सिनेमा

को हुन् नाटकमा अभिनय गर्दागर्दै ज्यान गुमाएका फुयाँल ?

काठमाडौँ, १७ पुस – रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण आज ७९ वर्षको उमेरमा निधन भयो ।phuyal
राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको हो ।

दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्पताल पु¥याइएको प्रत्यक्षदर्शीसमेत रहेका सञ्चारकर्मी शिरोमणि दवाडीले बताए ।
सत्यमोहन जोशीले लेखेको सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् ।
झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा सक्रिय फुयाँल नाटकका साथै थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गरेका छन् ।
को हुन् फुयाँल ?
विसं १९९४ भदौ २३ गते भक्तपुरको थाकलमाटमा जन्मिएका फुँयाल राष्ट्रिय जनसांस्कृतिक महासंघनिकट जननाट्य मञ्चका पूर्व अध्यक्षसमेत थिए ।

नेपाल भाषाको टेलिशृङ्खला कर्मयाभोगमा २०१९ मा अभिनय गरी नाट्ययात्रा आरम्भ गरेका फुँयाल ‘अविरल बग्दछ इन्द्रावती’, ‘तीतो सत्य’लगायत टेलिशृङ्खलामा निर्वाह गरेको सशक्त भूमिकाका कारण चर्चित थिए । सुकुलगुण्डा, भत्केको सपना, कोरस, जनैको साँचो, कान्छा, आगोका झिल्का, नौलो डाँडालगायत उहाँद्वारा अभिनित नाटक लोकप्रिय छन् ।

उनले २०० भन्दा बढी सानो पर्दाका र ४० भन्दा बढी ठूलो पर्दाका चलचित्र एव्म पाँच सय भन्दा बढी नाटकमा अभिनय गरिसकेको बताइएको छ । फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए । उनका तीन छोरा छन् ।
पुस १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस