Nic Asia
cocacola

विश्व/प्रवास

अमेरिकी महिलाको नेपाल प्रेम : नेपाली बोल्दै, भूकम्प पीडितलाई घर बनाउँदै (भिडियो सहित)

विन्देश दहाल/विशाल भट्टराई

काठमाडौं, ३ फागुन — एक्काईस वर्षपहिले पहिलो पटक नेपाल आएकी थिइन् अमेरिकी नागरिक नताशा । अमेरिकी सरकारको ‘फुलब्राइट’ छात्रवृत्ति अन्तर्गत तय भएको थियो उनको पहिलो नेपाल यात्रा ।

नेपाली कला र संस्कृतिको अध्ययनका लागि नेपाल आएकी उनको मन चाहिँ यतै अडियो । आफू जहाँ रहेपनि नेपाल र नेपालीका बारेमा चासो राखिरहिन् उनले ।

नेपाल आएको नौ महिनामै छात्रवृत्तिको अवधि पूरा गरेर उनी अमेरिका फर्किइन् । तर उनी आफ्ना नेपाली साथीभाइसँग चाहिँ निरन्तर सम्पर्कमा थिइन् । अध्ययन पूरा गरेर आफ्नै देश गएकी नताशा १६ वर्षपछि फेरि नेपाल आएकी छन् । यसपटक उनी पहिले जस्तो नेपाली संस्कार बुझ्न वा कुनै रमाइलोको लागि नेपाल आएकी होइनन् ।

‘भूकम्पछि घरबार गुमाएका पीडितका लागि काम गरौं भनेर म फेरि नेपाल आएकी हुँ,’ राम्रोसँग नेपाली भाषा बोल्ने नताशाले भनिन्, ‘तर त्यसभन्दा अघि साथीहरूसँग मिलेर नेपालका लागि काम चाहिँ गरिरहेको थिएँ ।’

अमेरिकाको न्युयोर्क शहरकी ४१ वर्षीया नताशा वोज्नियाक गरगहना व्यापारी हुन् । उनी नेपाल आउजाउ गरिरहन्छिन् । उता केही कमाउँछिन्, साथीभाइसँग थप सहयोग बटुल्छिन् अनि नेपालमै केही गर्नको लागि यहाँ आउँछिन् । भूकम्पभन्दा अघि चेपाङ समुदायलाई कपडा वितरण लगायतका काम गरेकी उनी अहिले चाहिँ पूर्णरूपले भूकम्पपीडितका लागि काम गरिरहेकी छन् ।

‘मेरो पुरानो साथी विवेक पण्डितसँग मिलेर अहिले लमजुङको राइनसकोटमा भूकम्पपीडितका लागि घर बनाउँदै छौं,’ सोमवार लोकान्तरको कार्यालयमा आएकी उनले भनिन्, ‘हामीले पहिलो चरणमा बनाएका १४ घरको निर्माण अन्तिम अवस्थामा पुगेको छ ।’ उनले केही दिनमै लमजुङमा बनाएका घरहरू स्थानीयलाई हस्तान्तरण गर्ने समेत जानकारी दिइन् ।

त्यसपछि फेरि अरू ठाउँमा घर बनाउनका लागि आफूहरू अघि बढ्ने उनले बताइन् । ‘सँगसँगै’ नामक गैरसरकारी संस्थामार्फत आफूहरूले भूकम्पपीडितका लागि काम गरिरहेको उनको भनाई छ । उनका साथी पण्डितले ६ वर्षअघि नेपालमै ‘सँगसँगै’ दर्ता गरेका थिए ।

त्यसपछि पण्डितसँगकै छलफलमा नताशाले अमेरिकामा आफू अध्यक्ष रहेर त्यही संस्थाको अमेरिकामा शाखा खोलेकी छन् नेपालीहरूलाई सहयोग गर्नको लागि । उनी त्यहाँ अध्यक्ष छिन् ।

‘साथीहरूसँग मागेर फण्ड जुटाउँछु,’ उनले भनिन्, ‘त्यसले मेरो बसाईं कहिले यता, कहिले उता भइरहेको छ ।’ तर भूकम्पपछि चाहिँ आफू नेपालमै रहेको उनले बताइन् ।

१६ वर्षअघि पहिलोपटक नेपाली भाषा, संस्कृति र परम्पराको बारेमा सिक्न नेपाल आएकी उनले त्यहीबेलामा नै पण्डितलाई साथी बनाएकी थिइन् । त्यही सम्पर्कका कारण उनी अहिले भूकम्पपीडितका लागि काम गरिरहेकी छन् ।

‘भूकम्पपीडितलाई घर मात्रै बनाएर हुँदैन, उनीहरूको आयआर्जनमा पनि ध्यान दिनुपर्दछ,’ उनले भनिन्, ‘त्यसैले राइनासकोटमा आयआर्जनको लागि होमस्टे पनि निर्माण गर्छौं ।’

राइनासोकटमा बनाएका १४ घरको निर्माण अन्तिम अवस्थामा पुगेको छ । अब रंगरोगन गर्न मात्रै बाँकी छ । सो ठाउँबाट हिमाल हेर्न पाइनुको साथै गुरुङहरूको संस्कृतिको बारेमा पनि जानकारी पाउन सक्ने भएकोले होमस्टेले पनि गति लिने उनको अपेक्षा छ ।

यो मात्रै होइन, आउँदो पाँच वर्षमा नेपालका अरू जिल्लामा पनि भूकम्पपीडितका लागि घर बनाउने योजना आफूहरूसँग रहेको उनले बताइन् । उनका अनुसार काभ्रेको बरबन्दीमा २५, गोरखाको लिगलिगकोटमा २५ र रामेछापमा ५० घर बनाउने योजना आफूहरूको रहेको उनले बताइन् ।

आफूलाई मनले नै आदेश दिएर नेपालीका लागि काम गर्न नेपाल आएको उनी बताउँछिन् । ‘मेरो जीवनमा अरूलाई पनि केही सहयोग गर्न पाएकोमा खुशी हुन्छु,’ उनले भनिन्, ‘निकै आनन्द आइरहेको छ ।’ आफू नेपाली भाषामै बोलचाल गर्न सकेको कारणले पनि आफूलाई काम गर्न सजिलो भएको उनी बताउँछिन् ।

‘सँगसँगै’मा तीनजना तलब खाने कर्मचारी छन्, नेपालमा । अमेरिकाको शाखा चाहिँ नताशा एक्लैले सम्हालेकी छन् । बेलाबेलामा विभिन्न इभेन्ट चाहिँ गर्छिन् । लगभग एक करोड ५० लाखको लगानीमा लमजुङमा १४ घर निर्माण गरिएको उनी बताउँछिन् ।

तर नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले काम गर्नुभन्दा पनि प्रतिवेदन बनाउनमा समय खर्च गर्ने गरेको उनी बताउँछिन् । संयुक्त राष्ट्रसंघका नियोगहरू नै पनि प्रशासनतन्त्रको चपेटामा परेर ढिलो गतिमा काम गर्ने उनी सुनाउँछिन् ।

‘यस्ता कारणले पनि यहाँ विकासका काम निकै ढिला हुन्छन्, तर हामीले भने चाँडो काम गरेका हौं,’ उनले भनिन्, ‘रिपोर्ट लेख्नमा समय खर्चनुभन्दा काम चाँडो सक्नतिर हाम्रो ध्यान जान्छ ।’ नेपालको कर्मचारीतन्त्रले काम ढिलो गर्ने भएपनि आफूहरूलाई कहिल्यै पनि अप्ठ्यारोमा नपारेको उनले बताइन् ।

‘सँगसँगै’ले नेपाली युवाहरूलाई नेता बनाउनका लागि पनि कामहरू गर्दैछ । ‘युवाहरूले पुनर्निर्माण र आर्थिक विकासका लागि कलेजहरूसँग सहकार्य गरी विद्यार्थीहरूलाई कार्यक्षेत्रमा स्वयंसेवीका रूपमा लग्ने योजना बनाएको छ,’ नताशा भन्छिन्, ‘विद्यार्थीहरूले फिल्डमै गएर अनुभव लिए भने उनीहरूलाई वास्तविकता थाहा हुन्छ ।’

नताशाले कसरी सिकिन् नेपाली ?

नेपाली भाषा सिक्न त्यति सजिलो छैन । तर नताशाले बोल्ने मात्रै होइन, नेपाली भाषामा लेख्न पनि सक्छिन् । ‘मैले नेपाल आउनुभन्दा अघि एक वर्ष अमेरिकामै नेपाली भाषा पढेकी थिएँ,’ उनी भन्छिन्, ‘नेपाल आएपछि नेपालीहरूसँग मात्रै मेरो संगत भयो, त्यसैले पनि मलाई नेपाली भाषा सिक्न सजिलो भयो ।’

उनले आफू शुरुमा नेपाल आएर नेपालका निकै विपन्न गाउँहरूमा पुगेको बताइन् । त्यसबेला अरू विदेशीहरू खासै गाउँमा नजाने भएकोले आफूले त्यहाँबाट निकै राम्रो आतिथ्य पाएको उनी बताउँछिन् ।

‘त्यसबेला गाउँमा फोन, इन्टरनेट केही पनि थिएन,’ उनले मुस्कुराउँदै भनिन्, ‘कस्तो अनकन्टार ठाउँमा आइपुगेछु, मरें भने पनि आफन्तहरूले थाहा पाउँदैनन् होला जस्तो लाग्थ्यो ।’ तर अहिले फोन र इन्टरनेटबाट सजिलै आफन्तहरूसँग कुरा गर्न पाएको उनी बताउँछिन् ।

एक्काईस वर्षपहिले लमजुङ पुगेर बाख्रा कसरी पाल्ने, कसरी धान रोप्ने लगायतका काम पनि सिकेको उनले बताइन् । त्यसबेला दुई हप्ता गाउँलेहरूको काम गर्ने तरिका हेर्ने र स्थानीयहरूलाई प्रश्न सोध्ने मात्रै आफ्नो काम रहेको उनको अनुभव छ ।

‘अहिले अमेरिका गयो भने पनि नेपाल मिस हुन्छ,’ उनी भन्छिन्, ‘नेपालको संयुक्त परिवारमा बस्न खुब रमाइलो लाग्छ, उता अमेरिकामा मान्छेहरू आइसोलेटेड (एकलकाँटे) छन् ।’

नेपाली कला संस्कृतिप्रति पनि उनको उत्तिकै प्रेम छ । कलाकी विद्यार्थी भएकोले आफैंले हस्तकलाका सामग्रीहरू बनाउँछिन् उनी । घाँटीमा गणेश भगवानको एउटा मूर्ति बनाएर झुण्ड्याएकी छन् । ‘हो, आफैंले बनाएको भगवानको लकेट हो,’ उनी भन्छिन्, ‘नेपालमा गणेशलाई गाह्रोसाह्रो हटाइदिने भगवानको रूपमा लिइन्छ ।’

आफूहरूको घर बनाउने योजनामा आउने गाह्राअप्ठ्यारा पनि गणेशले हटाउँछन् भनेर उनले यो लकेट लगाएको बताउँछिन् ।

एक्काईस वर्षमा काठमाडौं बदलिएर धूलोधूवाँको राज भएकोमा उनलाई चिन्ता लागेको छ । तर यहाँका मानिसको मनमा भने प्रदूषण नभएको उनी बताउँछिन् । ललितपुरको पाटनमा बस्ने नताशा काठमाडौंका लोकल बस र टेम्पोहरू चढेरै शहरको यात्रा गर्छिन् । मंगलवार, फाल्गुण ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti