जाको विषयका रूपमा रहेको छ ।

कानूनी मोर्चाअन्तर्गत एक चिनियाँ अधिकारीले भुटानले डोक्लाममा चीनको सार्वभौमसत्ता स्वीकार गर्न तयार भएको बताएकी थिइन् र भुटानले यसलाई खण्डन गर्न बाध्य भएको थियो ।

थिम्पुले आधिकारिक रूपमा खण्डन नगरेको भए त्यसलाई चीनको जीतका रूपमा चित्रित गरिने थियो । चीनले डोक्लामलाई आफ्नो भनी दाबी गरेपनि भुटान र चीनबीच यस विषयमा २४ चरणको वार्ता भएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।

यो सब गर्नुको उद्देश्य हतियार नचलाइकनै भारतसँगको युद्ध जित्ने चीनको रणनीति भएको विश्लेषकहरूको भनाइ छ ।

एजेन्सी

साउन २९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस