Nic Asia
cocacola

विश्व/प्रवास

यहाँ पानीभन्दा पनि सस्तो छ पेट्रोल, तर जनता छन् भोकै

काठमाडौं, २४ असोज — ल्याटिन अमेरिकी देश भेनेजुएलामा करीब एक वर्षदेखि आर्थिक मन्दी चलिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य खस्केकाले देशमा आर्थिक संकट आएको हो ।


भेनेजुएला संसारको सबभन्दा ठूलो तेल उत्पादक हो र यहाँ तेल पानीभन्दा सस्तो छ । ग्लोबल पेट्रोल प्राइज डट्कमका अनुसार, यतिखेर त्यहाँ तेलको मूल्य प्रतिलिटर एक रुपैयाँ छ । पानी चाहिँ यहाँ ५६ रुपैयाँ प्रतिलिटरमा पाइन्छ ।

आर्थिक मन्दीका कारण भेनेजुएलाको राजधानी काराकासमा मानिसहरू भोकभोकै पर्न थालेका छन् । यो माथिको फोटो एड्रियाना नामक महिलाको हो । उनी फोहोरको डंगुरमा खाना खोजिरहेकी छन् ।

एड्रियानाका अनुसार, उनीसँग आफ्नो र आफ्नी दुई वर्षीया छोरीको पेट भर्ने पैसा छैन ।

एड्रियाना बच्चीसँग यसैगरी अर्काको घरबाहिर फ्याँकिएको फोहरबाट खाना निकाल्छिन् । धेरै मानिसको हालत एड्रियानाको जस्तै छ ।

काराकासमा नालीबाट मानिसहरू धातुका चीज बटुलिरहेका पनि भेटिन्छन् । ती चीज बेचेर उनीहरू केही पैसा कमाउन चाहन्छन् । यसका लागि उनीहरू दिनभरि फोहरमा समय बिताउँछन् ।

त्यसैले गर्दा धेरै मानिसलाई मलेरिया र डेंगु जस्ता गम्भीर रोग लागेका छन् । देशभरिका अस्पतालमा बिरामीको संख्या बढेको छ र औषधिको अभाव छ ।

देशका राष्ट्रपति निकोलस मादुरो सत्तामा आएको लगभग चार वर्ष भएको छ । तर उनले अर्थव्यवस्थालाई सुदृढ बनाउन सकेका छैनन् । मादुरोको तानाशाही व्यवहारका कारण भेनेजुएलामा राजनीतिक संकट छ ।

विपक्षीहरू मादुरोलाई कुर्सी खाली गराउन माग गरिरहेका छन् र उनलाई नै आर्थिक समस्याको जिम्मेवार ठान्छन् । अधिकारहरूको उनले दुरुपयोग गरेको उनीहरूको आरोप छ ।

यसै वर्ष अप्रिलमा मादुरोले विपक्षी नेता हेनरिक क्याप्रिलेसलाई चुप लगाउन १५ वर्षका लागि कुनै पनि सरकारी पदका लागि अयोग्य घोषित गराएका थिए । यसले गर्दा अमेरिकाले भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगायो । अनि देशको हालत झनै खराब भइरहेको छ ।

मादुरोले संविधानसभाको चुनाव गरेको भएपनि विपक्षीहरूले त्यसलाई बहिष्कार गरेका थिए ।

एजेन्सी

बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti