विश्व/प्रवास

अमेरिकाको फ्लोरिडास्थित विमानस्थलमा गोली चल्दा ५ को मृत्यु, ८ घाइते (तस्वीर सहित)

वाशिंगटन, २३ पुस– अमेरिकाको फ्लोरिडास्थित फोर्ट लाउडेरडाले हलिउड एयरपोर्टमा झोला जाँच गर्ने ठाउँमा इस्टेबान सान्टिआगो नामका एक व्यक्तिले शुक्रवार अन्धाधुन्ध गोली चलाउँदा ५ को ज्यान गएको छ भने ८ घाइते भएका छन् ।

एयरपोर्टमा झोला जाँच गर्ने ठाउँमा पेस्तोल सहित उत्रेका सान्टियागोले वाथरुममा गएर पेस्तोल लोड गरेर बाहिर झोला जाँचका लागि टर्मिनल २ मा बसिरहेका मानिसहरुको टाउको टाकेर गोली चलाएको प्रत्यक्षदर्शीले बताए ।  ।
                               गोली चलाउने व्यक्ती सान्टियागो

उनी एक मानसिक रोगी रहेको हुनसक्ने र उनको इस्लामिक आतंकवादी समूह आइएसआइएससँग सम्बन्धित रहेको हुन सक्ने अमेरिकी अनुसन्धान ब्यूरो एफबीआईले जनाएको छ । 

२६ बर्षीय सान्टियागो अलास्काबाट डेल्टा उडान २१८२ बाट पेस्तोल सहित फ्लोरिडास्थित एयरपोर्टमा उत्रेका थिए । उनको टीसर्टमा ‘स्टार वार’ भनेर लेखिएको थियो ।


गोली लागेर भर्जिनियाका टेरी एन्ड्रेस, जर्जियाका ओल्गा वोल्टेरिङ लगायत पाँच जनाको मृत्यु भएको थियो भने अन्य ८ जना घाइते भएका थिए ।

फ्लोरिडामा भएको उक्त घटनालाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक आतंकवादीको संज्ञा दिँदै आफूले यो घटनालाई निकै गम्भीररुपमा हेरिरहेको बताएका छन् । डेलीमेल
पुस २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस