छापामा

संसद्मा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले सीधा प्रश्न गर्न पाउने

काठमाडौँ, २६ पुस - अब सांसदहरूले संसद्मा सरकारका काम र जनसरोकारका विषयमा प्रधानमन्त्री र मन्त्रीहरूसँग सीधा प्रश्न गर्न पाउने भएका छन् । प्रधानमन्त्री र मन्त्रीसँग सीधा प्रश्न गर्न पाउने व्यवस्थासहित संसद्ले प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यविधि सोमबार पारित गरेको छ,आजको गोरखापत्रमा खबर छ ।samsad3
संसद् कार्यसञ्चालन नियमावलीको नियम २५८ अनुसार कार्यविधि तयार गरी पारित गरेको हो । पारित कार्यविधि अनुसार सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्येक महिनाको दोस्रो आइतबार सीधा प्रश्न सोध्न पाउनेछन् । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालय र सरोकारका विषयमा सांसदहरूले प्रश्न सोध्न पाउनेछन् । यस्तो प्रश्न सोध्ने समय बैठकको सुरुको दुई घन्टासम्म चल्नेछ । कुनै कारणवश तोकिएको दिनमा बैठक बस्न नसके लगत्तै बस्ने अर्को बैठकको दिन प्रश्नोत्तरका लागि समय निर्धारण हुनेछ ।
प्रश्न सोध्न चाहने सांसदहरूले प्रश्न सोध्न चाहेको प्रधानमन्त्री वा मन्त्री र प्रश्नको बेहोरा संसद्का महासचिवलाई दिनुपर्ने व्यवस्था कार्यविधिमा छ । लिखित बेहोरामा लिखित जवाफ चाहेको भए सोही अनुसारको जानकारी सांसदले सचिवालयका महासचिवलाई कम्तीमा पाँच दिनअगावै दिनुपर्नेछ ।
सभामुख ओनसरी घर्तीले कार्यविधि पारितसँगै प्रश्नोत्तर प्रक्रिया चाँडै सुरु गर्ने बताएकी छन् | पुस २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस